केही वर्ष अघि देउखुरी की एक युवती सामूहिक बलात्कारको शिकार भइन्। सामूहिक बलात्कारमा परेपछि ती युवतीको मानसिक सन्तुलन समेत गुम्यो। अपराधीहरुले लुछेर बलात्कार गरी घाइते अवस्थामा छाडीएकी ती किशोरीको उपचारकै क्रममा मृत्यु भयो।
हुर्किसकेर बिहे गर्ने उमेर भएको छोरी सामूहिक बलात्कारको शिकारपछि उपचारको क्रममा निधन हुँदा जन्म दिने बा-आमाको मन कस्तो हुन्छ होला? हामी आफैलाई त्यो पीडा नपर्दासम्म महशुस नै गर्न सक्दैनौँ, उहाँहरुलाई जिउदै मरे जस्तै हुन्छ होला। झल्झली छोरीको यादले कति रुनुहुन्छ होला।
जीवनभर छोरीको यादले पिरोलीने बा-आमा एकातिर छन् भने सामूहिक बलात्कार गर्ने अपराधीहरु खुल्लम् खुल्ला हिँडेकै छन्। बलात्कारमा संलग्नहरुलाई प्रहरीले पकड्यो, तर बलियो राजनैतिक हैसियत बनाएका अपराधीहरु माथि प्रशासनले सामान्य हिरासतभन्दा माथिको दण्ड दिनै सकेन।
अन्ततः बलात्कारमा संलग्नहरु रिहा भए। उता छोरीको बलात्कारपछि मृत्युसँगै बा-आमाहरु जीवनभर रोईरहे, यता बलात्कारीहरु राजनैतिक हैसियत बनाउदै गए। आजभोलि तिनै बलात्कारीहरु समाजमा भद्र भलाद्मीको रुपमा परिचित छन्।
यो एउटा अपवादको बलात्कार घटना होइन नेपालमा। बलात्कारपछि हत्या भएका कैयौँ घटना हामी पढ्न, सुन्न अनि देख्न पाउछौँ। पछिल्ला घटना हेर्ने हो भने निर्मला पन्त र सम्झना विक माथिको बलात्कारको घटनाले विश्वलाई नै रुवाएको प्रष्ट छ।
बलात्कारपछि हत्या गरेर अपराधीले आफ्नो अपराध लुकाउन खोज्ने एउटा सजिलो बाटो पक्डेका छन्। जस्ले गर्दा पछिल्ला बलात्कारका घटनाहरुमा हत्या पनि जोडिदै आएका छन्। यी अनि यस्तै समाचारले तनाव भईरहेकै बेला एकदिन सँगै बस्ने दाङका केशर सिंह ठकुरीले भने- बलात्कारको घटनामा दोषी ठहर भएकालाई साउदीले जस्तो सजाय सुनाउँछ, त्यस्तै कानुन नबन्दासम्म हाम्रा छोरी-चेलीमाथि अपराधीको गिद्धे दृष्टि सकिन्न।
लामो समय मध्यपूर्वको मुस्लिम देश साउदी अरब बसेका केशरलाई मैले सोधेँ- के हुन्छ र सजाय?
उनले भने- जस्तालाई त्यस्तै सजाय। त्यहाँ मुस्लिमको आफ्नै कानुन छ। सरिया कानुन पनि भन्छन्। चोरका हात काटिन्छ, बलात्कार लगायत हत्यारालाई बीच सडकमा ल्याएर सबैका अघि टाउको छिनाइन्छ या झुण्डाइन्छ। जस्ले गर्दा अर्को अपराधी जन्मने हिम्मत गर्न सक्दैन।
अपराध अनुसारको दण्ड पाउने साउदी अरब बारे अझ जान्न उत्सुक लागेर सोधेँ- अपराध हुन्छ कि नाइ?
उनले विस्तार लाउदै भने- हुन्छ तर अपराधीले सजाय पाउछ। नेपालमा जस्तो राजनैतिक संरक्षण हुँदैन। हैसियतकै कुरा गर्ने हो भने साउदी राजकुमारलाई समेत फाँसी दिइयो। अपराध गर्नेहरु पैसा या पहुँचको आधारमा छुट्न सक्दैनन्।
उनले थप्दै गए- कानुनले बाँधेपछि मान्छे अपराध गर्न डराउँछ। जनता आफै डराउँछन्, अपराधिक मानसिकतामा कमि आउँछ। नेपालमा पसलका ताला फोडेर चोर्ने चोरहरुको बिगबिगी छ तर साउदीका सडकमा भेटिएका सामान समेत गोजीमा हाल्न डर लाग्छ। किनकी, त्यही भेटिएको सामानले आफूलाई दण्डीत गर्न सक्छ।
साँच्चै भन्ने हो भने हाम्रो देशमा कानुन कागजमा मात्र सीमित छ, अझ भनौँ हैसियत वालालाई कानुनले केही गर्न सक्दैन। नौ महिना गर्वमा राखेर हुर्काएकी छोरीलाई नौ मिनेटमा कुनै अपराधीले इज्जतमा दाग लगाईदिन सक्छ। नौ मिनेटमै ईहलिला समाप्त गरिदिन सक्छ, भर्खरै हुर्कदै गरेका निर्मला र सम्झनाहरुलाई निमोठेर समाप्त गरिदिन सक्छ तर सरकारको कानुनले ती अपराधीलाई कानुनको कठघरामा उभ्याउन सक्दैन। व्यापक जन दबाब भएपनि अपराधीको हैसियतले इज्जत किनेर खुलेआम घुम्दै बस्छ।
सजाय पाएका अपराधीहरु पनि चौबिस घण्टाको समयलाई दिन र रात गरेर अठचालिस घण्टाको हिसाबमा जेल बस्छ अनि पीडितको आँखामा आँसु नसुक्दै गाउँ घरमा झुल्किन्छ। बलात्कारका घटना घटेपछि सडकमा मृत्युदण्डको माग गर्दै जनसागर नओर्लिएको हैन। तर संबिधानको अडचन देखाउदै मृत्यु दण्ड हुँदैन अनि केही वर्षे जेल जीवन पनि विभिन्न बहानामा मिनाह हुने सम्भावना बढी नै हुन्छ किनकी अपराधीको पहुँच अलि माथिसम्म नै हुने गर्दछ।
बलात्कारका घटनामा दोषी ठहर भएकालाई फासीको व्ययवस्था गर्न किन सक्दैन सरकार? हो, बलात्कारका केही घटनाहरु मन मिल्दा चमत्कार अनि मन नमिल्दा बलात्कार ठहरिएका छन्। त्यो त अपराध हेरेर दण्डको व्यवस्था गर्न सकिन्छ।
यौन दुराचार र बलात्कार वास्तवमा फरक कुरा हुन्। तर नेपालमा यौन दुराचारलाई पनि बलात्कारकै नजरले हेरिदिँदा बलात्कारका जघन्य घटनामा समेत कानुन फितलो बन्न गएको देखिन्छ। उमेर पुगेकी किशोरीलाई कुनै किशोरले बलात्कार गर्छ भने अनुसन्धान गर्नु पर्ने अवश्य देखिन्छ, किनकी त्यो बलात्कार हो या चमत्कार।
एकछिन अमेरिकाको कुरा गरौँ। यहाँ होटेलमा रात बिताएर बिहान प्रहरी बोलाउदै बलात्कारको आरोप लगाएको पाईदैन। किनकी होटेलसम्म केटी आफ्नै खुसीले गएकी हुन्छे। केटाको बन्द कोठासम्म पुग्ने केटीले बलात्कारको आरोप लगाउन सक्दैनन्। किनकी त्यहाँ पहिला केही चमत्कार हुने आशा हुन्छ, अनि हिसाब किताब नमिले बलात्कारको आरोप लाग्छ।
यहाँ अपरिचित व्यक्तिले कुदृष्टि राखेर अर्कोलाई छुनसम्म पाउदैन। यौन दुराचारको सजाय अलि गतिलै हुने हुँदा मान्छे आफै सजग भएर हिड्छ। मिलोमतोमै भएपनि उमेर नपुगी यौन कृयाकलाप सकेसम्म गर्दैनन्। किनकी उमेर नपुगी गरिएको यौनलाई यहाँ दण्डित गरिन्छ। उमेर नपुगेको केटीले आफूलाई जबरजस्ती करणी गरेको आरोप लगाइ भने मिलोमतोमै भएपनि त्यो बलात्कार ठहरिन्छ अनि हदैसम्मको सजाय तोकिन्छ।
तर होटेलसम्म पुग्ने, केटाको कोठासम्म पुग्ने या लामो रिलेसनमा बसेर कुरा नमिल्दा बलात्कारको आरोप लगाउने घटनालाई दण्डित गरिदैन। अपरिचित भएको अनि गिद्धे दृष्टि लगाउदै छोएको घटना छ भने यौन दुराचारको दण्ड दिइन्छ त्यो बलात्कारको घटनामा दिइने दण्डभन्दा केही फितलो हुन्छ।
तर हाम्रो देशमा बलात्कार, बलात्कारपछि हत्या या यौन दुराचार जेसुकै होस्, गतिलो दण्ड पाएका समाचार सुन्नै पाएनौँ। अझ बालिका बलात्कारपछि हत्या घटनाका दोषी त पक्राउसम्म पर्दैनन्।
यही फितलो अनुसन्धान, सामान्य दण्डले गर्दा पनि वर्षेनी दर्जनौ निर्मला पन्त सम्झना विकहरु नफक्रदै ओईलाउँछन्। कानुन डरलाग्दो नहुँदा अपराधिको मनोबल झन् उच्च भैदिन्छ, अनि छोरी जन्माउने बा-आमा, छोरी जन्मेदेखि नै त्रासमा भैदिन्छन्। अपराध गरेकाहरु कानुनको कठघरासम्म पुग्दैनन्, पुगेपनि पहुँचका आधारमा सजाय मिनाहमा परेर पुरानै जीवनशैलीमा फर्कन्छन्। समाजमा बलात्कारको घटना कम हुनुको साटो झन् बढ्दै जान्छ।
बालिका बलात्कार र बलात्कारपछि हत्याको अभियुक्तलाई सिधैँ फाँसीको व्यवस्था हुने अनि उमेर पुगेकी किशोरी बलात्कारी गर्नेलाई कडा सजायको व्यवस्था हुने हो भने समाजबाट बलात्कार जस्तो जघन्य अपराध केही कम हुने थियो। अनि मन मिलेर या पैसाको लोभमा होटेल या पुरुषका कोठासम्म पुगेर फर्कदा बलात्कारको आरोप लगाउनेहरुलाई अनुसन्धान गरेर उल्टै मानहानीको मुद्धा लगाईदिने हो भने मन मिल्दा चमत्कार र नमिल्दा बलात्कारको आरोप लगाउने गलत प्रवृत्तिको जरो काटिन्थ्यो।
सजिलो अर्थमा भन्ने हो भने उमेर नपुगेका बालिका बलात्कार गर्ने, बलात्कारपछि हत्या गर्नेहरुलाई फाँसीको सजाय दिइयोस्, उमेर पुगेकालाई बलात्कार गरेको पाइए नपुंसक बनाईयोस् अनि समाजमै छाडियोस्, जेलको भात खुवाएर पाल्नु पर्दैन। अनि आफै कोठासम्म पुगेर आरोप मात्र लगाउनेलाई उल्टै जरिवाना गरियोस्।
यति गरे समाजबाट बलात्कारका घटना प्रायः शून्यमा झर्नेछ।