ती पुराना मान्छे कहाँ गए? जसले ढुंगामा देउताको प्रतिष्ठा गरेर हृदयदेखि भगवान मान्थे। संस्कृति र सनातनलाई पुर्खाको अंश ठानेर बचाइराखेका थिए। धर्मको तुलोमा नैतिकता जोखेर मनैदेखि पवित्र थिए।
यसरी नै समाज सन्तुलित भइरहेको थियो। ती मान्छे अचेल त सपनामा पनि देखिँदैनन्। कलिको बतासले धेरैको चेतना जीर्ण भइसक्यो।
बेला बदलिएको छ। सबै दोस समयको जिम्मा छोडेर मान्छे चोखो बन्न चाहन्छ। समयलाई गलत ठान्नेलाई कालले आफ्नो बेला आएपछि सत्य देखाएरै बाटोमा डोर्याउँछ। जीवनको हिसाब हुने दिन त्यसै कहाँ उम्किन पाइएला र?
देश भएपछि नै मान्छेले आफ्नो अस्तित्व स्विकार्छ। मान्छेको देश हुन्छ नै, यो नियम त भगवानका पालादेखि चल्दै आएको छ। तर देशको बागडोर जो कोहीले पाउँदैन। जो पाउँछन् तिनले थोरै गरिदिए पनि जनजीवनमा ठूलो असर पर्छ। तर हाम्रा हर्ताकर्ता के सोच्छन् र हाम्रा गाउँहरू के भोगिरहेका छन् प्रस्टै छ।
देशको व्यवस्था र नागरिकको अवस्था बदल्न भनेर हाम्रा पूर्खाका पालादेखि नेताको रूप धारण गरेर कयौं आए। तिनलाई भरोसामा जनताले देश सुम्पिए। जति व्यवस्था बदलिए पनि नागरिकको अवस्था कहिल्यै बदलिएन। तिनले सर्वहाराकै कुरा गरे। जनतालाई ऐन र चैनको प्रलोभन देखाए। रामराज्यको भाषण ठोके।
गोसाइँले रामराज्य ल्याए भने मर्नेबेला सुखको सास फेरेर बैकुण्ठबास होला भनेर कयौं गरिब निमुखाले सपना देखे। तर ती सपना देख्ने कयौं मान्छे, कोही गाँस नपाएर भोकै मरे, कसैले ओखती नपाएर स्ट्रेचर र डोकोमै प्राण त्यागे। दुःख र पिरमै जीवन बित्यो। रामराज्य कहिल्यै आएन।
हुँदाहुँदै प्रलोभनको राजनीति यति धेरै बढ्यो कि गाउँगाउँसम्म दरबार पुगे। गाउँगाउँमा राजा बने। र, पनि रामराज्य आएन।
सुनिन्छ, नयाँ मुकुण्डो लगाएर नयाँ व्यवस्थापिकाको खोल ओढेर गाउँ जितेका मालिकहरू नैपाल पुगेर ठूलै भएका छन्। मनग्य आम्दानी गरेका छन्। तर चुनाव जितेर गएपछि तिनले अनुहार देखाउन छोडिदिए।
मतदान अगावै मिठो बोलेर गएका सम्राटहरूले गरिबलाई भुलिदिए। झण्डा फरफराएर गएकाहरू अब कहिले आउलान्? सम्झनाको हिकहिके बाडुली कहिले लाग्ला? गोसाइँको रामराज्य यसै जुनीमा देख्न पाइएला कि नपाइएला?
विधिको शासन गर्ने भनेर जब कसम खाएका थिए, जनताले भरोसाले राज्यारोहण गराएका थिए। गाउँगाउँमा नौला सरकार बनेका बेला नयाँ राजा खडा भएका थिए। सिंहासन पाइसकेपछि किन सम्झिनु पर्यो भरोसामा बस्नेहरूलाई? किन सुन्नु पर्यो ल्याप्चे लगाउनेका कुरा? झुठो बोलेरै कतिले कति युगसम्म ढाँटे। पैसाका बिटाहरू जम्मा गरिराख्यो भने अर्को चुनाव कसो ढाँट्न नसकिएला!
समृद्धि फलाप्ने मालिकहरूको बोली बदलिएको छ। शेषनागका जस्ता जिब्रा पलाउन थालेका छन्। तिनका कुर्चीमा दसटाउके अवतार देखिन थालेको छ। अदालतलाई गोजीमा राखेर जनतालाई बिजुली बराबरको झट्का बेलाबखत दिएकै छन्। यसैलाई त भन्छन्, शक्तिको कमाल।
यो देश देवभूमि हो। तपोभूमि हो। यहाँ ठूला ठूला ऋषिमुनिले तपस्या गरेर आफू मुक्ति पाए, अरुलाई मुक्ति दिलाए। तर यही भूमिमा सधैं लालचको राजनीति गर्नेहरूको बुद्धि सधैंजसो भ्रष्ट भइरह्यो। जीवनको अनन्तकालसम्म पनि सत्तामा लिप्त भएका मान्छेको छातीमा देशको माया कहिल्यै जुर्मुराएन?
गोसाइँहरू भन्छन् – सत्तामा पुग्नुमा हाम्रो संर्घष र बलिदान छ। हामीले जीवन जेल र जंगलमा बिताएका छौं। पार्टीलाई सर्वश्व दिएका छौं। यसै आर्जेको सत्ता कहाँ हो र? तपस्या गरेर प्राप्त गरेको पो हो।
मालिक ठिकै भन्छन् तर यो जगतमा जसले तपस्या गरेर शक्ति प्राप्त गरे ती सबै सत्य-सन्त छैनन्। तपस्या गरेर प्राप्त गरेको शक्ति आफ्नै भोगविलास र मोजमस्तीमा खर्च गर्ने त रावण थियो। हिरण्यकश्यपू थियो। रावण र हिरण्यकश्यपूले जुन कठोर तपस्याबाट शक्ति प्राप्त गरे, त्यो कहिल्यै अरूको हितका निम्ति खर्च गरेनन्। के हाम्रो राज्यसत्तामा आउने मान्छे यही दम्भले भरपुर भएका त छैनन्?
जो सर्वहाराका लागि लडेका हौं भन्थे, ती सर्वजित भइसके। सर्वहारा सधैं सर्वहारा नै रहे। जनताको जितको दिन कहिल्यै आएन। दशरथको राज्यमा जस्तो प्रजातन्त्र त यहाँ के आउन सक्थ्यो! अब्राहम लिंकनले भने जस्तो प्रजातन्त्र पनि आइदिएन। रामराज्य कसरी आउँथ्यो?
नागरिकको भोक सम्बोधन नहुने राज्यमा कार्यकर्तालाई वितरण हुने बजेटले गोसाइँ र गोसाइँका दलाल मात्रै मोटाउँछन्। तिनकै आसेपासेको घडेरी जोडिन्छ। महापुरुषलाई सत्ताको मोह कहिल्यै हुँदैन। मानव कल्याणकै चिन्ता रहन्छ। तर यहाँ गरिबले लालाबालाको पेट पाल्न र लाज ढाक्नकै निम्ति भारत, साउदी, कतार र मलेसिया पस्नै पर्छ। त्यहीँ सकिन्छ जवानीको सबै हिस्सा। देशमा केही हुँदो हो त लालाबाला र श्रीमती छोड्ने रहर कस्लाई हुँदो हो?
संसार कोरोना त्रासले डगमगाइरहेको बेला कयौं मान्छे प्राण जोगाउन भनेर घर दौडिएका थिए। ती अहिले दुई महिना जन्मदेशमा टिक्न सकिरहेका छैनन्। जन्मथलो कसलाई प्यारो लाग्दैन? रोजगारी गुमाएकाहरू गाउँमा रुमल्लिरहेका छन्। गाउँमा अवसरका सबै बाटा बन्द छन्। ऋणमाथि ऋण थपेर कसरी बस्नु घरमा?
गाडी खुल्ने दिन पर्खिरहेकाहरू कति छिटो भारत पसौंला भनेर अत्तालिएका छन् र भन्न थालेका छन् – रोग सहौंला, भोक सहन मुस्किल छ।
महाकाल बनेर हाम्रो समाजमा गरिबीको पक्षपोषण कसले गरिरहेको छ? किन गाउँमा उद्यमशीलताका सबै बाटा बन्द गरिए? शक्तिमा पुगेकाले देश र नागरिकको भलाई निम्ति किन एकरात पनि चिन्तन गर्दैनन्?
रामचन्द्रले आफ्नो मर्यादा भुलेका भए आजका शासकले रामराज्यको परिकल्पना कसरी गर्न सक्थे? हाम्रा शासकहरू सत्ताबाट सबै पाइरहँदा पनि आफ्ना नागरिकलाई अघोषित देश निकालाको अवस्था सिर्जना गर्छन्। यो सबै छर्लंग हुँदाहुँदै पनि हाम्रा गोसाइँले भनेको रामराज्यमा रावणको लीला चलिरहेको छ भन्नु पाप होला र?
संचारमाध्यमले भन्ने समाचार र नेताले बोल्ने भाषण गाउँका मान्छे बुझ्दैनन्। आफ्नै छाक टार्न रात-दिन नभनी कर्म गर्नुपर्छ। तिनका लागि न सरकार छ, न सुविधा। मतदान गरेको कुनै स्वार्थ छैन। विश्वासमा भोट दियो भने धर्म हुन्छ भन्ने जानेकाहरू धर्मका निम्ति मतदान गर्छन्। जित्नेहरूको अर्धम उनीहरू जान्दैनन्। बिरामी परेको दिन आफ्नै भाग्यलाई सराप्छन्। विपद आइपरेको दिन राहु-केतु आइपुगेको सम्झिन्छन्। वास्तविक राहु-केतुले निम्त्याएको पीडा दुःखी मान्छेलाई के थाहा?
धेरै बाआमाहरू पढ्न-लेख्न जान्दैनन्। सरकार र सत्ताप्रति विश्वास गर्छन्। गाडी चढ्ने पैसा नभएर पैदल हिँड्नेहरू गाउँमा तमाम छन्। तिनले गाडी चढ्ने पैसा जोगाएर साबुन किन्छन्। आफू नखाई जोगाएको पैसाले राज्यलाई कर तिर्छन्। त्यही करबाट हाम्रा हर्ताकर्ता चयनको जिन्दगी बाँचिरहेका छन्। चिलगाडीमा उडिरहेका छन्। तिनका खुट्टाले भुइँ टेक्यो भने माटो लाग्छ। अहिले त माटो लाग्ला भनेर खुट्टा जोगाउनु ठिकै होला। तर, एकदिन सम्पूर्ण शरीर पनि माटोमै मिसिने छ।
गाउँमा कयौं मान्छेलाई नेतालेजस्तै अर्को चुनाव जित्ने पैसा थुपार्नु छैन। चाडवाड पर्खिरहेका आफ्ना सन्तानलाई एकसरो कपडा किन्न पाए पुग्ने थियो। स्कुलको शुल्क तिर्न सके हुने।
चिया खान मन लाग्छ। एक किलो चिनी पनि फारो गरेर चलाउँछन्। सोच्छन्- विकासको नाममा नेताहरूले घरखेत नभत्काइदिए हुन्थ्यो। दोकानमा महँगी नबढाइदिए हुन्थ्यो। जसो चल्दैछ त्यसै चल्न दिए त जिन्दगी ठिकै थियो।
बिरामी परेको दिन स्वास्थ्य चौकीमा सिटामोल नसकिएको होस् भनेर गरिबहरू कामना गर्छन्। नेता भने दबाइमा कसरी बढी कमिसन खाने सोचिरहन्छन्। रावणको लीला पनि कहाँ फरक थियो र। रावण जस्तो बिलासी यो जगतमा को थियो र?
करोडका गाडी, मन लागेको दिन भुर्र उड्ने हेलिकप्टर, सवारी चलेको दिन बाटाघाटा बन्द, कानुनको रिमोट आफ्नै हातमा, नातागोतको मनोकामना परिपूर्ण। योभन्दा बिलासि जिन्दगी सायद रावणकै राज्यमा हुँदो हो।
रामराज्यमा त दम्भ र कलह थिएन। लोभ, लालच र छलकपट थिएन। कैकेयीका मनमा जब घमण्डले बास जमाएको थियो, राम अयोध्या त्यागेर खुसीसाथ वनवास पसे। शान्ति नभएको मुलुकमा कसरी रामराज्य हुन्छ?
जहाँ शत्ता र शक्तिका लागि बारबार झगडा पर्छ, कसैलाई मन्त्री, सांसद बनाउनकै निम्ति विधि उल्लंघन गरिन्छ, त्यो कसरी रामराज्य हुन सक्छ? हाम्रा राज्यका राम त आफ्ना कारणले देश तहसनहस भइसक्दा पनि सत्ता मोह त्याग्दैनन्। आफ्ना गल्तीको आत्मआलोचना गर्दैनन्।
सबभन्दा ठूलो व्यापारिक अखडा शिक्षा र स्वास्थ्य क्षेत्र बनेका छन्। जगतमा सबभन्दा कल्याणकारी कामलाई हाम्रो सरकारले व्यापारीक केन्द्र बनाएको छ। यस क्षेत्रका ठूलाठूला धनाढ्य मालिक पनि नेता र मन्त्रीनै छन्। तिनकै नातागोता छन्। एकातिर सम्पति कब्जा, अर्कोतिर शत्ता कब्जा, यो चक्र निरन्तर चलिरहेको छ। जुन पार्टी सत्तामा आए पनि यो कामले निरन्तरता पाइरहन्छ।
आमाबाले सन्तानको लालन पालन र शिक्षाका निम्ति जीवनभर कमाएको पैसा हाम्रा गोसाइँको शिक्षा व्यवस्थाले स्वाहा पारिदिन्छ। बचेखुचेको सम्पति पचाउन अस्पतालहरू काफी छन्। जीवनमा एकपल्ट बिरामी पर्नुपर्छ, गरिबको छाकबास नै उजाडिन्छ।
नेताका भाषणमा देशमा रामराज्य कायम छ। तर नागरिकले रावणको लीला देखिरहेका छन्। निमुखाको आवाज सुन्ने कान फुटिसके। दम्भको तुवाँलो सिंहदरबार परिक्रमा गर्छ। गाउँमा तमसुक थपिँदैछन्। माग्नेहरू आए पनि दान सम्झेर खुसी मनले दिने नागरिक अझै छन्। कयौं नेताको उद्धार अझै गर्नेछन्।
तर, उनीहरूको एउटै माग छ अचेल– मागेर मुटु दुखाउनेहरूले भोट माग्न नआइदिए हुन्थ्यो।
देश बर्बाद पारेर बिलासी बनिरहेका जीवनको एक घडी आफ्ना कर्मको हिसाब आफैंले गरून्। सुनको लंका पनि त जलेको थियो। नाभीमा अमृत भएको रावण पनि त मरेको थियो। रामराज्यको उद्घोष गरेर रावणको लीला गर्नेहरु साँच्चै अजम्बरी होलान र? अजम्बरी त मान्छेको कर्म रहन्छ, कृति रहन्छ।