बलात्कारका घटना जति पनि सार्वजनिक हुन्छन् नि, तिनी सबैले आफूले भोगेको अन्यायलाई सहन नसकी न्यायको आवाज सार्वजनिक रूपमा उठाएका हुन्छन्। नत्र त हाम्रो समाजमा हामी जति बलात्कारका घटना सुन्छौँ, त्योभन्दा धेरै मात्रामा चेलीहरु बलात्कृत भएको कुरा थाहा पाउने थियौँ।
तर न्यायको निम्ति केहीले मात्रै आफ्नो मुख खोल्छन्। धेरै दिदीबहिनीहरु यौन दुर्व्यवहार तथा हिंसा सहेरै बसेका छन्। यतिसम्म की पीडा लुकाइ-लुकाइ हिजो कसैबाट इज्जत लुटिएकी चेली, त्यही अपराधीको नजरमा जतिखेर मिल्यो, त्यतिबेला प्रयोग गर्न मिल्ने खेलौना समेत बनाइएका छन्।
यस्ता कुरा पो बाहिर सार्वजनिक हुँदैनन्। एकजना बलात्कृत चेलीले म बलात्कृत भएँ भनेर पनि कसरी भनोस्? यहाँ बलात्कृत भएँ भनेर न्यायको आवाज उठाउँदा कुरा काट्ने, बेइज्जत गर्ने धेरै हुन्छन् तर निस्वार्थ साथ दिने कमै हुन्छन्। यहाँ न्याय पाउन त मुस्किल छ तर बेइज्जत भने फोकटमा पाइन्छ।
समाजमा अपराधीको बहिष्कार छैन तर बलात्कृत केटी भन्दै तिरस्कार गर्ने प्रवृत्ति भने उच्च छ। २ वर्षदेखि राष्ट्रिय मुद्धाको रुपमा रहेको, त्यत्रो नागरिक सडकमा उर्लिदा पनि, सदनमा माननीयहरुले बोल्दा पनि न्याय पाउन नसकेकी स्व. निर्मला पन्त र उनको परिवारको अवस्था हेर्दा जोकोही पीडित चेलीले न्यायको आवाज उठाउन खोज्दा पनि एकपटक सोचेर मौन हुन्छन् होला।
मैले न्याय पाउँछु कि बेइज्जत? सोच्छ्न होला। यस्ता घटनाको छानविन अगाडि नबढ्दा, पीडितलाई न्याय नमिलेको देख्दा कति धेरैले आफ्नै पीडा लुकाएर बाँचेका छन्, त्यो पीडा भोग्नेहरुलाई मात्रै थाहा होला। कसैले अन्यायको चोट सहन नसकी आत्महत्या समेत गरेका छन्।
अलिकति केही साहस र साथ पाएका चेलीहरुले म बलात्कृत भएँ भनेर भने पनि, समाजमै कुरा मिलाउ, मुद्दा मामिला नचलाउँ भन्दै नेता जनप्रतिनिधिहरु जम्मा हुन थाल्छन्। फलानी बलात्कृत भइ भनेर बेइज्जत गर्दै हिँडछन्, यस्ती, उस्ती भन्दै चरीत्र हत्या गर्न थाल्छन्।
पीडित चेलीले यस्ता चुनौतीलाई उछिन्दै न्याय माग्न प्रहरी कार्यलयमा मुद्धा दायर गर्न जाँदा, पहुँचवाला व्यक्तिहरुको विरुद्ध मुद्धा भए प्रहरीले सुरुमा मुद्धा लिनै नमान्ने, इमान बेचेर अपराधीसँग सागगाँठ जोडदै, छानबिन कमजोर बनाउने, तथ्य प्रमाण मेटाउन स्वयम प्रहरी लाग्ने गर्छन्। युट्युबर, मिडियाकर्मीले थाहा पाए न्युज, भिडिओ हाइलाइटमा ल्याउन, भ्युज लाइक बढाउन उबर्दो शीर्षक राखी पब्लिक गर्ने गर्छन्।
अभियान्ता, अधिकारकर्मी, जनता सबैलाई थाहा हुन्छ, ऊ चेली बलात्कृत भएको तर कहिल्यै थाहा हुँदैन उसले न्याय पाएको। किनकी न्याय पाउन नै सकस बनेको छ। हाम्रो देशमा भिखारीको नाटक गरेर एकचोटि भिख माग्नेले भिख मज्जाले पाउछ तर वास्तविक पीडितले बारबार न्यायको भिख माग्दा भने न्याय कहिल्यै पाउँदैन। भद्दा देखावटी मानवता भएकाहरुमा वास्तवमा दानवियता मात्रै छ।
नेपालमा यस्तो अवस्था आइसक्यो की हिजो भिख माग्नेहरु सहरका महलमा भैसक्छ्न् तर न्याय माग्नेहरु भिखारी झैँ त्यही सडकमै रहिरहन्छन्। बलात्कृत भएँ भन्दै कानुनी रूपमा लड्दा लड्दै मुस्किलले न्याय पाएपनि त्यही अपराधीलाई १०/१५ वर्षसम्मको सजाय मिल्छ। तर ऊ चेलीले वास्तविक न्याय पाउन मुस्किल नै हुन्छ।
उसले समाजमा जिउँदो लास बनेर जीवन कटाउनु पर्ने हुन्छ। उसलाई समाजका मान्छेले हेर्ने नजर घृणा र दाउपेचको रहन्छ। उसलाई बलात्कृत भएकी भन्दै एक्ली बनाइन्छ। ऊ विवाह गर्न लायककी केटी भए उसलाई जुनसुकै केटाले पनि बलात्कृत भएकी केटी भनेर विवाह गर्न मनाही गर्छ।
ऊ समाज सँगसँगै घरबाट नै अपहेलित हुन पुग्छे। जुन अपराधीले १०/१५ वर्षको सजाय पूरा गरेर फेरि फर्केर अरु दिदीबहिनीलाई दुर्व्यवहार गर्न लागि हाल्छ, तर एकचोटि आफू बलात्कृत भए भनेर आवाज उठाएकी नारी, ऊ सधैँ पीडामा आफ्नो जीवन नै बर्बाद गरिरहेकी हुन्छे।
उसले आफू बलात्कृत भएर पनि न्याय मागेको कुरामा बारबार पश्चाताप गरिरहनु पर्ने स्थिति छ। अब भन्नुहोस्, के यो कानुनले न्याय मिलेको छ त? किन कडा कानुन निर्माण हुन सकिरहेको छैन? किन कानुन बमोजिम कारबाही हुन सकिरहेको छैन? न्यायको अवशोष अन्यायमा परेका नागरिकहरुले कहिले गर्ने?
आजसम्म सार्वजनिक भएका बलत्कार तथा यौन दुर्व्यवहारको घटनाको कानुनी प्रक्रियाले धेरैलाई लाग्न थालीसक्यो की न्याय भनेको एक मन्त्र हो। यो जपेर पीडा भुलाउनु पर्ने बाहेक अरु केही छैन। यो मन्त्रलाई सत्ताधारी तथा शक्तिशालीले आफ्नो कब्जामा राखेका हुन्छन्। साँच्चीकै पीडितमा रहेको यस्तो भ्रमको अन्त्य न्यायलयबाट कहिले हुन्छ त?
जोसुकै पीडितले प्रहरी, वकिल, पत्रकार, अभियान्ता, नेता भेटिना साथ, सहयोग पाउने आशा राखेपनि उनीहरु सबैबाट त्यस्तो सकारात्मक व्यवहार पाइदैन। साँच्चीकै नेपाली नागरिकहरुलाई प्रहरी, अदालत, न्यायलयमा पुग्दा गर्व गर्न सक्ने, न्याय पाउन सकिने अवस्था राज्यले कहिले बनाउने?
समाजका गन्यमान्यहरुको चरित्र छेपराको रंग फेराई जस्तै छ। चट्ट कोट-पाइन्ट लगाएर जनमानसमामा समाज रुपान्तरणको कुरा गर्नेहरू न्यायका कुरा गर्नेहरू, रात र एकान्त समयमा कुनै नारी भेटे सोही कोट-पाइन्ट फुकालेर इज्जत लुटने मौका सम्झन्छन्। बिर्सिदिन्छन् की ऊ मेरी दिदीबहिनी हो। उसलाई साहारा चाहेको छ। उसलाई सुरक्षा दिनुपर्छ, यो मेरो जिम्मेवारी हो भनेर।
उनीहरु कानुनलाई आफ्नो गोजीमा राखेका हुन्छन्। सार्वजनिक क्षेत्रमा उच्च पदमा रहेको पुरुषले कुनै नारीलाई बलात्कार गरेको खण्डमा, पीडित नारीले न्यायको आवाज उठाउदा न्याय माग्नेलाई पागल, डिप्रेसनमा परेकी भनेर बेइज्जत गर्दै मुद्दा फिर्ता गर्न बाध्य बनाइन्छ। अपराधी खुल्लम खुल्ला सस्तो आदर्शको खोल ओढेर हाक्का हाँक्की गर्दै हिँडछ।
के उच्च पदमा रहेकाहरुले पागल नारी खोजी खोजी बलात्कार गर्छन् र? अनि किन एक पीडित स्वस्थ नारीलाई पागल बनाई बेइज्जत गर्ने, जबसम्म ऊ बलात्कृत भएकी थिइन, तबसम्म ऊ स्वस्थ नै थिइ। नरपिचास अपराधीहरुको धम्की, डर, पीडा, समाजको गलत प्रवृत्ति प्रहरी, न्यायाधिशको झमेलाले भने ऊ न्याय माग्न थालिसकेपछि भने पागल सरह नै भैसकेकी हुन्छे।
बलात्कारी चरित्रका धेरै व्यक्तिहरु नेपालको सम्माननीय, माननीय पदसम्म पुगीसकेका छन्। उनीहरुको नाम मात्रै कोही कसै पीडितले बोल्न साहस राख्दैनन्। बोले पनि उनीहरुलाई पागल भएकी भनेर मुद्दा फिर्ता गर्न बाध्य पारिन्छ। कस्तो दुर्दशा छ देशमा, गरिब, निमुखालाई न्याय छैन। उच्च पदमा रहनेलाई मनपरि जे पनि गर्न मिल्छ। कानुन निहाल्नेको आँखा फुटेझैँ छ।
मलाई लाग्छ, यदि राजनीतिक नेतृत्व तथा सामाजिक कार्यमा सक्रिय दिदीबहिनीहरुले, आफूले खेपिरहेका तथा भोगेका यौन दुर्व्यवहार तथा यौन हिंसालाई सार्वजनिक गरे भने मात्रै, नैतिकता र इमानदारीको थोत्रो खोल ओढेका धेरै नेता, अभियानता कर्मचारी गनिनेहरुको असलीरुप पर्दाफास हुन्थ्यो। तब मात्रै धेरै दिदीबहिनीहरु सुरक्षित रहन पुग्थे।
उच्च पदमा रहने सबैले बलात्कार गर्छन्, सामाजिक कार्यमा सक्रिय सबै दिदीबहिनीहरुले यौन दुर्व्यवहार झेलेका छन् भनेको त हैन तर अधिकांशले भने झेलेकै छन्। अरु साधारण चेलीहरुको खेपिरहेका पीडा त उल्लेख गर्नै नसकिने अवस्थामा छ।
उच्च पदमा रहेर बलात्कार गर्ने व्यक्तिहरुलाई कडा कारबाही गरे भोलि अर्को व्यक्तिले अपराध गर्ने आँट गर्न सक्दैनथे। धेरै नागरिक आफू र आफ्नो चेलीलाई सुरक्षित रहन र राख्न कोशिस गर्थे। गलत आचरण भएका व्यक्तिहरुको भने पर्दाफास हुनुनै पर्छ।
बुबा, दाइभाइ, काका, मामा, भिना, श्रीमान नाता लाग्ने घरकै पुरुष सदस्यहरुबाट धेरै नारीले यौन दुर्व्यवहार खेप्नु परेको छ। नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७४/७५ देखि ०७६/७७ सम्ममा महिला हिंसासम्बन्धी करिब ४४ हजार उजुरी प्रहरीमा दर्ता भए।
बोक्सी आरोपका १ सय २८, छुवाछूतका ९१, बलात्कार प्रयासका २ हजार २ सय, बहुविवाहका २ हजार ४ सय ३७, बालविवाहका २ सय ९, गैरकानुनी गर्भपतनका ७४ र घरेलु हिंसाका ३८ हजार ७ सय ३७ वटा उजुरी दर्ता भएका छन्। बलात्कार सँगै निर्मम हत्या गरी, निर्मला पन्त, सम्झना विक सहित १३ जना चेलीको ज्यान गुमेको छ। यस्ता घटना दिनहुँ बढ्नुको कारण के? किन कम हुँदैनन् महिला हिंसा तथा बलात्कारका घटनाहरु? साँच्चीकै कानुन कमजोर नै भएर हो त?
नेपालको प्रचलित कानुन अनुसार बलात्कारीलाई १० वर्षभन्दा कम उमेरकी बालिकालाई बलात्कार गरेको खण्डमा १६-२० वर्षसम्म, १० वर्षदेखि १४ वर्षसम्म उमेरकी बालिका भए १४-१६ वर्षसम्म, १४ वर्षदेखि १६ वर्षभन्दा कम उमेरकी बालिका भए १२ -१४ वर्षसम्म, १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी बालिका भए १०-१२ वर्षसम्म र १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए ७-१० वर्षसम्म बलात्कारिलाई सजाय हुने व्यवस्था छ।
कानुनको कार्यान्वयन कतिको प्रभावकारीता छ एकचोटि समीक्षा गर्नु जरुरी छ। कानुन कमजोर भएरै बलात्कारसँगै निर्मम हत्या काण्ड बढेकै हो भने किन मृत्युदण्ड सरहको कानुनी सजायको व्यवस्था गर्न नसक्ने?
अहिले छोटा कपडा लगाएर चेलीबेटीहरु बलात्कार भए भनेर उठ्ने तर्कहरु कुतर्क नै हुन। बरु छोटा कपडा लगाएका चेलीहरुलाई बलात्कार गरौँला झैँ गरी हेर्ने हाम्रो नजर र बुन्ने अपराधका जालले भने बलात्कारका घटना बढेकै हुन्। कसैले लगाएको छोटा कपडाले मलाई नजर लगाउ, बलात्कार गर, इज्जत लुट भनेर संकेत गर्दैन होला नत्र त किन लाउँथे र छोटो कपडा पनि?
समाजमा कपडा नै लगाउन नजान्ने ती सम्झना विक जस्ता अबोध बालिकाको पनि त बलात्कार गरी निर्मम हत्या गरिएको छ। जबसम्म हाम्रो सोच उच्चस्तरीय हुँदैन, नारीको सम्मान गर्न आउँदैन तबसम्म महिला हिंसा र यौन दुर्व्यवहारका घटना कम हुनेवाला छैन।
हामी माझ यस्तो समस्या छ की 'बलात्कारीलाई फाँसी दे!' भन्दै देशमा भएका केही अन्याय विरुद्धको आन्दोलनमा सहभागी चेलीहरु पनि यौन हिंसामा परिहाल्छन्। हाम्रा दिदीबहिनी, चेलीबेटीहरुलाई शान्ति सुरक्षाको खाँचो छ। शान्ति, सुरक्षा नभए हामी कसरी विकासमा फड्को मार्न सक्छौँ?
समाजवादी लक्ष्य तर्फ उन्मुख हुन महिला हिंसा, यौन दुर्व्यवहार, भ्रष्टाचार, अपराधका घटनाहरु न्यून हुनु जरुरी नै छ। नत्र त कम्युनिष्टहरुको समाजवादी लक्ष्य थोत्रा सपना हो भनेर खिल्ली उडाउनु बाहेक अरु केही हुँदैन। झण्डै दुई तिहाइ बहुमतको कम्युनिष्ट सरकार भएको समयमा १४ वर्षभन्दा कम उमेर समूहका बालिकाहरुलाई बलात्कार गर्नेहरुलाई मृत्युदण्डसम्मको सजाय दिन मिल्ने, कडा कानुन निर्माणमा लाग्नु उपयुक्त हुनेछ।
कडा कानुन र त्यसको कार्यान्वयन कडा रूपमा भए केही हदमा मृत्यु दण्डको डरले बालिकामाथि हुने बलात्कारका घटना न्यून हुनेछन्। मानव जाति भएर सभ्य हुनुपर्छ। यौन इच्छा र चाहना कसलाई पो हुँदैन र? यौन इच्छा र चाहनालाई आफैमा कन्ट्रोल गर्नसक्ने मानव पो मानव, नत्र त जनावर र मानवमा के नै फरक हुन्छ र?
लेखमा पुरुषबाट नारी बलात्कृतको घटना बढी उठाएपनि, महिलाबाट पनि पुरुष बलात्कृत छन्। तुलनात्मक रूपमा न्यून छन्, सार्वजनिक हुँदैनन्। अहिले यस्तो पनि घटना सार्वजनिक हुन्छ जुन पहिले केटा र केटी बीच समझ्दारीमा यौन सम्पर्क हुन्छ। बीचमा आएर कतै मतभेद हुँदा बेइज्जत गर्नलाई बलात्कार गर्यो, बलात्कार गरे भनेर केही घटना बाहिर आउछन्।
दुइटै पक्षको समझ्दारीमा भएका पहिलो यौन सम्बन्धको ब्ल्याकमेलमा पटक-पटक दोहोरिएर बलात्कारको घटनाको रूपमा पर्दाफास हुन्छन्। बलात्कारको प्रवृत्ति र तवरलाई अध्यन गर्दै निष्पक्ष न्याय दिलाउन न्यायलय लाग्नुपर्छ। न्याय माग्दा पीडितले बेइज्जत हैन, उसले समाजमा सबैको अगाडि न्याय पाउन सक्नुपर्छ।
श्रीमतीको हत्या गरेर जलाउने रन्जन कोइराला जस्ता अपराधीहरुलाई सजाय छुट गरेर जनता माझ न्यायको विश्वास घटाएको सर्वोच्च अदालत तथा अन्य न्यायक क्षेत्रले वास्तविक बलात्कारीहरु तथा अपराधीहरुलाई कानुनी सजायको दायरामा ल्याउनसके अदालतमाथि घटेको जनताको भरोसा पक्कै बढ्ने छ।
यौन हिंसा, दुर्व्यवहार, अपराध भ्रष्टाचारको विरुद्धमा आवाज उठाउने ती सबै पीडितले न्याय पाउनुपर्छ न की कुनै बेइज्जत। हामीले न्याय माग्नेहरुलाई बेइज्जतभन्दा पनि साथ र हौसला दिएमा दुर्व्यवहार झेलिरहेका धेरै दिदीबहिनीहरुले अन्याय बिरुद्ध निर्धक्क बोल्ने छन्। बलात्कारी तथा अपराधीहरु पत्ता लगाएर कानुनी सजाय दिन मद्धत मिल्नेछ।