यो दिनदिनै घटेका घटनाले हरेक पेशा, हरेक सम्बन्धको बलात्कार भएको छ।
जब म आफ्नै बाबाका मलिन र थकित अनुहार हेर्छु, मेरो भविष्यका लागि काटेका अनिदा रात र दिउँसोको १२ बजेको घामले सुकेका तालु हेर्छु र झलक्क ती आफ्नै पिताबाट बलात्कृत भएकी पाँच वर्षीया नानी सम्झन्छु। अनि मेरो पिता र म एक छोरीको सम्बन्धमा आएको यो तितो नमिठो समाचारको प्रहारको पीडाले मलाई अनि बालाई निकै पिरोल्छ।
अर्को दिन फेरि सुन्नमा आउँछ, आफ्नै गुरुबाट एक नाबालिकाको इज्जत खोसियो भनेर। समाचार झट्ट सुन्दा, म मेरो पूजनीय गुरु सम्झन्छु, जसलाई म देख्नासाथ टक्क रोकिएर दुई हात जोडेर मनदेखि सम्मान दिने गरेको छु।
हो, म उहाँहरूलाई हेर्छु र उहाँहरूको पेशामाथि भएको यो प्रश्न चिन्ह पनि हेर्छु। अनि मलाई बिरक्त लाग्छ। त्यही पुरानो विद्यालयमा म जस्तै हजारौँलाई, त्यही पुरानो रकमको जागिरले सधैँ सही बाटो र सत्कर्म नै सिकाउने गुरुहरूको पेशामाथि लागेको यो दाग।
हो, आज म एक विद्यार्थी र उहाँबीच आएको यो धारिलो समाचारको प्रहारले पक्कै मलाई जस्तै उहाँलाई नि पिरोलेको होला। अनि सबलाई अवगत नै छ, संसारको सबैभन्दा पवित्र सम्बन्ध त हजुरबा र नाति-नातिनाको हुन्छ। तर बिडम्बना, आफ्नै हजुरबाबाट आफ्नै फूलजस्ती कलिली नातिनीको इज्जतमा हात हालिन्छ भने म झलक्क मेरो हजुरबुवा सम्झन्छु।
उहाँले मेरो लागि बा-आमासँग झुट बोलेर वृद्धभत्ताको पैसोले चकलेट खुवाएर मलाई चुप-चुप भन्ने बाका अनुहारहरू यसै निन्याउरा छन्। सधैँ मेरो लौरी मेरी नातिनी भन्ने हजुरबाको चाउरी परेका गाला र हात हेर्छु अनि खुम्चिएका मन हेर्छु, आज उहाँ र म बीचको पवित्र प्रेममा पनि यो समाचारले केही प्रहार गरेको पक्कै छ।
समाज, छिमेकी भनेको मर्दाको मलामी पर्दाको सहारा हो नि है? हाम्रो छिमेकमा नि धेरै प्रेम छ। कसैलाई केही परे ज्यान दिएर अघि बढ्ने साहस हरेकको छ। यदि छिमेकी नै हुँदैनन् भने एक घर कसरी उभिन सक्छ र? तर आज छिमेकीबाटै एक छिमेकी छोरी शोषित भएको घटना बाहिर आउँछ भने म घरको बार्दलीबाट हर एक घर नियाल्छु र म त्यहाँ उभिएका हरेक मान्छेप्रति मौन भएर घुरिरहन्छु।
अनि सोच्छु, आजको यो घटनाले हाम्रो सम्बन्धमा पनि केही तारबार लगाएको छ। अनि मन झन् पिरोल्छ। हरेक दिन बिहानको सूर्यका किरण शरीरमा पुग्न नपाउँदै मेरो कानमा एक समाचार आएर ठोकिन्छ। कुनै एक सम्बन्धबाट कुनै अर्को सम्बन्धको बलात्कार भयो रे।
हतार-हतार टिभी खोल्छु, सम्बन्धहरू देखिन्छन् आफ्नै दाइ, भाइ, बुवा, हजुरबुवा, छिमेकी, शिक्षक। यस्तै सम्बन्ध देख्छु अनि झन् दिक्क लाग्छ। आज कोही चेली बलात्कार भए सँगसँगै धेरै सम्बन्धको बलात्कार भएको छ। म चुपचाप ढोका बन्द गर्छु, आतिन्छु।
अब सुरक्षित हुनको लागि म के गरुँ? म घरमै थुनिएर बसूँ या अरु सबलाई थुनेर म निक्लिएर हिडूँ? हजार सवाल जवाफले भरिपूर्ण म, चुपचाप निस्किन्छु र सम्बन्धको न्याय दिलाउन बाको पसिना नबगोस् भनेर दौडन्छु। अनि भन्छु- बा सुन्नुस् न, तपाई घरमा बस्नुस्, म बारीमा काम गर्छु।
बाले मेरा मलिन अनुहार नियाल्दै भन्नुहुन्छ- छोराछोरीकै लागि त हो हामीले दु:ख गर्ने, जाऊ घरमा पढेर बस है अनि विद्यालय जाऊ। म भन्न खोज्छु, विद्यालय जाने बाटो यो घरबाट निस्केर त्यो दुई गाउँ कटेर, खोला कटेर, गुरुको घरमा पुग्नु छ।
बा अनि गुरुको भाँचिएका गोडा छन्, छोरा नाति विदेश छन्, श्रीमती उहाँको अकालमै जानु भयो, मैले नै सहारा दिएर उहाँलाई विद्यालय पुर्याउनु छ। ओहो! यहाँ घरदेखि विद्यालय पुग्दासम्म बाटोमै लाख बालिकाको बलात्कार हुन्छ र हुने गरेको छ। घर, गाउँ, छिमेक, सुनसान बाटो अनि मास्टर…।
‘म विद्यालय जादिनँ बाबा।’
हिजो मायाले मेरा गाला चिमोट्ने सरसँगै डर लाग्छ। छिमेकीले मिठो पाक्दा खान बोलाउँथे। त्यहाँ जान पनि डर लाग्छ। ती बुढा बा मेरी नातिनीजस्तै गर्दै मेरा गाला सुम्सुमाउँदा मलाई त्यही प्रेमसँग पनि डर लाग्छ। म हरेकको नजर गलत देख्ने भएको छु। बा, मलाई हरेक सम्बन्धबाट टाढा जानु छ।
म भोलि कुनै झाडीमा मृत फेला पर्ने हो भने मैले दुई अक्षर चिनेर के गर्नु बा? डराउन हुँदैन, लड्नुपर्छ भन्नु होला, के आजसम्म बलात्कार भएका ज्यान गुमाइएका सबैको आत्माले शान्ति पायो त?
रातारात समाचार बने, कतिलाई आम्दानी भयो अनि सेलायो। कतिले कठै भने। तर, समाचार सेलाए पनि पीडित, उसका आत्मा अनि उसको परिवारको दु:ख त सेलाउँदैन नि। तर, त्यो दोषी उसकै किरियामा, उसकै आँगन अगाडि घुमिरहँदा सरकार मौन छ। अरुले जति आवाज उठाए पनि के भयो र बा?
भो, म अब घरबाटै निस्किन्न बा। मलाई केही सिक्नु छैन। मलाई केही जान्नु छैन। जुन दिन न्याय उनीहरूलाई मिल्ने छ, हाम्रो लागि संविधान बन्ने छ, दोषी उम्किन पाउने छैनन्, त्यो दिन म निस्क्नछु। होइन भने अब दिनदिनै हरेक चेली अनि हरेक सम्बन्धको बलात्कार र हत्या भएका घटना सुन्नु छ। घरमै असुरक्षित भएर बस्नु छ बा।