इतिहासको एउटा पानामा कालो पोतिएको दिन (२०७१, असोज ६) जब आफ्ना छोराको हत्यारा पत्ता लगाउन अनशन बस्दै गर्दा बुबा नन्दप्रसादले मृत्युवरण गर्नु पर्यो। आज ६ वर्षभन्दा बढी बितिसक्दा पनि उनको शव त्रिवि शिक्षण अस्पतालको मृत्युशैयामा न्यायको प्रतिक्षा गर्दै छ।
उनी आफ्नै छोराका लागि लड्दा त कात्रोमा बेरिनुपर्यो, के आज हामी अनि हाम्राका लागि लडिरहेका डा. केसीलाई कहिलेसम्म बचाउँला सरकारले?
हो, योपालि त वार्ताको भरमा बचायो सरकारले तर के अब फेरि पनि उनी यसैगरी लडिरहनु नपर्ला? विगत साक्षी छ, उनका मागहरु आश्वासन र पानामा सीमित भएका छन् जस्का कारण विभिन्न कालखण्डमा उनले अनशसन बसीरहनु पर्यो।
खुसी छन् जनता की वार्तापछि आज अनशन तोडियो तर के फेरि पनि पानामा नै सीमित त हुँदैनन् ती आश्वासन? त्यसैले लडाइ सकिएको होइन। जबसम्म ती आश्वासन पानामा सीमित छन्, तबसम्म न केसी थाक्नेछन् न नेपाली जनता।
स्वास्थ सेवा होकी पेशा?
सेवा भन्ने सिद्धान्त बोकेका हामी धेरै छौँ तर त्यो सिद्धान्तमा बाच्ने स्वास्थ सेवाका मर्यादा पुरुष हुन डा. केसी। अन्तर्राष्ट्रिय मानव अधिकार सन्धीमा हस्ताक्षर गरेको नेपालको सामान्य दायित्व सिभिल राइट र हेल्थ केयर हो तर आज त्यसैका लागि लडिरहनु परेको छ।
डा. केसीको यो हिजोको लडाइ होइन, एक दशक हुन अब बस् केही वर्ष बाँकी छ। विभिन्न समय खण्डमा उनका मागहरू पानामा सीमित भएर बारम्बार उनी अनशसन बस्नु पर्यो।
के सरकारको हैसियत छैन की एउटा अब्बल चिकित्सकको स्वास्थ्य सुधारको माग कार्यन्वयन गर्न? कि असम्भव छन् यी कुरा? चन्द्रामामा माटो खनी भवन ठडाउने माग त पक्कै हैन उनको। बस्, दूरदराजमा रहेका व्यक्तिलाई सहज स्वास्थ्य सेवाको पहुँच होस्, गरिबका सन्तान योग्यता भएर पनि गुणस्तरीय शिक्षाबाट वञ्चित हुन नपरोस् अनि सम्रग देशको स्वास्थ्य प्रणाली अब्बल होस्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस सुचारू गर्ने ताकी दूरदराजमा पनि गुणस्तरीय शिक्षाको पहुँच हुन सकोस्। के यी मागहरू कार्यन्वयन गर्न सक्दैन र सरकार?
यी कुराहरु त सरकारले आफै वरिष्ठ स्वास्थ्यकर्मी भेला गरी कुन क्षेत्रमा के कमी छ, आफै खोजि गरी सुधार्नु पर्ने दायित्व हुन पर्ने। तर एक स्वास्थ्यकर्मी अन्तिम ढुक्ढुकी राखी सारा देशका लागि विभिन्न समयमा लडिरहे।
६३ वर्षको उमेरमा १९ औँ आमरण अनशनमा रहेका केसीको जीवन रक्षा गरी आफ्नो मुखमा कालो पोतिनबाट बच्यो सरकार तर के उनका मागहरू व्यवहारमा सम्बोधन होलान्? मेरो मनमा चिसो पसिरहन्छ, कतै कुनै दिन ६ वर्ष पहिले झैँ नन्दप्रसादको इतिहास दोहरिन्छ की। मलाई डर लाग्छ, कुनै दिन बिहान मेरा आँखा खुल्दा उनका बन्द नहुन्।
उनी आज हाम्रा लागि लडेका छन्। जब हामी भोलि राम्रो स्वास्थ्यको लागि छट्पटाइरहेका हुन्छौँ तब धेरै ढिला भइसकेको हुनेछ। आज हामी चुप छौँ त बुझौँ आफ्नै खुट्टामा बन्चरो हान्दै छौँ। आजको हरेक क्षण हाम्रा लागि लडौँ, आज वार्ता मार्फत र आश्वासनका भरमा अनशसन त तोडियो तर के सरकार यो भन्न सक्छ की यी वार्ता कार्यान्वयन हुन्छ र केसी २० औँ अनशसनमा हुने छैनन्?