भएन, मिलेन, हुँदैन, सक्दैन- यी नेपाली समाजमा प्रचलित शब्दावलीहरू हुन्। सुन्दा-सुन्दा खासै कुनै नौलो पनि लाग्दैन। बानी परिसकेको छ। झन् मनलाई त छुँदै छुँदैनन्।
परिवर्तनका लागि कति लडाइ लडियो, क्रान्ति गरियो, कति नीति–नियम, कानुन बने, संशोधन भए। तर परिवर्तन भनेको के हो, के हो! होकी जस्तो, होइन की जस्तो। लेखिएका दस्तावेजहरूलाई एकै ठाँउमा थुपार्ने हो भने पनि दुई/तीन सय ट्याङ्कीमा पनि अटाउँदैन होला।
यति धेरै परिवर्तनका थुप्रोहरूका थाक जम्मा भइसकेका छन्। ती दस्तावेजहरूमा ढुसी लागेर सढिसके होलान्। सायद तिनलाई व्यवस्थित गर्न २/४ व्यक्तिलाई तलब दिएर राखे पनि अवकाशसम्मै पनि सकिदैन होला।
'हामी परिवर्तन गर्छौं' भनेर एकपछि अर्को हुलको जमात चिच्याउँदै कराउँदै सडकमा उफ्रिंदै आउँछन्, अभियन्ताहरू, नेताहरू, धार्मिक समूह पनि आउँछन्। त्यसैगरी शिक्षित वर्ग, बौद्धिक वर्ग पनि आउँछन्। केही समय खैलाबैला मच्चिन्छ, यताउता सल्बलाउँछन्। अनि सबै हराएर गइहाल्छन्।
परिवर्तन गर्न भनी आएकाहरू नै परिवर्तन भएर गएका हुन् की! कि परिवर्तनका सोचहरू पनि बिक्री गरेर गएका हुन्? कसले सरल तरिकाले बुझाइदिने? यत्ति धेरै ज्ञानी, बु्द्धिमानी, बाठा मानिसहरू भएको सानो देशमा के भाको होला? बोलेरै मात्र परिवर्तन हुन्छ भनेर मानिलिने हो भने ती भगवान होइनन्।
हातखुट्टा चलाएर परिवर्तन देखिएला भनूँ भने आधा उमेर त त्यसै गइसक्यो। एउटा योजना सम्पन्न हुन पनि करिब २५/३० वर्ष लाग्ने नै भयो। यस्तो किन हुन्छ? आखिर हामी को हौँ त? के हामी नेपाली यस्तै नै हौँ त? हामी साँच्चीकै यस्तै छौँ त? बोल्ने कुराहरूमा हामीलाई कसैले जित्न सक्दैन।
अरू कुरा त्यस्तै हो, यो मामिलामा भने नेपाली समाजले कामियाबी हासिल गर्छ। विकासका क्षेत्रमा हामीले प्रगति देख्न सकिरहेका छैनौँ। विकासको क्षेत्रमा नभए पनि मानव विकासको क्षेत्रमा त हुनुपर्ने हो नि! कि त्यहाँ पनि हामी नाटक खेल्न र हेर्नमै मस्त भएका छौँ?
दोषै मात्र दिएर बस्ने एउटा समूह, प्यार-प्यार जे मन लाग्यो बोल्दै हिँड्ने अर्को समूह छन्। यस्ता समूहहरू कति छन् कति यो समाजमा। हिजोभन्दा आज अलिक सास फेर्न सजिलो होला की भन्यो फेरि केही समयपछि जस्ताको त्यस्तै। परिवर्तन चाहियो भनेर बोल्दा–बोल्दा थाकेर चुप लाग्नेहरूको अर्को समूह छ। जो लुसुक्क विदेश पलायन हुन्छन्।
अनि भन्छन् 'आउने त मन छ तर वातावरण नै छैन।' अक्सर सुन्ने कुराहरू यही नै हुन्। म आफै मात्र के कम। आफूलाई पर्दा पनि यस्तै नै भन्ने हो नि। हामी लाचार मर्दहरू भएका छौँ। साहस नभएका वीरहरू भएका छौँ। प्रेम नभएका प्रेमीहरू भएका छौँ। हाम्रो संस्कार यसरी नै विकसित हुँदै आएको छ।
तर एउटा अचम्मको समूह पनि छ, जो चुपचाप कामै मात्र गरिरहेको छ। धन्य हुन् तिनीहरू चुपचाप सहेरै पनि आफ्नो काम गर्दैछन्, मिहेनत गर्दैछन्। सायद तिनीहरू फटाहाहरूको समूहमा पर्दैनन्।
हामी समाजको एक हिस्सा भएको नाताले नेतालाई होइन, समाजलाई एउटा सरल प्रश्न सोध्न मन लागेको छ। हामी के चाहन्छौँ यो देशमा? तपाईहरू भन्नु होला, हामीलाई विकास चाहियो, शिक्षा, स्वास्थ्य, रोजगारी, शान्ति, खुसी चाहियो। अवश्य पनि यी सब चाहिन्छ। हामी सबैको यही मान्यता रहीआएको छ। उसोभए हामीले सोचेका यी सबै परिवर्तनहरू कसले गरिदिने त?
सरकारले, प्रशासनले, निजामती कर्मचारीले? कि कसले? अनि तपाई र मेरो जिम्मेवारी र नागरिकको हैसियतको कर्तव्य कुन क्षेत्रबाट पूरा गर्ने सोच हामीले राखेका छौँ त? भ्रष्टाचार र भ्रष्टाचारीहरू आफ्नै ठाउँमा छन्। विकास र परिवर्तन पनि आफ्नै स्थानमा छन्। त्यो हाम्रो संरचनाको कमजोर पक्ष हो। संस्कारको कमजोरी हो।
नैतिकता बलियो नभएपछि संरचना र संस्कार पनि कमजोर नै हुन्छ। कमजोर निर्णयले कमजोर नै नतिजा दिन्छ। यति भन्दै गर्दा हामी समाजमा रहेको हुनाले आफैलाई पनि मूल्यांकन गर्न आवश्यक छ।
हामी आफै पनि हाम्रो सोचमा, चेतनामा भ्रष्ट छैनौँ भनेर भन्न सक्ने अवस्था छैन। छन् भने हामीले यी प्रश्न राख्न जायज हु्न्न होला। संरचनालाई बार्गेनिङ गरी आफू अनुकूल बनाइ फाइदा लिनेहरू, हामी आफै पनि भ्रष्टाचारीहरू मध्ये मै पर्छौँ। जब हामी आफै पनि मानसिक रूपमा भ्रष्ट छौँ भने यही समाजका मानिसबाट कसरी उत्कृष्ट परिवर्तनको अपेक्षा राख्न सुहाउँछ?
आफै पनि अनुसाशनहीन, कर्तव्यविहीन भएर बाँचिराख्दा किन हामीलाई सबै कुरा अरूले नै आएर गरिदिनु पर्ने? आफै नगरेर केबल अरूबाट गरियोस् भन्ने आशा मात्र राख्दाको परिणाम परिवर्तन नभइ, अस्थिरताको अवस्था सृजना हुन आएको हो।
मिलापमा जोड दिन छोडी बाझाबाझको अवस्थालाई प्रोत्साहन गर्ने हामी आफै होइन र? उदार मनले काम गर्नेहरूलाई प्रशंसाको साटो चपेटामा पार्ने हामी यही समाजका मानिसहरू हौँ। अनि कसरी परिवर्तन आउँछ? राम्रो काम गर्नेलाई एक शब्द धन्यवाद पनि भन्न नसक्ने कन्जुस समाजका पात्रहरू होइनौँ र हामी?
एउटा व्यक्तिले जब आफ्नो जीवनको खुसीलाई पूर्णरूपमा स्वतन्त्रका साथ अन्य मानिसहरूसँग बाँड्न सक्दैन भने ऊ मात्र समाजमा धनी भएर के हुन्छ? धनी हुनु, समृद्ध हुनु असल हो तर त्योभन्दा ठूलो कुरा व्यक्ति आफै खुसी हुनु हो। नेपाली समाजमा तपाईलाई भौतिक रूपमा धनी भएर पनि खुसी हुन कठिन छ।
यदि खुसी हँदो हो त भलाइको कामद्वारा तपाईले अरूलाई सहयोग गर्नुहुन्थ्यो होला। यदि यो सत्य होइन भने आफ्नो भित्री मनलाई एकपल्ट सोधेर हेर्नुस् अनि खुसी के हो पत्ता लाग्नेछ। अभावमा जिउने मानिसहरू आफ्नै प्रकारले स–साना उपायहरूद्वारा खुसी हुने प्रयास गर्छन्। हामी बोल्नेहरू मात्रै नभएर परिवर्तनका बाहक हुन जरूरी छ। जुन कारणले हामीले सोचेका आकृतिहरूको निर्माण गर्दै अघि बढ्न सक्छौँ।
बोल्नेहरूभन्दा पनि योजना बनाउनेहरू असल होइन र? अनि योजना बनाउनेहरूभन्दा हात खुट्टा प्रयोग गर्नेहरूको कारणले परिवर्तन आउने होइन र? तर समन्वयको अभाव छ।
नेपाली समाजलाई लाजमा आधारित संस्कृति मानिन्छ। 'नाक काटिनु' को अर्थ नै समाजमा स्थापित मूल्य र मान्यताको आधारमा व्यक्तिले गर्न नहुने काम गरेबापत पाउने सामाजिक प्रतिफल वा न्याय हो। हामी आफै पद र सम्पत्तिमा भ्रष्टाचार नगरेका हौँला तर हाम्रो समाज र परिवेशको फाइदा उठाउन कसैले पनि बाँकी राखेका छैनौँ।
मानसिक व्यवहारको रूपमा हामी आफै पनि केही मात्रामा भ्रष्टाचारका संकेतहरू व्यक्त गरिरहन्छौँ। त्यसैले जबसम्म हामीले नैतिक आचरणमा सुधार ल्याउन सक्दैनौँ, तबसम्म परिवर्तन हाम्रो लागि दिवा सपना जस्तो मात्रै बन्न जान्छ। यसको लागि हामी सबै व्यक्ति–व्यक्ति समान रूपमा जिम्मेवार भएमा मात्रै हामीले चाहेको, सोचेको जस्तो परिवर्तनको अनुभूति हुन सक्छ। नत्र भने उही लोप्पा खाँदै बस्ने हो।