बर्बोट अर्थात् प्युठान सदरमुकामबाट झनै १५-१७ किलोमिटर पूर्वको सानो गाउँ पहाडकै बीचमा पनि अलिक शान्त, भिरपाखा नभएको थपक्क बसे जस्तो डाँडा। घरहरु लस्करै बसेका जस्ता, जता-जता बाटो उतै-उतै बाक्ला थिए। डाँडाको पुच्छर तिर फेदीमा मेरो स्कुल थियो।
बिजुली पुगेको थिएन, मोटरबाटो थिएन, गाडी गुडेका थिएनन्। बिहान उठ्ने, घाँस काट्ने र स्कुल जाने दैनिकी थियो। अनि मौका मिल्यो की मोजाको भकुण्डो बनाइ गोलअप, राज्य, बााबुछोरा, बाघ बाख्रा ,चुन्नि जस्ता खेल खेल्ने गरिन्थ्यो। अनि कहिलेकाहीँ बाबाको गाली सरको कुटाइ र परीक्षा नजिक आएको बेला पढ्ने गरिन्थ्यो।
त्यो बेला स्कुलमा टाठो मध्येकै विद्यार्थी भए पनि पढ्नेमा भन्दा अधिक ध्यान खेल्नेमै हुने गर्दथ्यो। पहाडी बस्ती भएर नि होला खेल्ने खेल र खेलौना पाउनु हाम्रो लागि अलिक परको कुरा नै हुन्थ्यो। केही नयाँ खेलौना आउनु भनेकै कहिले काहीँ गाउँबाट सहर गएका दाजु, दिदी, आफन्तहरुले ल्याईदिए मात्र हो।
हाम्रो गाउँबाट त्यसबखत काठमाडौँ आएर पढ्नेको संख्या निकै नै कम थियो। कतिजना काठमाडौँ हुनुहुन्छ भनेर औँलाभरिमा गनेर सकिन्थ्यो। त्यसमध्ये मेरो ठूलो बुवाका छोराहरु पनि काठमाडौँमै बसेर पढ्नु हुन्थ्यो। तीन जना नै काठमाडौँ भए पनि अलिक बढी कान्छा दाजुसँग लगाव अनि प्रेम थियो।
जब उहाँ काठमाडौँबाट जानु हुन्थ्यो, त्यो बेला छुट्टै रमाइलो हुने गर्दथ्यो। सँगसँगै राम्चे जाने घाँस काट्नेदेखि पधेरीमा गइ नुहाउने गरिन्थो। उहाँले नै गाएको गीत 'बिजुलीको तार तार, फुर्सद छैन ए हजुर भेटौँ शनिबार' मैले पहिलोचोटि सुनेको थिएँ। त्यस बखत साँच्ची शनिबार कोसँग होला भेट्ने जस्तो लाग्थ्यो।
भर्खर भर्खर लेख्न सिक्दै गर्दा कनि कुति गर्दै एक लम्बा चिठ्ठी लेखी काठमाडौँ जानेसँग दाजुका लागि पठाउने गर्थेँ। मेरा लागि काठमाडौँबाट सेतो गोलो डायल कालो प्लास्टिकको फित्ता भएको घडी ल्याइदिनु भएको थियो। पहिलो पटक घडी हातमा बाध्दा त्यो सान छुट्टै थियो।
मैले त्यस्तै चार कक्षामा पढ्दा किताबमा चंगाको बारेमा लेखिएको पाएको थिएँ। जब जब दशैँको आगमन हुने गर्दछ तब चंगा उडाउने गरिन्छ भनेर किताबमा लेखिएको भेटेको थिएँ। चंगाले भने मेरो दिमागमा यति ठूलो छाप पार्यो की मलाई त्यो जसरी उडाउने हुटहुटी हुन लाग्यो। चंगा मैले देखेको जानेको पसलमा कतै पाइँदैन थियो।
अब मेरा लागि अन्तिम विकल्प नै काठमाडौँमा हुने दाजु गुहार्नु भयो। काठमाडौँमा बस्ने दाजु मामा-सानिमाहरुसँग १/२ महिनाको अन्तरालमा गाउँबाट तल चुजाठाँटीमा भएको पिसिओबाट फोन हुने गर्दथ्यो। काठमाडौँ फोन गर्दा प्रतिमिनेट १४ रुपैयाँ तिर्नुपर्ने तथा मिनेटमा ३/४ सेकेण्ड मात्र पनि बढी हुँदा अर्को मिनेटको पनि पैसा तिर्नु पर्दथ्यो।
फोनमा कुराकानी गर्दा बढीमा तीन मिनेटमा सबै सन्चो बिसन्चो पढाइदेखि सम्पूर्ण कुरालाई सकाउनु पर्थ्यो। त्यो वर्ष दशैँ आउनुभन्दा २/३ महिना पहिला फोनमा दाजुलाई चंगा ल्याइदिन आग्रह गरेको थिएँ। दसैँ आउने रमाइलोभन्दा पनि चंगा देख्न अनि उडाउन पाउने कुराको व्यग्र प्रतीक्षा रहेको थियो।
तर अपसोच, सोचेजस्तो भएन। चंगा काठमाडौँबाट लगिदिनु भएको रहेनछ। इच्छा पूरा हुन सकेन तर पनि मेरो उत्कट चाहनालाई बुझेर दाजुले स्याम्पूको बोत्तलको लट्टाइ, धागो, गउँको पिठोको गम, पत्रिका, बासको सिन्का जम्मा गरी चङ्गा बनाउने कोशिस गर्नुभयो।
किताबमा वर्णन भएको मेरो मनमा आकृति बनेको चङ्गासँग त्यो न त मेल खायो न उड्यो। दशै तिहार सकियो, दाजुहरु काठमाडौँ फर्कनु भयो। चंगाको हुटहटी पनि विस्तारै सेलाउदै गयो। समय बित्दै गयो, हामी कहिले थोत्रो बलको खोस्टोमा बलाडर फेर्दै भलिबल खेल्यौँ त कहिले के खेल्थ्यौँ।
केही वर्षपछिको कुरो, स्कुल नजिकै ट्याक्टर आउँथ्यो। त्यसैको पछिपछि कुद्दै पर परसम्म जान्थ्यौं। गोरु लगी मधुगरे जंगलदेखि पालुका थाना जंगलसम्म त कहिले कता कहिले कतासम्म लान्थ्यो। यसो गर्दागर्दै समय बितेको पत्तै भएन, एसएलसी परीक्षा दिइयो।
परीक्षापछि लगभग तीन महिना जस्तो एफएम टिपाउने घरमाथि धुरीमा एन्टिना बनाउने गोठालो जाने गरेरै बित्यो। एसएलसी प्रथम श्रेणीमा पास गरेपछि भने राम्रो विषय पढ्नकै लागि भन्दै काठमाडौँ आइयो। एसएलसीभन्दा अगाडि मैले टाढाको यात्रा नै गरेको थिइनँ। दाङमा ठूलो बुवाको घर थियो।
एकपटक मात्र त्यहाँसम्म आएको थिए भने दाङबाट यता मेरो लागि अत्यन्त नौलो थियो। काठमाडौंमा आए विज्ञान विषयमा भर्ना भइ पढाइ सुरु भएको थियो। दशैँ आउन मात्र ३०/३५ दिन बाँकी थियो। पहिलो पटक घर छाडेको अत्यन्त नियास्रो लागिरहेको थियो। हल्का जाडो सुरु हुन लागेको थियो।
बिहानको क्याम्पस गइ आएर छतमा बसिरहेको थिएँ। त्यसै बखत आकाशमा चराभन्दा फरक वस्तु उडिरहेको देखेँ। अलिक नियालेर हेर्दा चंगा भएको थाहा पाएँ। एक्कासी चार कक्षादेखिको चंगाको त्यो मोह अनि कौतुहलता पूर्ण भयो। छतमा जाने पर पर उडिरहेका चंगा निहाल्ने अनि आफैमा रमाउने गर्दथेँ।
पर परसम्म उडिरहने एक अर्कासँग लडाइ गरी गरी उडिरहेका जस्तो देखिने अनि उडाउने केटाकेटी झनै रोमाञ्चित हुँदै चिच्याउने गरेको हेर्न खुबै मज्जा आउथ्यो। केही दिनपछि म बसेकै घरमा पनि बच्चाहरु छतमा आएर चंगा उडाउन लागे। म भने आफैलाई सम्झन्थेँ र हास्थेँ।
अनि काठमाडौंबाट दाजुले चंगा नलगी दिएकोमा मेरो गुनासो सम्झन्थेँ र भन्थेँ- धत्तेरी, चंगा त यस्तो पो हुँदो रहेछ। आज पनि दशैं जब-जब नजिक आउँछ, छतमा चंगा उडेको देख्छु अनि मुस्कुराउँदै मलाई भन्ने गर्छु- धत्, चंगा यस्तो पो हुँदो रहेछ।