दैवको लिला पनि अचम्मैको छ। संसारको प्रत्येक सजिवहरु बच्चा, वयस्क र बुढो हुँदै अन्त्यमा मर्छन्। सजिवहरु आखिर सबै मर्छन् नै तर उमेरको अनुपातसँगै अरु जीवभन्दा मान्छेको शरीर धेरै परिवर्तनशील छ।
अरु जनावरहरु जन्मेपछि छिट्टै नै हुर्कन्छन् र आफ्नो स्याहारदेखि लिएर खानेकुराको बन्दोबस्त अनि शत्रुबाट बच्ने कुराहरुमा पनि केही महिनामै आफै सक्षम हुन्छन् तर मान्छेको हकमा त्यो नियम लागु हुँदैन।
मान्छे जन्मदा नै यस्तै डेढ किलोदेखि चार किलोसम्म हुन्छ। त्यो सानो मान्छेको नमुनालाई न त हातमा लिनु न त काखीमा च्याप्न मिल्छ, केबल त्यसमा प्राण हुन्छ, आमाको दुध चुस्न, दिशा पिसाब गर्न र रुँदा हातगोडा चलाउन मात्रै सक्छ। बाबुआमाले आफ्नो प्राण र मुटुभन्दा प्यारो गरेर त्यो शिशुलाई स्याहार गर्छन्।
उसमा आफ्नो भविष्य र सपना सजाइरहेका हुन्छन्। अझ भनौँ, बालक जन्मनु अघि नै जिन्दगीका सबै योजना तर्जुमा गरिसकेका हुन्छन्। बच्चाले छेर्छ, काखमा पिसाब गरिदिन्छ र छादीदिन्छ तर उनीहरुलाई घिन लाग्दैन। बच्चाले जे गरेपनि रमाइलै लाग्छ। बच्चा च्याँ गरेर रुनु हुँदैन, खाना खाँदै गर्दा होस्, निद्रामा होस् या बाथरूममा नै किन नहोस्, बच्चा समाउन कुदीहाल्छन्।
उसँग खेलीरहँदा बाबुआमालाई भोक-तिर्खा पनि लाग्दैन। विस्तारै मुखमा हेरेर हाँस्न थालेपछि त झन् मेरो गुडिया भन्दै चुम्मा गर्दै हँसाउन थाल्छन्। विस्तारै घोप्टो परेर भुइँमा हातले आड लगाउँदै पेटले घस्रदै सुताएको ठाउँ छाडेर भुइँ तिर लडिबुडी खेल्न थाल्छ।
केही महिनापछि सिधा भएर बस्न सक्ने र चार हातगोडाले टेकेर सर्न थाल्दछ। बच्चाले मुखबाट कुनै त्यस्तो आवाज निकालेन भने पनि बाबुआमालाई बच्चा लाटो हुने त हैन भन्ने चिन्ता पर्छ। बच्चाले विस्तारै खानेकुरामा हात हाल्न र खान थाल्छ। विस्तारै आफ्नो र पराइ छुट्ट्याउन थाल्छ। त्यहीबेला धुमधाम र हर्षबढाइ गरेर आ-आफ्नो संस्कार अनुसारको बच्चाको पहिलो शुभकार्य गर्छन्। अनि विस्तारै बच्चालाई सर्वोत्तम पिठो र जुसहरु खुवाउन थाल्छन्।
बच्चा विस्तारै दुईटा गोडाले उभिन, पाइला चाल्दै लोट्दै गर्न, दुई वटा शब्दबाट उच्चारण हुने शब्द भन्न थाल्छन्। दाँत पलाउन थाल्छ, थोते दाँतमा तोतेबोली निस्कँदा बाबुआमाको हर्षको सीमा रहन्न। बाबुआमा बच्चासँग बात मार्न थाल्छन्, बच्चाले रिस उठ्दा दाँत गाडेर टोक्ने र नङले चिथोर्ने पनि गर्छन्। ताते बाबु ताते भन्दै एक हातले समाएर डोर्याउँछन्।
घरभरि नानाथरी गुडियाले भरिन्छ। तीन वर्षसम्म बच्चा पाको मान्छे जस्तै धेरै कुरा बोल्न थालिसकेको हुन्छ। रंगीचंगी खेलौना र कपडामा ऊ रमाइरहेको हुन्छ। सानो-सानो कुरामा चित्त बुझेन भने पनि रोइहाल्ने हुन्छन्। कोही-कोही बाबुआमाले एक दुई पट्को पिट्छन् पनि। बच्चामा लामो समयसम्म रिस रहँदैन, फकाएपछि तुरुन्तै मानिहल्छ।
अब भने बच्चालाई विस्तारै क, ख, ग, ए, बी, सी, डी र १, २, ३, ४ आदि पढाउन थाल्छन्। बच्चाले कलम टोकेर सिध्याउने, कपि च्यातेर धुजा धुजा पारेर फाल्ने गर्छन्। बाबुआमाले बच्चाले छिटो लेखपढ गर्न सिकोस् भन्ने चाहन्छन् तर त्यस्तो हुँदैन।
समय नहुने र व्यस्त बाबुआमाले यही बेलादेखि बच्चालाई चाइल्ड केयर या मन्टेश्वरी मा राखिदिन्छन्। अलिकपछि बाबुआमा विस्तारै स्कुल पुर्याउन जान्छन् तर छाडेर क्लासमा बस्न मान्दैन। कहिलेकाहीँ त यो बेलामा बाबुआमा कसरी बच्चालाई स्कुलमा बानी पार्ने होला भनेर हैरान पर्छन्। विस्तारै शिष्टाचर, सम्बोधन र नाता लगाउने कुरा सिकाउँछन्।
यहीँ बेला हो बच्चाले स्कुल या अन्यत्रै सुनेका अश्लील र नराम्रा शब्दहरु घरमा सबै जम्मा हुँदा या खान खाने बेलामा प्रयोग गर्ने। घरमा आमाहरुले धेरै काम गर्नुपर्ने र बाबु बच्चा खेलेको र खुसी भएको बेला बच्चासँग खेल्ने रमाउने र अलिअलि सताउन थालेपछि आमालाई बुझाउने गर्छन्।
यो बेलामा बच्चाहरुले कतै नयाँ देखेका र सुनेका हरेक कुराहरु के, किन, कहाँ, कसरी, कस्तो जस्ता प्रश्न हरु सोधिरहन्छन्। बच्चा विस्तारै रुँदै रुँदै आफूभन्दा ठूलो झोला बोकेर स्कुल तिर लाग्छ। स्कुल जाने बेला कुनै न कुनै निहुँ झिकेर झगडा गरेर रुने पनि हुन्छन्।
बाबुआमाले मेरो नानी डाक्टर, इन्जिनियर हुने है भन्दै फकाइ-फकाइ स्कुल पठाउँछन्। अनि बच्चाको प्रगति सुन्न रिजल्ट पर्खेर बस्छन्। कति बच्चाले स्कुलबाट फर्कदा कहिले जुत्ता चप्पल, कहिले कापीकिताब नै हराएर आउँछन्। कहिले बाटोमा साथीहरुसँग झगडा गरेर धुलाम्मे र कपडा झोला समेत च्यातेर आउँछन्।
एवं रितले बच्चा विस्तारै किशोरावस्थामा प्रवेश गर्न थाल्छ अनि घरको बाबुआमाभन्दा साथीभाइसँग रमाउने हुन्छ। बाबुआमाले गरिदिएका कुरा उसलाई मन पर्दैन र आफै जान्ने बन्छ। बच्चा बिग्रन लाग्यो भने बाबुआमाले एक अर्कोलाई दोषारोपण गर्न थाल्दछन्।
प्रगति गरेको छ भने अरुलाई पनि सुनाउदै हिड्छन्, खुसीले फुल्छन्। विस्तारै ११/१२ तिर लागेपछि लुगाकपडा र आफ्नो रुपरंगको पनि ख्याल गर्न थाल्छन्। लवाइ-खवाइ, हिँडाइ-बोलाइ सबै कुरामा परिवर्तन देखापर्दै जान थाल्छ। केटा, केटा साथीसँग र केटी, केटी साथीसँग धेरै घुलमिल हुने र समय बिताउन निस्कने गर्छन्।
किशोरावस्थाको अन्त्यतिर शरीरमा विस्तारै जवानीका रंग र चिन्हहरु पोतिदै जान थाल्छन्। ऐना हेरिरहने, छिनछिनमा कपडा बद्लिरहने, साथीभाइ बीच धेरै रमाउने। विस्तारै विपरित लिंगीको आकर्षण प्रति लोभिने र उनीहरुको रुपरंगको ख्याल गर्ने हुन्छन्। यस्ता कुरा सकेसम्म बाबुआमाले थाहा नपाउन भनेर निकै होसियार रहन्छन्।
आफ्नो चढ्दो जवानी देखेर कौतुहलता जाग्ने र लजाउने बानी बढ्न थाल्छ। केटाहरुको आवाज धोद्रो र मोटो हुँदै जान्छ, शरीर पुष्ट र चौडा हुन्छ। केटीहरुको पनि शरीर हलक्क बढेको र पुष्ट हुँदै गैरहेको, वक्षस्थलको तीव्र विकास भैरहेको अनि स्वर पनि सुरिलो र मधुर हुँदै जान्छ। यो उमेरमा केटाहरुभन्दा केटीहरुको उचाइ छिटो बढ्ने गर्छ।
यो बेलामा अरुबाट आफ्नो तारिफ गरेको सुन्ने चाहना राख्दछन् तर घरमा भने सानातिना कुरामा पनि झगडा गरिरहने, कतिले त भाइबैनी छन् भने पिट्ने, नजिक पर्न नदिने आदि गर्छन्। टम्म मिलेको फेशनको सुहाउँदो कपडा लगाउने, शरीर अनुहार र कपालको निकै ख्याल गर्ने गर्छन् यतिबेला। यो उमेरमा पढाइमा साथीभाइसँग प्रतिस्पर्धा गर्छन्, साथीभन्दा कमजोर भइन्छ की भन्ने चिन्ता पनि पर्छ।
विस्तारै टिनेजको उत्तरार्धमा आइपुग्दा विपरित लिंगीको चाहना बढ्ने हुनाले लुकेर एकान्तमा भेट्ने, मिठामिठा कुरा गर्ने हुन्छन्। बाबुआमाले जत्ति आवश्यकता पूरा गरेपनि उनीहरुलाई सधैँ अपुग र अभाव नै भैरहेजस्तो लाग्छ। वक्तित्वकला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापमा उत्तिकै चासो र सहभागी पनि हुन्छन्।
मनोरन्जनको पारखी छन् भने त झन् घरै नगइ उतै रमाइलोमा भुलिरहन पाएहुन्थ्यो जस्तो गर्छन्। एक-अर्कोको ब्वाइफ्रेन्ड या गर्लफ्रेन्ड हुन्छन्, जिन्दगीका रमाइला सपना बुन्छन् र एकान्तमा भेटेर मिठा मिठा कुरा गर्छन्। प्रायजसोले सामाजिक संजालबाट आफ्नो प्रेमलाई निरन्तरता दिन्छन्।
घरबाट झुक्याइ झुक्याइ पिकनिक, पार्टी, फिल्म हल र टुर जाने गर्छन् र कोही कोही कुलतमा फस्ने बेला पनि यही हो। कतिपय बाबुआमा भ्रममा पर्छन् अनि मेरो सन्तानले जे गरेको छ, राम्रो गरिरहेको छ भन्ने सोच्छन्। राम्रा बच्चाहरु निकै मेहनत गर्दै पढाइमा प्रतिस्पर्धा गर्छन्।
कतिको त उच्च शिक्षामा पढ्ने विषयको छनौटमा पनि बाबुआमा एकातिर र छोराछोरी अर्कोतिर हुन्छन्। यतिबेला तिनीहरु कहाँ र कुन विषय पढ्ने भन्ने कुरामा घरको आर्थिक स्थितिको पनि महत्वपूर्ण भूमिका रहेको हुन्छ। उच्च शिक्षाको दौरानमा कलेजमा नयाँ-नयाँ वातावरण, नयाँ साथीभाइ, नयाँ जिन्दगीको नयाँनयाँ सोचाई र सम्पूर्ण जिन्दगी कता मोडिने भन्ने कुराको निर्धारण गर्ने समयले यिनीहरुलाई तनाव पनि दिईरहेको हुन्छ।
विद्यार्थी जीवनमा घरबाट दिएको पैसाले नपुग्ने र जहिले पनि अभाव भैरहने हुन्छ। यतिबेला उनीहरु पूर्ण वयस्क भैसक्छन् र प्रेम गरेको छन् भने लुकिछिपी बिहे पनि गर्छन्। कसैको घरमै बाबुआमाले नै बिहे गरिदिन्छन् भने कोही आफ्नो सपना पूरा गर्न दिनरात मिहेनत गरेर पढीरहन्छन्।
आर्थिक स्थिति बलियो हुनेहरु र पढाइ राम्रो हुनेहरु पढाइ छाड्दैनन् र उदेश्य पूरा गर्नमा तल्लीन रहन्छन्। अरु भने कोही बिचैमा पढाइ छाडेर घरजम गर्न थाल्छन्, कोही जागिर तिर र कोही व्यापार तिर लाग्छन्। यही उमेरमा परिवारबाट अलग भएर आफ्नो सानो परिवार लिएर छुट्टै बस्न थाल्छन्।
पढाइमा राम्रो प्रगति गर्नेहरु कुनै राम्रो संस्था, या कुनै उच्च ओहदाको सरकारी जागिर खान्छन्, कोही युरोप अमेरिका तिर जान्छन् र यसरी साथीभाइबीच पनि दूरी बढ्छ र स्तर पनि तलमाथिको बन्न पुग्छ। छिट्टै पढाइ छाड्नेहरू बिहेबारी गर्ने, सानोतिनो जागिर या व्यापारको आयस्रोत बनाउदै घरबार चलाउन थाल्छन्।
कोही ठूला-ठूला बिजनेसमा हात हाल्ने, दलाली आदि गरेर निकै सम्पत्ति जोड्न पनि भ्याउँछन्। यतिन्जेल अपवादका रुपमा बाहेक प्रायः सबै व्यवहारिक बन्धन र पारिवारिक दुनियाँमा फसिसकेका हुन्छन्।
वैँशको त्यो चरण पार गरेपछि अधवैँशे उमेरमा चढ्दै जाँदा घरपरिवार र सन्तानको बोझ पनि बढ्दै जान्छ। आफूलाई अरुभन्दा अलिक परिपक्क र व्यवहारिक सम्झनछन्, समाजमा आफ्नो स्थान र प्रतिष्ठा जमाउन थाल्छन्। विस्तारै प्रौढावस्था तिर प्रवेश गर्न थालेपछि भने लोग्ने स्वास्नी पनि युवावस्थामा जस्तो सानोतिनो कुरामा झगडा गर्दैनन्।
घरपरिवार, समाज र देशप्रति आफ्नो दायित्वको बोध गर्छन्। यो बेलामा जिन्दगीले आफ्नो गन्तव्य लिइसकेको हुने हुनाले खासै नयाँ कुरा तर्फ़ ध्यान दिँदैनन्, बरु परिवार, समाज र राष्ट्रको लागि कसरी योगदान पुर्याउन सकिन्छ भन्ने कुराको यिनीहरुलाई सदैव आभाष भैरहन्छ। बृद्ध मातापिताको रेखदेख, बढ्दै र पढ्दै गरेका सन्तानको लालनपालन र शिक्षादिक्षाको दोहोरो दायित्व यिनीहरुले बोकिरहेका हुन्छन्।
यो उमेरका हरुमा आफ्नो सन्तान ठूलो भएर समाजमा सबैभन्दा उत्कृष्ट होस्, ट्यालेन्ट होस्, नाम राखोस् र दाम कमाओस् भन्ने उत्कट अभिलाषा हुन्छ। मान्छे आफूलाई कसैले नजितोस् भन्ने चाहना त सबैमा हुन्छ तर सन्तानको नामबाट आफू चिनिन पायो भने झन् संसारको खुसी नै त्यही ठान्छन् र गर्व गर्छन्।
घरव्यवहार र पारिवारिक झमेलाले यिनीहरुलाई पुराना साथीभाइ भेट्ने, घुमफिर गर्ने कुनै सभा सम्मेलन जमघटमा जाने फुर्सद पनि हुँदैन। विस्तारै यिनीहरुमा बुढ्यौलीको लक्षण देखापर्न थाल्छ, कपाल फुल्नु, हाँस्दा अनुहारको छाला खुम्चन थाल्नु, सानो परिश्रम गर्दापनि थकान महशुस गर्नु, यो उमेरको लक्षण हो।
कुनै गाह्रो काम मनले आट्ने तर शरीरले नसक्ने भएपछि आफ्नो साँच्चै उमेर ढल्केछ भन्ने आभाष हुन्छ। आँखाको दृष्टि पनि अलिक कम हुन थाल्छ, धेरै कुराको चिन्ताले गाँजिरहेको हुन्छ यो बेला। एकातिर जवान छोराछोरीको आवश्यकता, अर्को तिर अशक्त बाबुआमाको हेरविचारको चिन्ताले यिनीहरु आफू जवान छु भन्दाभन्दै प्रौढावस्थामा पुगिएछ भन्ने महशुस हुन थाल्छ।
अनि राति निद्रा छिट्टै नलाग्ने, लागेपनि कम लाग्ने र बिहान छिट्टै ब्युँझने, मनमा कुरा खेलिरहने हुन्छ। ओर्लदो उमेरसँगै अलिअलि धर्मकर्म र समाजसेवामा पनि मन जान थाल्छ। आफ्ना सहपाठीहरु भेट हुँदा आफ्ना जवानीका कुरा र सन्तानका कुरा गर्छन् र अब यिनीहरु विस्तारै एक्लो महशुस गर्न थाल्छन्।
हुर्केबढेका सन्तानले पनि कोही जागिर व्यापार, र कोही बिहेबारी गरेर लाखापाखा लगेपछि झनै एक्लिन्छन्। नातिनातिना खेलाउने रहर हुन्छ, आफ्ना सन्तानभन्दा पनि नातिनातिनाको धेरै माया गर्छन्। जब आफूले कुनै कुरा पूरा गर्न सक्दैनन् अनि त्यो सपना विस्तारै सन्तानमा सर्दै जान्छ।
आफ्नो सपना सन्तानले पूरा गर्ने अपेक्षा राखेका हुन्छन् तर छोराछोरीबाट पनि त्यो पूरा भएन भने नातिनातिनाले भएपनि त्यो सपना पूरा गर्छन् की भन्ने आशा हुन्छ। पाएसम्म ती साना बालबच्चा आफ्नै आँखा अगाडि नाचिरहुन र घुमिरहुन भन्ने लाग्छ। अनि आफ्नो पाको उमेर र अशक्तताले गाँज्दै ल्याएपछि आफ्नो पेशा र घरव्यवहार सन्तानलाई सुम्पन्छन् र जागिर हुनेहरु पनि अवकाश लिन्छन्।
कपाल सेतै फुल्छ र कसैको त दाँत झर्ने, कान नसुन्ने आदि हुन थाल्छ। आँखामा चस्मा र हिंड्दा लठ्ठीको प्रयोग गर्नुपर्ने हुन्छ। युवा पिँढीहरुको हरेक क्रियाकलाप, काम गराइ मन पर्दैन र कराइरहने गर्छन्। अनि बुढो हुँदा पनि आफै गर्न नसक्ने भएपछि चुप लगेर बस्नु नि भन्दै छोरानातिले मुख फर्काउन थाल्छन्।
यो पाको उमेरमा एक अर्कोको दुखसुखको साथी भनेकै लोग्ने स्वास्नी मात्रै हुन्छन्, अरु सबै आ-आफ्नै सुरमा हुन्छन्। छिनछिनमा आफैले गरेका र बोलेका कुरा बिर्सने हुन्छन् र सानो-सानो रोग या व्यथाले पनि बढी नै च्याप्ने हुन्छ। काम गर्न नसक्ने र स्याहार मात्रै गर्नुपर्ने हुँदा परिवारले पनि खासै मन पराउदैनन।
दाँत झर्न थालेपछि जे पायो त्यही खान सक्दैनन् र खाएको कुरापनि पचाउन सक्दैनन्। कोही आफन्त आयो भने बोलीले मात्रै चिन्ने आँखा नदेख्ने हुन्छन्, हिँड्दा गोडा धर्मराउने हुन्छ र शरीरले भर पाउँदैन। घरको सेरोफेरो बाहेक टाढा पुग्न सक्दैनन् यिनीहरु। दम, सुगर, ब्लडप्रेसर, युरिक एसिड, बाथ, अल्जाइमर जस्ता रोग हरुले यो उमेरकोलाई धेरै सताएरहेको हुन्छ।
अनुहार तथा हातगोडाको छाला चाउरी परेर मुजैमुजा देखिन्छ र विस्तारै दुनियाँमा आफू एक्लो भएको महशुस हुन्छ। आफ्नै दौँतरीहरु को-को मरे, को-को जिउँदै छन् भन्ने लेखाजोखा गर्न थाल्छन्। आफ्नो जवानीको पुष्ट शरीर, सुन्दर रुप सबै हराएर हेर्दै डर लाग्दो कंकाल र छाला मात्रैको शरीर लिएर अशक्त जीवन व्यतित गरिरहेका हुन्छन्।
कतिपयले आफ्नो शरीरको स्याहार गर्न सक्दैनन् र दिशापिसाब गर्न पनि अरुले नै लगिदिनुपर्ने हुन्छ। अरुले राम्रोसँग आफ्नो स्याहार गरिदिदैनन् र कुरा सुन्न पनि चासो राख्दैनन् भन्ने सोच्छन्। विस्तारै परिवारले हेला गरेको भान पर्न थाल्छ। कोही यसो अलिअलि हिंडडुल गर्दागर्दै मर्छन् भने कोही अशक्त भएर ओछ्यान पर्छन् र ओछ्यानमै सुताउन, उठाउन, खुवाउन र दिसापिसाब गराउनुपर्ने हुन्छ।
घरले जाजा र वनले आइज आइज भन्ने बेला हुन्छ। बाँच्ने रहर पनि विस्तारै हराउँदै जान्छ र मर्ने दिन गन्दै बस्छन्। सहानुभूति देखाउने कोही हुन्न र कोही पनि नजिक पर्न चाहदैनन्। बच्चामा भर्खरै उम्रेको दाँतमा जिव्रो लट्पटाउदै तोतेबोली बोल्दा घरका सबै रमाउँदै त्यो बोली सुनीरहन रहर गर्थे र अनेक कुरा यसो भन र उसो भन भन्दै सहारा दिँदै तातेताते गर्दै हिंडाउथे तर अहिले ठिक उल्टो छ।
बच्चा हुँदा दिशापिसाब घिन नमान्ने अहिले देख्दा टाढैबाट पनि नाक र आँखा थुनेर हिड्छन्। कतै हिँड्दा लोट्छ की भनेर चौबिसै घण्टा ख्याल गर्थे, मेरो नानी भनेर कति लाडप्यार गर्थे सबैको प्यारो त्यही मान्छे, त्यही शरीर आज सबैको हेला तिरस्कार भएर धोद्रो पसेर ढल्न लागेको बुढो सिमलको रुख जस्तो अवस्थामा आइपुग्छ।
अहिले उसको तोतेबोली सुन्न कोही आउदैन, कसैले उसको तोतेबोली मन पराउदैन, लर्खराउदै हिँड्दा समाएर साहारा दिने कोही हुन्न। त्यही सबैको आँखाको नानी प्यारो तोते बोल्ने बालक आज यो दुनियाँबाट बुढो, अशक्त र अपहेलित भएर सदाको लागि अन्तिम सास लिएर बिदा हुन्छ। यसरी कलिलो शरीर लिएर जन्मेको बच्चा फेरि माटोमा मिलेपछि मानव जीवनको इहलिला समाप्त हुन्छ।