कोरोनाको कहर, भोकमरीको पिरल्दो चिन्ता र बेरोजगारको बेथितिका बीच जोखिम नै सामना गरेर मानिसहरु फेरि चाडबाडकै मुखमा पनि धमाधम पलायन भएका छन्। दिन प्रति दिन कोरोनाको संक्रमण दर उकालो लागिरहेको छ।
जति जति कोरोनाको दर बढ्दै गएको छ, त्यस्तै मानिसहरुको मन पनि अत्तालिदै छ। मानिसलाई रोग र शोकले भन्दा पनि भोकले पिरोल्दो रहेछ भन्ने कुरा पछिल्लो समय नेपालका सीमावर्ती ठाँउहरुबाट फेरि पलायन भएर गएका लामलस्करका दृश्यहरुले देखाएका छन्।
सरकारले लकडाउन गरे लगत्तै नागरिकका अनेक पीडाहरु सामाजिक सञ्जाल र मिडियामा आईरहेका थिए। कयौँ दिनसम्म हिँडेरै अनेक पीडाहरुको सामना गरी मानिसहरु सुरक्षित हुन आफ्नै घर पुग्न चाहन्थे। सीमा प्रवेशमा रोक लगाएपछि त्यहाँको अवस्था ज्यादै नै नाजुक देखिन्थ्यो। निरीह नागरिकले अनायसै दुख पाएका थिए। कोरोनाको त्रास पनि उत्तिकै थियो।
राज्यले कोरोना रोकथामका लागि पहल त गर्यो तर भोकमरी र मानिसका मानसिक तनावलाई टार्न सकेन। कयौँ दिन लगाएर पोका पन्तुरा बोकेर सुरक्षित हुन नागरिक आफ्नो थाकथलो पुगे। त्रासै त्रासमा केही दिन कटाए। यताउता अर्म पर्म गरे। केही खाने कुरा जोडे। केही दिनको जीविका चलाए।
नजिकिदो चाडबाड र बढ्दो कोरोनाको संक्रमणका बीच पनि उनीहरुको मन स्थिर हुन सकेन। रोगले भन्दा भोकले सतायो। मनमा आगो बल्यो। तर, अँगेनामा आगो बलेन। फेरि एकछाक बिहान र बेलुकाको खानाको जोरजाम गर्न मुग्लान तिरको बाटो सोझियो।
हो, उनीहरुले कोरोनालाई जितेर त गए तर सधैँको भोकमरीलाई जित्न सकेनन्। कोही विदेशी भूमिबाट स्वदेश फिर्ता हुन पाउँ भन्दै हारगुहार नै गर्नु पर्ने अवस्था छ। सरकार नागरिकको अभिवावक, सबै नागरिकको संरक्षणकारी भूमिका निर्वाह गर्नुपर्ने भए पनि सबै नागरिकले त्यस्तो सहानुभूतीको महशुस गर्न सकेनन्।
सामान्य नागरिकलाई नेपालमा नै केही गरी आफ्नै परिवारसँग बसेर जीविका निर्वाह गर्दछु भन्दा पनि उपयुक्त वातावरण छैन। दिनप्रति दिन मूल्यवृद्धि आकाशिदो छ। केही व्यवसाय गर्न पुँजीको पहुँच छैन। कृषि कर्मका लागि सबैको पहुँचमा भूमि पर्याप्त छैन। भएकोमा उव्जनी कम हुन्छ।
वर्ष दिनसम्म परिवारको छाक टार्न मुस्किल नै हुन्छ। कृषिमा व्यवसायीकरण धिमा गतिमा छ। राजनीतिक पहुँच र कार्यकर्ता बिना राज्यका सेवा सुविधाहरुको उपयोग गर्न ती सोझा नागरिकलाई अवसर नै छैन। नेताको गुलामी नगरी खान पुग्दैन।
जारी राजनीतिक भागवन्डा, चुलिँदो बेरोजगारी र गरिबी समस्या बीच प्राप्त हुने अवसरमा पनि उनीहरुको पहुँच नहुँदा युवा वर्गमा निराशा र कुष्ठा बढीरहेको छ। कमजोर आर्थिक अवस्थाका कारण केही गर्न खोज्दा पनि नसकेपछि आजित हुँदै गाउँका उत्पादनशील जग्गा बाँझै राखेर श्रम बेच्नै विदेशीने युवाको संख्या दिनहुँ बढ्दा ग्रामीण बस्तीहरु युवाविहीन छन्।
अशिक्षा र अर्धदक्ष नागरिकहरुलाई सरकारका योजनाहरु र कार्यक्रमले समेट्न सकेनन्। उनीहरुको पहुँच न त गाउँको सिंहदरबारसँग भयो न त संघीय सरकारसँग नै भयो। संघीयतामा नजिकको सरकार स्थानीय सरकार भने पनि उनीहरुबीचको दूरी बढ्दै गयो। सरकारको आशा र भरोसा गर्न सकेनन्। लोकतन्त्रमा त सरकार र नागरिक बीचको समधुर सम्बन्ध हुनुपर्थ्यो तर यो त झन् सरकार र नागरिकको सम्बन्ध विच्छेद भए जस्तो भयो।
अर्कातर्फ, एकाथरी मानिहरुले भने नागरिकले आफ्नै माटोमा पौरखी गर्ने जागर चलाएनन् भन्नेको पनि ठूलै जमात छ। यस्तो कोरोनाको बढ्दो संक्रमणको समयमा पनि मानिसहरु किन पर्देशीएका होलान् भन्नेहरु पनि छन्। जीवनलाई जोखिममा राखेर पनि परदेशीनु उनीहरुको रहर थियो होला र? दैनिक रुपमा चल्ने जीविका नचलेपछि फेरि पनि उतै सोझिनुको कुनै विकल्प पनि त रहेन। उनीहरुको बाध्यताको उचित सम्बोधन गर्ने निकायको प्रभावकारी भूमिका देखिएन।
सरकारले भने पलायन भएर गएकाहरुका लागि समस्याले भन्दा पनि रहरले भागेका भन्ने सटिक टिप्पणी गर्यो। स्वदेशमा नै कर्म गर्न नचाहने उल्टै आरोप पनि लगायो। संघ, प्रदेश र स्थानीय सरकारले व्यापक रोजगारी र राहत साथै स्वदेशमा नै काम गर्ने अवसर र सम्भावनाहरुको खोजी गरीरहेको भन्ने आश्वासन प्रति नागरिक विश्वस्त हुन सकेनन्।
संविधानले व्यवस्था गरेको नागरिकको निशुल्क स्वास्थ्य परीक्षण पनि ती नागरिको पहुँचमा पुगेन। ठूलाबडा कोरोनाबाट जोगिनु थियो भने सानाका लागि भोक नै भयंकर ठूलो महामारी थियो जुन अवस्था उनीहरुले जन्मदेखि नै पिरोल्दै आएका थिए। पछिल्लो समयमा युवाको ज्ञान र सीपमा संसार परिवर्तन भइरहँदा नेपाली युवा भने भएका परिवर्तन पनि आत्मसाथ गर्न नसक्ने अवस्थामा छन्।
जुनसुकै देशका नागरिक पनि आफ्नै देशमा पसिना बगाउन चाहन्छन्। आफ्नै मातृभूमि समृद्ध भएको देख्न चाहन्छन्। देश विदेश जहाँ भएका नेपालीको चाहना पनि त्यही हो। चुलिदो नातावाद, अनियमितता, भष्ट्रचार, राजनीतिक भागबन्डा, अस्थिरता, नेतृत्वको अदूरदर्शी नीतिजस्ता कारणले देश समृद्ध बनेको देख्ने नेपालीको चाहना परपर धकेलिदै छ।
अध्ययन र अवसरको खोजीका लागि शिक्षित युवाहरु नै विदेशिदाँ राष्ट्रिय उत्पादनमा प्रतिकूल असर परिरहेको छ। निम्न स्तरको श्रम बेच्न देश छोडेका युवाले पनि परदेशी भूमिमा अनेकौँ गोता र हण्डर खेपीरहेका छन्। अध्ययनका लागि गएकालाई पनि त्यहीँको सुविधा र अवसरले आकर्षित गर्दा उनीहरु नेपाली हुनुको गौरवबोधबाट क्रमशः टाढिदै छन्।
राजनीतिले देश बिगार्यो, विकास भएन, अवसर पाइएन, नयाँ संघीय व्यवस्था आए पनि नागरिकको घरदैलोमा पुगेन। हरेक क्षेत्रमा यस्तो गुनासाका भारी धेरै छन् र यो लामो समय भइसक्यो। देश निर्माणको जिम्मेवारी युवाकै काँधमा छ भनिदै आएपनि स्वयम् युवाले पनि सामुहिक रुपमा त्यसअनुरुपको सक्रियता देखाएका छैनन्।
भए गरेका सामुहिक सक्रियताको पहल पनि सार्थक हुन सकेन। सरकारले उनीहरुको समस्या सम्बोधन गरी रोक्न सकेन। फलतः केही युवा निराश बन्दै यो या त्यो कारणले फेरि विदेशीन बाध्य भए।
मुलुकमा जारी राजनीतिक संक्रमण र अस्थिरताको प्रभावले गाउँका झुप्राहरुमा वितृष्णा स्पष्टैसँग देख्न सकिने भएको छ। वस्तीहरु युवा शून्य बन्दै गइरहेका छन्। केही समय अगाडि दैनिक हजारौँ युवाहरुमध्ये कोही रोजिरोटीको शिलशिलामा त कोही अध्ययन वा व्यापरको शिलशिलामा विदेशीरहेका छन्।
तिनै नेपाली युवाहरुका कर्मठ हातहरुले विदेशी मुलुकहरु रंगीन र विकसित बन्दै गइरहेका छन् तर हामी भने उही धिमा गतिको विकास कुरिरहेका छौँ। के यही गतिको विकासले तीव्र परिर्वतनको अपेक्षा गर्न सकिएला? देश तथा विदेशमा रहेका युवाहरुको एकता बिना समृद्धि हासिल होला? पक्कै पनि सम्भव छैन।
सरकार युवाहरुलाई राष्ट्रिय विकासमा सक्रिय बनाउन चुक्दै आइरहेको सत्य हो। राजनीतिक नेतृत्वले पनि खाली युवाहरुलाई दलीय स्वार्थमा प्रयोग गर्नु सिवाय उनीहरुलाई सिर्जनशील काममा लगाउने कुनै ठोस नीति ल्याउन सकीरहेका छैनन्। देशमा क्रियाशील राजनीतिक शक्तिहरुले युवाहरुका बारेमा चर्का र ठूला भाषणबाजीहरु मार्फत उनीहरुलाई लोभ्याउने मात्र गरीरहेका छन्। त्यसले मात्र युवाहरुको समस्या समाधान हुन सकिरहेको छैन।
आजको दिनमा पनि राजनीतिक दलको पहुँच र शक्तिमा हुने व्यक्तिहरुले मात्र अवसर पाइरहेका छन्। त्यस सिवाय कुनै दलको झण्डा मुनि नरहेका लाखौँ सामान्य युवाहरु बेरोजगारीले छट्पट्टाइ विदेश पलायन हुनुपर्ने परिस्थितिलाई रोक्न स्वयम युवाहरु नै सक्रिय हुनु पर्ने अवस्था आएको छ।
यसर्थ, रहरले होस् अथवा बाध्यताले कुनै पनि युवा पलायन हुन नपरोस्। राज्यका नीति नियम, योजना र कार्यक्रमले त्यस्ता व्यक्तिहरुलाई सम्बोधन गर्न सकोस्। पलायनलाई रोकेर राष्ट्रिय विकासमा जनशक्तिलाई स्वदेशमा नै उपयोग गर्न समयमा नै ध्यान केद्रित गर्नु आजको टट्कारो आवश्यकता छ।