मेरो कथाको पात्र रनेदाइ ! उनी कथाका पात्र मात्र होइनन्। मेरो जीवनकै अलग खुसीका पात्र पनि हुन्।
लुगा सिउने मेसिन जस्लाई हामी गाउँ घरमा कल भन्थ्यौं , त्यही कल बोकेर जस्का घरमा पुग्थे। त्यही घरमा सुरू हुन्थ्यो दसैं।
आजभोलि जस्तो फेसबुकमा आउदैन्थ्यो दसैं । उबेला दसैं आएको झझल्को गाउँ घरको चहलपहलबाट मात्र थाहा हुन्थ्यो। चौपारीमा बज्ने खोरखोरेको आवाज र भीडले भन्थ्यो `दसैं आयो !’
लाउरबाट लाउरे बा हरू आउँथे अनि आउथ्यो दसैं। घर कमेरो माटोले सजिन्थ्यो, अनि आउथ्यो दसैं। हुनेखानेका घर आँगनमा गन्ध छाड्ने बोका बाँधिन्थ्यो अनि आउथ्यो दसैं।
भकारीबाट अन्न झिकेर बजारका गल्ला पसलमा बेच्नेको भीडले पनि बताउँथ्यो, दसैं आयो।
दसैंको चहलपह सँगै कसैका बा लाहुरबाट फर्कन्थे, कसैका घर रङ्गिन्थे, अनि कसैका घरआँगनमा बोका बाँधिन्थे।
गाउँ घरमा दसैं भित्रेको चहलपहल सुरू भएपछि हाम्रो घरमा दसैं ल्याइदिने रनेदाइको छुट्टै महत्व हुन्थ्यो।
उनी कपडा सिउने कल बोकेर हाम्रो घर नआउँदासम्म हामी उनका घर धाउँथ्यौं।
उनी कहिले रिसाउँथे, त कहिले सम्झाउँथे। हरेक घरमा दसैं आउन केही न केही भित्रनु पर्दथ्यो।
हाम्रो घरमा रनेदाइको कल भित्रेपछि पुग्थ्यो। नयाँ लुगामा भेटिने खुसी अरु कहाँ भेटिन्थ्यो र!
अन्ततः एकदिन रनेदाइ दसैं बोकेर हाम्रै घरसम्म आइपुग्थे। त्योबेला अति प्रिय लाग्ने रनेदाइ आजसम्म पनि उत्तिकै प्रिय छन्। मेरा हरेक सुख दु:खसँग जोडिएका छन् रनेदाइ ।
काचो कपडाको उत्पात मीठो बासना, कलको टिकटिक आवाज अनि कैंचीले कपडा काटेको मसिनो आवाजले हामीलाई यसरी लठ्याई दिन्थ्यो कि हामी त्यहाँबाट उठेर जानै मान्दैनथ्यौं।
नयाँ कपडाको रूपमा स्कुले ड्रेस नै हुन्थे। दसैंमा लगायो अनि स्कुलका दिनमा। तर पनि हामी खसी, उत्पात खुसी।
रनेदाइले दसैं भित्राइ दिएपछि उनी फेरि अरु कसैका घरमा दसैं बोकेर जान्थे। उनी हरेक घरमा दसैं बोकेर पुग्थे तर उनको आफ्नै घरमा दसैं सुनसान नै हुन्थ्यो। अरुलाई खुसी बाँड्दा बाँड्दै आफैं खुसी हुन भुल्थे सायद।
रनेदाइ सँगै हाम्रा दसैं सुरू हुन्थे। अष्टमिमा बली दिने बोका आँगनमा बाँधेर गाउँ भर फूर्ति लाउने छिमेकीले गर्दा पनि हाम्रा बा आमाहरूलाई दसैं दसा जस्तै हुन्थ्यो होला। तर हाम्रा लागि ती कुराले महत्व दिँदैनथे।
छानामा हुर्कंदै गरेको कुभिण्डो नै हाम्रो दसैंको बली हो भन्ने थाहा हुन्थ्यो तर पनि हरेक दिन घरमा बा आमा सँग रहर र लोभको प्रश्न गरेरै छाड्थ्यौं `हाम्ले बोका काट्ने हैन ?’
गाउँमा जमिन्दारका आँगन होस् या व्यापारीका ! सबैका आँगनमा बाँधिन्थे बोका। डुङडुङती गन्ध आउने बोकाहरू जति कराउँथे, त्यत्ति नै हाम्रा मन कराउँथे। तर हरेक दसैंमा आँगनमा कुभिण्डोको बली ढल्थ्यो। रङको रगत बनाउँथ्यौं, हामी खुसी नै हुन्थ्यौं।
चौपारी, प्रतीक्षालयहरूमा खोरखोरे चल्थ्यो। दुई रुप्पे लगेर खेल्दाको मज्जाले दसैंको रौनकता थपिन्थ्यो।
अब ती वर-पिपलको चौपारी बस्न लायक पनि छैनन् अनि प्रतीक्षालय मासिए। खोरखोरे खेलाउने दाइहरू कता गए कता।
लमही बजारमा एउटा दुर्गा मूर्ति बन्थ्यो। भक्तजनको घुइँचो उस्तै हुन्थ्यो। त्यहाँ बज्ने दसैंको भजन हाम्रो गाउँ सम्मै सुनिन्थ्यो। सर्वसाधारणको लागि पूजा गर्न मूर्ति खुला गरिदिएपछि बजारको रौनकता पनि फेरिन्थ्यो।
हरेक पसलमा दसैंका धुन सुनिन्थे। मान्छेभित्र धर्म माथि आस्था र विश्वास उस्तै थियो। बजार नै मङमङ बसाउँथ्यो।
मान्छेसँग पैसा थिएन। भएका पैसाको महत्व धेरै थियो। आजभोलि जस्तो उत्ताउलो फेसन थिएन। दसैंमा पाइने नयाँ लुगा स्कुलको ड्रेस हुन्थ्यो।
टीकाको दिन लगाएर धोएपछि वर्षभरि स्कुल जान पुग्थ्यो र पनि खुसी थियौं।
अलि पल्तिरका गाउँमा दसैंमा मेला लाग्थे। दसैंमा लाग्ने मेलाहरूलाई हामी पाँच पुन्ने मेला भन्थ्यौं। पूर्णिमाको दिनसम्म लाग्ने मेला भएरै होला, पाँच पुन्ने मेला नाम रहेको।
मेलामा हामीले किन्न सक्ने भनेकै उखु , भुजा अनि जेरी हुन्थ्यो। कहिलेकाहीँ सुटुक्क चोरेर घरसम्म पटाका बन्दुक आइपुग्थ्यो। चोर्ने बन्दोबस्त मिलेन भने घरबाट पाइएको मेला खर्चले एक डाडी उखु , एक पोका भुजा अनि दुई तीन पिस जेरी किनिन्थ्यो।
मेलाभित्र पिङ, डुङ्गाजस्ता आधुनिक फनपार्कमा उपलब्ध हुने मनोरन्जन हुन्थेन। मेलाको छेउमा क्लबले आयोजना गरेको डान्स हुन्थ्यो, जो हाम्रो बसको हुन्थेन। किनकी टिकेट किन्ने पैसा हामीलाई कस्ले दिन्थ्यो!
पैसा भएसम्म निसाना लाउने र खोरखोरे हाम्रा मेलाका मनोरन्जन हुन्थे। होइन भने मेलामा किन्ने अनि चौरमा बसेर खाएर फर्कने।
उबेला धेरै छिमेकसँग हाम्रो समानता अनि आर्थिक हैसियत मिल्थ्यो। पसले , जागिरे , व्यापारीबाहेक गाउँ घरमा धेरै किसान नै हुन्थ्यौं।
जमिन जसको जति नै भएता पनि सानो सानो खर्च जुटाउन अन्नपात बजारसम्म लगेरै बेच्नै पर्दथ्यो।
दसैं खर्चका लागि अन्न बेच्न हामी गाउँतिरबाट लामै लस्कर बजार जान्थ्यौं। हरेकले साइकल, टाउको या टेक्टरमा बोरा बोकेर अन्न बेच्न लमही पुग्नै पर्दथ्यो। आजभोलिको जस्तो अटो-रिक्सा या घरघरमा बाइक थिएन।
बजारका गल्ला व्यापारीहरूले मनोमानी ढंगले हाम्रो अन्न किन्दथे। तौलका लागि आजभोलिको जस्तो डिजिटल काँटा थिएन, ढुङ्गा प्रयोग गर्दथे। सायद निक्कै ठग्दथे।
अन्न बेचेर दसैं भित्राउने जमानाको दसैं साँच्चिकै दसैं जस्तै लाग्थ्यो। मासु खान चाडवाड पर्खनु पर्ने समय हुनाले पनि होला, दसैंमा मासुको महत्व उस्तै हुन्थ्यो।
प्रत्येक दसैंमा रंगीने हाम्रा घरहरूका कुरा कहाँ भुल्न सकिन्छ र ? एक घन्टा हिँडेर पुगिने जंगलबाट ल्याएको कमेरो माटो, बजारदेखि परको डाँडोबाट ल्याएको रातोमाटो अनि बिग्रेका ब्याट्रीको कालोले घर र ढोका झ्याल रंगिन्थे।
सबैका घर उस्तै ! माथि खरको छानो अनि भित्तामा सेतो र रातो। ढोका झ्याल काला। घर पोत्ने पनि आलोपालो जस्तै हुन्थ्यो। आज उनका घर , भोलि हाम्रा घर।
दिनभर घर पोत्यो, नास्तामा चाउचाउको झोल र भात। क्या गजबको समाज थियो।
कमेरो माटो भेटिन छाड्या होइन, कमेरोको ठाउँमा चुना आयो। रातोमाटोको ठाउमा गेरु। अनि बर्सेनि रङ्गिने घर एक दुई वर्ष बिराएर रंगीन थाले।
रहर गर्नेहरू परदेश छिरे। बाध्यतामा गर्न खोज्नेहरू बुढा हुँदै गए। खरको छानो फेरियो, टिन लागेकै वर्ष छेउमा लिन्टर वाला घर ठडिन सुरू भए। पुराना घरहरू गाईगोठमा परिणत भए। अझ कति छिमेकी त बजारतिरै बसाइँ सरे, गाउँ घरै शून्य बनाउँदै।
बाआमा उस्तै छन्, दसैंमा रमाइलो गर्ने रहर उस्तै छ तर समय फेरियो या हामी फेरियौ, दसैं अब दसैं जस्तो लाग्दैन। दशा जस्तै लाग्न थाल्यो।
एक सरो लुगामा वर्ष दिन धकेल्ने समयका हामीहरू अहिले कपडा किन्न दसैं कुर्दैनौं। मासुका लागि चाडपर्व कुर्ने हाम्रो समाज आजभोलि एक छाक कुर्न सक्दैन तर पनि दसैं किन दशा जस्तै भैदियो?
एक बोरा अन्न बेचेर दसैं भित्राउँदा पनि खुसी देखिने हाम्रो समाज आजभोलि हरेक दिन दसैं जस्तै रमाइलो गरेर बिताउँछ तर पनि वर्षमा एकदिन आउने दसैंलाई दशासँग तुलना गरिदिन्छ।
तछाड-मछाड अनि देखासिकीले बिगारेको दसैंलाई फेरि पनी उबेलाकै दसैं जस्तै गरी मनाउन मन छ, दसैंलाई दशासँग तुलना गरेर रूँन मन छैन।