उमेरले अठार वर्ष पार गरेका र समाजले पनि शिक्षितको दर्जामा राख्ने गरेका थुप्रै अविवाहित केटी साथीहरूलाई मैले प्रश्न गरेको थिएँ - ‘तिम्रो भविष्यको हुनेवाला श्रीमानको न्यूनतम योग्यता के के हुनुपर्छ?’
उनीहरूको उत्तरमा धेरै समान र असमान दृष्टिकोणहरू थिए।
धेरै उत्तरहरूमा हेन्डसम हुनुपर्ने,असल हुनुपर्ने,आफूलाई धेरै माया गर्नुपर्ने जस्ता अपेक्षाहरू थिए। तीबाहेक अरू समानताहरू पनि मैले भेटें।
उक्त अन्तर्क्रियामा समावेश भएका तीन प्रतिनिधि केटी साथीहरूको आफ्नो श्रीमानप्रतिका अपेक्षा यहाँ राख्छु।
पहिलो नम्बरमा आफूलाई बीस वर्षीया बताउने एक जना प्लस टु पास गरेकी बहिनीलाई मैले उनको भविष्यको श्रीमान्को बारेमा प्रश्न गर्दा उनले आफूलाई अहिले बिहे गर्ने चाहना नभएको; तर आफूलाई अहिले नै बिहे गर्ने बाध्यता आएमा; कम्तिमा ब्याचलर पास गरेको, सरकारी जागिरे र आफूभन्दा उमेरले जेठो नै हुनुपर्ने मुस्कुराउँदै जवाफ दिइन्।
दोस्रोमा बाइस वर्षीया ब्याचलर पढ्दै गरेकी केटी साथीलाई मैले सोही कुरा प्रश्न गर्दा कम्तिमा आफ्नो बराबरको उमेर हुनैपर्ने तर ५/१० वर्ष नै जेठो भए पनि फरक नपर्ने, मास्टर गरेको र राम्रो आम्दानी भएको हुनुपर्ने बताइन्।
तेस्रोमा मैले चौविस वर्षीया केटी साथीलाई सोधें, जो नायब सुब्बाको रूपमा कार्यरत थिइन्।
उनलाई यही प्रश्न गर्दा, उनले आफूभन्दा जेठो र सबभन्दा ठूलो मापदण्ड त उनको श्रीमान अनिवार्य रूपमा अधिकृत वा सो सरहभन्दा माथिल्लो पदको नै हुनुपर्ने कुरा व्यक्त गरिन्।
मलाई यी प्रतिनिधि पात्रका कुरा सुनेपछि मलाई छोरी मान्छेका बाबुआमाबाट पनि उहाँहरूको इच्छा जान्न मन लाग्यो।
त्यसैले मैले उसैगरी “हजुरलाई कस्तो ज्वाईंको अपेक्षा छ?” भनि प्रश्न गर्दा उहाँहरूको समष्टिगत उत्तरमा जाँड रक्सी नखाने,असल, राम्रो सम्पत्ति वा जागिर भएको, एउटै जातको, मेरी छोरीलाई सुखले पाल्ने भन्ने उत्तर पाएँ।
कसको बुबाआमाले छोरा छोरीको दुःख देख्न सक्छ र है? उहाँहरूको पनि यस्तै त थियो जहाँ ज्वाईंले आफ्नो छोरीलाई सुखले पालुन् भन्ने थियो।
मेरो जिज्ञासा बढ्दै थियो।
म यस्तै प्रश्नहरू लिएर सोही उमेरका, सोही लेवलमा अध्ययनरत मेरा केटा साथीहरूलाई पनि सोध्न पुगें।
“साथीहरू ! तिमीहरूलाई कस्ती श्रीमतीको अपेक्षा छ? तिम्रो श्रीमतीमा बन्न के के मापदण्ड पूरा गर्नुपर्छ त?” भनेर प्रश्न गर्दा बहुसङ्ख्यक साथीहरूको समष्टिगत उत्तर थियो – “अत्यन्तै राम्री, आफूभन्दा कान्छी, कम्तिमा पढे-लेखेकी तर आफू बराबर पढेको अनिवार्य हुनु नपर्ने, जागिरको अनिवार्यता छैन, गरेमा राम्रो लाग्ने, जागिर नगरेमा पनि आफैंले पाल्न सक्ने तर आफ्ना साथी भाइहरूले वाह गज्जब क्या राम्री ! भनुन्” भन्ने उत्तर पाएँ।
यसरी केटा र केटी बीचका यी अपेक्षाहरूलाई केलाउँदा मैले केटीलाई आफूभन्दा उमेरले जेठो श्रीमान् चाहिने भेटें। केटालाई भनें आफूभन्दा कान्छी श्रीमती चाहिने बुझें।
केटीलाई आफू जागिरे नभए पनि श्रीमान चाहिँ जागिरे चाहिने रहेछ।
आफू जागिरे भएको खण्डमा आफूभन्दा एक पद माथिल्लो जागिर भएको केटा चाहिने रहेछ। तर केटालाई ठिक उल्टो गरी केटीको जागिर भए राम्रो लाग्ने तर जागिरे नभए पनि चल्ने भन्ने आशय थाहा पाइयो।
यसैगरी केटीलाई कम्तिमा आफू सरह पढेको अनिवार्य रहेछ। योभन्दा बढी पढेको भएमा बढी खुसी लाग्ने रहेछ।
तर केटालाई पढेको तर आफू बराबर वा सोभन्दा कम पढेको भए पनि चल्ने पाएँ।
यसरी हाम्रो समाजमा केटा र केटी बीचमा आफ्ना जीवन साथीका योग्यताहरूको मेल भएर बहुसंख्यक वैवाहिक सम्बन्धहरू गाँसिने रहेछन् भन्ने निष्कर्षमा पुगें।
यो नतिजा मैले मेरो बाबा र मेरी आमा बीचको सम्बन्ध र आपसी प्रेमसँग दाजें।
मेरो बाबाको आमाप्रतिको मायामा कुनै शंका नै छैन तर किन आमा बिरामी भएको वा कुनै विशेष काममा व्यस्त भएकोमा बाहेक बाबाले कहिल्यै खाना पकाउने वा भाडा माझ्नेजस्ता कामहरू गर्नुहुन्न?
यसको प्रमुख कारण हाम्रो संस्कार र सामाजिक प्रवृतिगत मनोवृतिले भूमिका निर्वाह गरेको छ। त्यसको अलवा आमाभन्दा बाबा जेठो भएकोले पनि रहेछ भन्ने निचोडमा म पुगेँ।
बढी पढेको र आर्थिकरूपमा बाबा सामु आमा निर्भर हुनुपर्ने भएकोले पनि बाबाको सामुन्नेमा आमाको विचार कम सुनिएको मैले ठानेँ।
यही कुरा म र मेरो दादामा पनि लागू हुन्छ। मलाई मेरो दादाले औधी प्रेम गर्नुहुन्छ तर म खाली भएसम्म उहाँले किन खाना बनाउनु हुन्न ?
यसको पनि कारण यही हो।
किनभने मभन्दा उहाँ उमेरले जेठो हो। एक शब्दमा भन्दा उहाँ मेरो दादा हो। उहाँलाई अरु केही गर्नुपर्ने वा हुनुपर्ने आवश्यकता नै छैन।
म भविष्यमा जति नै उचाइ लिए पनि, बढी पढे पनि, थोरै पढे पनि मैले उहाँलाई सम्मान गर्नैपर्छ, खुट्टा ढोग्नै पर्छ, अह्राएको मान्नैपर्छ। मेरो संस्कारले पनि त्यहीँ भन्छ।
अब एक रथका दुई पाङ्ग्रा मानिने श्रीमान श्रीमतीमा पनि यही कुरा लागू हुने मलाई लाग्छ। श्रीमतीभन्दा ५/१० वर्ष जेठो श्रीमान हुनुलाई हाम्रो समाजले ठूलो कुरा नै मान्दैन।
तर यहाँ एउटा ठूलो जेनेरेसनकै ग्याप हुन्छ। आफ्नो समयमा आफ्ना साथीहरूले कुर्ता मात्रै लगाएको देखेको व्यक्तिले(श्रीमानले) प्यान्ट लगाउने जेनेरेसनकी श्रीमतीलाई कस्तो व्यवहार गर्ला?
मेरो बुझाइ समयको परिवर्तनशिलता बुझ्ने जोडीहरूको हकमा कदापि लागू हुँदैन तर मेरो इङ्कित वर्ग भने त्यो नभएर आम मानिस हो।
जहाँ धेरै हदसम्म यो कुरा लागू हुन्छ।
यसैगरी मास्टर पास गरेको श्रीमान र भर्खर प्लस टु पास गरेकी श्रीमतीका बीचमा कुनै विषयसँगको विषयगत ज्ञानको वा म्याचुरिटीको लेवलमा कति अन्तर देखिएला?
जागिर खाने श्रीमान र घरमै बस्ने वा जागिर नखाने श्रीमती बीचको सानै झै-झगडामा समेत को भारी पर्ला?
जिन्दगीको रथ तान्न अग्रसर भएका यी पाङ्ग्राहरू बराबर हुनुपर्नेमा सिनियरिटी र जुनियरिटीको यस्तो अन्तर किन?
एक पटक बिहे गरिसकेपछि जिन्दगीभर यसरी एउटैको मत सधैं उचो किन बनाउँछौं हामी?
हाम्रो समाजले विवाह गर्दा छोरा मान्छे नै बढी उमेरको, बढी पढेको नै किन रोज्छ? छोरीमान्छे स्वयं आफैंले पाको दुलाहा किन रोज्छन्?
महिला आफैं आत्मनिर्भर बन्न अझै किन खोज्दैनन्? स्वाबलम्वी बनेका छोरी मान्छेले पनि एक तह माथि अब्बल दर्जाको श्रीमान नै किन खोजेको? श्रीमानको कमाइले जिन्दगी सजिलो वा बढी सुख मिल्ला भनेर हो?
के तपाईं यही सुखको खोजीमा खुसी त्यागेर दास बनिरहनु त भएको छैन?
पृतिसत्तात्मक समाजको यो रूपलाई झन् मलजल गर्ने काम हजुर आफैंले त गर्नुभएको छैन? विचार गर्नु त।
सबै सन्दर्भमा त्यसैले मैले मेरी श्रीमती यस्ती होऊन् भनेर कल्पना गरेको छु। जहाँ मेरो र उनको उमेर र अध्ययनमा सादृश्यता होस् ।
यस्तो भएमा हाम्रो दाम्पत्य जीवन कस्तो होला? हाम्रो समाजमा महिलाप्रति पुरूषले तेर्साउने रुखो वचनहरू मैले पनि निरन्तरता दिन सकुँला र?
जस्तै म कदम-कदाचित रक्सी खाएर ढिलो घर आएमा “तेरो सम्पत्ति खाएको छु र?” भन्न सकुँला र?
“भाँडा माझ्ने काम त आइमाइको मात्रै हो” भन्न सकुँला र?
राम्रो पढे मेरी छोरीलाई मैले “मेरी छोरी, नपढे आमाकी छोरी” भन्न सकुँला र?
पक्कै पनि सक्दिनँ।
मैले गलत काम गर्दा मेरो कान निमोठिदिने काम उनले गर्दिनन् होला र?
ठिक उस्तै गरी उनले गलत कार्य गर्दा मैले उनको कान मैले निमोठिदिने भयो भने कस्तो होला?
अनि अब कल्पना गरौं त मेरो जस्तै श्रीमती सबैको भएमा घरेलु महिला हिंसाको दर यस्तै होला? हुँदैन।
खैर यो सबै कल्पना हो तर हाम्रो समाजमा श्रीमान र श्रीमती बीचमा धेरै वर्षको अन्तर राख्दा, श्रीमान र श्रीमती बीचमा सुझबुझको तहनै फरक पर्ने गरी शैक्षिक योग्यतामा पनि अन्तर राख्दा; हाम्रो पारिवारिक झै-झगडा र वैवाहिक आत्मिक खुसीमा फरक परेको त छैन?
त्यसैले डिभोर्स, घरेलु महिला हिंसा र सम्बन्धमा हुने चिसोपनको सिकार बन्नुपरेको कारण यो पनि पो हो कि?