शरद ऋतुको आगमनसँगै चिसो सिरेटो बहदै जब मनै कठांग्रिने बिहानी आउँछ अनि चारैतिर बेजोड हावाहुरी चल्छ, तब मलाई दशैँको आभाष हुन्छ। हरेक हरिया रुखहरुका पातहरु हल्लाउँदै अनि भुइँभरि पहेला पातहरुले बाटो सिङ्गारिदै गर्दा, यो समय रंगीन बहारको हो जस्तो लाग्छ।
निलो आकाशभरि चंगाहरु उड्दै होलान् मेरो सुन्दर नगरी भक्तपुरमा अनि नवरात्रीको तयारी हुँदै होला। तर, म यहाँ बिरानो सहरमा मानवीय मेशिनजस्तै चलिरहेकी छु। त्यसपछि मलाई लाग्न थाल्छ, विदेशमा कुनै दशैँ हुन्नन्, कुनै मन्दिर हुन्नन्, कुनै पुजा हुन्नन्। त्यसैले त यहाँ कुनै भगवान पनि हुन्नन् अनि जमरा टिका नि हुन्नन्।
हुन्छ त केबल, आभाष अनि अनुभूति। पिङको झड्का सयचोटि मच्चिए पनि दशैँ, दशैँजस्तो लाग्दैन विदेशमा मलाई। यस्तो मलाई मात्र होइन, प्रायः विदेशमा रहेका नेपालीहरुलाई हुँदो हो सायद। युरोपमा पाइलाहरु टेकेको केही वर्षसम्म मलाई साह्रै नियास्रो लागेको थियो। विशेषगरी चाडपर्वहरुमा। मान्छेले संसारको जुनसुकै भूगोल, जहाँ टेके नि आफूले बाल्यकालमा खेलेका ती आँगनहरु बिर्सन नसक्ने रहेछ।
ती सम्झनाहरु यसरी झल्झली आँखैसामु आउँदो रहेछ अनि त मन कुँदेर आउँछ। एक मनले त भन्छ, बिर्स सबै बिर्सिदेऊ, सम्झनाले के दिन्छ र! तर मन बुझाउन कहाँ त्यति सजिलो छ र! समय, परिस्थिथि अनि अवसर त कहिले रहरले, कहिले कहरले मान्छेलाई कहाँबाट कहाँ पुर्याउछ, थाहै हुँदैन। भनिन्छ नि, जिन्दगीले प्रश्नपत्र कहिल्यै दिँदैन तर परीक्षा लिईरहन्छ मात्र।
कहिले उतीर्ण हुन्छु र हाँस्छु, कहिले गुल्टिन्छु र झन हाँस्छु किनकी जिन्दगीले सोध्ने प्रश्नको कुनै खाका हुँदैन र मैले दिने जवाफको पनि कुनै परिधि हुँदैन। स्नातकोत्तर पढ्न आएकी म पनि कति बेला अध्ययनमै चुर्लुम्भ डुबेँ, पत्तो नै नपाइकन बित्यो। हरेक बिहानी विश्वविद्यालयका ती बाटाहरु धाउदै, झिस्मिसेमै उठेर जीवन बिताउदै गर्दा समयले कति छिटो नेटो काटीसकेको हुन्छ।
दशैँको केही दिन अगाडि साथीभाइका शुभकामनाका सन्देशहरु आइसकेपछि बल्ल भान हुन्छ, साँच्चीकै दशैँ त घरको ढोकामै आइसकेको रहेछ। दुनियाँभरि खुसियाली अनि शुभकामना आदानप्रदान हुँदै गर्दा, म यता सप्ताको अन्तिम प़लहरु मनाईरहेकी हुन्छु। साथीहरु माझ पार्टी गरीरहेकी हुन्छु, अनि, विगतका ताजा सम्झनाका ती सुन्दर पलहरु एकएक गरी सम्झीरहेकी हुनेछु।
आफ्नो घरको आँगन सम्झी मुस्कुराईरहेकी हुन्छु। विदेशको दशैँ साँच्चै भन्नुपर्दा साह्रै सुविधामुखी लाग्छ। स्वादिष्ट भोजन अनि रक्सीका फरक स्वादहरु, विकासका उच्चतम नमुनाहरु, स्वतन्त्रताको अनुपम उदाहरण। तर पनि, विदेशमा दशैँ, दशैँ जस्तो लाग्दैन मलाई। मालश्रीको धुन बजे नि, कर्णप्रिय लाग्दैन। सायद विदेशपन भनेको यही हो। आफ्नो धरातल चाहेर नि छोड्न नसक्नुको परिणाम हो यो।
रातो पहिरन, रातो टिका अनि पहेला जमरामा सझिने दुष्प्रयास गरीरहेकी हुन्छु। नवरातको पललाई नयाँ जाँगर बनाइ उदाईरहेकी हुन्छु, हरदिन उषाको पहिलो भानुसँगै र पनि मलाई दशैँ आएको जस्तो फिटिक्कै लाग्दैन। बालापनका ती रहरलाग्दा दिनहरु, ती निश्चल हाँसो र उमंगहरु। नवरातको कथाले मनमा उथुलपुथुल मच्चाइ चारैतिर जमरा र शुभकामनाका लहरहरु।
आहा! कति सफा अनि चंगा थिए मनहरु थिए। दशैँ, साँच्चीकै लागेको थियो हिजो सायद। तर आज, चंगा उडेपनि गन्तव्य छैन, सुरिलो धुन छ, तैपनि कतै मंगलता छैन। त्यो अभावमय रहर छैन, पहेलो जमरा र राता टिकाहरुमा कुनै उमंग छैन। आखिर, दशैँ किन लाग्दैन आजकाल?
अभावमय, मन फुरुंग हुने दशैँ कहाँ गयो? अनि मलाई सोध्न मन लाग्छ- आमा, अब दशैँ कहिले आउँछ? अनि आमाको एक वचन सुन्ने बित्तिकै यस्तो लाग्छ की म आमासँगै, साथीसँगै ऊ त्यो पारि हिमालमा छु, त्यही बादलुको बीचमा लुकामारी खेल्दैछु। त्यो हावाको बीचमा श्वास लिदैछु, अनि त्यो निलो आकाशको घुम्टो र धर्तीको डोलिमा बसी रमाउदैछु।
त्यहीबेला खुला मनले भन्न मन लाग्छ, ए हावा, तिमी तिम्रो जीवनदेखि डाहा लाग्छ। मलाई पनि सिकाऊ न उड्न। हो, विदेशको दशैँ यसरी नै आउने अनि जाने गर्छ हरेक साल। हरेक दशैँको शुभकामनासँगै साथीहरुले कहिले नेपाल आउने भनेर सोध्ने गर्छन्। बेलाबेलामा कति साह्रो हौ नेपाल आउन पनि, किन हो नि यसरी फ्याट्टै माया मारेको स्वदेशलाई भनेर गुनासो नि गर्छन्।
तर, यो सालदेखि दशैँ साँच्चीकै अबदेखि दशैँ जस्तै हुनेछ किनकी समयसँगै हिड्न जानिसकेँ मैले। संसारमा जहाँ रहे नि रमाएर बाच्न सिकीसकेँ अब सायद, समयसँगै मेरो मन पनि अब बिरानो बनिसक्यो क्यारे र त, बिरानो माटोसँगै रमाउन सिकीसकेँ मैले। जीवनका आशाका रश्मिहरु हरेक बिहानीको भानुसँगै उदाउन थालीसके।
खुसी रोपेर मुस्कानी फूल उमार्न दुखमाथि आत्मियताका लेप लगाई हल्लि नै रहेको जिन्दगीमा भावनाका भरपर्दा टेको बनेर उभिएका छन् प्रशस्त उदार मनहरु। तिनै प्यारा मान्छेहरु, स्नेही साथीहरु अनि प्यारा मायालुहरु र निर्दोष तिनै बाल्यकालका मिठामिठा सम्झनाहरु।
जीवनका २३ औँ वसन्त बहार अनि दशैँ आफ्नै घरआँगनीमा मनाउँदा जतिको आनन्द त अरु कहीं मनाउदा नि नहुने रहेछ। पहिलो पटक घर छोडेर आउँदा नि सप्तमीको दिन थियो। आमाबाबाको मन कस्तो भयो होला, त्योभन्दा नि मेरा पाइलाहरु अघि बढ्न कति गाह्रो भएको थियो।
दशैँको माहोललाई यसरी छोडेर आएको पहिलो थियो। त्यो शरद यामको एक साँझ कति यादगार छ। जीवनमा पहिलो पटक दशैँलाई छोडेर आउनुको पीडा! जीवनमा पहिलो पटक हवाइजहाज चढेर कोशौँ टाढा पुगेकी म। कति आत्तिएकी थिएँ। कति चनाखो बसेकी थिएँ। मिलानोपछिको ट्रान्जिट म्युनिख सहर।
मनमा डर अनि धेरै उत्साहित! कति खेर पुगौँजस्तो। टर्मिनल दुईबाट आउदै गर्दा जब आगमनमा साथीलाई देखेँ, तब मुस्कानसहित थकित अनुहार हँसिलोपन छाएको पल, साँच्चै नै अविस्मरणीय थियो। यति बेलासम्म सायद दशैँको त्यो उत्साह उतैकतै छुटीसकेको थियो। युबाहन चढेर होस्टेल पुग्दा करिब रातको ३ बजेको थियो क्यारे। लगेज डोहोर्याईरहँदा चिसो सिरेटोले पहेला पातहरुको गुञ्जन! कति रमाइलो लागेको थियो।
मलाई कतिखेर बिहान हुन्छ जस्तो भैरहेको थियो। अनि सुन्दर म्युनिख सहर हेरुँजस्तो! त्यही भएर त एक थोपा निद्रा नि लागेन, जति नै थकित भए नि। बिहान ६ बज्न पाएको थिएन अनि त जेंद्लिंगर टोरमा पुगेकी! त्यति बेला पूरै एक घण्टा कुर्नु परे नि रिस उठेको थिएन मलाई। साथीसँग कफी पिएको यो नै पहिलो थियो, जर्मनीमा पुग्नेबित्तिकै बिहानीपख विश्वविद्यालयको उही प्रिय क्याफेको कुनोमा पुगेपछि, मैले 'ग्रीन टी र केक' अर्डर गरेकी थिएँ।
साथमा साथी पनि थियो र, सोधेँ उसलाई- 'तिमी के लिन्छौ? 'मुख छोपिएको गलबन्दी मिलाउदै उसले निर्धक्क भन्यो- 'म त रश्मि अर्डर गर्छु।' प्राय गाँजल नछुट्ने मेरा आँखाहरु र निधारको कालो टिका नियाल्दै मज्जाले हाँसीदिए सबै साथीहरु त्यतिबेला। किनकी जीन्दगीको मेनुमा 'रश्मि ' भेटिए पनि क्याफेको मेनुमा उपलब्ध थिएन।
सबैजना आ-आफ्नै काममा मस्त थिए, म जिन्दगीको रहर अनि रंगहरुको खेल हेर्दै थिएँ, मिठा सम्झनाको खेलमा हराउँदै थिएँ। सपना र यथार्थको खेल कोट्याउदै थिएँ, केही अतित र भोलिका योजनाहरुको खेल बुन्दै थिएँ। फरक छन्, जीन्दगीका खेलहरु, फरक छन् मान्छेपिच्छे रमाउने, भुलाउने बाटाहरु, र पनि म रमाउँदै थिएँ। त्यति बेला दशैँलाई छोडेर आउनुको नमज्जा मनमा थियो। पहिलो पटक नमज्जा अनि नरमाइलो, र पनि एक प्रकारको उत्साह, रहर अनि स्फूर्ति थियो।
प्राचिनकालको राजदरबार जस्तो देखिने विश्वविद्यालयमा लाइन लागेर बसेको नि अस्तिजस्तै लाग्छ। अनि त्यही दिन फेरि रियालमा शपिङ गएको नि भर्खरजस्तो लाग्छ, ताजै छ मनमा ती सुन्दर पलहरु। दुई रातदेखिको अनिदो पल नि कति रमाइलो थियो, अलिअलि चिन्ता, अलिअलि डर, अलिकति खुसी अनि धेरै कुराहरु।
शरद ऋतुको चिसो पनि कति घमाइलो थियो मेरो लागि। नौलो पर्यावरण अनि नयाँ देश। नलाग्नु नि कसरी? आफ्नै हातले बुनेको त्यो निलो गलबन्दी जो थियो त्यो चिसो सिरेटोमा। साँच्चै कति संघर्षशील, सुनौला थिए ती म्युनिखका म्युट पलहरु, कति शान्त थिए पिनड्रप साइलेन्स जस्तै। तर मलाई त्यही म्युट पलहरुलाई यसरी शब्दहरुमा उतार्न मन लागेको छ यतिबेला किनकी ती भनेका जीवनको सुनौलो अनि सधैँ नै सम्झीरहुँ लाग्ने दिनहरु थिए।
त्यसमा पनि देश बाहिरको पहिलो दशैँ। मनभरि तनभरि दशैँकै धुन थियो। मारिनप्लाजको त्यो घन्टाघरमा हरेक दिन ठिक १२ बजे बज्ने त्यो धुनजस्तै सुमधुर थिए। साँच्चै नै कति मनमोहक थिए, कति सुन्दर थिए ती पहिला अनुभवहरु, पहिलो यात्रा, पहिलो शरद ऋतु, पहिलो दिन, पहिलो दशैँ म्युनिकमा! सबै नै पहिलो अनि नुतन सुरुआत!
कति म्युट थिएँ म पहिलो दिन, तर मलाई मात्र थाहा छ की त्यो मौनताभित्र कति अनगिन्ती छालहरु थिए जोडजोडले बहकीरहेका, कति आशाका किरणहरु थिए, अनि कति डर थिए, कति साहस थिए, उत्साहा थिए। अनि यो सब बीचमा म थिएँ, मेरा सपनाहरु थिए, सपनाभित्र अनेकन रहरहरु। अनि त्यही बढदो रहरसँगै पछि छुटेका यादहरु थिए साथीसंगीका।
बडा दशैँको पहिलो दिन घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ र बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पुजाकोठा अथवा दशैँघरमा विधिपूर्पक राखेर त्यसमाथि जौ रोपिंदा त्यही जमरासँगै नि मेरो मन पनि त्यही पुगेको भान हुन्छ।
जौको अङ्कुर दुर्गादेवीको प्रिय वस्तु दुर्गालाई चढाएर विजयादशमीको दिन टिका प्रसादसँगै समृद्धिको प्रतीक पहेलो जमरा ग्रहण गरिरहँदा पानी र जीवन जीवन र पानीबीच तैरीरहने यो जिन्दगानी। चिसो सिरेटो अनि कपाल दुख्ने यो शिशिरको जिन्दगानी। कति फरक, फरक नि अब! भनेर साध्य छैन। एक झोक्का न्यानो पवन मात्र भए नि कति आत्मिए महशुस हुन्थ्यो होला।
सबै काकाकुल भएको यो पलमा न त पढ्ने जाँगर न त लेख्ने! लाग्छ, यो समय त्यो चिसो गहिरो निलो पानीभित्र माछाजस्तै पौडीरहन पाउँ। एकएक थोपा पानी कति मूल्यवान छ अहिले। त्यति बेला नै मैले बुझेँ, साना-साना कुरामा जीवनका कत्रा-कत्रा सुख अडेर बसेका हुँदा रहेछन्। त्यही वर्ष हामीले होस्टेलमा सबै साथीहरु मिलेर दशैँ मानेका थियौँ। सबै जनाले आ-आफ्नै गाउँठाउँ अनुसारको मिठा परिकार बनाएका थियौँ।
पोखरा निवासी साथीले टिका थाप्दा मन्त्र नि पढेको थियो, त्यति बेलादेखि हामीले पुरेतबाजे भनेर नाम नै राखेका थियौँ। यही नै थियो पहिलो अनि अन्तिम दशैँ सायद विदेशमा। त्यसपछिका वर्षहरुको त्यति याद नै छैन। कहिले कता, कहिले कता, कुन ठाउँमा बसाई सरीरहनु पर्ने जिन्दगी, आखिरमा सधैँ कहाँ एकै ठाउँमा मात्र बस्न सकिने रहेछ नि!
देश बाहिर बसेको केही साल हुन लाग्यो। चाडपर्वहरुमा हरेक पटक च्याटमा, मेसेजमा, 'नेपाल कहिले आउने?' सोध्ने साथीहरु छन् आजकल। ए मेरा मायालु साथीहरु! त्यतिका वर्ष देशमै छँदा, किन कहिले नि यसरी भेट्न खोजेनौ? थाहा छ? मेरै नगरमा, अझ त्यो भक्तपुरमा, ललितपुरमा म कति पटक एक्लै थिएँ? तिमीहरु कहाँ थियौ? यो प्रेम कहाँ थियो त्यतिबेला?
आज जिन्दगीको यात्रासँगै यात्रा गर्दै गर्दा बीचमा एक्कासी यसरी सोध्दा मलाई अलिअलि अनौठो लाग्छ अनि स्वार्थको एउटा पाटोजस्तै लाग्छ। अर्को वर्ष फेरि नयाँ ठाउँको नयाँ अनुभव। दशैँको फेरि उस्तै आगमन। वसन्ती क्रान्तीले आफ्नो सुवास चारैतिर फिजाईरहेको थियो। त्यसपछि हामी फूलको बहार हेर्न कुरीरह्यौँ पूरै एक घण्टा।
चिसो सिरेटोसँगै असिनापानी दर्किन्दै थियो तर पनि हामी भुलीरहयौँ रंगीचंगी फूलहरुसँगै, मनमा दशैँको त्यही माहोलको अनुभव गर्दै। एकछिन घाम, एकछिन पानी भैरहेको थियो मौसम। बिहानैदेखि अघि 'आज मौसम बडा बेइमान है' भन्दै ताली पिटेकोमा हामीलाई कत्ति नरमाइलो लाग्यो। तापनि हाम्रो मन, हाम्रो पाइला भने त्यहि अडीरहयो। फूल जति कोमल छ, त्यति नै शक्तिशाली रहेछ, बुझ्यौं।
यिनै फूलहरुले कति कठोर मनलाई पनि नरम बनाउने रहेछ। फूलैफूलको संसारमा भुलिदाँ मन कति रंगिन बन्दो रैछ, त्यो त भनेर साध्य नै छैन। फेरि हामी त फूल भुल्यो भमरामा, कुन्नि केमा म भुलेँ भन्दै रमाईरहेका थियौँ। एउटा दशैँ त फूल नै फूलको संसारमै बित्यो। मनमा पनि कति कोपिलाहरु फक्रिएका थिए, जिन्दगीका रंगहरुको, सफलताका शिखरहरुको।
दशैँ मनाउन कोठामा हरियोपहेला जमरा मात्र भएर नहुने रहेछ, रातै टिकामा सजिए पनि दशैँ आउदैन रहेछ। सबै कृतिम जस्तो लाग्दो रहेछ। दशैँ, दशैँ जस्तो हुन त, त्यही नवरातकै अधेरी चाहिने रहेछ, त्यही मन्दिरकै कर्णप्रिय घन्टी चाहिने रहेछ, अनि सय झड्का मच्चिने पिङ नै चाहिने रहेछ। त्यही मेला अनि हाटबजार नै चाहिने रहेछ नि। हरेक बिहान जमरामा जल दिनु अनि साँझ बत्ती बाल्नु अनि त्यो दियोले बनेको कालो टिका हेर्नु पो दशैँ।
दशैँको लागि भनेर उखु अनि आफ्ना किताबहरुको पुजा गर्नु पो दशैँ। हरेक बिहान बेलुका माता दुर्गाको शक्तिपीठ, त्यो पनि मायालुहरुसँग धाउनु पो दशैँ। नयाँ-नयाँ लुगाहरु किन्नु अनि घुम्नु पो दशैँ। आमाले 'नानू यो गर, त्यो गर अनि यस्तो गर' भन्दा नि अटेरी भएर बस्नु पो दशैँ। आमासँगै पुजाकोठा सजाउनु अनि पुजा गरेको हेरीरहनु पो दशैँ। बाबासँगै जिद्धी गरेर पिङ खेल्न जानु पो दशैँ।
भाइहरुसँगै दशमीमा किताब पुजा गर्दा दक्षिणा लुकाउनु पो दशैँ। आमाले हाकुपटासी लगाउँदा आफूले नि जानी/नजानी लगाउनु अनि तलेजु भवानी, नवदुर्गाको दर्शन गर्नु पो दशैँ। अनि दशैँमा पकाउने ती थरिथरिका परिकारहरु स्वाद लिँदै आमासँगै घर रातोमाटोले लिप्नु पो दशैँ। दशमीको सप्तमीमा फूलपाती राखेर एक माना भोज खानु पो दशैँ। दशमी सकेपछि पनि मामाघरमा जानु पो दशैँ।
अहिलेसम्म जिन्दगीको यो यात्रासम्म आइपुग्दा यस्तो लाग्छ की दशैँ त उतिबेला रहेछ मनले मानेको। अहिले त वश, मानेजस्तो मात्र गरिरहेका छौँ। अहिले त्यो उत्साह छैन, त्यो रौनक छैन अनि त्यो रहर नि छैन। जति नै अँध्यारो भए नि, छाना चुहिएको भए नि, आखिर घर भनेको घर नै हो। घर त्यही हो जहाँ आमा बस्नु हुन्छ, जहाँ बाबाको रेखदेख हुन्छ, जहाँ भाइहरुको किचकिच हुन्छ।
मेरो लागि घर त्यही हो अझैसम्म पनि अनि अनन्त अनन्तसम्म पनि। त्यही घर मैले मेरा सबै निर्दोष बालापन बिताएँ, जहाँ म हुर्केँ, खेलेँ अनि सुखदुखहरु भोगेँ। मलाई त्यही घर प्यारो लाग्छ जहाँ अझै पनि मेरा ती स-साना पाइलाका डोबहरु छन्, जहाँ मैले टेकेका इटहरु छन्, मैले हाँसेका अनि रोएका पलहरु छन् अनि मैले बिताएका अभावहरु छन्।
भित्तामा टाँगेका ती मेरा चित्रहरुले मेरो संघर्षका कथाहरु बोकेका छन्, ती हरेक कोराकागजका पत्रहरुमा मेरा तितामिठा अनुभवहरु छन्। ती हरेक कलमका मसिले मेरो मनको रुपरेखा कोरेका छन् अनि मैले अहिलेसम्म बाँचेका सबभन्दा जीवन्त पलहरु छन्।
हो, त्यही घरमा मानेको दशैँ पो दशैँ! जुन घरबाट मेरी आमाले मलाई संस्कार दिनुभयो। अनि त्यही मेरी आमा जहाँ हुन्छिन्, त्यही मात्र मनले चाहेको जस्तो दशैँ हुँदोरहेछ। दशैँ भन्ने बित्तिकै हामी परिवार, आफन्त अनि साथीभाइहरुको रमाइलो भेटघाटको रुपमा लिन्छौँ। र त श्रद्धा अनि आत्मियताको रुपमा लिन्छौँ।
मेरी आमाले नै मलाई यति सशक्त, दृढ र धीर हुन सिकाएकी छिन् र त आफूलाई संसारकै एउटा भाग्यमानी छोरी ठानेकी छु, मेरी आमाको अनुरागलाई हरपल महशुस गर्न पाएकोमा किनकी आमाको हरेक अनुभूतिहरुको तरङ्गले नै मलाई सक्रिय तुल्याइराखेको छ अहिलेसम्म पनि जहाँ रहे पनि। त्यही भएर नै यस्तो लागेको हो की जहाँ आमा त्यहीं नै घर, त्यहीँ नै घर अनि सबै दशैँ पनि।
जब जब दशैँको लहर आउँछ, तब युरोपका विविध सुख-सयलले नि भित्री चयन नदिने रहेछ। र पनि जिन्दगीको यात्रा त गर्नैपर्छ। जता रहे नि मनलाई उत्साहित त गर्नैपर्छ, चाहे त्यो चाडपर्व होस् या अन्य। युरोपका दिनहरु त प्रायः चिसो सिरेटोमै बित्छ। अनि आफ्नो पढाइ, काम अनि अलिकति रमाइलो। हरेक सप्ताको अन्तिममा नि रमाइलो नै गरिन्छ। आखिरमा जिन्दगी भनेकै खुसी हुनु त हो नि। माया अनि प्रेम कै त हो नि।
साथीहरु मिलेर दशैँ पनि नमानेका पक्कै पनि होइन, विदेशमा पनि। गमलामै भए नि जमरा नि उमारेकै हुन्छौँ हामी पनि, टिका नि लगाएकै हुन्छौँ अनि मिठामसिना नि खाएकै हुन्छौँ। यी सब हुँदा नि हाम्रो दशैँ, हामीले सोचेको जस्तै दशैँ हुँदैन। न हुनु नि ठिकै हो। हाम्रो संस्कार अनि संकृति त त्यति बेला झल्किन्छ जब हामी हाम्रै धरातलमा उभिरहेका हुन्छौँ नि। अनि हाम्रै परिवारसँग हाँसीखुसी मनाईरहेका हुन्छौँ।
मालश्रीको धुन गुन्झिदा मात्र पनि दशैँको रमाइलो माहोल मनमा ताजा भैहाल्छ। आधुनिक युगसँगै प्रविधि साँघुरिए जस्तै आजकल हाम्रा चाडपर्वहरु नि विस्तारै साँघुरिदै छन्। यो सब विकासको उपज नि हो। र पनि हामीभित्र रहेको हाम्रा ती विश्वासहरु, आस्थाहरु भने सधैँ नै उस्तै रहन्छन् र रहीरहने छन् पनि।