आमाले दिनु भएको एक जोर लुगा
मनभरि खुसी, ओठमा नमेटिने मुस्कान
आहा, बाल्यकालको दसैं
प्रफुल्ल जोशी मल्लको कविताका यी हरफजस्तै परदेशमा बस्ने हरेकलाई बाल्यकालको दसैंको यादले सताउँछ। सहर र विकसित समाजमा जन्मिएका र हुर्किएकालाई दसैंले मनभरि खुसी र ओठमा मुस्कान सायदै देला। पुगिसरी आएको परिवार र समाजमा हुर्केका बालबालिकालाई ‘दसैं आयो, खाउँला पिउँला’ जस्ता गीतले कमै छोला। तर, गाउँका गरीब बालबालिकका लागि यो अझै उत्तिकै सान्दर्भिक छ। उनीहरूका लागि दसैं नयाँ लुगा लाउने र मीठो खान पाउने चाड हो।
अर्काको देशमा लै लै, सम्झना आ’को नि मलाई
सयपत्री फूलको आँगन, रातो अक्षता जमरा लगाई
सुगम पोखरेलले गाएको दसैं तिहारको यो गीतले प्रवासमा रहेका नेपालीको मुटु बिझाउँछ। ‘यसपालिको तिहारमा पक्कै आउँछु म बहिनी’ भनेर खाएको कसम विगतका वर्षहरूमा भए पूरा हुने थिए होलान्। यस वर्ष यो कसम कसमकै रुपमा रहने भयो।
देशमै भएका आफन्तहरू त भेटघाट गर्न नसक्ने नाजुक अवस्थामा छन्। परदेशमा भएकाहरू फिर्ने र भेटघाट हुने भन्ने त झन् झिनो आश मात्र भयो।
आखिर दसैं दसैं नै हो। यो एक उत्सव हो। आफन्तसँगको भेटघाट र रमाइलो गर्ने अवसर हो। भेटघात त अरु बेला पनि हुन सक्छ, अवसरको भेटघाट भनेको छुट्टै हो। त्यो भनेको हर्ष, उल्लास र उमंगको भेट हो। फेरि हर्ष, उल्लास र उमंग भन्ने चिज धन र सम्पत्तिले प्राप्त हुने कुरा पनि होइन। हुने भएको भए ठूला पाँच तारे होटलको बसाइमा त्यो प्राप्त हुन्थ्यो होला। तर, हुँदैन। त्यही भएर नै नेपालीहरू जो जहाँ पुगे पनि हर्ष उल्लासका साथ दसैं मनाउँछन्।
प्रफुल्ललाई जस्तै मलाई पनि बाल्यकालको दसैंको सम्झना आउँछ। घरको आँगनमा दर्जी दाइले लुगा सिलाएको अझै याद आउँछ। झन् उनले लुगा सिउँदा खटटट घुमाएको कलनजिकै बसेर म एकनाशले हेर्थें। लाग्थ्यो - कतिखेर मेरो लुगा सिएर सकिदेलान्। ती रोमाञ्चक क्षणहरू त नफर्किएलान्, तर सम्झँदा पनि अर्कै आनन्द आउँदो रहेछ।
रेडियो नेपालबाट सुनेका मालश्री धुन मेरा कानमा अझै झन्कन्छन्। तर, ती धुन र दसैंका गीत सुन्नलाई कुनै पिरलो छैन। युट्युबले सजिलो बनाइदिएको छ।
मातृभूमिभन्दा सात समुद्रपारिको क्यानडामा तन भए पनि मन नेपालमै छ। मन त गाउँघरको लिंगेपिङमै छ। पल्ला घरे कान्छी र तल्ला घरे ठूलेसँग जीउ सिरिङ्ग हुने गरी पिङमा मच्चिएको झझल्कोले सताइरहन्छ। नवमीको दिन आँगनमा खसी मार हानेको भुलेको छैन। तर, जति टाढा भयो सम्झना उति गाढा हुँदो रहेछ।
हो, क्यानाडामा नेपालीहरूले लिंगेपिङ हाल्न सक्दैनन्, घरको आँगनमा मार हान्न सम्भव छैन। तर, सम्झनाका तिर्सना मेटाउने कोसिस गर्दछन्। कामको व्यस्ताबीच पनि समय निकाल्छन्। वर्षभरिमा दस दिन र क्रिसमसमा समेत एक दिन सरकारी बिदा पाइने देशमा संसारभरीबाट आएका मान्छेका चाडैपिच्छे सार्वजनिक बिदा हुने कुरै भएन। त्यसैले, दसैं मनाउन छुट्टी वा कामको सेडुयल मिलाउनुपर्छ। नेपालीहरूले बिदा मिलाउँछन् र दसैं भव्यसंग मनाउँछन्।
मातृभूमिमा मनाएको दसैंको तिर्सना मेटाउन क्यानडाका विभिन्न सहरमा भएका कल्चरल सोसाइटीहरूले दसैं कार्यक्रम गर्ने गरेका छन्। त्यही तिर्सना मेटाउन टोरोन्टो सहरको नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिस (एनसिसिएस)ले हरेक वर्ष दसैं सांस्कृतिक कार्यक्रम गर्छ। नाटक, भजन र झाँकीसमेत विगतमा गर्ने गरेको यो संस्थाले यसपटक सार्वजनिक कार्यक्रम गर्न सक्ने अवस्था रहेन। दसैंबाट भर्चुअल योगा कार्यक्रम सुरू गर्ने योजना संस्थाले बनाएको एनसिसिएसका अध्यक्ष विदुर केसीले सुनाए।
क्यानडाको सास्काट्युनमा नेपालीले हरेक वर्ष दसैं मनाउने गरेका छन्। यसपटक भर्चुअल दसैं शुभकामना कार्यक्रम गर्ने तयारीमा रहेको नेप्लिज कम्युनिटी अफ सास्काट्युनका सचिव सुधीरदत्त पाण्डेले बताए। विगतमा जस्तो धेरै मान्छे भेला भएर यसपटक दसैं सांस्कृतिक कार्यक्रम सम्भव भएन।
क्यालगारीमा पनि नेपालीहरूले हरेक वर्ष दसैं मनाउने गरेका छन्। दसैंको कार्यक्रममा प्रिमियर (मुख्यमन्त्री) वा निर्वाचित पदाधिकारलाई बोलाएर भव्य रुपमा कार्यक्रम गर्ने गरेको कुरा क्यालगारी नेप्लिज कम्युनिटी एसोसियसनका अध्यक्ष दिनेश घिमिरेले बताए। तर, योपटक त्यस्तो कार्यक्रम सम्भव नभएकोले भर्चुअल शुभकामना आदन-प्रदान कार्यक्रम गरिँदै रहेछ।
संस्थाले आफ्नै भवन बनाएको रहेछ। भवनको एउटा हलमा नेपाली संस्कृति झल्कने गरी पञ्चेबाजा, सारङ्गी , मुर्चङ्गा, मादलजस्ता परम्परागत बाजाका साथै भेषभूषा राखिएको रहेछ। अर्को हलमा पशुपतिनाथ र बुद्दको ठूलो मूर्ति राखेर नेपाली कला र संस्कृतिलाई जीवन्त वनाउने प्रयास गरेको संस्थाका अध्यक्षले सुनाए।
भ्यांकुभरको नेपाल कल्चरल सोसाइटी अफ ब्रिटिश कोलम्बिया (एनसिएसबिसी)का अध्यक्ष कल्याण थापा विगत वर्षमा भएको भए दसैं कार्यक्रमको तयारीमा व्यस्त हुने थिए। ठूलो हल भाडामा लिएर सांस्कृतिक कार्यक्रम गर्न समयले दिएन। घर-घरमा मनाइने दसैंको भिडियो क्लिप संकलन गरेर एनसिबिसीले भिडियो बनाउने तयारी गरेको रहेछ। कल्याणलाई दसैं खुसी र उमंगको चाड लाग्दो रहेछ। पुराना साथीभाइ भेटेर बाल्यकालको दसैंको सम्झना गर्दा उनलाई रमाइलो लाग्दो रहेछ।
नेपालीहरूले भ्यांकुभरमा एक मन्दिर बनाएका छन्। हिन्दू-बुद्दिष्ट फाउण्डेशन क्यानाडामार्फत बनाएको मन्दिरमा घटस्थापनाको दिन जमरा राखी हरेक दिन चण्डीपाठ हुँदो रहेछ। मन्दिरले हरेक वर्ष सप्तमीको दिन रितपूर्वक बेलपाती भित्र्याउने गरेको रहेछ। दसमीको दिन टिका कार्यक्रम पनि हुँदो रहेछ। यस वर्ष पनि टीका र प्रसाद ग्रहणको कार्यक्रम राखिएको कुरा फाउण्डेशनका अध्यक्ष मधु आचार्यले बताए। तर, भौतिक दूरी कायम गर्नुपर्ने बाध्यताले कमै मान्छेहरू मात्र आउने उनको अनुमान थियो।
ब्रिटिश कोलम्बियाको भ्यांकुभर आइल्याडमा दसैं लगभग नेपालकै पारामा मनाइँदो रहेछ। हरेकजसो परिवारले आ-आफ्नो घरमा जमरा राख्ने चलन रहेछ। घर-घरमा टीका थाप्न जाने चलन रहेछ। नेप्लिज कम्युनिटी अफ भ्यांकुभर आइल्याण्डी कि अध्यक्ष उर्मिला शर्मा नेउपानेले यसपटक चाहिँ विगतमाजस्तो विशेष कार्यक्रम नगर्ने बताइन्। सधैं आउजाउ भइरहेका नजिकका आफन्त मात्र भेला भएर दसैं मनाउने समझदारी भएको रहेछ।
टोरोन्टोलगायत क्यानडाका प्रायः सबै सहरमा कोभिडका बिरामीको संख्या बढी छ। यसको नियन्त्रणको लागि सरकारले ठूला भेला गर्न रोक लगाएको छ। विगतमा जस्तो यस वर्ष कुनै पनि कल्चरल सोसाइटीले ठूलो कार्यक्रम राख्न सकेनन् र दसैं हर्ष उल्लासका साथ मनाउन अलि कठिन भएको छ।
कोभिड–१९ को माहामारीमा पनि आर्थिक कठिनाइ चाहिँ भोग्न परेको छैन। रोजगार बिमा (इम्प्लोयमेन्ट इन्सुरेस)को राम्रो व्यवस्था भएकोले कोभिडको कारणले रोजगार गुमाउनेहरूले पीडा भोग्नुपरेको छैन। तर, दिल खोलेर भेलामा नाचगान गरी खुल्ला रुपमा दसैं मनाउने अवस्था रहेन।
कोभिड–१९ नामक असुरले यसपटक दसैंलाई त्राहीमाप बनायो। नदेखिने यो असुर भस्मासुर बनेर आयो। भ्याक्सिन नामक देवी दसैंअगाडि नै आउने कोसिस गर्दागर्दै पनि सकिनन्।
त्यही भएर यो असुरले दसैंजस्तो महान चाडमा पनि आ–आफ्नै घरमा कैदी बनायो। कहीँकतै खासै हर्ष उल्लास छैन।
त्राहीमामको वातावरण हुँदाहुँदै पनि क्यानडाका नेपाली आफ्ना परिवारबीच मात्र दसैं मनाउँदै असुरको आक्रमणबाट बच्न खोजिरहेका छन्। सुरक्षित र स्वस्थ रहन सकियोस्। सुरक्षित र स्वस्थ रहन सकियो भने पहिलेजस्तै हर्ष र उत्सवका आउने साल दसैं मनाउँला भन्नेमा छन्।
क्यानडामा नेपालीका सांस्कृतिक संस्थाहरूले गर्ने कार्यक्रमबाहेक हरेक नेपालीले नजिकका आफन्तजन, इष्टमित्र र साथीभाइ भेला भएर पनि दसैं मनाउने गरेका छन्। घर-घरमा जमरा राख्ने, पूजापाठ गर्ने गरेका छन्। क्यालगारीका रियल्टर जीवन कटुवाल भन्दैथिए – जमरा राखेर युट्युब पण्डितबाट चण्डीपाठ गराइरहेको छु।
ठूलो समूहमा नभए पनि आउजाउ हुने परिवारबीच दसैं मनाउने योजनामा छन् – भ्यांकुभरका वीरु महर्जन। वर्नबी परिवारको रुपमा परिचित उनी नेपाली समुदायमा सक्रिय छन्। हरेक वर्ष डियर लेकबाट बालुवा ल्याएर जमरा राख्दा रहेछन्। भ्यांकुभरमा सबैभन्दा ठूलो परिवार र आफन्त भएको नेपालीको रुपमा उनी परिचित रहेछन्। लगभग दस घर परिवार र आफन्तनजिकै बस्दा रहेछन्।
वीरु भन्दै थिए – दसैं भनेको ठूलाबडाको हातबाट आशीर्वाद लिने चाड हो। आशीर्वाद पाउने भन्ने कुरा आफैंमा ठूलो कुरा हो। नेपालमा बस्ने आफन्तसँग भिडियो मेसेन्जरबाट आशीर्वाद लिनेदिने गरेका छौं।
यसपालिको दसैं सर्तकताका साथ मनाउने पक्षमा छन् टोरोन्टोका डा. गोविन्द सिंह राउत। क्यानडा आएकै वर्ष सन् २००२ मा एनसिसिएसले आयोजना गरेको कार्यक्रममा ज्येष्ठ नागरिकको हातबाट पहिलोपटक टीका लगाएको उनी सम्झन्छन्। अब दसैं रौनकभन्दा पनि व्यवहार बन्दै गरेको उनलाई महसुस हुँदो रहेछ। उनी दसैंलाई पारिवारिक एकताको चाडको रुपमा हेर्दा रहेछन्। तर, उनलाई चाडपर्वको बेला स्वदेशको न्यास्रो पनि उत्तिकै लाग्दो रहेछ।
क्यानफ्याक्सका उपाध्यक्ष डा. दोर्ण रसालीको घरमा जमरा राखेर नवदुर्गाको पूजा हुने रहेछ। उनी दसैंलाई फसल चाड (हार्वेस्ट फेस्टिवेल)को रुपमा मान्दा रहेछन्। हरेक धर्म र संस्कारमा कुनै-कुनै साझा चाड भएजस्तै उनी दसैंलाई नेपालीहरूको साझा चाडको रुपमा मान्दा रहेछन्। तर, यसपटक उनको दसैं मनाउन नमिल्ने रहेछ।
बुद्धिष्ट संस्कारमा जन्मे हुर्केका एनआरएन क्यानाडाका शरद शेरचन दसैंलाई नेपालीको साझा चाड भन्दा रहेछन्। हरेक वर्ष धेरै जना भेला भएर आफ्नै घरमा दसैं मनाउँदा रहेछन्। यस वर्ष चाहिँ उनी आफ्नो घर परिवार र भेटघाट भइरहेका नजिकका नातेदारबीच मात्र मनाउँदै छन्।
एडमन्टनकी रेखाकिरण पौडेलले घटस्थापनाको दिन जमरा राखेर हरेक दिन पूजा गर्ने गरेकी छिन्। यसपटकको दसैं नजिकका नातेदारसँग मात्र मनाउँदै छिन्। सास्काट्युनकी श्रद्धा कार्की पनि दसैं घर परिवारका मान्छेसँग मात्र मनाउने मुडमा छिन्।
शरदमा रुखका पातहरू एकैपटक रंगिन्छन् क्यानडामा। को रंगिने नरंगिने विवाद हुँदैन। मिलेर रंगिन्छन्। मिलेर रंगिएका रुखका पात देखेर नेपाल साहित्य समाज क्यानाडाका अध्यक्ष रविन थपलिया यी सुन्दर हरफ लेख्छन् –
शरदका रुखहरू
खासखुस सल्लाह गर्छन्
मिलेर रंगिनुपर्छ, शरद आयो
सँगसँगै रङ्ग फेर्छन्
सबैलाई मोहित पार्छन्।
शरदका रुखका पात मिलेर रंगिएजस्तै क्यानडामा सबै नेपालीहरू दसैंको खुसीमा मिलेर रंगिन्छन्। कसले दसैंको खुसी मनाउने-नमनाउने भन्ने नै छैन। दसैं साझा चाड भएको छ। व्यक्ति हुन कि संस्थाका प्रतिनिधि, क्यानाडामा नेपालीहरू एकमुखले भन्छन्, ‘दसैं सबै जात, धर्म र समुदायको साझा चाड हो। खुसी, मिलन र एकताको चाड हो।’