धर्तीका सबै जन्माइ सुखद् हुँदैनन्। सुखद् हुन्थे भने, तिमी चीनको हुवानमा जन्मिदाँ र त्यसपछि हुर्किदाँ/बढ्दा सबै विश्वासीले धर्तीमा तिम्रो बेजोड स्वागत गरिरहेका हुन्थे। तर, तिमीलाई त यहाँबाट कसरी नष्ट गर्ने भनेर सारा विश्व नै तिम्रो विरुद्धमा छ। पत्रको सम्बोधन सुरुमै यसरी हुन गयो, म माफी माग्छु। माफी त तिम्ले माग्नुपर्छ (अ)प्रिय कोरोना, तैपनी मैले नै मागेँ।
(अ)प्रिय कोरोना,
साँच्चै तिमी स्वरुपमा अत्ति सानो छौ। हाम्रा आँखा तिम्रो अगाडि निरीह छन्। त्यसैले त हामी तिमीबाट छिप्नै सक्दैनौँ र त तिम्रो आक्रमणमा परिहाल्छौँ। मैले यतिबेला तिमीजस्तो निर्दयी अदृश्य पात्रलाई तिमी भनेर सम्बोधन गरिरहेको छु। बुझ यत्ति, हाम्रो मानवीयता जीवित छ।
फेरि तिमीसँग प्रश्न गर्ने अधिकार सुरक्षित नै छ। तिमी सोध्न सक्छौ। जर्जर बर्बरता अँगाल्ने मानव मस्तिष्क कति दुषित र अमानवीय छ भनेर? र हाम्रै देश नेपालको उदाहरण दिँदै भन्नेछौ- बझाङमा बलात्कारपछि क्रुर यातना-त्रिशुल खोपी विभत्स हत्या गरिएकी सम्झना कामी बारे। म यसको जवाफ दिन सक्दिनँ। जवाफ त पीडककी निर्दोष आमाले दिनुभएको छ। सुन्छौ भने म मन गाँठो पारेर भन्छु, ‘मेरा दशधारा दूध खडा (खेर) गया’!
'दिनदिनै तिम्रो प्रभावको मापन गर्न हामी पिसिआर परीक्षण भन्दै कतिन्जेल बसिरहने। कतिन्जेल आइसोलेसन र क्वारेनटाइनमा थन्किरहने। कति आफन्त वियोगको पीडामा आँसु खसाली रहने र भविष्यको त्रासदी कुरेर पर्खिरहने।'
यी र यस्ता कुकार्य सहने र स्वीकार्ने हाम्रो फोक्सोमा कुनै श्वास छैन। तर त्यही कोमल फोक्सोलाई तिम्ले आफ्नो अड्डा बनाएर लगातार आक्रमण गरिरह्यौ। यसबाट हामी विचलित छौँ, शुद्ध हावा शरीरमा संचय गर्न सकिरहेका छैनौँ। शारीरिक थकानसँगै यसैबाट उब्जिएको मानसिक रोगीको भारी बोक्न हामी विवश दिशातर्फ उन्मुख छौँ।
(अ)प्रिय कोराना,
लामो समय तिम्रै कारणले लगभग विश्व नै लकडाउन भयो। मानव जीवनको अस्तित्व बन्द कोठाभित्र संकुचित बन्यो। हामी कतै निस्किन सकेनौँ तर तिमी भने स्वतन्त्र बनेर बेग हानी रह्यौँ, आफ्नो विरुप प्रभावलाई अझै व्यापक बनाउँदै। कति भोककै कारणले पृथ्वी लोकबाट अस्ताए त कति तिम्रो थेग्नै नसक्ने अमानवीय बसाइँको हर्कतले।
हाम्रो यात्रा रोकियो। विश्वको समयचक्र आफ्नो लयमा बग्न पाएन। बरु हामी तिमीबाट टाढिन माक्स, पन्जा र सेनिटाइजरको खोजिमा लाग्यौँ। भोकलाई बिर्सियौँ। आफ्नो जीवनको गन्तव्य र प्रगतिपथको बाटोको यात्रा नै गरेनौँ। बरु हामीजस्ता मानव सामाजिक दूरीको नाममा एकलकाटे बन्न खोज्यौँ, बन्यौँ। हामी स्थिर भएर रहेपनि घडीका काँटाहरु बाध्य भएर फन्को लगाइरहे।
यस बीचमा हामी तिमीबाट हायलकायल बन्यौँ। यो सबै मानवको अत्यासपूर्ण चित्र देखेको तिमी भने हामीसँग पैठोजोरी खेलिरह्यौँ। मानवीय संवेदनाका लाभा कठोर नभएकैले तिम्ले हाम्रो फोक्सोमा सहज बासस्थान पायौँ तर त्यसको प्रतिफल हामीलाई धान्नै नसक्ने गरी अनेकन पीडामा धकेल्यौँ। निर्दोष फोक्सोमा तिमी शान्त भएर बस्नुपर्ने हो! तर, ठिक उल्टो आफ्नै बासस्थान ध्वंस गर्न जोडले लाग्यौँ।
हामी तिम्रै चरित्रको चपेटामा कतिसम्म आर्थिक हिसाबले थिलोथिलो पर्यौँ? यसको सबै फेहरिस्त उतार्न मैले आवश्यक देख्दिनँ। यो आफै काँचमा टल्किरहेको छ। हाम्रा कति स्रोत साधन त तिम्ले निमेषभरमै उडाइदिई रहेका छौँ। हाम्रो आर्थिक क्षमता नराम्ररी स्खलित बन्दा थुप्रैका घरका चुल्हो निभेको सायद तिम्लाई हेक्का होला। स्रोत साधनको समुचित उपभोगमा पछि पर्दा हाम्रो क्षमता तिमीसँग भिड्ने खालको छैन।
अस्पतालका संरचना बल्ल बन्दैछन्। मेडिकल उपकरण पर्याप्त र आधुनिक छैनन्। स्वास्थ्यकर्मी जस्ता अति महत्वपूर्ण जनशक्ति उत्पादनकै चरणमा छन्, भएका देशका दूरदराजमा अझै पुग्न नसक्ने स्थिति विद्यमान छ। अझ हाम्रो संघीय राजधानी काठमाडौँको खुलामन्चमा हेर त! कति मानिस एक छाक खानाकै लागि घामपानी नभनी अनवरत लाइन लागिरहेका छन्। कति डेराविहीन बनिसके, घरभाडा बुझाउन नसकेर।
यी र यस्ता यावत् तथ्यको महशुस गर्दे तिमी हाम्रो देशबाट छिट्टै टाढिनै पर्छ। यो हाम्रो जर्बजस्त माग हो। हाम्रो देशबाट मात्रै हैन, विश्वबाट नै तिम्रो अस्तित्वको अवसान हुन ढिलो भैसकेको छ। तिम्रै कारणले भित्रिएका चाडपर्व पनि खल्लो बन्न थाले। घरपरिवारको आत्मियतामा समेत तिम्रो संक्रमणले हामीलाई गाँज्यो।
दिनदिनै तिम्रो प्रभावको मापन गर्न हामी पिसिआर परीक्षण भन्दै कतिन्जेल बसिरहने। कतिन्जेल आइसोलेसन र क्वारेनटाइनमा थन्किरहने। कति आफन्त वियोगको पीडामा आँसु खसालिरहने र भविष्यको त्रासदी कुरेर पर्खिरहने।
यसअघि हामी धर्तीका मानव सधैँ आफै-आफैमा लडेर विश्व जगतमा बलियो र शक्तिशाली भएको प्रमाणित गर्न सदा लागिरह्यौँ। त्यसैले त हाम्रा पूर्खाले कहालीलाग्दा प्रथम र द्धितिय विश्वयुद्धको नमिठो स्वाद भोगे। यसका डोब अहिले पनि जीवित छन् र कालान्तरसम्म पनि सजिव रहनेछन्।
विश्व नै अब त्यसैगरी भिड्ने कुराको हामी कल्पना गर्न सक्दैनौँ र सहजै यसको सम्भाव्यतालाई नर्काछौँ तर हामी यसरी यसबाट टाढिन खोजेपनि हाम्रो लडाइँ तिमीजस्ता मानव जीवनको अस्तित्व नस्वीकार्ने थुप्रै भाइरससँग भने हुनेछ।
पत्र लामो बनिसकेछ। तिम्रो प्रतिउत्तर छिट्टै आइपुग्दा क्षमासहित धर्तीबाट तिमी बिदाइ भएको सुन्न, पढ्न र लेख्न पाउँ।