टिकाको दिन लगभग रातको ११ बजेको थियो सायद। म गहिरो निन्द्रामा थिएँ। दसैँमा घरदेखि टाढा भएको यो मेरो पहिलो अनुभव थियो। पेशाले चिकित्सक भएपछि यस्तो अवस्था आइपर्छ भनेर सुनेको थिएँ, भोगेको थिइनँ।
क्वाटर बाहिर 'डाक्टर साब! उठ्नुस् घाइते बिरामी आछन्' भन्दै कार्यालय सहयोगी धुर्व दाइ कराउँदै रैछन्। चाँडै नै ओछ्यानमा पल्टिएको हुनाले म निदाएछु। बिउँझिएर तल इमरजेन्सी वार्ड तर्फ लागेँ। मानिसहरुको बाक्लै भिड थियो। स्वास्थ्य केन्द्र वरिपरि बसिरहेका थिए। इमरजेन्सीको ड्रेसिङ रुममा उर्मिला सिस्टर घाइते बिरामीको रगत रोक्ने प्रयास गर्दै हुनुहुन्थ्यो। म त्यो परिवेशमा नौलो र अन्जान थिएँ। उसो त त्यस्तो माहोल देखेपछि जो कोही हतास हुनु स्वभाविक पनि हो।
यस्ता केशहरु विशेषतः रक्सी खाएर हुने लडाइ झगडाहरु पश्चात आउने सम्भावना दसैँमा उच्च हुने रहेछन्। यो चोटि कोरोना महामारीले गर्दा भिडभाड कम भएर घटनाहरु कम भएको हुनसक्ने अनुमान गर्न सकिन्थ्यो।
बिरामीका आफन्तहरु एक अर्कालाई दोषारोपण गरिरहेका थिए। इमरजेन्सी वार्डमा हल्ला साह्रै सुनिन्थ्यो। लगभग छ घण्टाको अन्तरालपछि मात्र स्वास्थ्य केन्द्र ल्याउन सफल भएका थिए बिरामीलाई। फ्रेस रगतले सर्ट र पेन्ट पूरै भिजेको थियो। बल्ल तल्ल माथिल्लो ओठमा गहिरो चोट परेर बगेको रगत थाम्न सक्यौँ।
रगतलाई बग्न नदिने कुनै उपाय नै नगरी बिरामीलाई स्वास्थ्य केन्द्र पुर्याएका थिए आफन्तले। र रगत नरोकिँदा धेरै आफन्तहरु चिन्तित पनि थिए। त्यहाँ सम्भव नभएको खण्डमा अन्यत्र रिफर गर्नलाई समेत गाह्रो थियो। रातको समय त्यसमाथि टिकाको दिन। नजिकै एयरपोर्ट भएपनि जहाज उड्न बिहान हुनुपर्ने जरुरी थियो।
जसोतसो लामो प्रयासपछि रगत रोक्न सफल भयौँ र चोटलाई सिलाउन तर्फ लाग्यौं। दुईबाट टाँका लाएपछि हामीमा पनि आत्मविश्वास बढ्यो। त्यसपछि केही राहतको सास फेर्यौं।
सिलाउने कार्य सिद्धिएपछि लुगाहरु फेर्न लगाएर ओढ्ने मगाउन भन्यौँ र आईपुग्यो पनि। त्यसपछि केही औषधीहरु स्लाइन मार्फत चढायौँ। मानिसहरु बाहिर चिसो भएर पनि होला भित्रै वार्डमा बसिरहेका थिए। घाइतेको अवस्था केही सामान्य भएपछि प्रहरी दाजुले दिनु भएको घाउँजाँच केश फारम भर्न लाग्यौँ।
उक्त झगडामा नै घाइते भएका अर्को व्यक्ति पनि त्यही वार्डमा मलमपट्टी गरेपछि आराम गर्दै थिए। रक्सी खाएर मात्तिएको अवस्थामा एकजनाले अर्कैलाई हानेको ढुंगा झुक्किएर घाइतेलाई लागेको अवस्था त्यहाँ चित्रित हुन्थ्यो। र त्यहाँ अझ जटिल समस्या दुवै पक्षहरु फरक-फरक पार्टीका थिए र फरक-फरक फोर्स लगाएर नतिजा आफू अनुकूल बनाउन पनि तल्लीन देखिन्थे।
हामीले आफ्नो भूमिका निष्पक्ष ढंगले निभायौँ र माहोल केही शान्त भएपछि अरु अन्य उपचारका लागि आएका सिरियस बिरामी हेरेँ। अनि एकछिनपछि म क्वाटर फर्किएँ। घडीमा रातको साढे २ बजिसकेको थियो। धन्न रिफरको केश आज भएन नत्र कहाँ-कहाँबाट फोन लगाउन तल्लीन हुन्थे होलान् भन्ने सोचमा म मग्न हुँदै क्वाटर पुगेँ।
क्वाटर पुगेर एक गिलास पानी खाएँ। ओछ्यानमा पल्टिएँ तर निदाउँन सकिनँ। ऐँठन भईराख्यो। 'यहाँ बिरामी जाँच्न आउन पनि म फलानो पार्टीको भन्दै हैकम जमाएर आउँछन्' डाक्टर राजु दाइले भनेको कुरा झलझल्ति सम्झिएँ। अझ पोसमार्टमको बखतमा हुने अनावश्यक दवावहरु पनि झेल्नु पर्ने कुरा दाइले बेलाबखत गर्नु हुन्थ्यो। सबै दुर्गम भेगको दुनियाँ यस्तो छैन तर अवसर पाउने चक्करमा यहाँका प्राय यसरी राजनीतिक पहुँचमा झन् खुम्चिएका रहेछन्।
त्यसैले त यहाँका जनप्रतिनिधि र नेताहरुलाई काम नगरीकनै जनता भुलाउने छुट मिलेको छ। खै! कस्ले बुझ्ने यो कथा? सबै पार्टीका नेताहरुले बाँडी-बाँडी दुर्गमका स्वास्थ्य सेवाहरु धरासय बनाउँदैछन्। र कोही जनताहरु अनभिज्ञ छन्, कोही ललिपपमा आशावादी छन्। बाजुरा मेरो लागि जन्मभूमि त होइन तर कर्मभूमि हो।
लमजुङको मान्छे यति टाढा आएर सेवा गर्छुभन्दा कतै बाघहरुको लडाइँमा मिचिने पो हो की भन्ने डर पनि सदा रहन्थ्यो। खैर! अहिलेसम्म अवस्था चाहे अनुकूल नै छ।
टिकाको दिनमा बिहानै कार्यालय सहयोगी जोशी दाइको हातबाट टिका लाएर बिरामी आउँछन् की भनेरै कुरेर बसियो। फेसबुकमा अरुले राखेका परिवारसँगको फोटोले मन कता-कता अमिलो भयो। तर पोहोर सालकै फोटो हेरेर चित्त बुझाइयो। एक्लै एक्लै मुसुमुसु हाँसिरहेका हावाका झोक्काहरुसँगै संकुचित मन पनि बहेर यो वर्षको दसैँ सिद्धियो। तर कर्म सिद्धिएको छैन।
कर्मको प्यासी भएर हरेक प्रहर जुधिँरहनु छ। आराम र सहानुभूतिहरुमा अल्झिनु छैन। हरेक कम्पन र स्पन्दनमा जुट्नुछ। सायद यही आशिष प्राप्त गरेँ होला, टाढा रहेका मेरा आमा बुवाबाट। मैले सेवा गरेका मेरा बिरामीहरुबाट। मलाई पालनपोषण गर्ने प्राकृतिक रुपमा संरक्षण गर्ने आत्मविस्तार गरेर हुर्काउने मेरो जन्मभूमिले पनि मलाई यही भनेर पठाएको छ। हरेक अभिप्रायमा उर्जाशील हुन सघाउने म मेरो जन्मभूमिको आशिष लिएर समरभूमिमा सधैँ खटिरहनेछु।
के छ र मेरो जीवन तिनीहरुका अघि? जस्तो लाग्छ। जो दुखाइ कम गर्ने टाटा लिन दुई/तीन वटा पहाडहरु छिचोलेर कोल्टी आईपुग्छन्। के म उनीहरुभन्दा भाग्यमानी छैन र? अझ डाक्टर भएँ भन्दैमा मलाई किन अभिमानी हुनु छ र? यदि प्राप्ती नै विशिष्ट चिज हो भने मृत्युको भयमा रुमल्लिएकाहरुलाई इलाज गर्नु जस्तो प्राप्ति अरु के होला? म धन्य छु।
अमेरिका अष्ट्रेलिया जान नपरेकोमा म धन्य छु। म धन्य छु, म एउटा जाबो बबुरो डाक्टर भएर पनि जीवन बाँच्ने मोहनी लगाउन सफल भएको छु यो बेग्लै संसारमा। यो काठमाडौंले नदेखेको मरुस्थलमा।
चिकित्सकको नाताले प्राथमिक स्वास्थ्य केन्द्र, केल्टी बाजुरामा जाने इच्छा जाहेर पहिलेदेखि नै सम्बन्धित निकायमा गरेको थिएँ। दुर्गम भेगमा गएर जनताको सेवा गर्ने इच्छा अनुसार नै मैले यो स्वास्थ्य केन्द्र रोजेको थिएँ। मेरा लागि सुदूरपश्चिम पनि नौलो थियो। त्यसमाथि बाजुरा जिल्लाको कोल्टी त अति नै नौलो।
जानभन्दा अगाडि नै मनमा कौतुहलताले डेरा जमाएको थियो। काठमाडौँदेखि नेपालगञ्जसम्म गाडीको यात्रा र नेपालगञ्जबाट जहाजमा चढेर लगभग तीस/चालिस मिनेटको हवाइ यात्रा पश्चात कोल्टी पुगेको थिएँ।
बर्खा मासा गाडी चल्ने बाटो पूर्णतय बिग्रेको हुनाले पनि कोल्टी पुग्ने सहज माध्यम नै हवाइजहाज रहेछ। पुग्नासाथ वरिपरि नियालेर हेरेँ। कोल्टी बजार भूगोलको हिसाबले पनि कोल्टो नै रहेछ। वरिपरि भीमकाय डाँडा र मोबाइलको टावर त्यति नटिप्ने यो भूगोलमा विकासको पहुँच पनि त्यति स्थापित देखिनँ।
स्वास्थ्य उपचारका लागि मुगु, हुम्ला सहित वरिपरिका भेगबाट लामो दूरी पार गरेरै बिरामीहरु आउँदा रहेछन्। पानीको अभाव र खाद्यान्नहरुको चर्को मूल्यका कारण पनि यो भेग साच्चै नै दुर्गम हो भन्न कुनै साइत कुर्नु पर्ने रहेनछ। हुन चाहिँ बुढीनन्दा नगरपालिका अन्तर्गत रहे पनि यस बजारको व्यवस्थापन र स्वास्थ्य केन्द्रमा उचित ध्यान स्थानीय निकायले दिन सकेको छैन।
ठूलो वर्षा हुँदा कोल्टी बजार माथिको पहाडमा पानीले छिचोलेर चिराचिरा परेर पहिरो जान सक्ने अनुमान पनि सजिलै गर्न सकिन्छ। स्वास्थ्य जनचेतना र वातावरणीय सरसफाईमा समेत कोल्टी बजार पछाडि नै परेको देखेँ। एउटा चिकित्सक भएको नाताले बिरामीसँगको सामिप्यता र उनीहरुको स्वास्थ्य उपचारमा मैले दिनहुँ समय खर्चिरहेको छु।
बिहान घरबाट हिँडेर पनि दुई/तीन बजे तिर थकित भएर आएका बिरामीको अनुहार हेर्दा पनि मन नै भावुक भएर आउँछ। र त्यहाँ उपचार सम्भव नभएमा नेपालगञ्ज वा मार्तडी रिफर गर्नु पर्दा मन अमिलो हुन्छ। अझ केही हप्ता अघि सुत्केरीलाई यही स्वास्थ्य केन्द्रमा ल्याउँदै गर्दा बाटैमा ज्यान गएको घटनाले त झन् विक्षिप्त छु।
चार वटा स्थानीय तहबाट बिरामीको चापहरु बढी नै रहे पनि यस प्राथमिक स्वास्थ्य केन्द्रमा औषधी र उपकरण अभाव अझै जटिल अवस्थामा रहेको छ। बर्थिङ सेन्टर र पोस्टमार्टम हुने व्यवस्था समेत यसै केन्द्रमा रहेता पनि सामान्य बिरामीलाई एक्स-रे र भिडिओ एक्स-रेको समेत अभाव छ।
अनेक चुनौतीका बीच पनि अघि बढीरहेको यस प्राथमिक स्वास्थ्य केन्द्रको भविष्य र डा. गोविन्द केसीले बेलाबखत राख्ने गरेका मागहरु तुलनात्मक रुपमा सापेक्ष छन्। र त डा. केसीका मागहरु जायज हुन्छन्। तर महामारीको सन्दर्भमा त कठोर बनेको राज्य के दूरदराजमा सहज र निःशुल्क स्वास्थ्य सेवा पुर्याउन तल्लीन होला त?