म अरूजस्तै सामान्य केटी हुँ। म घरपरिवारको एक सदस्य, समाजमा महिलाको दर्जा दिइने व्यक्ति र सायद देशको कर्तव्यनिष्ठ नागरिक हुँ।
साँच्चै मैले आफ्नो घरको, पूर्खाहरूको इज्जत थामेर भविष्यमा सन्ततिहरूलाई हाम्रो चलिआएको परम्परा पनि त सिकाउनु छ।
एक सन्तान जन्मे त उसको पर्वरिस् समाजका नियम अनुसार गर्न सकिन्छ। दुई सन्तान जन्मिएपछि त्यसमाथि एउटा छोरो अनि अर्को छोरी भएपछि त उनीहरूलाई जन्मप्रान्त नै भिन्न भिन्न पर्वरिसमै समय दिनुपर्ने होला।
छोरोलाई त राम्रो पढाउन पर्छ आखिर बुढेसकालको दरिलो खम्बा हो।
उसकै कारणले हो हाम्रो स्वर्गको ढोका खुल्ने।
अब छोरी, उसलाई अहिलेबाटै घरको कामकाज,परम्परा, संस्कृति, धर्म सिकाउने हो, पढाएर के गर्नु?
ओहो! भोलि हिँड्न, बोल्न, कामकाज गर्न नि सिकाइनछ उसकी आमाले भनेपछि? कति अनपेक्षित रहेछ मेरो उसको जन्म पनि।
मेरा बुवाआमाको अशिक्षा र अन्धविश्वासका प्रतिफलस्वरूप जन्मेकी म।
माइती घरमा धेरै कुरा सिकेकी हुँ त्यसमध्ये पनि सिकेको महिनावारी हुँदा भान्सा पस्नु हुँदैन रे। बाँकी गाई बाख्राको लागि जति घाँस दाउरा पनि बोक्दा हुन्छ रे।
श्रीमानलाई मैले २६ दिनसम्म खुब सेवा गर्छु र उहाँले पनि मलाई निकै प्रेम गर्नुहुन्छ तर महिनाको ४ दिन उहाँको वरिपरि नि पर्दिनँ म किनकी त्यसो गर्दा पाप हुन्छ अरे।
जनै भिरेको मान्छेलाई कसरी भन्नु; ए हजुर आज कम्मर छिनिन्छ होला, दबाइदिनुस् त भनेर? त्यस्तो भन्नु त के बोल्नु नि पाप हुन्छ।
बरू बसेर सासूससुरा, बुढा, नन्द, देवर सबैको कपडा धुन्छु। बसेर धुँदा त कम्मरको दुखाइ निको भइहाल्छ नि।
अब त आफ्नो कर्तव्य आफैं एक हदसम्म बुझ्ने भएकी छु।
यहाँ ‘म’ छोरी, आमा, महिलालाई केही सामाजिक र पितृसत्ताको कुरा आएन भने स्वर्गको ढोका नै बन्द हुन्छ र हामी लक्षिणका रहदैनौं।
म जन्मिँदा नजानिँदो गरी अमिलिएका मेरा बुवाआमाको मनमा मलम लगाउनका लागि भए पनि म गतिलो बन्नु छ।
म जन्मनु अगावै पात्रो हेर्न जानेका 'मुल्याई परिछ ' भनी नाक खुम्च्याउने पुरेत बालाई पनि त श्रीमानको घरमा गरिखाएको देखाउनु पर्यो नि।
पानी कताबाट भरेर ल्याइसभन्दा तल दमैको घर नजिकको कुवाबाट भन्दा छि :! छि:! छि:! चोख्याएर लिएर आइज भनेकी मेरी आमालाई के थाहा आज भोलि मैले गंगा जल शरीरमा न छर्केसम्म अरू कुनै कामको थालनी गर्दिनँ भनेर।
मेरो जन्म संयोग थियो तीन दिदीबहिनीपछि बुवाआमाको अन्तिम सन्तानको रूपमा मेरो जन्म भएको हो।
उहाँहरूको दरिलो साथ बन्नलाई ममा एउटा कमजोरी भयो, म छोरी हुन पुगे सायद छोरो भएको भए साथ दिन सक्थें होला।
उहाँलाई त भाग्यले ठग्यो भन्ने ठूलो चोट परेको छ।
अब नाति जन्मिएपछि उहाँहरूको भाग्य फर्किन्थे कि? लौ बर्बाद भयो! कोदाली र हँसिया बोक्दै 'साहेब' सँग केही कुरो गर्न आयो कि बले।
च्याँख्ला बनाएकी छु खान आऊ बलबहादुर भनेर भान्छामा बोलाएर खुवाउनु त भएन होस् त्यही आँगनको कुनामा लगेर दिन्छु।
'साहेब' मेरा ससुराको कति इज्जत छ गाउँमा, बुहारीले धर्म भ्रष्ट पारी विश्वकर्मालाई भान्छामा बसाएर खाना खान दिई भनेको सुन्दा त छानो नै खस्छ होला उहाँको माथि। समाजलाई मन नपर्ने काम गरे भने विधुवा राइलिको जस्तै हुन्छ फेरि हालत।
बोक्सीको आरोप लगाएर गाउँभरिबाट उपेक्षित बनाउँछन्।
अब मैले मेरो परिवारको शिर पनि त झुक्न दिनु हुँदैन। जन्म जसरी भएको भए पनि मेरो विवाह धनाढ्य घरमा भएको हो।
ससुरा र उहाँ दुवै खुब कमाउनुहुन्छ। के गर्नु हुन्छ त्यो चाहिँ सोधेकी छैन।
अन्न भण्डारको खै के पो काम हो रे। भण्डारणको काम गर्न प्रशस्त नोकर,चाकर पनि छन्।
एकदिन खासखुस गर्दा 'साहेब' कालो बजारी केके सुनेकी थिएँ। निकै दुःख गर्छन् नि अँध्यारोमा बजार गएर भण्डारका समान दिन्छन्,ल्याउँछन् भनेर झन् माया देखाउँछु किनकी बुवा हजुर र उहाँलाई; हजुरहरू भ्रष्ट हुनुहुन्छ हो?
यस प्रकारको काम गर्नु हुँदैन भन्ने मलाई अधिकार छैन।
फेरि म छोरी जातिसँगै काम सिक्छु र सिकाउँछु भन्नु नि नमिल्ने। त्यसैले म घर धन्दामै व्यस्त राख्न बाध्य छु आफूलाई।
म त्यही मानिस हुँ जो वर्तमानमा आएर निकै मीठो खिन्नतमा छु। मेरो स्वभाव देखेर कहिलेकाहीँ आफैं विचलित हुन्छु।
म आकार र बलमा साँच्चै महान हुन पुगेकी म कमजोर हुन पुगें? किन हो किन म आफैंलाई चिन्न सकिरहेको छैन।
म गान्धी बन्न चाहन्छु, म महिला-पुरूष केही नभएर आमनागरिक बन्न चाहन्छु, म विचार र भावनाको स्वतन्त्र पन्छी भई लामो यात्रा गर्न चाहन्छु।
समाजलाई परिवर्तन दिन चाहन्छु। भोलि छोरी जन्मिएपछि कुप्रथा र विसंगतिसँगै होइन, बुद्धि र विवेकमा हुर्काउन चाहन्छु।
खै किन होला मैले समाजको अर्कै रूप हेर्न खोजेको। मैले वर्तमान समाजको पदार्पण गरिसकें र पनि अर्को सामाजिक समाजको खोजीमा हिँडिरहेकी छु।
मैले दुखेसो पोख्दै गर्दा मेरो परिचय पनि दिनै बिर्सेछु।
होस् समाजले जुद्ध 'साहेब' की जहान भनेर चिनेकै छ त।