प्यारी आमा,
तिमीसँगको सम्झना अनगिन्ती छन् र ती बिर्सी बिर्सी नसक्नुका पनि छन्। हामी सबै नाति-नातिनीहरू तिमीलाई संसारकै सबैभन्दा प्यारो शब्द 'आमा' भनेर सम्बोधन गर्थ्यौं। २०३९ सालदेखिको सम्झना छ तिमीसँग मेरा। खै त्यसभन्दा अगाडिका सम्झनाहरू त्यती ताजा हुँदैनन् दिमागमा।
आकल-झुकल 'बा' (हजुरबुबा) ले अँगेनामा दूध तताएको, मलाई दुई एकान दुई पढाएको र 'बा' बिरामी भएर जनकपुर जाँदा ट्रकमा हालेर लगेको झिनो सम्झना मात्र झल्याकझुलुक गर्छन् कहिलेकाहीँ मस्तिष्कमा। तर २०३९ सालमा 'बा' को जनकपुरमा देहान्त भएको खबर सुनेपछि तिमी बेहोस भएर पोख्रेल भिनाजुको घर नजिकको काब्राको बोट छेउमा लडेकी मैले टुलुटुलु हेरेको थिएँ।
सायद त्यसबेला म सोचिरहेको थिएँ की तिमी कुनै बिरामी भएकी थियौ। हो, त्यही क्षण नै मेरो लागि सधैँको लागि बिर्सी नसक्नुको घटना हुन पुग्यो। त्यसपछि म भान्जो बुबा/आमाको घरमा लगिएँ। त्यस उप्रान्त कयौँ दिन घरका कुराहरु मलाई थाहा भएन। यति सम्झन्छु की कुनै-कुनै बेला भान्जीआमा खुइय्य गरेर लामो सुस्केरा हाल्ने गर्नुहुन्थ्यो।
कति दिनपछि म घर फर्केँ थाहा छैन। तर घर फर्केपछि तिमीसँग मेरो अटुट माया गाँसिएको सम्झना आजसम्म लगातार ताजा भएर आउँछन्। म सधैँ तिम्रो पछि-पछि लागेर हिड्थेँ।
तिमी निपूर्ण कथा वाचक थियौ। कयौँ कथाहरू शिलशिलाबद्ध रूपमा कण्ठस्थ हुन्थे तिमीलाई। म कथाहरू सुनाउन तिमीलाई पटक-पटक कर गरिरहन्थेँ। कति बोर लाग्थ्यो होला हगि तिमीलाई? तर तिमीले कथा सुनाउन कहिल्यै झिझो मानिनौ। आजको जस्तो मोबाइल त्यसबेला भएको भए तिमीलाई कत्ति सजिलो हुन्थ्यो होला हगि!
'क' नपढेको मान्छे तिमी लामा-लामा श्लोकहरु पनि उत्तिकै वाचन गर्न सक्ने। सबै कण्ठस्थ हुन्थे तिमीलाई। म छ/सात कक्षामा पढ्दा त तिमीले पटक-पटक सुनाएका कत्ति श्लोकहरु मलाई पनि कन्ठै भईसकेका थिए। मेरो एक प्रश्नको उत्तरमा तिमीले भनेकी थियौ की ती सधैँ सुनिरहूँ जस्ता लाग्ने कयौँ दन्त्यकथा र लामा-लामा श्लोकहरु 'चेली' भन्ने कुनै आफन्त तिमीलाई भेट्न सिन्धुली आउदा राति सँगै सुतेको बेला उनले तिमीलाई सुनाउने गर्थिन् र पछि तिमीलाई सबै कन्ठै भएछन्।
आमा, तिमी काममा अति नै जागरिली थियौ। तिमीमा स्फूर्ति नभएको क्षण मैले कहिल्यै देखिनँ। सधैँ तिमी काममा व्यस्त हुन्थ्यौ। की त हामीसँग कथा तथा श्लोकहरु वाचन गर्दै गरेकी हुन्थ्यौ। प्राय: कथाहरू तिमी साँझमा सुनाउने गर्दथ्यौ। तिमी दिउँसो सुतेको मलाई कहिल्यै याद भएन। बिहान चार बजे जहिल्यै पनि उठिसक्थ्यौ।
यस्तो मान्छे कहिलेकाहीँ अस्पतालमा भर्ना हुँदा र पछिल्ला दिनहरूमा ओछ्यानमा केही दिन थलिदा, तिमीलाई कति झर्को र पीडा भयो होला हगि? तिमी अठासी वर्षको उमेरमा पनि हिँडेको र काम गरेको देख्दा गाउँ नै छक्क पर्ने गर्दथ्यो।
आमा, तिमी निष्कपट थियौ। त्यस्तो असल गुण भएको सन्तान अहिले हामीहरू कोही पनि छैनौँ भित्र कुनै पाप नभएको। तिम्रो मन साह्रै कमलो थियो, सबैको लागि। अरूलाई सधै सहयोग गर्ने। जे जति छ सबैलाई बाँडेर खाने। अहिले कहाँ पाइन्छ र यस्ता मान्छेहरू!
म तिम्रो पछि लागेर सानोमा कयौँ पटक सिन्धुली-बर्दिवास हिडेर ओहोर दोहोर गरेको छु। तिमीलाई माइत-मावल धेरै जानु पर्ने। म तिम्रो पिछा नछाड्ने। पछि लागि हाल्ने। ढल्केबर र झारलाङटार कयौँ पटक गइयो गनेर साध्य छैन हगि? बर्दिबाससम्मको त्यो यात्रामा कयौँ पटक मैले कट्टुमा दिशा उम्काएको छु।
बुबा-ममी भिन्न भएपछि पनि म केही वर्ष तिमीसँगै बसेको थिएँ। बुबा-ममीले पनि मलाई त्यो स्वतन्त्रता दिनु भएको थियो। पछि म बुबा-ममीको घर जाँदा मूल घरमा ठूलो रुवाबासी चलेछ। आमा, तिमी धेरै रोयौ हगि त्यसबेला? मैले तिमीलाई साह्रै चित्त दुखाएँ। तिमीलाई छाडेर बुबा-ममीको घर गएँ।
के गर्नु, जानै पर्ने रहेछ। दाजु-भाइ छुट्टिएपछि तिमीलाई कान्छो काकासँग राख्ने निर्णय गरिएछ। सायद तिमीलाई कसैले सोधेन पनि होला, कोसँग बस्छ्यौ भनेर त्यसबेला। आफन्तहरूले जे निर्णय गरिदिन्थे, तिमी चुपचाप मानिदिन्थ्यौ। आखिर तिमी अन्तिम अवस्थासम्म पनि तिनै छोरीहरूसँग साथै बस्न चाहन्थ्यौ हैन र?
तीन मिनेटकै दूरीमा त थियो नि मूल घर पनि, मेरो बुबा-ममीको घरभन्दा पर। तर किन यस्तो पिर लागेको होला मलाई र तिमी दुवैलाई? कत्ति वर्ष त म र तिमी भेट्दा पनि एक अर्कालाई हेरेर रूने गरेका थियौँ। यो कुरा सिर्फ तिमी र मलाई मात्र थाहा छ। माइँलो बुबा बर्दिबास बसाइ गएकोमा सुरूमा तिमी साह्रै पिर गर्दथ्यौ।
म केही ठूलो र बुझ्ने भएपछि पनि तिमीमा कहिल्यै परिवर्तन भएको मैले देखिनँ। न शारीरिक रूपमा न मानसिक रूपमा। एसएलसीपछि म काठमाडौँ पढ्न जाने भएँ। तिमीले साह्रै पिर गर्यौ। काठमाडौँमा रहँदा पनि म हर क्षण तिमीलाई सम्झिरहेको हुन्थेँ।
म प्रत्येक पटक काठमाडौंबाट घर फर्कदा तिमीलाई केही खानेकुरा लिएर आउथेँ तर तिमीले मलाई नाति यो चै कुरा ल्याईदे भनेर कहिल्यै भनिनौ। कहिलेकाहीँ फोनमा आमा तिमीलाई के ल्याईदिउँ भन्दा जहिले पनि केही पनि पर्दैन, त आइजो न भै हाल्यो भनेर भन्थ्यौ।
म घरमा आउने बित्तिक्कै तिमीलाई भेट्न उकालो चढीहाल्थेँ। एकपटक साँझ परेकोले तिमीलाई त्यो दिन मैले भेट्न नसक्दा तिमी बिरामी परिछ्यौ। पछि आफन्तहरूले भन्थे- त आमा भेट्न हिजो नगएकोले आमा बिरामी परेकी हुन्।
अब यो शिलशिला सायद सधैँको लागि बन्द भएको छ।
प्यारी आमा, मैले तिमीबाट यो छयालिस वर्षको उमेरसम्म भरपूर माया पाईरहेँ। त्यसमा तिमीले कहिल्यै कुनै कमी गरिनौ। पछिल्लो अवस्थामा क्यान्सरले थलिदा पनि हामी सबैलाई कुनै झर्को नमानी तिमीले निरन्तर माया गरिरह्यौ।
करिब दश वर्ष अगाडि तिमीलाई सीयोपीडीको बिरामीले ज्यादै नै सताएछ। काठमाडौँमा उपचारको क्रममा हामीहरू करिब चार महिना सँगै रह्यौँ। नियमित पिएफटी गर्ने र रोटो क्याप लिने काम तिमी बढो जाँगरको साथ दैनिक गर्थ्यौ। अन्तत: त्यसपटक तिमी तन्दुरुस्त भएर घर फर्कियौ।
फेरि पाँच वर्ष अगाडि तिमी मुढो जस्तो भएर एम्बुलेन्सबाट केएमसी अस्पताल आईपुगेकी थियौ। त्यसबेला पनि हामी सँगै थियौँ। करिब एक महिना उपचारपछि तिमी फेरि तन्दुरुस्त भएर सिन्धुली फर्कियौ। अन्य कयौँ पटक तिमी बिरामी भयौ र रोगलाई जित्यौ।
यो पटक भने तिमीले बदमासी गरिछ्यौ। आफ्नै मुख भित्रको जिब्रोको सानो घाउलाई लुकाइदिछ्यौ। पछि काठमाडौं आएर जचाउँदा त्यो त विशेक नहुने असाध्य रोग बनिसकेछ। छोरा-नातिलाई दु:ख हुन्छ भनेर तिमीले आफ्नै रोगलाई कयौँ महिना लुकाइ दिछ्यौ। हुन त अजम्बरी कोही छैन। यही कुरा तिमीले हामीलाई पटक-पटक भन्ने गर्दथ्यौ पनि। तर तिमीले आफू लामो समयसम्म बाच्ने रहर भएको कुरा पटक-पटक मलाई पनि भनेकी थियौ।
तिमी प्रश्न गर्दथ्यौ, नाति त्यो काल कस्तो भयानक भएर आउला है? कतै चित्रमा कोरिए जस्तो डरलाग्दो यमराज तिमीलाई साँच्चिकै त्यस्तै पो हुने होकी जस्तो लाग्दथ्यो सायद र त्यसबाट तिमी भयभित हुने गरेको म कहिलेकाहीँ तिमीसँग कुरा गर्दा अनुभव गर्दथेँ।
यस्तो मान्छे तिमी किन त्यो जाबो सानो घाउ लुकाएर राखेको होला? रोग थाहा पाएपछि त अनेक गरियो तर केही सीप लागेन। छोराहरूले खुब प्रयास गरे। तिम्रो यो उमेरमा पनि अप्रेशन गरियो। अन्य कति विधिहरु अपनाइयो तर खासै उपलब्धि भएन किनकी ढिलो भईसकेको थियो। यो सानो लापरबाही नै आखिर तिम्रो लागि... बन्यो।
तिमीले साँस फेरिरहेको अन्तिम दिनको अघिल्लो रातसम्म पनि तिम्रा शरीरका भित्रि अंगहरू सब ठिक थिए रे। यदि समयमा थोरै ध्यान दिएको भए पनि तिमी अठासी मात्र हैन सय वर्ष बाच्नी रहिछ्यौ। सायद अरू केही वर्ष हामीले पनि तिम्रा दन्त्यकथाहरू पुनः सुन्न पाउने थियौँ र तिम्रो कोमल हृदयसँग एकाकार भईरहन पाउथ्यौँ। तिम्रो अझ धेरै माया पाउने पनि थियौँ। आखिर तिम्रो इच्छा पनि त अझ धेरै बाच्ने थियो। हैन र!
तिमीसँगको अन्तिम क्षणहरुमा तिमीसँगै रहँदा मलाई साह्रै पीडा भयो। तिम्रा टुङ्गीदै गएका अन्तिम दिनहरू हेर्न नसकेर कति पटक हामीलाई भक्कानो छुटेर आउथ्यो। के गर्ने? कसो गर्ने बडो छटपटाहट चल्थ्यो। सब थाहा छ तर केही गर्न सकिदैन। कस्तो निरीह थियौँ हामी तिमीलाई केही गर्न नसक्दा।
आमा तिमी बितेको पनि आज हप्ता दिन भईसकेछ। मृत्यु पर्यन्त पनि तिम्रा केही इच्छाहरू थिए जुन तिमीले सद्य हुँदा मसँग पनि भनेकी थियौँ। ती कति थाती नै रहे। खै पछिल्लो अवस्थामा तिमीले कही कतै चित्त पो दुखायौ की? जन्मभूमि, कर्मभूमि, संयोग, धर्म, स्वर्ग, नर्क र अर्को जुनीजस्ता मान्यता र सोचमा साँच्चिकै विश्वास राख्ने तिम्रो बारेमा तिम्रा कपाल फुलेर सेताम्मे भईसकेका परिपक्व छोराहरू अथवा मेरा बुबाहरूलाई राम्रै थाहा छ जस्तो लाग्छ।
यदि कही कतैबाट तिमीले नियालिरहेकी छ्यौ भने ती अपूर्ण काम कुराहरूको लागि तिमी आमा क्षमा नदिने कुरै भएन। त्यसमाथि पनि तिमी फूल जस्ती कोमल आमा।
अन्त्यमा, प्यारी आमा, अन्तिम अवस्था तिर तिमीले कयौँ पटक 'बा' शब्दको आवाज निकालेकी थियौ। यद्यपि 'बा' बिनाको एक्लो जीवन तिमीले आजसम्म ३८ वर्ष झेलिछ्यौ। सायद तिम्रो विश्वास अनुसार तिमी त्यो असह्य पीडामा 'बा' को साहारा खोज्दै थियौ।
सुनेको छु, हाम्रो हजुरबा ठूलो विद्वान र पण्डित हुनुहुन्थ्यो रे। पक्कै नै उहाँ अहिले स्वर्गमा हुनुहुन्छ होला। आमा तिमीले विश्वास गरेको त्यो स्वर्गमा जहाँ बा पनि हुनुहुन्छ, उहाँसँग तिम्रो चाडै भेट होस् है।
त्यहाँ पनि तिमी त्यस्तै चञ्चले, फूर्तिलो र निमुखाहरुको लागि दानी बन्ने कोशिस गर्ने नै छौ। फूल जस्तै सुन्दर र कोमल हुने नै छौ।
(लेखक त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक हुन्।)