भिटेनको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा भन्ने सुनेपछि कस्तो रहेछ भनेर हेर्ने इच्छा जागिहाल्यो। पहिले पनि भिटेनको एउटा गीत सुनेकोले राम्रो होला भन्ने विश्वास थिएन।
तै पनि अघिल्लोपटक प्रहरी समक्ष छाडा गीत नगाउने भनेर छुटेकाले यस पटक पक्कै सुध्रे होलान् भन्ने झिनो आशा थियो।
युट्युबमा गीत खोजेँ र बजाएँ। बैठकमा छोरीहरू ‘होम वर्क’ गर्दै थिए। सुर न तालसँग गीत बज्न सुरु गर्यो। हाम्रो पुस्ताका लागि यी नयाँ प्रकारका गीत ‘सुर न ताल’का लाग्नु स्वभाविक थियो। तर त्यसमा मैले कला बुझ्न नसक्ने आफ्नै दरिद्रता स्वीकार गर्दै सुन्न थालेँ।
तर एकैछिनमा गीतमा पारिवारिक माहोलमा सुन्नै नसकिने शब्दहरू भट्याइन थाले। मैले ‘किन खोले हूँला’ भनेर मनमनै पश्चाताप गर्दै तुरुन्तै गीत बन्द गरेँ। छोरीहरूले सुनिसकेका थिए।
९ वर्षकी छोरीले सोधिहाली 'रन्*, मा* भनेको के हो?'
मैले 'केही हैन, फोहर शब्द हुन्। त्यस्ता शब्द भन्नु हुँदैन' भनेर पन्छाउन खोजेँ। छोरी त झन् हाँस्दै ती दुई शब्दहरू भट्ट्याउन थाली। बच्चाहरूको स्वभाव नै हो- जे नगर भन्छन्, त्यही गर्न उनीहरूलाई रमाइलो लाग्छ।
'त्यस्तो भन्नु हुँदैन' भनेर मैले अलि जोड दिएर फेरि सम्झाएँ अनि ऊ चुप लागी।
त्यसै बीचमा जेठी छोरीले सोधी, 'खासमा त्यो भनेको के हो?'
उसलाई मैले त्यसको अर्थ सम्झाउन करै लाग्यो। अनि मैले अङ्ग्रेजी शब्द प्रयोग गरेर उसलाई ती शब्दहरूको अर्थ बुझाएँ। नेपालीमा मेरो मुखबाट ती शब्द निस्कन मानेनन्। ती अश्लील शब्दबाहेक गीतमा प्रहरीलाई गाली गरिएका शब्द पनि थिए। अरु के-के थिए, मैले पूरा गीत सुनिनँ। अलिकति पनि किन सुनेछु भनेर आफैंलाई नमज्जा लाग्यो। गायक प्रति स्वभाविक रुपमा रिस पनि उठ्यो।
त्यो पहिलो दिन साँझको कुरा थियो। अर्को दिन त्यही गीतको बारेमा प्रमुख अनलाइन समाचार माध्यमहरूमा थुप्रै समाचारहरू थिए। मेरो पनि त्यसमा चासो हुने नै भयो। सामाचारभन्दा पनि पाठकहरूले कस्ता प्रतिकृया दिएका छन् भनेर मैले त्यसमा ध्यान दिएँ।
लगभग ६०-६५ प्रतिशत भिटेनको विरोधमा प्रतिकृयाहरू थिए भने बाँकी उनको समर्थनमा। विरोधमा गर्नेहरूको प्रतिकृया थियो- यस्तो छाडा गीत गाएर समाजमा उच्छृंखलता फैलाउनु हुँदैन, स्वतन्त्रताको दुरुपयोग गर्नु हुँदैन।
अनि समर्थकको प्रतिकृया थियो- उनको त्यो गीत भनेको कला हो, कलालाई रोक्नु हुँदैन, प्रहार गर्नु हुँदैन, यसलाई विकसित हुन दिनुपर्छ।
समर्थकहरूले भिटेनको वाक स्वतन्त्रताको बारेमा पनि लेखेका थिए- लोकतन्त्रमा आफूलाई मन लागेको गीत गाउन किन नपाइने? त्यति मात्र हैन, नेताहरूले पूरै देश खाने गरी छाडा हुँदा उनीहरूलाई केही नहुने, एउटा कलाकारले गीतमा छाडा शब्द प्रयोग गर्दा थुन्नु पर्ने भनेर प्रश्न सोध्नेहरू पनि थिए। अनि प्रहरीलाई गीतमा गाली गरेको सन्दर्भमा भिटेन समर्थकहरूको तर्क थियो- प्रहरीले जनतालाई दुःख दिने बाहेक के नै काम गरेको छ र? अनि उनीहरूलाई गाली नगरेर के पूजा गर्ने?
आफ्नो ठाउँमा सबै तर्कहरू ठिकै देखिन्छन्। तर नेपाली समाजको एउटा नागरिक भएर सोच्दा भिटेनको त्यो गीत हाम्रो समाजमा उपयुक्त छ कि छैन भनेर हामीले केलाउनुपर्छ।
भिटेनको त्यो गीत के बहुमत नेपाली श्रोताहरूको लागि सुन्न लायक छ त? त्यो गीतलाई त्यसरी सामाजिक सञ्जालमा राख्न हुन्छ कि हुँदैन, यस्तो गीत सार्वजनिक गर्ने भिटेनलाई कारबाही गर्ने कि नगर्ने भन्ने बारेमा म उनका समर्थकहरूलाई केही प्रश्न सोध्न चाहन्छुः
१. कलाको परिभाषा के हो? कसैले यौनलाई पनि कला भन्छन्। यसको मतलब के सार्वजनिक रुपमा यौनकृडा गर्न छुट दिने?
२. लोकतन्त्रमा आफ्नो मत राख्न पाइन्छ तर बहुमतको कदर गर्नुपर्छ र बहुमतको निर्णय मान्नु पर्छ। अहिले बहुमत भिटेनको पक्षमा छ कि विपक्षमा छ? बहुमत भिटेनको विपक्षमा छ भने बहुमतको कदर गर्ने कि नगर्ने?
३. वाक स्वतन्त्रता भनेको के हो? वाक स्वतन्त्रता छ भन्दैमा जथाभावी बोल्न पाइन्छ? आफ्नो स्वतन्त्रताको उपभोग गर्दा अरुको हक र स्वतन्त्रताको बारेमा सोच्नु पर्छ कि पर्दैन?
४. समाजमा बसेपछि त्यो समाजका मूल्य मान्यताहरू मान्ने कि नमान्ने? यदि समाजमा बस्नु छ भने आफूलाई मन नपरे पनि कतिपय कुराहरूलाई स्वीकार्नु पर्छ। अहिलेको नेपाली समाज भिटेनका गीतमा प्रयोग गरिएका शब्दहरू स्वीकार्न तयार छ कि छैन?
५. तपाईंहरू भिटेनको छाडा गीत सुनेर मनोरन्जन त लिनुहुन्छ। तर आफैले तिनै शब्दहरू प्रयोग गरेर गीत गाएको भिडिओ युट्युबमा राख्न सक्नु हुन्छ कि सक्नुहुन्न?
६. तपाईं भिटेनको त्यो गीत आफ्ना बुवा, आमा, दिदी, बहिनी अगाडि सुन्न र गाउन सक्नुहुन्छ कि सक्नुहुन्न?
७. तपाईंका बाबु-आमाले तपाईं पनि भिटेन जस्तै भन्ने चाहनु हुन्छ कि चाहनु हुन्न??
८. भिटेनका समर्थकहरू सायद धेरैजसो युवाहरू हुनुहुन्छ होला। सायद अझैँ अविवाहित हुनुहुन्छ होला। तर तपाई विवाहित हुने समय पनि आउला, बाबु, आमा बन्ने समय पनि आउला। अलिकति अगाडि गएर सोच्नुस् त- त्यो बेला तपाई आफ्नो परिवारसँग बसेर त्यो भिडिओ हेर्न सक्नुहुन्छ कि सक्नुहुन्न?
९. तपाईं आफ्ना छाराछोरीले त्यो भिडिओको गीत सुनोस् भन्ने चाहनुहुन्छ कि चाहनुहुन्न?
१०. तपाईं आफ्ना छोराछोरीहरू पनि भिटेन जस्तै त्यस्तै छाडा गीत गाओस् भन्ने चाहनुहुन्छ कि चाहनुहुन्न?
११. प्रहरीलाई गाली गर्नु ठिक हो कि हैन? केही प्रहरीहरूले नराम्रो काम गरे भन्दैमा सबै प्रहरीहरूलाई नराम्रो भन्न मिल्छ? तपाईलाई दुःख पर्यो भने तपाई सबभन्दा पहिले कसलाई सम्झनु हुन्छ, प्रहरीलाई कि अरु कसैलाई?
१२. नेताहरूले देश बिगारे भन्नेमा सायद कसैको विमत छैन होला। तर नेताहरूले देश बिगारे भने मैले किन समाज बिगार्न नहुने भन्ने हो कि आफ्नो तर्फबाट आफूले देश र समाजको लागि झन् राम्रो काम गरेर देखाउने हो? अरुले आची खायो भन्दैमा तपाई आफूले पनि आची खानुहुन्छ?
भिटेनका समर्थकहरूले माथिका यिनै प्रश्नहरूको उत्तर आफैं दिनुस् र आफैं निर्णय गर्नुस्- भिटेन जस्ता गायकहरूलाई अहिलेको हाम्रो समाजले पचाउन सक्छ कि सक्दैन, उनलाई कारबाही गर्ने कि नगर्ने?
यदि कसैलाई उनको छाडापन, उनको उच्छृंखलता, उनको अश्लीलता निकै मन पर्छ भने आफ्नो छुट्टै समूह बनाएर अरुलाई असर नपर्ने गरी आफ्नो इच्छा पूरा गर्न सक्नुहुन्छ। तर कला र स्वतन्त्रताको नाममा समाजका बहुमत नागरिकले पचाउन नस्कने, समाजमा विकृति र घृणा फैलाउने काम सभ्य समाजमा कदापी स्वीकार्य छैन।