दसैँको टीकाको दिन पनि उस्तैगरी बिहानै उठेर डिउटी हिडेँ म। बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म कोभिड वार्डमा डिउटी मेरो। बाटोमा मैले मान्छेका आँखाहरुमा टीका लगाउने, दसैँ मनाउने उत्साह देखिनँ। पोहोर पिङ हालिएका ठाउँमा खालीपना मात्र थियो।
अस्पताल पुगेर पिपिई लगाउँदै गर्दा, पिपिईको टोपी मिलाउँदै गर्दा, फेस सिल्ड लगाउन खोज्दा हात निधारमा छाम्न पुगेछ। पोहोर एकछेउबाट अर्को छेउसम्म अक्षताले रंगीन भएको निधारमा यो पाली बेरंग थियो। टीका भरिएका निधारमा गाढा लामा लामा रेखाहरु भरिएका थिए।
दसैँमा अक्सर नयाँ लुगा लगाउने चलन छ। मैँले पनि नयाँ पिपिई लगाएँ। पोहोर पिङ मच्चाएका स्वतन्त्र पैतालाहरुलाई बुटभित्र गुम्साएँ। पिपिई लगाउँदै गर्नु भएको डक्टर भन्दै हुनुन्थ्यो, 'सानो छँदा दसैँमा यस्तै बुट लगाउन कति रहर लाग्थ्यो, अहिले यही बुट मात्र।'
पोहोर कुर्तासँग बाला लगाएका हातहरुमा दुई जोडी सेता पन्जा लगाएँ। पोहोर मामाले जमरा रख्दिनु भएका कानहरु त कता छोपिए कता। न ठूलोमामा रहनुभयो न जमरा यो पालि।
रेडी भएर कोभिड वार्डमा पस्दा झन् खिन्न लाग्न गयो टीकाको दिन। हरिया जमरा देखिनपर्ने दसैँमा प्रत्येक बेडहरुमा अक्सिजनका लामा हरिया पाइपहरु थिए, बिरामीले लगाइरहेका। उल्लासले रमाएका मुहारहरु देखिनुपर्ने दसैँमा आफ्नाबाट अलग्गिएका, श्वास फेर्न संघर्ष गरिरहेका जीवनहरु।
कुनाको बेडकी लगभाग ७८ वर्षिय बृद्ध आमालाई रिजर्भोयर मास्क्बाट १५ लिटरमा अक्सिजन दिँदा पनि उहाँको अक्सिजन लेवल ८८ प्रतिशतभन्दा बढ्दैन। उहाँलाई आइसियू चाहिन्छ तर बेड खाली छैन। उहाँको कुरुवाको रुपमा बस्न आउनु भएको बुवा (त्यस्तै ८२ वर्षीय) को कपाल र दाह्री सेतै फुलेको छ। बुवा हामीसँग आफ्ना मनका बह पोख्ने गर्नुहुन्छ।
बुवालाई सोधेँ, 'यो पालिको दसैँ यस्तै भयो है बुवा?' उहाँले भन्नुभयो, 'नाति-नातिना छक्क पर्याछन् नानी मेरा। बाटो हेरेर बस्याछन्। बिहान छोरीले फोन गरिरथी, टीका लगाउन पाइएन भनेर रोइ। पोहोर पनि दमको रोगले यिनीलाई अस्पताल राखेको हो दसैँको बेला। अस्पतालै आकाथे टीको थाप्न सब्बै। यो दसैँमा त के आयो के बाबै।' यती भन्दै गर्दा बुवाका आँखा भरिएका थिए।
आमाले सकिनसकी बोल्नुभयो, 'मेरा यी सुकेका अभागी हात नानी। आगुन बाँच्छु कि बाँच्दिनँ, यो पाली यी हातले कसैलाई टीका लाईदिना पाएनन्।' म स्तब्ध भएँ।
आमाले आफ्ना काम्दै गरेका हातहरु देखाउँदा आमाकै उमेरको मेरो ठूलोमामा, जसलाई गुमाएको १२ दिन भयो, मैले उहाँलाई सम्झिएँ। अलिअलि काम्दै गरेका हातहरुले टीका लगाइदिँदै, कामेकै स्वरमा मामाले भन्नु भएको थियो- सधैँ सेवाभाव बढ्दै जावस् भान्जीको। नवदुर्गा भवानीले तागत दिउन्।'
यही आशीर्वादले होला म मनका समवेदना, मामालाई गुमाउँदाको पीडा लुकाएर उहाँ जस्तै अरुको सेवा गर्न सकिरहेकी थिएँ र छु। निकै गाह्रो भएर भर्ना हुनु भएका कोही आमा बुवा, दाइ, दिदी दसैँको बेला निको भएर डिस्चार्ज हुँदा बोकिरहेको झोला भुइँमा राखेर, हात जोडेर 'तपाईहरुलाई धन्यवाद। धेरै सेवा गर्नुभयो। नवदुर्गा भवानीले तपाईहरु सबैको रक्षा गर्नुहोस्' भन्दै जानुभयो।
यो वर्षाको सबैभन्दा सुन्दर, अमूल्य, मनलाई खुसी बनाउने कुरा नै हाम्रो लागि उहाँहरुले दिनु भएको आशीर्वाद हो। ७ महिना भयो मैले र मेरा साथीहरुले निरन्तर कोभिडमा काम गरेको।
नव वर्ष, असार १५, साउने संक्रान्ती, साउनको मेहन्दी, तीज, जनैपूर्णिमा, पुजा, पर्व, बर्थ डे, दसैँ केहीमा सामेल भएनौँ। धेरै साथीहरु घर नगएर होस्टल बसेको ७ महिना भयो। परिवारबाट टाढा, सन्तानबाट टाढा। शरीरलाई सबैबाट आइसोलेट गर्दा गर्दै कहिलेकाहीँ दिमाग नै आइसोलेट भएझैँ लाग्छ। अवस्था सहज हुँदै जालाभन्दा झन् धेरै संघर्षरत जीवनहरु थपिदैँ छन्।
ती जीवनहरुलाई सहज बनाउन सक्ने सामर्थ्य हामीमा कहिलेसम्म रहन्छ थाहा छैन। किनकी हाम्रो पनि शरीर उस्तै हो, हामी भित्र भएको मन पनि थाक्छ, हामी भित्रको मुटु पनि दुख्छ, हाम्रो दिमाग पनि डिप्रेस हुँदै जान्छ। हाम्रा मनहरु असहज बने, हजारौँ चहराएका घाउहरुमा मल्हम कसले लगाउने?
नवदुर्गा भवानीले शक्ति त देलिन् तर हामीलाई सिँगो राज्यले शक्ति दिनु पर्छ की! दीप बालेर, ताली पड्काएर र राष्ट्रिय गान गाएर प्रोत्साहन गर्न खोजियो कहिलेकाहीँ। तर के हामी त्यही मात्र डिजर्भ गर्छौँ? हामीले यत्रो महिना काम गर्दा कुनै प्रोत्साहन महशुस गरेनौँ। अपमान, हेय, तिरस्कार प्रशस्तै महशुस भयो तर प्रोत्साहन नगण्य मात्रामा।
सरकारले कुनै सहास दिएको छैन हामीलाई। कुनै प्रोत्साहन दिएको छैन हामीलाई। काम गर्ने साहस दिएको छ त केबल बिरामीहरुको आँखामा भरिएका हामीप्रतिका विश्वासले, हामीप्रतिका आशाका किरणहरुले गर्दा। केबल स्वार्थ भुलेर, कर्तव्य निभाउने चाहनाले गर्दा।
नवदुर्गा भवानीको कृपाले सम्पूर्ण जीवन स्वस्थ रहुन्। अस्वस्थतासँग लडिरहेका जीवनहरु छिटै निको हुन्।
(लेखक पाटन अस्पतालमा कोभिड वार्ड नर्स हुन्। )