शुक्रबारको दिन चार बजे नै निद्राले छाड्यो। केहीबेर निदाउन प्रयास गरेँ। सकिनँ।
बाँयातर्फ खाटमा मस्त निदाइरहेका बिरामी बाको अनुहारमा हेरेँ। जोड जोडले घुरिरहेका बाले थप निदाउन दिनुहोला जस्तो लागेन।
टेबलबाट मोबाइल निकालेँ। ट्विटरको साह्रै क्रेजी भएको छु म आजकल। औंला ट्विटरमै गयो। एक्कासि मैले ट्विटर मिनिमाइज गरेँ। बिना कारण वा बताउन आवश्यक नभएको कारण मिनिमाइज गरेँ।
फेसबुक नहेरेको धेरै भएको थियो। बिस्तारै स्क्रोल गरेँ। मन मिल्ने साथीको जन्मदिन हिजो रहेछ। भतिजीको जन्मदिन आज रहेछ। बाको मावलीको काकी कोरोनाले हिजै बित्नुभएछ।
अहो! मैले न जन्मदिनको शुभकामना दिएँ, न श्रद्धाञ्जली अर्पण गरेँ। म त भयंकर असामाजिक पो भएछु आजकल। बिहानै चार बजे नै यी दुवै काम गर्न मन लागेन। पछि गर्छु भन्दै अडिएँ।
फेसबुकमा आइरहेको एउटा विज्ञापनमा आँखा टक्क अडियो।
'काँठे भाकाको अहिलेसम्मकै खतरा दोहोरी!'
मन अडिएन। साइडबाट हेडफोन निकालेर लगाएँ र सुन्न सुरू गरेँ। ओहो! कस्तो शब्द, कस्तो दुई अर्थी गीत। भित्रभित्रै मलाई लाज लाग्यो। रिस उठ्यो। फेसबुक बन्द गरेर फेरि ट्विटर खोलेँ।
विगत केही वर्षदेखि नियमित ब्याडमिन्टन खेल्दै आएको छु। ग्राउन्डमा पुग्दा सागर, राजु र मानबहादुरजी आइसकेका रहेछन्। म पनि मिसिएँ।
मानबहादुरजीले रेज सर्भिस गरे। उताबाट शट आयो। पोइन्ट गयो।
'उसो जन गर यार ! मुण्डीमा लागला।' सुदूरपश्चिमेली मानबहादुरजीलाई मैले भनेँ।
'के भनेको दाइ?' राजुले सोध्यो।
'त्यसो नगर, टाउकोमा लाग्ला भनेको,' मैले अर्थ्याएँ।
'दाइ फेरि काँठे बाहेक सप्पै हो नि,' सागरजीले हाँस्दै भने।
'दाइ त झन ट्विटरमा समेत काँठे। कसरी काँठे होइन भन्नु?' भर्खर आइपुगेका उज्ज्वलले थपे।
दिनभरि मलाई काँठेसँग जोडिएका प्रसंगहरूले बिथोलिरहे। कृष्णमुरारी भण्डारीले काँठका बारेमा लेखेको एउटा लेख सम्झिएँ। काँठका प्रसंगैप्रसंग जोडिएको लेखमा भण्डारीले लेखेका छन्, 'खोइ, छोरो त आने चढेर कता लाग्यो ?'
यहाँ आने अर्थात् मोटरसाइकल। चार आना बेचेर गाडी चढेको, आठ आना बेचेर घर बनाएको, मस्ती गरेको।घर गयो अफिसको धाक, अफिस गयो घरको धाक लगाएको, गर्दागर्दै सम्पत्ति सिद्ध्याएको।
साँच्चै भन्दा मैले दाह्रा किट्दै पढेको थिएँ त्यो। मलाई फिटिक्कै मन परेन उहाँको स्टेटमेन्ट। त्यति वरिष्ठ पत्रकारको निन्दा गर्दा मलाई के आइपर्ला थाहा भएन।
भण्डारीजीको निन्दा गर्न मलाई कुनै आपत्ति लागेन। मैले एउटा पुरानो प्रसंग सम्झिएँ। बढुवाको बैठकमा भेट भएका सामान्य प्रशासन सचिवले सोधे, 'कुइकेलजीको घर कहाँ हो?'
घर सोध्दा बताउने मेरो अनौठो शैली छ। मैले भनेँ, 'यहीँ हो हजुर। काठमाडौं थली। पूर्वोत्तर काँठको बासिन्दा।'
उनलाई के चाहियो र ! वतासिन थाले।
'खासमा काँठे दुई प्रकारका हुन्छन्। बुझिस्यो हजुर!' आफ्ना समकक्षी सचिवतिर फर्केर भने, 'एउटा गर्दन कालो हुने काँठे एउटा निधार कालो हुने काँठे। बिहान अफिस आउँदा चट्ट दूधको क्यान झुण्ड्याएर आउँदा गर्दनमा घामले हानेर गर्दन कालो भएको काँठे। अर्को अफिस आउँदा निधारमा घामले हानेर निधार कालो भएको काँठे। हुन त कसैले गोबर काँठे र घोचा काँठे पनि भन्छन्।'
उनी बोल्दै थिए। म रन्थनिएको थिएँ। सायद मभित्रको काँठे जागेको थियो। आफ्नो स्टेटमेन्ट सिध्याउनु केही अघि उनले मतिर फर्कँदै फेरि भने, 'त्यसो भए कुइकेलजी गर्दन कालो हुने काँठे। होइन त?'
म केही बोलिनँ। कसले के प्रतिक्रिया जनाए भन्ने पनि याद गरिनँ।
केही बेरपछि तिनै सचिवले पानीको साह्रै दुःख भएको, ईनार पनि सुकेको बताए।
मैले हत्तपत्त सोधेँ, 'घडेरी कति हो र हजुर?'
'चार आना त हो नि,' उनले जवाफ दिए। मभित्रको काँठे खुसी भयो। सायद उनले पनि ममा देखिएको त्यो खुसीभावको अनुभव गरे।
मलाई थाहा छ जग्गा थोरै वा धेरै हुनुसँग ईनार सुक्नुको सिधा सम्बन्ध छैन। धेरै वा थोरै हुनुसँग घमण्ड वा हिनता पनि होइन। थाहा छ मलाई काँठकै मान्छे पनि घडेरीमा सीमित भइसकेका पनि छन्। मैले क्षणिक तुष्टी पूरा गरेँ। आवश्यक नहुन पनि सक्थ्यो यो।
निजामतीमा नियुक्ति लिएको दिन सम्झिएँ। वास्तवमा भिमढुंगा हो तर हामीले भेढुंगा भन्ने ठाउँका एक जना मित्र रहेछन्। भेटेको पहिलो दिनमा नै उनले भनेँ, 'बुझ्यौ बाबु, हामी काँठेलाई यो व्युरोक्रेसीमा प्रगति गर्न गाह्रो छ। हामी पर्यौं घर गयो अफिसको धाक, अफिस गयो घरको धाक लाउने खालको। हामी फिट नै हुँदैनौं क्या। चाकरी गर्न नजान्ने। अफिस छुट्न नपाई घर जानैको हतार। गाडी छुट्ने पीर। डेरा बस्यो घर बित्ने, घर बस्यो अफिस बित्ने।'
उनले भनेको गलत थियो कि उनको स्टेटमेन्टलाई गलत प्रमाणित गरे मलाई थाहा छैन। म यो लेख्दै गर्दा अचम्मको संयोग गृह सचिव, राजस्व सचिव, अर्थ सचिव र प्रहरी महानिरीक्षक समेत काँठे छन्। मैले जागिर खाने अघिल्लो पुस्ता सम्झेँ, ती अधिकांश तल्लो पदका नै थिए। सहरसम्म जागिर खान पुग्ने भएपछि दूधको क्यान लिएर अफिस हिँड्नेहरू पनि थिए।
सोच्दासोच्दै थकाइ लागेजस्तो भयो। ट्विटर खोलेँ। बद्रीजीले डिपी फेरेछन्। रिप्लाई गरेँ 'कति राम्रो देखिच्चौ के रे।'
उनको रिप्लाई आयो, 'अब काँठेलाई धौलागिरि अञ्चलआ घडेरी दिनुपर्ने भओ।'
उता 'बाजे' ह्यान्डलबाट देउडा पोष्टिएको रहेछ। मैले पनि हत्तपत्त देउडा रिप्लाई गरेँ। कर्णाली र सुदूर पश्चिमका साथीहरू रिप्लाइमा थपिँदै गए। म पनि बीचबीचमा देउडा लेख्दै गएँ।
'अब काँठेलाई देउडिया ग्रुपमा स्वागत छ,' तिनै देउडिया मध्येको एकले लेखे।
मलाई धेरै साथीहरूले 'तँ त काँठे जस्तो छैनस् नि' भनेको याद आयो।
तर मलाई त काँठे हुनुमा कुनै हिनतावोध छैन। अझ भनौं खुसी नै लाग्छ। त्यसैले त म ट्विटरमा काँठे छु। तर म जस्तालाई पहिलो पटक काँठे कसले भन्यो? म सोच्न थालेँ।
हामी केटाकेटी हुँदा काठमाडौंमा नेवार र बाहुन-क्षत्रीको छासमिस बसाइ भएको ठाउँमा एकले अर्कोलाई होच्याउने प्रसंग खुब चल्थ्यो। नेवारहरुले 'काँठा', 'खैचा', बर्मुचा' आदि भन्थे, हामी उनीहरूलाई 'फाकने' भन्थ्यौं।
यी सबै शब्दको अर्थ अहिले पनि मलाई थाहा छैन। तर वृहत नेपाली शव्दकोषले काँठलाई सहरभन्दा बाहिरको क्षेत्र भनी भनेको रहेछ। त्यसो भए एउटै वस्तीमा बस्ने नेवारले हामीलाई किन काँठा भन्थ्यो। हामी काँठा भए ऊ पनि त्यही हुनुपर्ने हो। उनीहरूले शब्दकोषको अर्थ लगाएर काँठा भनेको होइन भन्ने मलाई लाग्यो।
उपत्यकाको भित्ताहरूमा तामाङहरूको वस्ती छ। मेरो घरछेऊ भने दुई घर मात्र तामाङ थिए। मैले सम्झिन खोजेँ, यिनले कहिल्यै हामीलाई काँठे पो भने कि। तर सम्झनामा 'बाजे' भनेको मात्र याद आयो। कहिल्यै काँठे भनेको याद आएन।
शब्दकोशले परिभाषित अर्थमा सीमित हुन खोजेँ। सानैदेखि हामीले देखेको बजार असन। बजार जाँदा कुनै नेवार पसलेले भन्यो कि! अहँ! त्यस्तो केही याद आएन। बसन्तपुरको हाम्रो तलसिङलाई सम्झिएँ। उनीहरूले त झन् 'सानुबाजे' भनेको पो सम्झिएँ। सहरिया नेवारहरू काँठतिरको जग्गाको तलसिङ हुन्थे। कोदो र मकै वालिमा पुर्याउन जानुपर्थ्यो।
कसले, कहिले, किन काँठे बनायो? काँठ भनेको खासमा कहाँ हो? सहरको परिभाषामा बस्ने हो भने सरकारले चारभञ्ज्याङ्गभित्र सबै सहर बनाइसक्यो।
हिजोको कुरा गर्ने हो भने, न्यूरोडका दीपक जोशी दाइले 'ए ट्यो जमल! ट्यो ट हाम्रो खेट हो।' भनेको सम्झन्छु। त्यसो भए सम्पत्तिको धाक लगाउने, काठमाडौं बाहिर नदेखेको, काम गर्न नरूचाउने, जागिर खान नजानेको आदि इमेजसहितको काँठे कसले बनायो? म अलमलमा परेँ।
केही सोच्न नसकेर दिमाग चकरायो। मैले बिहान फेसबुकमा आएको काँठे भाकाको उत्ताउलो लोकगीत सम्झिएँ। एक्कासि त्यही गीतको माया लागेर आयो। रत्यौलीमा गाइने धेरै भाकाहरू शृंलालावद्ध रुपमा याद आए। जयनन्द लामा र बुद्धिकृष्ण लामिछानेलाई मैले सम्झिएँ।
युट्युबमा काँठे भाकाहरु खोजेँ। थुप्रै गीत देखायो। सिन्धुपाल्चोक, काभ्रे लगायत उपत्यकाका छिमेकी जिल्लाका थुप्रै लोकगायकले गाएका गीत देखिए। मैले थोरै थोरै सुन्दै गएँ। युट्युब बन्द गरेँ।
आफूले देखे, भोगे र अभ्यास गरेका कुरा याद आयो। वागमती नदीसँग जोडिएका घटना याद आयो। घर नजिकको कोलमतेश्वर घाटमा स्थापित जात्राको याद आयो।
अलि परतिर पुगेँ। यस्ता स्थानीय जात्रा, पर्व कति होलान् कल्पना मात्र गरेँ। मनोहरा, हनुमन्ते, कर्मनासा, विष्णुमती, नख्खु आदि खोलामा सहरबाहिरको समुदायले गरका संस्कारहरू याद आयो। मूल सहरबाहिरका विभिन्न टौदह, गोदावरी, नागदह आदि पोखरी र ती पोखरीसँग जोडिएका संस्कार र कथाहरू याद आयो।
बाहुन, क्षेत्री, नेवार, दलित र जनजाति समुदाय बीचको अन्तरसम्बन्धको याद आयो। अलग्गै भाषिक भेदको याद आयो।
'अरे! साबजी तपाईंकोतिर के भन्छन् रे ! पानी रोकियो भन्नलाई पानी रह्यो भन्छन्। कि नाइा?' मेरा मित्र महेन्द्र रावलले बेला बेलामा यसो भन्थे। सम्झना आयो।
मूल सहरभन्दा बाहिर स्थापित विभिन्न साना तथा ठूला मन्दिरको सम्झना आयो। स्थानविशेष रूपमा गरिने पूजा र विश्वासको सम्झना आयो।
असारमा आमाले खेतको आलीमा सर्वदा फूल र अबिर अक्षताले पूजेको अनि असारे भाकाको गीत गाउँदै रोपाहारहरूले बाउसेहरूलाई पेलेको याद आयो। आलीमा बसेर आलुको अचार र चिउरा खाएको याद आयो।
आमाले शिवपुरीबाट दाउराको भारी खेपेको भनेको पनि याद आयो। सागको बुटो खान कल्पिएको भनेको याद आयो।
'चामलको भात खान दुख्ख थियो बाबै,' भनेको याद आयो।
अन्त्यमा एउटा कुरा याद आयो, काँठको बारेमा सिर्जित नयाँ परिभाषाभन्दा बिल्कुलै बाहिर गएर यसको पृथक जीवनशैली, संस्कार, संस्कृति, शान्त र सौम्य स्वरुप। बसाइसराइले त्यो स्वरुपलाई विकृत पार्दै कसरी कंकृट जंगलको सिर्जना हुँदैछ भन्ने पनि आयो।
मलाई लाग्यो, काँठ कुनै क्षेत्र मात्र होइन, यो एउटा विशिष्ट संस्कृति पनि हो जुन मर्दैछ तर मरिसकेको छैन।
सोच्दासोच्दै दिन बितिसकेछ। रातको नौ पो बजिसकेछ। दिनभरि आफ्ना नियमित दैनिक क्रियाकलाप कसरी बिते याद नै भएन।
फेरि एक पटक मोबाइल उठाएँ र ट्विट लेखेँ, 'काँठ अझै मरिसकेको छैन।'