आजभोलि अनपेक्षित, अप्रिय र निन्दनीय घटनाका समाचार लगातार आइरहँदा लाग्छ समाजमा मानवताको ठूलै खडेरी परेको छ। मानौँ समाजमा सकारात्मक सोचाइ भएका मानिसहरु छँदै छैनन् र समाज केवल उँधो र पतनको बाटोतिर मात्र जाँदैछ।
तर वास्तविकता ठ्याक्कै त्यही नै मात्र पनि होइन। वास्तविकता त यो हो की समाजमा सकारात्मक सोचाइ, सृजनशीलता, समर्पण र सहृदयी भावना भएका मान्छेहरुको संख्या पनि व्यापक छ। आफ्नै श्रम, पसिना, इमान्दारीता, निष्पाप र निष्कपट भावना अनि अरुप्रतिको सद्भाव र अनन्त मानवीय संवेदना भएका मानिसहरुको कुनै कमी छैन र तिनको खडेरी परेको पनि होइन।
हो त केवल तिनीहरु छायामा परेका वा तिनीहरुलाई कुनै न कुनै तवरले हतोत्साहित गराएर जबर्जस्ती छायामा पारिएको मात्र। एकछिन स्वाभीमानी हुन केही गाह्रो छैन, तर यहाँ स्वाभीमान र आत्मसम्मानलाई जोगाएर सारा जीन्दगी नै बिताउन धेरै नै गाह्रो छ।
दिल मिलाउनेहरुभन्दा बील मिलाउनेहरु सफल, योग्य र होनाहार होउन्जेल इमान्दारी र नैतिकताको रट लगाउनेहरु निरीह र लाचार जस्तै मानिन्छन्। तिनका बोली न कसैले सुन्छ, न तिनका अडानले कतै कुनै अर्थ राख्छ। ती केवल आफ्नै आत्मसन्तुष्टिका लागि नैतिकता, आदर्श र स्वाभिमान बोकेर हिँड्छन् तर एक्लै हिँड्छन्।
अनि यसरी एक्लै हिँडेपनि तिनलाई गिजोल्ने, अल्झाउने, होच्याउने, खिस्याउने र अपमानित गर्नेहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। अरुलाई पनि आफूले हिँडेकै बाटोमा हिँड भन्ने वा हिँडाउन सक्ने क्षमता तिनमा पटक्कै रहन्न। खासमा सभ्य समाजमा नैतिकता आदर्श, इमान्दारी र स्वाभिमानमा अडिग मान्छे अनुकरणीय र सबैको मार्गदर्शक बन्छ तर व्यवहारतः हामीकहाँ यसको ठिक उल्टो हुँदै गएको अवस्था छ। त्यागलाई राग, माग, भाग र दागले सुलुत्तै निलेको छ भन्नुमा कुनै अत्युक्ति हुँदैन।
आजभोलि एउटा भनाइ जतासुकै सुनिने गरी प्रचलित र व्यापक हुँदै गएको देखिन्छ 'सके आफू नि खानु, नसके अरुले खाको किन रिस गर्नु?' यो भनाइको आशय के हो? कतिपय सिधासादाले आफ्नै पौरखसँग जोडेर हेर्छन् र त्यसैगरी बुझ्छन् भने त्यसलाई अन्यथा मान्न मिल्दैन तर खासमा यो भनाइको वास्तविक आशय त्यस्तो होइन। राज्य वा कुनै सार्वजनिक सम्पत्ति नै हो भन्ने सजिलै बुझिन्छ।
यो भनाइ जुन-जुन ठाउँमा उच्चारण हुनै नहुने हो, त्यही त्यही ठाउँहरुमा नै बढी सुनिन्छ। यो भनाइले कसलाई के कुरामा प्रोत्साहित गरिहेको छ? प्रष्टै छ इमान्दार नबन, कसैबाट इमान्दारीताको अपेक्षा नगर, बरु सकेको जति खाउ, खानेहरुसँग मिल भन्ने नै यो भनाइको खास अर्थ हो भन्ने कुरा जो सुकैले बुझ्न सक्छ।
यसैगरी समाजमा सुनिने अन्य केही भनाइहरु:
१. जिन्दगीभरी जागिर खाएर पनि काठमाडौँमा घर घडेरी जोड्न सकेन भने के जागिर खानु?
२. गज्जबको ठाउँमा परेछ, २-४ वर्षमै घर-घडेरी, गाडी जोड्यो फलानाले, क्या प्रगति गर्यो।
३. फलाना त जस्ताको त्यस्तै, कस्तो नामर्द, सँगैकाहरु कहाँबाट कहाँ पुगिसके।
यस्ता भनाइहरुले नैतिकता, आदर्श, इमान्दारी र स्वाभिमानलाई कहिले र कसरी समर्थन गर्छ? यी भनाइले मानिसमा हिनताबोध, ग्लानी र नैराश्यता मात्र पैदा गर्छ। यी माथिका भनाइहरुबाट जोगिनको लागि केहीलाई छोडेर अधिकांशले नैतिकता, आदर्श, इमान र स्वाभिमानलाई कुनातिर धकेल्नै पर्ने हुन्छ र धकेल्छन् पनि।
नेपाल जस्तो मुलुकमा अन्य ठाउँबाट ऋण सापटी, पुर्ख्यौली सम्पत्तिको बेचबिखन, परिवारका अरु सदस्यको राम्रो आम्दानी वा व्यापार व्यवसाय जस्ता कुनै बैकल्पिक आम्दानीका श्रोत बिना एकजनाको तलबकै भरले काठमाडौँमा घर घडेरी प्रायः असम्भव नै हुन्छ। तर? अझ कतिपयले त आफ्नो तलबको लगभग सबैजसो हिस्सा नै छोराछोरीको स्कूल फी तिर्नेगरी महँगा स्कूलमा पढाएका हुन्छन् भने विलासिताका कुराहरुमा पनि त्यत्तिकै खर्च गरिरहेका हुन्छन्।
जब जब भ्रष्टाचार अनियन्त्रित भएर जान्छ वा अप्रत्यक्ष रुपमा भ्रष्टाचारलाई प्रोत्साहित गरिन्छ तब तब समाजमा केवल नकारात्मकता मात्र झ्याङ्गिन थाल्छ। असल सोचाइ, असल कर्महरु विस्तारै छायामा पर्न थाल्छन् र दण्डहीनता मौलाउन थाल्छ।
माथिदेखि तलसम्मका विभिन्न चरणहरु देखा पर्छन् र आफूले गरेका अनियमितता अरुको तुलनामा केही होइन भन्ने खालका अभिव्यक्तिहरु आउन थाल्छन् चाहे त्यो कर्मचारीतन्त्रमा होस् चाहे राजनैतिक क्षेत्रमा। तलका कर्मचारीहरु भन्न थाल्छन्- हाकिमहरुले के के गरिसके, हाम्रो त के कुरा? आफूले आदर्श मानेका नेताहरु पदमा पुगेपछि कल्पना गरेभन्दा फरक देखिन्छन् भने तिनैलाई पछ्याएर हिँडेका कार्यकर्ता वा जनतामा त्यसको कस्तो असर पर्ला?
सबैभन्दा चिन्ताको कुरा त जब भ्रष्टाचार बढ्न थाल्छ तब महँगी पनि बढ्न थाल्छ। मासिक एकलाख अतिरिक्त वा दायाँबायाँ गरेर कमाउनेलाई त्यो खर्च गर्न कुनै चिन्ता हुन्न, किनकी त्यो उसको अनियमित वा अतिरिक्त कमाइ हो। ऊ निर्धक्क खर्च गर्न सक्छ, त्यसपछि आफूजस्तै गर्न नसक्ने अर्कोलाई हेयको दृष्टिले हेर्न थाल्छ। त्यस्तै अर्कोले पनि आफूलाई अपमानित महशुस गर्न थाल्छ।
अनि ऊ पनि त्यस्तै बाटोको खोजिमा लाग्नै पर्ने हुन्छ र लाग्छ पनि। अतिरिक्त कमाइ त परै जाओस्, सामान्य कमाइको बाटो पनि नभएका कतिपय भने आपराधिक कार्यतिर समेत उन्मुख हुने सम्भावना बढ्दै कुरा त झन् गम्भीर चासो र चिन्ताको विषय हो।
जब अतिरिक्त कमाई खर्चिन कुनै कञ्जुस्याइँ गर्नु पर्दैन तब कुनै पनि वस्तुको मूल्य जति पनि तिर्न सकिन्छ, यस्तो अवस्थामा महँगी स्वतः बढ्ने नै भयो। फेरि अतिरिक्त आम्दानी हुने र नहुने दुवैका लागि रासन, तरकारी, दाल, दूध यातायातको भाडा लगाएत सबै कुराको मूल्य समान हुन्छ कतै केहीमा फरक हुँदैन।
दिनहुँ ट्याक्सी चढ्न सक्ने हैसियत भएकाहरुको लागि र अति इमरजेन्सीमा मात्र ट्याक्सी चढ्नेहरु दुवैका लागि ट्याक्सी भाडा एउटै हो। अतिरिक्त कमाउन नसक्ने कि निरीह हुँदै तिनै अतिरिक्त कमाउनेकहाँ ऋण सापटी खोज्न हात फैलाउँदै जान्छ, कि ऊ पनि त्यही बाटो अपनाउँछ, जहाँबाट छिटो छिटो धेरै कमाइ हुन्छ।
जे भनेपनि र जस्तोसुकै तर्क र विचारहरु अगाडि सारेपनि भ्रष्टाचार नै देशको सबैभन्दा ठूलो क्यान्सर हो भन्ने कुरामा धेरैको दुई मत नहोला। भ्रष्टाचार केवल भ्रष्टाचार नै हो र भ्रष्टाचारी केवल भ्रष्टाचारी नै हो।
उसँग कसैको पनि बाबु–आमा, छोरा–छोरी, काका–काकी, मामा–माइजु, भाञ्जा–भाञ्जी, साला–साली, साथी–सँगी, पार्टी कार्यकर्ता, शुभचिन्तक, युवा, वृद्ध, जाति, धर्म, वर्ण जस्ता कुनै पनि किसिमको साइनो हुँदैन र हुनु पनि हुँदैन। 'अरुलाई आपत्ति आफूलाई उन्मुक्ति' को सोचलाइ जरैदेखि उखेलेर नफालेसम्म भ्रष्टाचार उन्मुलनको परिकल्पना गर्न सकिन्न।