दृष्य १
२०६३ साल। भर्खर भर्खर जागिर सुरु गरेको थिएँ। सँगै एसएलसी पढेका साथी भेट भए। भलाकुसारी गर्ने क्रममा मित्रले सोधे-
'कुन अफिस हो सरको?'
'राष्ट्रिय विधि विज्ञान प्रयोगशाला' गौरवान्वित भावमा मैले भनेँ।
'विधि विधान प्रयोगशाला! डिएनए परीक्षण गर्ने प्रयोगशाला हैन र?'
मित्रले प्रश्न थपे। मैले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको ब्रोसर थमाएँ। उनले यस प्रश्नको उत्तर आफैले खोजे।
दृष्य २
जागिर सुरु भएपछि मलाई टक्सिकोलोजी शाखामा जिम्मेवारी दिइयो। मृत मान्छेका भिषेरा (आमाशय, कलेजो, मृगौला आदि) नमुनाहरूमा विषादी तथा लागुऔषध परीक्षण गर्नु यस शाखाको मुख्य काम हो।
अधिकांश केसहरू प्रहरी मार्फत प्राप्त हुन्छन्। अपराध अनुसन्धानसँग जोडिएका केही व्यक्तिगत केसहरू पनि हुन्छन्। यस्तै व्यक्तिगत केस लिएर एक जना आत्तिएर प्रयोगशाला छिरे। उनले सुनाए-
'पर्सा जिल्लामा उनका आफन्तले दश बिगाहा जमिनमा माछा पालन गरेका रहेछन्। माछा बिक्री भर्खर सुरु भएको थियो। एकाएक पोखरीभरीका सबै माछा मरे। कसैले पोखरीमा विषादी हाल्यो भन्ने शंका भयो। तुरून्तै काठमाडौँ बस्ने आफन्तलाई फोन गरेछन्। भौतारिदै उनी विष परीक्षण गर्ने प्रयोगशाला खोज्दै यता छिरेका रहेछन्।'
उनको कुरा सुनेपछि मैले सल्लाह दिएँ-
नजिकैको प्रहरीलाई खबर गर्नुस्। प्रहरीले घटनास्थलको छानबिन गरी शंकास्पद नमुनाहरू संकलन गर्लान्। पत्र सहित नमुना यस प्रयोगशालामा आइसकेपछि आवश्यक परीक्षण गरौँला।
यसै बीच उनको फोन आयो। फोनमा भन्दै थिए- 'म अहिले फरेष्ट्री ल्याबमा छु। विष चेकको लागि बुझ्दै छु।'
यति भनेर फोन राखेँ। उनले भनेको प्रयोगशालाको अंग्रेजी नामलाई सच्याउँदै मैले भनेँ- 'फरेष्ट्री ल्याब होइन नि। फरेन्सिक ल्याब भन्नुस्।'
'खै फरेष्ट्री हो कि फरेन्सिक हो? नयाँ शब्द लाग्यो।'
उनको जवाफ सुनेर म अवाक् भएँ।
माथिका दुवै दृश्यहरुमा 'विधि विधान', 'फरेष्ट्री' र 'फरेन्सिक' जस्ता शब्दहरु विधि विज्ञान प्रति सर्वसाधारणको बुझाइलाई इंगित गर्दछ। सर्वसाधारणहरूको उदाहरण मात्र किन? २०६२ साल अघिसम्म म स्वयम अपरचित थिएँ, विधि विज्ञानसँग। विज्ञानको विद्यार्थी भएको नाताले पनि जानकारी हुनु पर्ने हो।
एसएलसीपछि दुई वर्ष आइएस्सी पढियो। तीन वर्ष बिएस्सी पनि पढियो। शैक्षिक सत्रलाई गन्ने हो पूरै पाँच वर्षमा विज्ञानका अनेकौँ विधाहरु पढियो। जनरल साइन्समा विधि विज्ञान अर्थात् फरेन्सिक साइन्स कतै भेटिएन। कीर्तिपुरस्थित केन्द्रीय रसायन विभागमा एमएस्सी पढाइको अन्त्य तिरको समय थियो।
एकातिर क्याम्पसको पढाइ सकिँदै थियो। अर्को तिर जागिरको खोजीमा विज्ञापनमा आँखा गईरहन्थ्यो। मेरा आँखाले 'विधि विज्ञान' शब्द पहिलो पटक गोरखा पत्रमा भेटेँ। राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले विभिन्न पदका लागि विज्ञापन खोलेको थियो। फरेन्सिक साइन्स धेरै साइन्सहरुको एप्लिकेशन रहेछ।
एप्लाइड साइन्स भएकोले पढ्न रूचि लाग्यो। केमेष्ट्रीका रियाक्सन मेकानिजम पढ्दा पढ्दै वाक्क भएको मेरो दिमागमा फरेन्सिक साइन्सले जरा गाड्यो। जागिर खाने रहरले हाँगा पलायो। फरेन्सिक लेखहरुमा हाँगा झाँगियो। विधि विज्ञानसँग सम्बन्ध जोडियो।
अन्ततः २०६३ साल पौष २ गते यो सम्बन्धलाई मैले राष्ट्रिय विधिविज्ञान प्रयोगशालासँग वैज्ञानिक सहायकको नातामा परिणत गरेँ। करिब १४ वर्षको सम्बन्धलाई आज बल्ल उजागार गर्दैछु।
विधि विज्ञान अपराध अनुसन्धान र न्याय सम्पादनसँग जोडिएको विज्ञान हो।
दृष्य ३
२०७६ पौष महिमा। मेरो मोबाइलमा अपरिचित नम्बरबाट कल आयो।
'सरलाई भेट्नु पर्ने। अहिले कता हुनुहुन्छ सर?'
कैलालीका जिल्लाबासी रहेछन्। स्कुलमा विज्ञान प्रदर्शनी सम्बन्धी कामले काठमाडौँ आएका रहेछन्।
'अफिसमै छु। आउनुस् न खुमलटार।'
मैले फोनबाटै बोलाएँ।
'म त सरकै अफिसमा छु। रिसेप्सनमा सोध्दा सरको नामको कुनै कर्मचारी छैनन् रे नाष्टमा।'
'म नाष्टमा होइन नि। राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा आउनुस्। '
नाष्ट परिसरमै दक्षिणपट्टि रहेको रातो टिनको छानो भएको तीन तले भवन भित्र छिरेपछि मात्र फोन गर्ने मित्रसँग भेट भयो।
मेरा मित्र विधि विज्ञान प्रयोगशाला र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) बीचमा अलमलमा परे। यो उदाहरण नाष्ट र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला बीचको अन्यौलतालाई इंगित गर्दछ।
यो अन्यौलता सर्वसाधारणहरुलाई मात्र छैन। सरोकार राख्ने सरकारी कार्यालयहरूलाई पनि छ। परीक्षणको लागि नमुनाहरू बोकेर नाष्टमा छिर्छन्। नाष्टले विधि विज्ञान प्रयोगशालामा फर्काउँछन्। विधि विज्ञान प्रयोगशालामा पुग्दा- 'कार्यालयको नाम मिलेन। पत्र सच्याएर ल्याउनस्' गुनासो सुन्छन्।
पत्रमा सम्बोधन नाष्टलाई गरिएको हुन्छ। परीक्षण विधि विज्ञान प्रयोगशालाले गर्नु पर्ने हुन्छ। परीक्षण रिपोर्ट विधि विज्ञान प्रयोगशालाले दिएको हुन्छ। सञ्चार माध्यममा भने नाष्टको नाम आईरहेको हुन्छ। राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र नेपाल विज्ञान तधा प्रविधि प्रतिष्ठान (नाष्ट) बीचको अन्यौलता चिर्न प्रयोगशालाको स्थापना तिर फर्किएर हेर्नु पर्छ।
नेपालमा एउटा स्वतन्त्र र स्वायत्त विधि विज्ञान प्रयोगशाला आवश्यक रहेको तत्कालीन 'न्याय सुधार आयोग २०४०' ले सरकारलाई प्रतिवेदन बुझायो। विज्ञान र प्रविधिको क्षेत्रमा तत्कालीन रोनाष्ट अहिलेको नाष्ट सुरूदेखि नै क्रियाशील थियो। भौतिक सबुतहरुको वैज्ञानिक तरिकाले पहिचान र विष्लेषण गर्ने विधि विज्ञान प्रयोगशाला पनि विधिवत रुपमा २०४३ सालमा नाष्ट अन्तर्गत जन्मियो।
नाष्टमै हुर्कियो। प्रयोगशालाले विधि विज्ञान सेवा सुरु गर्यो। बढ्दै जाँदा प्रयोगशालाले आफ्नो छुट्टै पहिचान खोज्न थाल्यो। विज्ञान शब्द दुवै संस्थाको लागि एउटै भए पनि कामको प्रकृति भने फरक थियो। अन्ततः कामको फरक प्रकृतिलाई देखाउँदै २०५२ सालमा नाष्टबाट छुट्टियो।
संरचनागत रूपमा नाष्टसँग अलग्गिए पनि भौतिक रूपमा अलग्गिन सकेन। नाष्ट परिसरमै बसीरह्यो। करिब नौ वर्षसम्म एउटै छायामा हुर्किएको नाष्ट र विधि विज्ञान प्रयोगशाला अहिले एकआपसमा स्वतन्त्र छन्। तर विधि विज्ञान प्रयोगशाला र नाष्ट एउटै हो की? भन्ने छाया सर्वसाधारणको मनमा अहिले पनि छ।
दृष्य ४
२०७६ चैत्रको पहिलो साता, सरकारले विधि विज्ञान सेवा सर्व सुलभ हुनु पर्छ भन्यो। कम्तिमा एउटा प्रदेशमा एउटा विधि विज्ञान प्रयोगशाला स्थापना गर्ने नीति लियो। प्रयोगशाला विस्तारको क्रममा कैलाली स्थित धनगढीमा थियौँ।
कार्यालय सञ्चालनका लागि सरकारी भवनको खोजीमा थियौँ। सरकारी वकिलको कार्यालयमा प्रयोगशालाको शाखा विस्तारको कुरा गर्दै थियौँ। केसहरूको फाइल बोकेर आएका प्रहरीले प्रश्न गरे- 'कुन विधि विज्ञान प्रयोगशालाको शाखा? प्रहरीको कि खुमलटारको?'
सरोकारवाला निकायहरु प्रहरी तथा अदालतमा विधि विज्ञान प्रयोगशालाको प्रसंग उठ्दा-
'प्रहरीको कि खुमलटारको?' प्रश्न वाचक चिन्ह खडा हुन्छ।
यो दृश्यले हाल नेपालमा विधि विज्ञान प्रयोगशालाको विद्यमान अवस्थालाई जनाउँछ। संगठनात्मक रूपमा नेपालमा दुइटा विधि विज्ञान प्रयोगशाला सञ्चालनमा रहेका छन्। गृह मन्त्रालयअन्तर्गत सामाखुसी स्थित केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत खुमलटार स्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशाला।
दुवै प्रयोगशालाको काम अपराध अनुसन्धानको काममा सहयोग गर्नु नै हो। हालसालै राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले महोत्तरीको बर्दिबास र कैलालीको धनगढीमा शाखा विस्तार गरेको छ। प्रहरीले पूर्वमा धरान र पश्चिममा नेपालगन्जमा यस अघि नै शाखा खोली सकेको छ।
दृष्य ५
२०७७ साउन दोस्रो साता। शाखा कार्यालयको जिम्मेवारी बोकेर धनगढी पुगियो। शिक्षा विकास तथा समन्वय इकाईले उपलब्ध गराएको कोठाहरूमा प्रयोगशालाको सामानहरू मिलाइयो। नजिकैको पसलमा चिया खान बसियो। चियावालाले नयाँ कार्यालयको बारेमा जान्न खोजे।
'हिन्दी सिआइडी श्रृङ्खला हेर्नु भा छ?' मैले सोधेँ।
'धेरै हेर्छु। क्राइम प्याट्रोल पनि मन पर्छ' उनले भने।
'टिभीमा देखाइने फरेन्सिक ल्याब हुन्छ नि, त्यसै फरेन्सिक ल्याब हो' चिया पिउँदै भनेँ।
'हो र!' उनको स्वरमा आश्चर्य मिसिएको थियो।
'निर्मला पन्तको डिएनए परीक्षण पनि त्यहीँ भएको हैन र?'
यो दृश्यले आम मानिसले बुझेको विधि विज्ञान, डिएनए परीक्षणसँग बढी चासो राखेको देखिन्छ। विधि विज्ञानका हरेक विधाहरु अति नै महत्वपूर्ण र संवेदनशील छन्। लोकप्रियतामा भने डिएनए परीक्षण अगाडि रहेको छ।
२०६२/६३ सालदेखि नै राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा डिएनए परीक्षण सेवा सुरु भएको थियो। २०६८ सालमा यो प्रविधिले चर्चा पायो। 'गीता ढकाल हत्या प्रकरण' मा तत्कालीन सशस्त्र प्रहरी बलका डिआइजी रञ्जन कोइराला आफ्नै श्रीमतीको हत्यामा पक्राउ परे।
पौष २९ गते मकवानपुर जिल्लाको पालुङ भन्ने ठाउँमा जलेको शवको केही अंश प्रहरीले बरामद गरेको थियो। उक्त नमुना डिएनए परीक्षणको लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइयो। प्रयोगशालाको रिपोर्टले जलेको शव गीता ढकालकै भनी प्रमाणित गर्यो। हाइ-प्रोफाइल केस भएकोले सञ्चार माध्यममा राम्रै चर्चा पायो। हत्या प्रकरणसँगै डिएनए प्रविधिले पनि चर्चा पायो।
२०७५ सालमा यो प्रविधिको चर्चा झनै चुलियो। साउन ११ गते कञ्चनपुर जिल्लामा निर्मला पन्तको अर्धनग्न शव भेटियो। बलात्कारपछि हत्याको शंका गरियो। डिएनए परीक्षणका लागि भजाइनल स्वाब नमुना केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला पठाइयो। शंकास्पद थुप्रै मान्छेहरूको डिएनए नमुनाहरू राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षण गरियो।
शंकास्पद डिएनए प्रोफाइलहरू आपसमा तुलनामा गरियो। यसै बेला डिएनए सम्बन्धी विज्ञहरू बीच निकै बहस भयो। अनुसन्धानको प्राविधिक पक्षलाई एकातिर राख्ने हो भने, डिएनए परीक्षण आम नागरिकको मष्तिष्कमा पस्ने मौका यही हत्या काण्डले मद्दत गर्यो। अहिले सुदूरपश्चिममा विधि विज्ञानको प्रसंग उठाउँदा निर्मला पन्तको हत्याकाण्ड संस्मरण हुन्छ। यहाँका आम नागरिकलाई विधि विज्ञान र डिएनए शब्द पर्यायवाची भएका छन्। अनि प्रश्न गर्छन्-
'विधि विज्ञान प्रयोगशाला कि डिएनए प्रयोगशाला? '
(लेखक राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, धनगढीका निमित्त कार्यालय प्रमुख हुन्।)