वैँश चढ्दाको बेला हो, उनी १७ वर्षकी थिइ। लाली, पाउडर घसेर राम्री बन्न रुचाउने उनी पनि कसैको प्रेममा परिन्। समय बित्दै गयो र उनीहरूको सम्बन्ध गाढा हुँदै गयो।
त्यसैबीच उनीहरु बीच यौनसम्पर्क हुन पुग्यो। डरले आत्तिएका उनीहरु अब के गर्ने भन्दै डराउँदै थिए र हामी सबैलाई थाहा भए जस्तै, इन्टरनेटको पहुँचमा के छैन र? उनीहरुले पनि त्यही उपाय अपनाए। इन्टरनेटमा त्यसको समाधान खोज्न लागे। खोज्ने क्रममा उनीहरुले इमरजेन्सी कन्ट्रासेप्टिभ पिल्स नामकको एउटा औषधी भेटे जसले असुरक्षित यौनसम्पर्कपछिको गर्भलाई रोक्न मद्दत गर्दछ।
उसको प्रेमी नजिकैको औषधी पसल गयो र त्यो इमरजेन्सी कन्ट्रासेप्टिभ पिल्स ल्याएर उसको प्रेमिकालाई खुवाइयो। त्यसपश्चात उनीहरु ढुक्कका साथ बसेकी अब उसको गर्भ बस्दैन। तर उनीहरुलाई के कुराको बोध थिएन भने कुनै पनि गर्भनिरोधक औषधी या उपकरणहरू १००% सुरक्षित भने हुँदैन।
यता समय बित्दै जाँदा उसको महिनावारी नभएपछि उनले गर्भ बसेको शंका गरी र गर्भ जाँच गर्दा उसको गर्भ रहेको छ भन्ने थाहा भयो। त्यसपछि उनले र उनको प्रेमी दुवैले मिलेर गर्भपतन गर्ने निर्णय गरे। त्यो गर्भपतन उनीहरूको रहर होइन, आवश्यकता थियो।
कर्णालीको एउटा ग्रामीण जिल्ला हुम्लामा जन्मिएकी ऊ, पढिलेखी ठूलो र सफल डाक्टर बनेर त्यहाँका मानिसहरुलाई राम्रो स्वास्थ्य सुविधा दिन चाहन्थी। तर उच्च शिक्षाको सुविधा नभएको कारणले ऊ आफ्नो जन्मभूमि छोडेर रंगिन सपना बोकी काठमाडौँ सहर प्रवेश गरी।
खेल्न र कुद्न असाध्यै मन पराउने स्वभावकी ऊ, उमेरले भर्खरै १४ पुगेर १५ मा लागेकी। आफ्नो आफन्तसँगै ललितपुरमा भाँडामा बस्ने गर्थी। वैशाख १ गतेको दिन, नयाँ वर्षको रमझम र घरमा रहेको रुद्री पूजाले उसको मन निकै नै आनन्दित रहेको थियो।
त्यो पूजाको लागि भनेर थुप्रै मानिसहरु पनि आइरहेका थिए। यही भगवान पुज्ने भक्तहरूको भिडमा मानव रुपी दानव पनि आएको थियो। सबै पुजामा व्यस्त हुँदा त्यो दानवले ती कलिला हातहरु जबर्जस्ती तान्दै अर्को हातले उसको मुख थुन्दै एउटा कोठाको कुनामा लिएर आफ्नो दानव रूपमा आएर आफ्नो भोक र प्यास सबै मेटायो र सँगसँगै मेटियो त्यो अवोध चेलीको भगवान प्रतिको आस्था।
त्यो दिन त्यहाँ केबल दुइटा आवाज गुन्जिरहेका थिए। एउटा थियो त्यो अवोध चेलीको चिच्याहट जसमा अनेकौँ प्रश्न, क्रोध, रिस र असहायपन थियो र अर्को तर्फ थियो पूजाको ठूलो ठूलो घण्टीको आवाज जसमा त्यो राक्षस जस्तै अझै कति पापीहरुले आफ्नो पापको क्षमा मागिरहेका थिए होलान्। यो घटनाको केही महिनामै उसको गर्भ रहेको पाइन्छ र त्यसबेला ती अवोध चेलीको लागि गर्भपतन रहर होइन, बाध्यता थियो।
स्नातक तह सकी बिदामा बसेकी उनको अचानक बिहेको कुरो चल्यो र वैवाहिक जीवनमा बाँधिन पुगिन्। बिहेको केही वर्ष भने उनले घरमै बसेर लोकसेवा जाँचको तयारी गरिन्। त्यसबीचमा उनको दुइवटा छोरी जन्मिसकेका थिए र अब त्यसअघि बच्चा नपाउने सम्झौतामा लोग्ने र स्वास्नी दुवैले स्वीकार गरेका थिए।
तर केही समयपछि फेरि एउटा गर्भ बस्न जान्छ र उनले गर्भपतन गर्ने निर्णय गर्छिन्। त्यो निर्णय गर्भमा रहेको छोरा वा छोरीको कारणले नभइकन, उनको नितान्त व्यक्तिगत रोजाइ थियो। तर सोचेजस्तो हुन्न रहेछ जीवन, गाउँलेहरुले अनेकौँ कुराहरु गर्न थाले।
'दुइटा छोरी थियो, पक्कै पनि यो चोटि पनि गर्भमा छोरी नै थियो होला, त्यही भएर त गर्भपतन गरिन् नत्र भने त गर्भ किन बसालेको त? हेर हेर त्यस्तो पढिलेखेको मान्छे भएर पनि बच्चालाई मार्ने, तर जे भएपनि एउटा छोरा चाहिँ हुनै पर्छ, छोरीहरु भनेको त केही दिनको पाहुना त हो। आखिर मर्दापर्दा चाहिने भनेको छोरो नै हो।'
यस्ता कुराहरु हामीले हाम्रो समाजमा धेरै सुन्ने गर्छौँ तर त्यसबेलाको गर्भपतन बाध्यता, रहर या आवश्यकता नभइकन उनको आफ्नो रोजाइ थियो। कस्तो अवस्थामा सुरक्षित गर्भपतनको सेवा प्राप्त गर्न सकिन्छ त? सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन २०७५ को दफा १५ अनुसार निम्न लिखित अवस्थामा व्यक्तिले सुरक्षित गर्भपतनको सेवा उपभोग गर्न पाउँछन्:
क) गर्भवती महिलाको मन्जुरीले बाह्र हप्तासम्मको गर्भ,
ख) गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतरा पुग्न सक्छ वा निजको शारीरिक वा मानसिक स्वास्थ्य खराब हुन सक्छ वा विकलांग बच्चा जन्मन्छ भने इजाजत प्राप्त चिकित्सकको राय अनुसार उक्त महिलाको मन्जुरी बमोजिम अठ्ठाइस हप्तासम्मको गर्भ,
ग) जबर्जस्ती करणी वा हाडनाता करणीबाट रहन गएको गर्भ, गर्भवती महिलाको मन्जुरीले अठ्ठाइस हप्तासम्मको गर्भ,
घ) रोग प्रतिरोध क्षमता उन्मुक्ति गर्ने जीवाणु (एचआइभी) वा त्यस्तै प्रकृतिको अन्य निको नहुने रोग लागेको महिलाको मन्जुरीमा अठ्ठाइस हप्तासम्मको गर्भ,
ङ) भ्रुणमा कमीकमजोरी भएको कारणले गर्भमै नष्ट हुन सक्ने वा जन्मेर पनि बाँच्न नसक्ने गरी गर्भको भ्रुणमा खराबी रहेको, वंशाणुगत (जेनेटिक) खराबी वा अन्य कुनै कारणले भ्रुणमा अशक्तता हुने अवस्था छ भने उपचारमा संलग्न स्वास्थ्यकर्मीको राय बमोजिम गर्भवती महिलाको मञ्जुरीमा अठ्ठाइस हप्तासम्मको गर्भ।
नेपाल जनसांख्यिकीय स्वास्थ्य सर्वेक्षणको रिपोर्ट अनुसार २००६ देखि २०१६ सम्ममा नेपालमा आधुनिक गर्भनिरोधक उपकरणको प्रयोग जम्मा ४३% देखि ४४% रहेको पाइन्छ। यी उपकरणको प्रयोगले पनि यौन तथा प्रजनन स्वास्थ्यको सुधारमा ठूलो र महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ। तर के यो सुविधा सबैको पहुँचमा छ त? यी सेवाहरु कहाँ उपलब्ध छन त?
जिल्ला अस्पताल, निजी अस्पताल र क्लिनिक लगायत मेरी स्टोप्स र नेपाल परिवार नियोजन संघको क्लिनिकमा पनि सुरक्षित गर्भपतनको सेवा उपलब्ध छ र सो सेवाका लागि यी संस्थाहरुलाई सम्पर्क गर्न सकिनेछ।
नेपाल परिवार नियोजनसंघको हेल्पलाइन नम्बर: १६६००१४५०००, मेरी स्टोप्स नेपालद्वारा संचालित मेरी साथी हेल्पलाइन नम्बर: १६६००११९७५६ (एनटिसी) र ९८०१११९७५६ (एनसेल)।