काठमाडौं महानगरका एक प्रतिष्ठित कार चालकले सडक छेउमा बसेको कुकुरलाई किचेर मरणासन्न बनाई भागेको दृश्य सीसी टिभीमा कैद भएको दृश्य सामाजिक संजालमा भाइरल भएको थियो।
सरोकारहरुको चासो र दबाबमा प्रहरीहरु ती व्यक्तिलाई कारवाही गर्न बाध्य भए। अनामनगर प्रहरी कार्यालयमा नोभेम्बर २ मा दर्ता गरिएको रिपोर्ट अनुसार उनलाई आइन्दा यस्तो गल्ती नदोहोराउने कबुल गराएर छोडिएको छ।
दोषीले टाउकोमा हात राखेको छ, ऊ गल्ती आत्मसात गर्नेभन्दा त्यो दिन आफ्नो भाग्य कमजोर भएकोले क्यामेरामा कैद हुन पुगेको हो।
त्यसको केही दिनपछि सर्लाहीमा फेरि कुकुरलाई हमला गर्ने यस्तै प्रकारको घटना भयो। राजधानीबाट गएका कुकुर अधिकारकर्मीहरुले दोषीलाई कस्टडीमासम्म लगेर सजायँ दिन सफल भएको सूचना समाजिक सञ्जालमा फोटोसहित सार्वजनिक भयो।
दुबै घटना कुकुर तिहारको संघारमा भएको छ। हामी विवेकशील भन्नेहरुले ज्ञान पाउने कहिले पो हो?
हामी अहिले पनि कसैलाई केही भयो भने ‘कस्तो कुकुर’ जस्तो भनेर अवहलेना गर्छौ। मान्छे गतिछाडा भए पछि यस्तो भनिने हो। तर खासमा कुकुर इमान्दार जनावर हो। मान्छेहरु यदाकदा जनावरहरुसँग मिलाप गरिराखेका हुन्छन् र कुकुर मालिकप्रति सधैं वफादार रहन्छ। हाम्रो समाजमा कोही आफ्नो मालिकसँग संयमित रहेमा कुकुरकै संज्ञा दिने प्रचलन छ।
फिरन्तेहरुले कुकुरलाई 'गाइड' को रुपमा गन्तव्यहीन यात्राहरुमा सँगै लिएर जाने गर्छन्। हिमाली भेगमा वस्तु चराउन पनि कुकुरलाई नै प्रयोगमा आउँछ। क्याराभानमा कुकुरले वस्तु सम्हाल्नेदेखि अन्य सुरक्षाको जिम्मा लिने गर्दछ। यसै सिलसिलामा नै भोटे कुकुरले बासस्थान गर्यो। देश प्रदेशबाट पनि यसरी नै कुकुरहरुको प्रवेश भएको हो।
कुनै समय नेपालको परदेशसँग सम्बन्ध थिएन। त्यसबेला हाम्रा अफ्नो जीवनशैली मौलिक थियो। आफ्नै समय, आफ्नै परिभाषा थियो। वागमती माथिबाट पानी धेरै बगेर गइसकेको छ। समयले परिभाषाहरु बदलिदिएको अवस्था छ। कुकुर, शहरका घरमा अनिवार्य पाल्तु भयो।
बिहान होस् वा बजार जाँदा, हातमा साइकलमा डोरो बाँधेर कुकुर सयर गराउने चलन बढेको छ, आजभोलि सहर बजारमा। कार हुनेले चिप्लो कारको झ्यालमा विदेशी नश्लको कुकुर राखेर हिँड्नु शौखभन्दा देखावटी हो कि झैं पनि लाग्छ।
महानगरका टोलटोलमा छिमेकीहरुबीच हुने मुख्य मनमुटाव एउटाको कुकुरले अर्काको आँगनमा शौच गरिदिनाले हुने गर्छ। यो दैनिकी एउटा अनदेखा प्रतिस्पर्धाझैं विकास भइरहेको छ।
कुनै बखत नेपाल भुस्याहा कुकुरहरुको देश हुने भो भनेर ‘पंच’हरुले सिडियो लगाएर वडाअध्यक्षहरु मार्फत लड्डु ख्वाउन लगाउँथे। यसरी नै लड्डु प्रजातन्त्र (पहिलो), प्रजातन्त्र (दोस्रो), लोकतन्त्र र गणतन्त्र हुँदै निरन्तर चल्यो। मानौं नेपाली जनताले महानगरलाई तिर्ने कर भनेको कुकुर मार्नको निमित्त तिरेको हो। र उनीहरुले जानेको पनि त्यत्ति नै हो। अहिले पनि यो काम सरकारका प्रतिनिधिहरुबाट भइआएकै छ।
मुख्य सडक, गोरेटो र गल्लीहरुमा भुस्याहाहरु धेरै देखिनुको कारण सहरमा बस्ने सुकिला परिवारहरुले आफूले पालेको कुकुरहरु रोगी भएर, अंपाग भएमा, बुढाबुढी भएपछि बेवारिश छोडिदिनाले हो। सरकारले मार्ने भनेको त्यही कुकुरहरुलाई हो।
कुकुरहरु भएको ठाँउबाट नगुज्रुनू। नजानू। कुकुरहरुको कहिले पनि भर नपर्नू। भुक्ने कुकुरले कहिल्यै टोक्दैन। यी समाजका बिम्बहरु हुन। समाजमा बौद्धिक वर्ग आफूले आफूलाई नै ‘नेपाली कुकुर’ भन्न हतारिनुको कारण पनि त्यही बिम्ब होला, सायद।
कुकुरको ढुग्रो १२ वर्ष ढुंगाले थिचे पनि बाङ्गै हुने उसको विशेषता हो। जस्तो कि धेरै नेपालीको बानी र ब्यहोरा पनि त्यस्तै हुने धेरैको विश्वास छ। धेरै त नेताहरु भनाउँदा राजनीतिकर्मीहरुलाई दिने संज्ञा हुन्।
यो देशमा कुकुरको नाममा खोलिएका अनगिन्ती गैरसरकारी संघसंस्थाहरु सबैले कुकुरको नाममा पैसा उठाएर कर्मचारी पाल्ने हो। धेरै त्यही पैसाको दुरुपयोग गरेर कुकुर विशेषज्ञको ट्याग लगाएर हिँड्ने हुन्। कुकुरकै नाममा ट्राभल डकुमेन्टस बनाई यो ट्याग विदेशीहरुले शानसँग उपोभोग गरिराखेका छन्।
नेपालमा कुकुरको नाममा संस्था खोल्ने काम ब्रिटिश नागरिकले गरेका हुन्। दुबै कारणमा लाज माने हुन्छ तर को लजाउने मनुवा कि फेरि कुकुर?
अर्को पनि एउटा विशेषता हुने गर्छ कुकुरको । जुन यहाँ लेख्न/भन्न मिल्दैन। बुझ्नेलाई आँ नै काफी छ। मूर्खहरुको कुरा नै के भयो र...
कुकुरहरु पनि मानिसजस्तै समाज बनाएर समूहमा बस्छन्। आफ्नै क्षेत्राधिकारको बार निर्माण गरेर। आफ्नो क्षेत्रभित्र जो कोही आएर गरिने हस्तक्षेप असह्य सबैलाई हुने नै भयो। कुकुरहरुलाई पनि हुन्छ। उनीहरुले पनि आ(आफ्नै टोलका नामहरु दिने होला। मान्छेजस्तै टोलको राजा, गुण्डा, डन आफैंले घोषणा गर्ने होला। समाजमा भ्रम फैलाउने होला।
कुकुरहरुसँग मान्छेमा नभएको अद्भुत शक्ति हुन्छ। यस्तो शक्ति हुनेहरुलाई कस्तो कुकुरजस्तो भनेर उडाउने गर्ने चलन भने अझै छ- हाम्रो समाजमा। जस्तो कतै टाढाबाट आफ्नो मालिक आएको संकेत कुकुरले आफ्नो विशेष सुघ्ने शक्तिबाट मालिकको प्रवेश टोलमा भइसकेको छ भनेर थाहा पाइसकेको हुन्छ। त्यसकारण प्रहरीहरुको आत्मीय साथी पनि कुकुर नै हुने गर्छन्।
कुकुरहरुका लागि संसार ‘ब्लायक एण्ड व्हाइट’ हुन्छ। तर मानिसले नांगो आँखाले देख्न नसकेको अदृश्य कुकुरले देख्न सक्ने क्षमता राख्छ। त्यसैले ऊ मध्यरातमा पनि भुकिराखेको हुन्छ। अन्धविश्वासीहरुको कुरा बेग्लै।
कुकुरहरुलाई अकस्मात पानीमा फाल्दिने हो भने ऊ जसरी भए पनि पौडिन सिकेर आफ्नो ज्यान बचाउँछ। यदि मानिसलाई त्यसरी नै अचानक पानीमा फलिदिने हो भने पौडिन नआए ऊ डुबेर मर्छ।
मानिसले मानिसलाई गरेको गुण बिर्सिहाल्छ, बिर्सेजस्तो गरीदिनु उसको स्वभाव हो। तर कुकुरले देखेर पनि नदेखेको जस्तो कुकुरले कदापि गर्न सक्दैन। यो उसको गुण होइन।
समाजका हरेक क्षेत्रमा कुकुरजस्तै भुक्ने मानिसहरु धेरै हुन्छन्। जस्तै कि देश विकास गर्ने कुरा पनि भुक्नु नै हो। तर मान्छे वा नेताले भुक्दैमा देशको विकास हुन्छ र?
दुश्मनको मृत्यु भुस्याहा कुरकुरसरह होस् भनी कामना गर्ने धर्मात्माहरु धेरै छन्, हाम्रो देशमा।
‘कुकुरीप्पा’ बोधिसत्व हो बौध्द अनुयायीहरुको निमित्त जसको गुरु र साथमा कुकुर सदैव हुने गर्दछ। कुकुर पुजनीय हुनुको कारण यत्तिले मात्र त पक्कै होइन। कुकुरले चोर अपराधीबाट त बचाउँछ बचाउँछ। ऊ त अपार श्रध्दा, बल, स्मृति, ध्यान, प्रज्ञाजस्ता अनेक वैभवहरुबाट शोभायमान छ।
कुकुर भैरवको बाहन हो। भैरव धर्मपालको देव हो। कुकुर द्वारपालको। अष्टमात्रिकापछि सुरक्षा भनेको भैरवले नै गर्ने हो यो देशलाई, जुन गरिँदै र हुँदै आइराखेकै छ।
कुकुरहरुले सुरक्षित गरेको यो हाम्रो देश ढिला हुनु अस्वाभाविक होइन। र पनि, दिन सबैको आउने गर्छ, र एक दिन कुकुरको पनि। एभ्री डग ह्याज ओन डे। र त्यो दिन भनेको आज हो। कुकुर तिहार। यो चाड अरुले नक्कल गरेर मनाउनुअघि नै दिल र मन खोलेर भव्यताका साथ मनाऔं।
ह्याप्पी कुकुर तिहार।