बारीभरि फुलेका मखमली, गोदावरी, थुङ्गे फूल र तल बेंसीमा लहलाउँदै गरेका पहेंला धानको बालाले तिहार आएको संकेत गर्दै थिए, गाउँ फूलमय बनेको थियो।
बाहरू तिहारका लागि सामान किन्न बजारतिर लाग्नुभएको थियो भने आमाहरू पनि तिहारमा दाजुभाइका लागि खानेकुरा बनाउने तयारीमा जुट्नु भएको थियो।
गाउँलाई त साँच्चै तिहार लाग्न थालिसकेको थियो, विदेशिएका दाजुभाइ पनि धमाधम गाउँ फर्किन थालेका थिए।
अझ म त काठमाडौं पनि कहिल्यै नपुगेकी तर, तिहार गाउँमा भन्दा सहरमा रमाइलो हुन्छ रे भन्ने सुनेको थिएँ, तिहारमा सहर हेर्न जान पनि मन नलागेको होइन, तर चाडबाडमा झन् गाउँ छोडेर सहर जाने सम्भावना नै रहँदैनथ्यो।
तर पनि, मलाई दसैंभन्दा गाउँकै तिहार उत्कृष्ट लाग्थ्यो परिवारका सबैजना गर्दा धेरै जना जम्मा होइने, अझ ५ जना फूपूहरू, उनीहरूका छोराछोरी हुँदा त घरभरि मान्छेले भरिभराउ साह्रै रमाइलो हुने।
म त अझ परिवारमा सबभन्दा सानो थिएँ, सबैले माया गर्ने काम गर्न नपर्ने मलाई के थियो र झन् पढ्न पनि नपर्ने मीठो खान पाउने, नयाँ लुगा लाउन पाउने त्यत्ति भएसी आमाहरूको दु:खको मलाई के मतलब बच्चा जो थिएँ।
सानो परिवार थियो हाम्रो।
बुवाहरूको दाजुभाइ ४ जना दिदीबहिनी ५ जना भए पनि हामी ३ जना मात्रै थियौ, दाइ, दिदी अनि म। सानो परिवार बुवाको बैंकको जागिर आमाले घरको रेखदेख र खेतीपातीको काम गर्नुहुन्थ्यो। हामी गाउँकै बोर्डिङमा पढ्थ्यौं, दिदी र मेरो उमेरमा २ वर्षको फरक भए पनि हामी एउटै कक्षामा पढ्थ्यौं किनभने दिदीको पढाइ ढिलाइ भएको थियो।
दाइ भने हामीभन्दा ३ कक्षा माथि हुनुहुन्थ्यो सानो परिवार, बुवाको राम्रो कमाइ त्यही भएर गाउँमै बसे पनि शारीरिक परिश्रम खासै गर्नुपरेन अनि खान लाउने अभाव पनि भएन।
बुवाले पनि हामीलाई अरू काम नलगाई पढ्नमात्रै लगाउनुहुन्थ्यो, आफूभन्दा धेरै राम्रो जागिर खाऊन्, ठूला मान्छे बनुन् भनेर बुवा बैंकमा ओभरटाइम काम समेत गर्नुहुन्थ्यो। मध्यम वर्गीय हाम्रो परिवार राम्रोसँगै चलेको थियो।
दाइले पनि ब्याचलरसम्मको पढाइ सकेको थियो बुवालाई भने दाइ इन्ञ्जिनियर बनोस् भन्ने ठूलो चाहना थियो तर दाइलाई भने आर्मीपुलिसमा बढी झुकाव हुनाले त्यही तयारीमा जुट्यो। नभन्दै दाइले आफ्नो चाहना पूरा गर्नुभयो।
ब्याचलरसम्मको पढाइ पूरा गरेपछि सेनामा जागिरको लागि लड्नुभयो अधिकृत तहमा नाम निकाल्नुभयो। जुन हाम्रो परिवारका लागि ठूलो गौरवको विषय थियो।
बुवाका इच्छा इन्जिनियर भए पनि दाइले सानै उमेरमा सेनातर्फको अधिकृतमा नाम निकालेपछि बुवाको नाक ठूलो भएको थियो, किनभने त्यो बेला हाम्रो गाउँमै सरकारी जागिरमा नाम निकाल्नेहरूको संख्या कम थियो।
हाम्रो परिवारकै लागि गौरवको विषय बन्नुभएको थियो दाइ। जागिर भएपछि दाइको पोष्टिङ सुरूमा रसुवामा भएको थियो।
त्यसपछि विस्तारै विभिन्न ठाउँमा सरूवा भयो, हाम्रो परिवार अझै सहज चलिरहेको थियो, बुवाको दाइको राम्रो जागिर हामी पनि पढ्दै थियौं, आमाले घरगृहस्थी धान्नुभएको थियो, नमूना परिवार भएका थियौं हामी।
दाइको जागिर २ पुगेर ३ वर्षमा लागेको थियो, देशमा जनयुद्धको सुरूआत भयो, देशमा परिवर्तन ल्याउने भन्दै केही नबुझेका युवापुस्ताहरू समेत युद्ध र क्रान्तिका लागि होमिन थाले जसले गर्दा देश पनि दिनहुँ अशान्त बन्न थालेको थियो। गाउँघर शान्त थिएन, न सहर नै। जताततै बन्दुक पड्कने मान्छे मर्ने भइरहेको थियो।
अझ आर्मी र सशस्त्र द्वन्द्वमा हिँडेकाहरूको त कतिबेला ज्यान जाने हो पत्तो थिएन। जसको डरमा हाम्रो परिवार पनि थियो। किनभने दाइको आर्मीको जागिर सरूवा भइरहने कता हो कता पुग्नुपर्ने।
हामीमा धेरै डर पैदा भएको थियो, कतै दाइलाई केही हुने त होइन, बरु जागिर छोड्न लगाउनुपर्छ क्यारे आमाले फरियाको सप्काले आँसु पुछ्दै भन्नुभयो अनि भर्खरै जागिर सकेर घर आइपुग्नुभएका बाले ढाका टोपी फुकालेर फलैंचामा राख्दै भन्नुभयो, त्यसै गर्नुपर्छ जस्तो छ भुन्टीकी आमा।
नभए त गाह्रो हुन्छ, के हो के हो आज भन्दा भोलि डरलाग्दो अवस्था छ कति सेनाहरू ड्युटीमै मारिइसके यस्तै अवस्था रहे त छोराको नि के भर ? मान्छे रहे त पुन: जागिर खाउँला जागिर नभए भएको खेतीपाती मात्रै गरे पनि हातमुख जोर्न गाह्रो पर्दैन।
बाले लामो सास फेर्नुभयो, आमाले थालमा मकै र भटमास ल्याएर राख्दिँदै फेरि भन्नुभयो, कसरी हुन्छ छोरालाई फर्काउनुपर्यो है भुन्टीका बा, मलाई छोरा भए हुन्छ, जागिर चाहिँदैन। आमाको कुरामा मुन्टो हल्लाउँदै बाले हुन्छ भन्नुभयो।
देशमा द्वन्द्व र अशान्तिको आगो दन्किरहेको थियो। परिवर्तनका लागि भन्दै तत्कालीन माओवादीका नेताहरूले घरघरमा पुगेर डर र धम्की देखाउँदै निर्दोष व्यक्तिहरूलाई समात्दै परिवारकै अगाडि हत्या समेत गरिरहेका थिए।
आर्मीले माओवादी र माओवादीले आर्मीको मान्छे भन्दै कतिपय निर्दोषहरूलाई लगेर बेस्सरी कुटपिट गरी यातना दिए।
त्यसपछि त हाम्रो परिवारमा डरको सीमा बढ्न थालेको थियो, फेरि त्यो समयमा यातायातको सहज पहुँच पनि नभएको र अहिलेको जस्तो सामाजिक सञ्जाल र फोनको पनि सुविधा नहुँदा दाइलाई सम्पर्क गर्न पनि सहज थिएन।
चिठी र कहिलेकाहीँ चिनेका मान्छेहरूले ल्याइदिएको खबरका भरमा रहने हामीलाई दाइसँगको सम्पर्क गाह्रो थियो। तर, मनभरि डर भने बढिरहेको थियो।
दाइ घर नआएको पनि १ वर्ष नै पुग्न लागेको थियो, नयाँ जागिर ट्रेनिङ र ड्युटीमा खटिँदै घर पनि आउन नपाइहाल्ने तर दाइले महिनाको एकपटक चिठी वा खबर भने पठाउन छाडेको थिएन।
त्यसैले हामीमा अलिकति डर घटेको थियो, दाइले कतिपय चिठीमा त कर्तव्यभन्दा ठूलो केही रहेनछ आमा बाँचे भने तपाईंको आशीर्वाद लिन फर्किन्छु मरें भने तपाईंहरूकै कोखबाट अर्को जन्ममा पनि जन्मिन पाऊँ भन्दै लेखेको हुन्थ्यो।
त्यो पढ्दा मेरो आँखा भरिन्थ्यो तर आमालाई भने पढेर सुनाउँदैनथें। कहिलेकाहीँ यो अब दाइको साथमा बसेर तिहार मान्न पाइँदैन कि भन्ने डर लाग्थ्यो, तर ती कुरालाई पन्छाउँदै सकेसम्म सकारात्मक सोच्ने प्रयत्नमा लाग्थें।
देशमा अस्थिरता सुरू भएको २ वर्ष पुग्न लागेको थियो। नजिकिँदै गरेको दसैं पनि अघिल्ला वर्षहरूमा जस्तो रौनक र उत्साहपूर्ण थिएन। मानिसहरू डर, त्रास र धम्कीकाबीच जसोतसो चाडपर्व मनाइरहेका थिए।
हामी पनि डरमा थियौं साथै सबैले दाइको अभाव महशुस गरिरहेका थियौं, आमा दिनको एकपटक दाइ सम्झेर रूनुहुन्थ्यो, मलाई पनि दाइ हुँदाको चाडवाड, दाइको स्नेह सबै सम्झेर भक्कानो छुट्थ्यो तर आमाको अगाडि शान्त बनिदिन्थें केही नभएझैं गर्दिन्थें।
दसैं सकिएर तिहार सुरू भएको शरद ऋतु लागेसँगै गाउँघरमा धानबाली थन्क्याउने चटारो सुरू हुन्थ्यो। हामी पनि त्यतातिर लाग्यौं।
तिहार पनि नजिकिँदै थियो, यो पटक दाइ आउनुहुन्छ भनेको भएर मैले आँगनभरि मखमली र सयपत्रीको फूल फुलाएको थिएँ।
आमा पनि दाइ आएपछि फर्किनै नदिने मनस्थितिमा हुनुहुन्थ्यो। धेरै वर्षपछि दाइसँग टीका लगाउन पाउने भएर हामी दिदीबहिनी खुसी थियौं, दाइलाई लुगा र मसला किन्नका लागि दसैंकै पैसा जम्मा गरेका थियौं।
बाहिरको माहोल भने डरलाग्दो थियो, बम पड्केको मानिस कराएको चिच्याएको आवाज आइरहन्थ्यो। तिहार आउन धेरै दिन बाँकी थिएन, गाउँभरिका मानिसहरू तिहारको सरसामग्री तयार गर्न जुटिसकेका थिए।
हामी पनि दाइ आउने आशामा थियौं, तर २ महिना बितिसक्दा पनि दाइको चिठी भने आएको थिएन। दाइ आउने आश गर्दै उनेको मखमली र सयपत्री फुलको माला ३ वर्षदेखि ओइलाइरहेका थिए।
सधैं ड्युटी बिदा नपाइने भनेर दाइ चाहेरै पनि आउनसक्नुभएको थिएन, यो तिहारमा पनि दाइ नआउने त होइन भन्ने सोच्दै आँगनका डिलभरि फुलेका मखमली फूललाई एकपटक मुसारे मन्द लागेको हावाले फूल एकनासले नाचिरहेका थिए, रमाइलो पनि लाग्यो। दाइ आउने आशा पनि पलाएको थियो।
यमपञ्चक सुरू भयो गाउँभरिका मानिसहरू काग तिहार, कुकुर तिहार मनाउन थाले हामीले पनि मनायौं। तर दाइलाई पटकपटक बाटो हेर्दाहेर्दै पनि दाइ आउनुभएन।
लक्ष्मी पूजाको रात भइसकेको थियो,दाइ आउने बाटो हेर्दै आँखा दुखिसकेको थिए। कोही अपरिचत झोला बोकेर घरमुनिको बाटो हिँड्दा दाइ नै आएको जस्तो लाग्थ्यो, परिवारका ४ जना ४ तिर बसेर हेर्थ्यौं तर अहँ न दाइ आउनुभयो न दाइको चिठी नै।
दाइको पर्खाइमा आँखा थाक्न थालिसकेका थिए, आमा पनि दाइ आएन भने मामाघर जान्न भनेर बस्नुभयो।
गोरु तिहारको दिन थियो आमा गोरु पूजा गर्न छिमेकीकोमा जानुभएको थियो। हामी घरमै थियो, हुलाकी दाइ आँगनमा आइपुगेर मलाई चिठी दिएर गए। मैले हतारमा चिठी खोले, मलाई शंका त लागेको थियो खबर राम्रो थिएन भनेर।
नभन्दै दाइको नामबाट आएको त्यो अन्तिम चिठी रहेछ। अर्थात् दाइको मृत्यु भएको खबर दिनका लागि परिचित व्यक्तिले सबै घटनाको बेलिविस्तार लेखेर पठाएको रहेछ। माओवादी पक्ष र आर्मीको भिडन्त हुँदा रोल्पामा दाइलाई दुइटा गोली लागेर मृत्यु भएछ।
म भुइँमा थचक्क बसें सारा संसार अँध्यारो लाग्यो। सपनामा छु कि विपनामा मैले छुट्याउन सकिनँ।
म आँगनमा लडेको देखेर बुवा हतारिँदै आउनुभयो, मेरो मुखबाट बोली निस्कन सकेन बुवाले मेरो हातबाट खसेको चिठी हेर्नुभयो, चिठीलाई एकचोटि चुप्प गर्दै मेरो छोरा भन्दै बुवा आँगनमै ढल्नुभयो हाम्रो यस्तो बेहाल अवस्थापछि गाउँभरिका मान्छे जम्मा भए आमा पनि पूजाको थाली लिएर घरमा आइपुग्नुभयो।
मेरो र बुवाको हालत देखेपछि आमाले अत्तालिँदै सोध्नुभयो, के भयो भुन्टीका बालाई कोही भन्दिनु के भयो मेरो सुखी परिवारमा कसको आँखा लाग्यो ?
छिमेकी काकीले आमालाई समात्नुभयो, लगेर पिँढीमा राख्नुभयो पानी छम्किएर विस्तारै भन्नुभयो, दिदी दैवको अगाडि कसको के लाग्छ, देशभरि यस्तो अशान्ति छ त्यसको परिणाम हाम्रो बावुले पनि भोग्नुपर्यो। माओवादीका मान्छेले गोली हान्दिएछन् ड्युटीमै छँदा अब ऊ यो संसारमा रहेन।
त्यसपछिको आमाको अवस्था र आमामाथिको बज्रपात कस्तो पर्यो म शब्दमा व्यक्त गर्ने सक्दिनँ। आमा दाइको नाम लिएर तत्काल बेहोस हुनुभयो।
तर, प्रकृतिको शास्वत नियम जन्म र मृत्युलाई सहनुबाहेक हामी तुच्छ मानवसँग अरू के नै विकल्प रह्यो र!
अनि केही समयपछि दाइको शव ल्याएर बुवाले दागबत्ती दिनुभयो, आफैंले जन्माएको सन्तानलाई आफैंले अन्तिम संस्कार गर्दा बुवाको मनमा के बित्यो होला, कस्तो दर्द भयो होला त्यसको वर्णन गर्ने शब्द र शक्ति दुवै छैन मसँग।
आमा त दाइ बितेको दशकौ भइसक्दा पनि दाइलाई सम्झेर रून छाड्नुभएको छैन, झनै वर्षेसाल आउने तिहारले त हाम्रो छाती चर्किन्छ, मुटु पोल्छ। दुई दिदीबहिनी जम्मा हुन्छौं, एकछिन रुन्छौं अनि आफ्नै घर फर्कन्छौं।
देश, जनता र कर्तव्य भनेर ज्यानको आहुति दिनुभएका दाइ नेपालको इतिहासमा अमर रहनुहुनेछ।
बुवाले दाइको लासमा अन्तिम दागबत्ती दिएकै वर्ष हाम्रो लागि अन्तिम मखमली फुलेको थियो, त्यो पनि दाइ आउने अन्तिम आशमा। तर त्यस वर्षपछिका तिहारमा न हाम्रा लागि कुनै आशा रहे, न मखमली नै फुले।