तिहारमा बहिनीको हातको टीका नलगाएको नि धेरै वर्ष बितिसकेको थियो। कुनै वर्ष जुठो, कुनै वर्ष सुत्केरो, कहिले कुनै समस्या, कहिले कुनै। यस्तै अनेकौँ सामाजिक, धार्मिक र व्यवहारिक व्यवधानहरूले गर्दा हाम्रो टीकाको साइत धेरै वर्षसम्म जुर्न सकेन।
यो वर्ष चाहिँ अब तिहारको रमाइलो गर्नुपर्छ, बहिनीको हातको टीका नि लगाउनुपर्छ भन्ने मन भित्र ठूलो इच्छा र चाहना थियो। बहिनीले पनि यसपालि टीका लगाउनु पर्छ भन्दै बारम्बार फोन गर्थिन्। म अलिक टाढा नै भए पनि यो वर्ष जसरी पनि बहिनीको हातको टीका लगाउन जाने अठोटमा थिएँ।
नयाँ वर्षपछि कोरोनाको त्रास भयावह रूपमा बढ्दै गइरहेको थियो। मन्दिरदेखि यातायातसम्म ठप्प भए। विस्तारै रोग फैलिँदै गयो र त्रास घट्दै गयो। सरकारले सधैँ लकडाउन गरेर जनतालाई पाल्न सक्ने हैसियत नि थिएन। आफै विस्तारै सहज हुँदै गयो, चहलपहल पनि बढ्दै गयो र सबैले कोरोनालाई नजरअन्दाज गर्दै थिए।
दसैँ आयो, आत्मबल हुनेहरू अलि टाढासम्म पनि पुगे टीका लगाउन। डर लाग्नेहरू घरभित्र छोराछोरी, बुवा-आमासँग रमाएर बसे।
दसैँमा आमाको हातको टीका लगाउन बहिनी-ज्वाइँ, भान्जाहरू आउनु भएन। मलाई कौतुहल र जिज्ञासा लाग्यो। मैले ज्वाइँलाई फोन गरेँ, के भयो? किन ससुराली टीका लगाउन आउनु भएन भनेर।
कोरोना पोजेटिभ देखियो रे, घर भित्र सपरिवार क्वारेनटाइनमा बस्नु भएको रहेछ। हल्का ज्वरो आउने र टाउको दुख्ने समस्या रहेछ। दसैँ यतिकै सकियो।
पन्ध्र दिनको क्वारेनटाइनपछि बहिनी-ज्वाइँको सपरिवार तन्दुरुस्त भइसक्नु भएको र रिपोर्ट नेगेटिभ आएको खबर पाएँ। कोरोनाले गालेको शरीर लिएर भए पनि बहिनीले यसपालि दाइ आउनुहुन्छ भनेर सकी नसकी तिहारको तयारीमा जुटिन् र मलाई फोन गरिन् 'दाइ जसरी पनि टीका लगाउन आउनुपर्छ है। म तन्दुरुस्त भैसकेको छु।'
मैले नि प्रतिउत्तरमा 'हुन्छ नि बहिनी, म जसरी नि टीकाको साइत छोप्न आइपुग्छु' भनेर वचनबद्ध भएँ। टीकाको दिन बिहानै काठमाडौँबाट बाइक लिएर हेटौडा हुइँकिए चार घण्टाको बाटो, दश बजे बहिनीको घरमा टुप्लुक्क पुगेँ। बहिनी बरन्डामा बसेर झोक्राउँदै रहिछिन्। मुख मास्कले छोपिरहेकी थिइन्।
म नजिकै कुर्सीमा गएर टुसुक्क बसेँ। मेरो मुखमा नि मास्क थियो। भाइटीकाको सम्पूर्ण सरसामान मरमसला ठिक्क पारेर राखेकी रहिछन्। मैले सम्झेँ, कोरोनाले थला नै परिछन्। अझै मन भित्र डर त्रास कायमै रहेछ। सामाजिक छुवाछुत त विस्तारै समाजबाट हराउँदै गएको थियो, फेरि यो कोरोनाले आफन्त नातागोता सबैलाई झनै अछुत बनाउँदै लगेको थियो।
टीकाको साइत सुरु हुनै लागिसक्यो, बहिनी बसेको ठाउँबाट हलचल नै गर्दिनन्। मलाई अचम्म लाग्यो। म आफै अग्रसर हुँदै भनेँ, ल बहिनी अब टीकाको लागि तयारी गरौँ।
उसको आँखामा आँसु टिलपिलाई रहेको देखेँ। 'होइन के भो, झन् त्यति टाढादेखि टीकाको साइत छोप्नु कतै अलमल नगरी समयमै आइपुगेको छु।'
'मलाई यो कोरोना सोरोनासँग फिटिक्कै डर लाग्दैन। नजिकै आएर टीका लगाइदिए हुन्छ, अप्ठ्यारो मान्नु पर्दैन' मैले सान्त्वना दिँदै भनेँ र म आफै जुरुक्क उठेर बहिनी नजिकै गएँ। बहिनी झन् पर पर सर्छिन्।
'होइन के नाटक गरेको तिमीले' म अलि कड्किदिएँ।
'होइन दाइ, मलाई सब ठिक छ। नजिक नआउनुस् दाइ, म भर्खरै पर सरेर बसेकी। एक घण्टा भो मिन्स भएको।' म अचम्मित भएर टोलाउन थालेँ।