घर नगएको दस महिना भइसकेको थियो, कारण थियो, कोरोनाभाइरस। घरसँगको नाता सम्बन्ध पनि अचम्मको हुँदो रहेछ। बा, आमा जहाँ भयो त्यही घर हुने रहेछ। तीन वर्षअघि सल्यान थियो हाम्रो घर, जहाँ बा, आमा हुनुहुन्थ्यो।
बा-आमा काठमाडौं बस्न थालेपछि घर फेरियो। माया फेरिएन। सानोमा काठमाडौं बस्थें दाइसँगै। दसैं आउन साठी दिन बाँकी हुँदा उन्नासाठी, अन्ठाउन्न, सन्ताउन्न भन्दै घर (सल्यान) जाने दिन गन्दै बस्थ्यौं हामी। ठूलो भइसक्दा, जागिर खाइसक्दा समेत उस्तै छ माया, दिनगन्ती अहिले पनि सुरू हुन्छन्।
दसैंको पाँचौं दिन, पञ्चमी तिथि, अघिल्लो वर्षको जस्तो थिएन। सल्यानको प्रसिद्ध तीर्थस्थल खैराबाङ सुनसान थियो, जिल्ला प्रशासन कार्यालय सल्यानले नित्यपूजाबाहेक बलीलगायत भीडभाड हुनसक्ने सबै क्रियाकलापमा बन्देज लगाएको थियो।
दोधारमै थिएँ, काठमाडौं जाने सम्बन्धमा। कोरोना संक्रमणले आक्रान्त पारेको थियो राजधानीलाई, संक्रमितको संख्या तीव्र रूपमा फैलिरहेको थियो, डढेलोझैं।
देशभरका जम्मा संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौंमै थिए। संक्रमितको संख्या दिनहुँ उकालो लाग्दै थियो। एक दर्जनभन्दा बढीको मृत्यु भइरहेको खबर दिनहुँजस्तै आउथ्यो।
घरमा नव्वे वर्षको बा हुनुहन्थ्यो, झन्डै असी पुग्न लागेकी आमा हुनुहुन्थ्यो। दाइ, भाउजू अनि सन्देश, क्रषिकेश (दाइका छोराहरू) थिए, रुपेश भान्जा थिए।
सार्वजनिक यातायातका साधनको प्रयोग गरी काठमाडौं पुग्दा भाइरस सर्न सक्ने उच्च सम्भावना थियो। आफू संक्रमित भए बुढा भएका बा-आमा संक्रमित हुन सक्नुहुन्थ्यो। सार्वजनिक यातायातको प्रयोग गरी काठमाडौं नजाने निर्णय गयौं हामीले।
निस्लाट्टीसकेको (अत्यास लागेको) थिएँ म। बाआमा अनि घर परिवारसँग भेट नभएको झन्डै एक वर्ष हुनै आँटेको थियो।
मनलाई दह्रो बनाएपछि कोभिडले रोक्न सकेन घर जानलाई, सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गरी काठमाडौंको यात्रामा निस्किएँ, श्रीमती साथमै थिइन्।
खानेपानी, ऊर्जा तथा सिँचाइ कार्यालयको गाडीले नेपालगञ्ज विमानस्थलसम्म छोडिदियो। बुद्ध एयरले एक घण्टामै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओराल्यो। यात्राभरि कोभिड संक्रमण नहोस् भन्दै उच्च सतर्कता अपनायौं।
बाटोभरि कहीँकतै केही खाएनौं, दिदीको घर थियो नेपालगञ्जमा त्यही गएर खाना खायौं। विमानस्थलमा रहँदा, बस्दा एउटा मात्र होइन, दुइटा मास्कको प्रयोग गर्यौं। फेस सिल्ड दिइएको थियो, त्यो पनि लगायौं, पालना गर्नुपर्ने हरेक नियम पालना गर्यौं, सुरक्षित रहने भरमजदुर प्रयास गर्यौं।
एयरपोर्ट बाहिर सन्देशले कुरिरहेको थियो हामीलाई। ट्याक्सी चढ्दा संक्रमित होइन्छ कि भन्ने डरले उसलाई बोलाएका थियौं। लगेज कुर्दै गर्दा हामीलाई हेर्दै मुस्कुराइरहेको थियो ऊ।
उसको मुस्कानले आतिथ्यता प्रदान गरेको थियो। भेट्दै गर्दा स्यानिटाइजर छर्किदियो हाम्रो हातभरि। मोटरसाइकलमा आएको थियो ऊ। पालैपालो घरसम्म पुर्यायो हामीलाई।
घर पुग्दा बा, आमा, भाउजू, छोराहरू, भाञ्जा सबैसँग भेट भयो। मन चंगा भयो। खुसीका छालहरू ओर्लिए। दाइलाई देखिनँ। कोठामा हेरें। सुतिरहनु भएको थियो। खुट्टा तातिएका थिए, ढोग्दै गर्दा थाहा पाएँ।
“ज्वरो आएजस्तो छ त ?” मैले सोधें।
“अलि परै बस्” दाइले भन्नु भयो।
टाढै बस् भन्दा कहाँ रमाइलो हुन्थ्यो र ? ढोकाको कापमा उभिरहें।
घटस्थापनाको दिनमा कुरा भएको थियो उहाँसँग। कोभिड संक्रमणको रिपोर्ट नेगेटिभ आयो भन्दै हुनुहुन्थ्यो। खुसी हुनुभएको थियो तर पञ्चमीसम्म आइपुग्दा पनि उहाँको ज्वरो कम भएको रहेनछ, हल्का खोकी समेत लागिरहेको थियो।
दुर्गा देवीको स्थापना गरिएको थियो घरमा। हरिया जमरा बढ्दै गइरहेका थिए। सन्ध्या पर्दै गर्दा नवरात्रभरि सबै जना बसेर आरती गर्थ्यौं।
न मन्त्रं नो यन्त्रं तदपि च न जाने स्तुतीमहो
न चाह्वानं ध्यानं तदपि च न जाने स्तुतीकथाः
देव्यापराधक्षमापनस्तोत्रम्का श्लोकहरू गुञ्जदा घरको वातावरण उल्लासमय हुन्थ्यो, संगीतमय हुन्थ्यो, असाध्यै रमाइलो हुन्थ्यो। दसैं आएजस्तो लाग्थ्यो।
यी श्लोकहरूको गुञ्जनबिना नवरात्रको कुनै महत्व हुन्थेन हाम्रो लागि।
सप्तमीको साँझमा भर्खर आरती सकिएको थियो, जिल्ला प्रशासन कार्यालय सल्यानवाट फोन गयो।
कार्यालयका केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएकोले सतर्क रहन समेत आग्रह गरिएको थियो। हामी सतर्क थियौं, झन् बढी सतर्क हुन थाल्यौं।
विजया दशमी संघारमा थियो। बा, आमा, दाइ, भाउजूको आशीर्वाद लिन, श्रीमती, भतिजाहरू अनि भाञ्जालाई आशिर्वाद दिन मन थियो तर दाइलाई ज्वरो आइरहेको थियो, भाउजूलाई खोकी, मसँगै काम गर्ने कर्मचारीमा कोरोना संक्रमण पुष्टि, लाग्दै थियो कोरोना घरभित्र पस्दैछ। कोरोनाले चारैतिरबाट घेरिसकेको छ, के के विध्वंस मच्याउने हो यसले! थाहा थिएन।
“भोलि तपाईंको र मेरो स्वाब दिम् है” भाउजूले भन्नुभयो ।
कोरोनाको कुनै लक्षण देखिएको थिएन मलाई। कार्यालयमा कोरोना संक्रमण पुष्टि भएको दुई दिन मात्र भएको थियो। छ सात दिन नभई स्वाब दिनुको कुनै अर्थ थिएन।
“हजुरको रिपोर्ट आएपछि मात्र स्वाब दिन्छु ।” भाउजूलाई भनें।
अष्टमीको दिन एक जना बहिनी स्कुटी चढेर घरमै आइपुगिन् स्वाब लिनको लागि। स्वाब लिई परीक्षण गरेको अठ्ठाइस सय लाग्दो रहेछ। रिपोर्टको प्रतीक्षा गर्न थाल्यौं।
भाउजू आइसोलेसनमा बस्नुभयो, बाले खाना कम गर्दै जानुभयो। बाको आहार घट्दै गयो। बालाई नियमित जस्तो खोकी लागिरहन्थ्यो, खोकी बढ्दै गयो। तीन वर्ष अगाडि मात्र पनि निमोनियाले धेरै दुःख दिएको थियो उहाँलाई।
विजया दशमी, टीका जमरा ग्रहण गर्ने, आशिर्वाद लिने, दिने दिन उठेर नुहाउन जाने तयारी गर्दै थिएँ म, मोबाइलमा म्यासेज आयो, सन्देशले गरेको रहेछ। पोजेटिभबाहेक केही लेखिएको थिएन। पोजेटिभ लेखिएको म्यासेज देख्दा पनि, पढ्दा पनि तर्सिने दिन आएका थिए। म नुहाउन छोडेर भाउजू बसेको कोठाको छेउमा गएर उभिएँ।
खोक्दै हुनुहुन्थ्यो उहाँ। छेउमा लसुनको पोटी राखिएको थियो। उहाँको सुघ्ने क्षमतामा ह्रास आइसकेको थियो। उहाँलाई कोरोनाले केही गर्दैन भन्ने कुरामा हामी विश्वस्त थियौं तर त्यही कोरोना बाआमामा देखियो भने ? हामी चिन्तित भयौं।
सबभन्दा माथि सानो कोठा थियो, पुस्तकालयको रूपमा प्रयोग गरिएको थियो, दाइ त्यही कोठामा सर्नु भयो। तेस्रो तलामा रहेको शौचालय भाउजूले प्रयोग गर्ने गरी छुट्टयाइयो। थप सतर्कता अपनाइयो।
दसैंको महत्वपूर्ण दिनमा भाउजू कोरोना संक्रमित भएपछि हाम्रो दसैं कस्तो भयो होला ? सहजै अनुमान गर्न सकिन्छ। जस्तो भए पनि दसैंको दिन थियो, मास्क लगाएर नै बाआमाले टीका लगाइदिनु भयो। भाउजूले टाढै बसेर हेर्नुभयो, दाइले टाढैबाट टीका लगाइदिनुभयो। दसैं खल्लो खल्लो हुँदै गयो। न कुनै उत्साह, न कुनै उमंग। सबैमा डर, त्रास व्याप्त थियो । बाआमालाई कोरोना लाग्यो भने ...?
बाको लागि खाना पस्किदिएको थिएँ। बा खाना खान आउनु भएन। खोक्दै शौचालय जानुभयो। विस्तारै बसेर खान खोज्दै गर्दा फेरि खोकीले सतायो, फेरि शौचालय जानुभयो।
इन्द्रियार्थेषु वैराग्यमनहंकार एव च।
जन्ममृत्युजराव्याधि दुःख दोषनुदर्शानाम् ।।
श्रीमद्भगवत् गिताको यो श्लोक भन्दै बा उठ्नुहुन्थ्यो, शौचालय जानुहुन्थ्यो । चार पाँच पटकसम्म यो क्रम दोहोरिरह्यो ।
बुढो हुनु दुःख हो भन्नेबाहेक यसको सबै अर्थ थाहा थिएन मलाई।
“क्या हुँदो वा, धौ(गाह्रो) भैगो, अब त सकिन्न” भन्दा बाको खुब माया लाग्यो।
पूर्णिमासम्म काठमाडौं बस्ने गरि बिदा मिलाए गएका थियौं हामी। नौ जना थियौं घरमा, भाउजू संक्रमित भइसक्नु भएको थियो। सल्यानबाट नेपालगञ्ज हुँदै काठमाडौं पुगेका हामी पनि संक्रमित हुन सक्ने सम्भावना उच्च थियो।
हामी पनि संक्रमित भए बाआमालाई झनै जोखिम बढ्न सक्थ्यो, सायद यस्तै सोच्नुभयो दाइले, “टीका ग्रहण गर्ने काम सकिसक्यो, एक दिन कार्यालयमा हाजिर हुनै पर्ने, तिमीहरू फर्क” भन्नुभयो।
बाआमा सँग बस्ने रहर मेटिएकै थिएन, आमाको काखमा सुत्न पाएकै थिएन। मन अमिलो भयो। जे जस्तो भए पनि काठमाडौंमा बस्नु थप जोखिम निम्त्याउनु हो जस्तै लाग्यो। जुन रफ्तारमा काठमाडौं पुगेका थियौं, त्यही रफ्तारमा नेपालगञ्च हुँदै सल्यान फर्कियौं हामी।
यता हाम्रो स्वाब संकलन हुँदै गर्दा उता बाको स्वाब परीक्षणको रिपोर्ट आइसकेको थियो। बा पनि कोरोना संक्रमित हुनुभयो। देउता जस्तै हाम्रा बाआमाको लागि पूजा कोठा छुट्याइएको थियो। बा संक्रमित भएपछि आमा माथिल्लो तलामा सर्नु भयो।
आमालाई कोरोना संक्रमणबाट जसरी पनि जोगाउनु पर्ने अवस्थाको सिर्जना भएको थियो। आमा पनि संक्रमित भए हाम्रो घर, हाम्रो परिवारको अवस्था के हुन्थ्यो होला ? हामीले सोच्न सकिरहेका थिएनौं।
आमालाई कुनै स्वास्थ्य समस्या देखिएको थिएन तै पनि स्वाब परीक्षण गरियो। सौभाग्यवश यता हाम्रो उता आमाको रिपोर्ट नेगेटिभ आयो। मन केही हल्का भयो, तर चिन्ता ज्यूँ का त्यूँ थियो।
सल्यान खलङ्गामा थियौं हामी तर मन काठमाडौंमै थियो। केही नराम्रो खबर सुन्नुपर्छ कि भनी मन झस्किरहन्थ्यो। गहिरो निन्द्रा पर्दैनथ्यो, अनेकथरिका सपना देख्थें, मन आतिन्थ्यो।
भाउजू आफैं संक्रमित हुनुहुन्थ्यो, उहाँलाई नै स्याहार सम्भारको आवश्यकता थियो तर बा संक्रमित भएपछि ती सबै तपशिलका कुरा भए। बालाई चाहेर पनि अरूले स्याहार गर्न सक्ने अवस्था भएन।
हरेक बिहान भाउजूलाई फोन गर्थें म। बाको हालखबर सोध्थें। सात दिनसम्म बालाई केही भएन भने कोरोनालाई जित्न सक्नुहुन्छ कि जस्तो लाग्थ्यो।
बाको आहारा घटेको थियो तर स्याहार सम्भार घटेको थिएन। विहान उठ्न बित्तिकै भेजिटेवल सुप, सातु पानीको व्यवस्था गर्दिनुहुन्थ्यो भाउजूले, बाले खान मन नगरे पनि जबर्जस्ती खुवाउनुहुन्थ्यो, औषधि भन्दै।
मिक्सरमा पिसेरै भए पनि दाल भात अनि दूध भात खुवाउनुहुन्थ्यो। पानीमा उमालेर स्याउ खुवाउनुहुन्थ्यो। साँझमा दूध रोटी पिसेरै खुवाउनुहुन्थ्यो, ज्वानो, बेसार पानी दिन बिसर्नु हुँदैनथ्यो।
सुत्ने समयमा बाफ लिन लाउनुहुन्थ्यो। बाको स्याहारमा अहोरात्र खटिनुभएको थियो। बाको लागि डाक्टर बन्नुभएको थियो, नर्स बन्नु भएको थियो हरेक दिन ज्वरो आएको छ कि छैन ? अक्सिजनको लेभल कस्तो भनी चेक जाँच गरिरहनुहुन्थ्यो।
बिहान फोन गर्दा ऊर्जावान् देखिने भाउजू बेलुका फोन गर्दा थकित देखिनुहुन्थ्यो। माया लाग्थ्यो उहाँको। आफूलाई नै स्याहार गर्ने बेलामा बाको स्याहारमा ध्यान दिनु परेको थियो।
संक्रमित भएको सातौं दिनमा बालाई पेट दुख्न थालेछ, भाउजूले सुनाउँदा आत्तिएँ म। फेरि बा भन्न पाइने हो कि होइन भन्ने चिन्ताले सताउन थाल्यो। बेलुका खाना खाइसकेपछि भाउजूलाई सदाझैं फोन गरें।
बुवालाई ठिकै छ। ज्वरो आएको छैन। खोकी केही कम छ, अक्सिजन चौरानव्वे छ। आउँको औषधि खुवाएका छौं। दिउँसो घाममा राम्रोसँग सुत्नुभयो। भाउजूले बाको स्वास्थ्य अवस्थावारे विस्तृतमा बताउनुभयो।
भिडिओ कलमा बालाई देखाउनुभयो। मन हल्का भयो। भाउजू हुनुहुन्थ्यो र त ढुक्कले निदाउन सक्यौं हामी खलंगामा।
उमेर बढ्दै जाँदा स्वास्थ्य समस्या पनि बढ्दै जाने रहेछन्। संक्रमित भएको दसौं दिनमा बालाई पाइल्स देखियो। फेरि गाह्रो भयो। सन्देशले बाको लागि औषधि ल्याइदियो। औषधिले काम गयो। बिस्तारै सञ्चो हुँदै गयो।
सोह्र दिनपछि काग तिहारको अघिल्लो दिन कात्तिक २७ गते बा र भाउजू दुवैले स्वाब दिनुभयो, पिसिआार परीक्षणको लागि। सोही साँझ भाउजूलाई फोन गरे बाको स्वास्थ्य अवस्था बुझ्न। भाउजू निकै खुसी देखिनुभएको थियो।
“दुवै जनाको रिपोर्ट नेगेटिभ आयो”, खुसी हुँदै सुनाउनु भयो उहाँले। बधाई दिए मैले। खुसी साटासाट गर्यौं।
विजया दशमीको दिनदेखि सुरू भएको डर, त्रास र भयको वातावरण काग तिहारको अघिल्लो दिन अन्त्य भयो।
भाउजू कोभिड संक्रमणबाट मुक्त हुनुहुन्छ, उहाँलाई केही पनि हुँदैन भन्ने कुरामा हामी सबै ढुक्क थियौं तर बालाई कोभिडले निकै सताउन सक्छ भनि हामी आत्तिएका थियौं। तर बाले पनि सोह्र दिनमै कोरोना संक्रमणलाई परास्त गर्नुभयो।
नव्वे वर्षको मानिसले कोरोनालाई परास्त गर्नु चानचाने कुरा थिएन। बालाई स्वास्थ्यसम्बन्धी अनेकौं समस्या थिए तै पनि कोभिडमुक्त हुनुभयो।
बाको एक्लो प्रयासले यो सम्भव भएको हुँदै होइन। बाको साथमा आफू संक्रमित हुँदा पनि रातदिन खटिन सक्ने छोरीजस्तै बुहारी हुनुहुन्थ्यो र त सम्भव भयो।
कोभिड संक्रमणको कारण जेष्ठ नागरिक, दीर्घरोगीको मृत्युदर बढ्दै गइरहेको छ। हामीले जोखिममा रहेका वर्गको उचित स्याहार सम्भार गर्न सक्यौं भने कोभिडको कारण बढ्दै गइरहेको मृत्युदरलाई कम गर्न सकिन्छ भन्ने उदाहरण बन्नु भएको छ मेरो बा र भाउजू।
बुहारी भएर पनि छोरीले जस्तै बाको उचित स्याहार गरी कोभिड संक्रमणमुक्त हुनुहुने दुवैलाई बधाई तथा शुभकामना।
(लेखक जिल्ला प्रशासन कार्यालय, सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी हुन्)