अब त बेला भयो नि ? ढिला भएन र ? कहिलेसम्म हो त यस्तो ? यी र यस्ता प्रश्नहरूको प्रहार ममाथि भैराख्छ।
मानौं, म यो समाजको एउटा जघन्य अपराधी हुँ। जसलाई समाजका मान्छेले जुनजुन दृष्टिकोणबाट जसरी प्रहार गरे पनि छुट छ।
म सधैं यस्ता प्रश्नभन्दा माथि उठ्न चाहन्थें। तर समाज, परिवार, आफन्त साथीहरू सबैले यस्तै प्रश्नले हैरान बनाउथे। समाजमा म आफ्नो हैसियत आम नारीहरूको भन्दा फरक बनाएर उभिन चाहन्थें।
विश्वमा कोरोना महामारी परालको आगोझैं देखिएर भुसको आगोमा परिणत भयो। लकडाउन सुरू भयो। यस्तै समयमा एकबिहान दाइले फोन गरेर भन्नुभयो, एउटा राम्रो परिवारबाट कुरा आएको छ। केटा इन्जिनियर छ, काठमाडौंमा घर, गाडी सबै छ। वैशाखमा विवाहको लागि तयारी रहनू।
यति भनेर फोन काटिदिनुभयो। मानौं, मेरो जिन्दगीको सम्पूर्ण निर्णय उहाँसँग मात्र छ। मानौं, म एउटा रोबर्टभन्दा फरक हुन सक्दिनँ।
मैले उहाँलाई आफ्नो निर्णय सुनाउन भ्याइनँ। उहाँले यसरी कुरा गर्नुभयो कि यो नै उहाँको निर्णय नै मेरो अन्तिम निर्णय हो। कुरा सुनेपछि लाग्यो, के म शोकेसमा सजाएको चुरा हुँ ?
दुई दिनपछि केटाको फोन आयो। उसले आफ्नो परिचय दिँदै मलाई भन्यो- तिमीसँग मेरो विवाहको कुरा चलिरहेको छ। खासमा म सोझी केटीको प्रतीक्षामा थिएँ। काठमाडौंमा एउटा घर छ। गाउँमा अर्को घर। महिनाको तीन चार जति कमाइ हुन्छ। खासमा म कार चढेर हिँड्छु। तिमीलाई रानी बनाएर राख्छु। कुनै दु:ख र अभाव हुने छैन।
मैले उसको आवाज टेप रेकर्डझैं सुनिरहें। केही बोल्न खोज्दै थिएँ। फोन काटियो। सायद उसले आफ्नो भन्ने कुरा जति भनेर राखेको होला ?
रानी बनाएर राख्छु को अर्थ के हो ? के यो समाजमा मेरो हैसियत गमलाको फूल जति मात्र हो त ? उसको महलमा मेरो स्थान के हो ? यस्तै प्रश्नहरूले मलाई दिनरात सताइरहे।
धेरै विचार गरेपछि बिहे नगर्ने जस्तो मनसाय प्रकट गरें। घरमा महाभारत मच्चियो। सामान्य लागेका कुराहरू पनि असामान्य हुँदै गए। पितृसत्ताको जरोमा उभिएको समाजले ममाथि विभिन्न प्रहार गर्न थाल्यो।
घरमा मेरो तर्क, विचार विवेकले काम गर्न छाड्यो। मैले नचाहँदा नचाहँदै अगाडिको डर लाग्दो बाटोमा पाइला चाल्न विवश भएँ।
लकडाउनमै धेरै प्रस्ताव आए। उनीहरूको परिवेश त फरक होला तर मानसिकता एउटै थियो।
हरेक ठाउँबाट कुरा आउँदा सबैको मानसिकता एउटै थियो। नेपाली समाजमा रहेको पुरूष मनोवृत्ति यस्तो रहेछ भन्ने निष्कर्षमा पुगें।
भदौ महिनाको अन्तिमतिर एक साँझ दाइको फोन आयो। उही प्रस्ताव दोहोरियो। मैले केही नसोची कुरा चलाउनुस् भन्दिएँ।
अर्को बिहान केटा हेर्न बोलाउनु भयो। चुपचाप लागेर गएँ। त्यतिबेला मलाई लाग्यो। मृत्यु दण्डको सजाय भोग्न जाँदैछु। विवाह मेरो रोजाइ थिएन। सम्झौता मात्रै थियो। मैले उसको रूप, कपडा, हैसियत, शारीरिक बनावट केही पनि नहेरी ओके भनिदिएँ।
सबैको ओठमा घाम उदाए। मेरो जिन्दगी अँध्यारोमा नमज्जासँग भासियो। त्यसपछिका दिनमा प्राय: उसको फोन आइरहथ्यो। अलिअलि कुरा हुन थाल्यो।
दैनिक हुने कुरामा ऊ आफ्नोदेखि परिवार समाजसम्मको इज्जतको कुरा गथ्र्योँ। बेलाबेलामा मेरो कपडादेखि मैले लगाउने गाजल सम्मको कमेन्ट गर्न भ्याउँथ्यो। ऊ बोलिरहन्थ्यो, म सुनिरहन्थें।
उसको बोली टेप रेकर्ड जस्तो लाग्थ्यो सुन्न मिल्थ्यो प्रतिक्रिया दिन मिल्दैनथ्यो। अपवादको रूपमा बोल्न खोजें भने तिमीले बोल्नु हुँदैन भन्थ्यो। हरेक निर्णय उसको मात्रै लागू हुन्थ्यो।
ऊ मलाई कपडादेखि लिपिष्टिकसम्म उसको रोजाइको होस् भन्ने चाहन्थ्यो।
त्यसपछि मैले सोचें, कहाँनेर छ छोरी मान्छेको स्वतन्त्रता ?
कहाँ छ हाम्रो हैसियत ? कहाँ छ हाम्रो योग्यताको कदर ?
कहाँ छ हामीलाई खुसी भएर बाँच्ने दिने परिवार र समाज ?
के हामीले समाजमा हौसियतपूर्ण नागरिक भएर बाँच्ने कुनै अधिकार छैन?
ऊ मेरो आवाज दबाउन चाहन्थ्यो म त्यही आवाजबाट आफूलाई स्थापित गर्न चाहन्थें।
म उसँग धेरै वादविवाद गर्न चाहनन्थें। ऊ बोल्थ्यो। उसकै जित होस् भनेर छोडिदिन्थें। म नबोलेपछि उसले मलाई कमजोर छ भन्ने सोचेर झन् प्रहार गर्न थाल्यो।
ऊ चाहँदो रहेछ। मेरो कलम बन्द होस्। मेरो आवाज दबियोस्। म लेखकबाट एउटी साधारण गृहणी बनूँ, उसको सेवा गरूँ, एउटी आमा, बुहारी र श्रीमतीभन्दा कहिल्यै पनि माथि उठ्न नसकूँ।
के सोच्छन् पुरूषले नारीहरूलाई के हामी उनीहरूका ‘कठपुतली’ मात्रै हौ त ?
हामीले धेरै वा कम बोलेमा उसको परिवारको इज्जत जान्छ त ? उसको भनाइको आशय अनुसार हामी दोस्रो दर्जाको नागरिक हौं।
यो समाजमा हाम्रो कुनै पनि अस्तित्व र स्थान छैन। सिर्फ कठपुतली हौं कठपुतली
एक दिन उसले फेरि मेसेज गरेर भन्यो, तिम्रो कोहीसँग फिजिकल रिलेसन भएको छ ?
म अवाक् भएँ। कस्तो प्रश्न हो उसको? उसले श्रीमती खोजिरहेको छ कि रिलेसन राख्ने साधन ? म केही बोलिनँ । ऊ आफैंले भन्यो, मेरो आजसम्म ४ जना केटीसँग फिजिकल रिलेसन भयो।
मलाई उसको रिलेसनको बारेमा बुझ्नु थिएन। आगामी दिन सुन्दर बनाउनु थियो। खास वास्तै गरिनँ।
त्यसपछिका दिनमा यस्तै कुराहरू उठिरहे। मलाई सुन्न समेत गाह्रो भयो।
धेरै पटक विचार गरेर एउटा निर्णयमा पुगें। जिन्दगी मेरो हो। सुख र दु:ख मैले भोग्नुपर्छ म कसैलाई पनि मेरो जिन्दगीको मजाकको पात्र हुन दिने छैन।
पहिलो प्राथमिकता म हुँ, अनि मात्रै मेरो पछाडि यो समाज र परिवारको स्थान आउँछ।