लामो समयको लागि घर छोडदै गरेको पहिलो पटक २०६२ साल थियो। राजधानी जाने। काठमाडौँ, राजा बस्ने ठाउँ। त्यो पनि मास्टर्स पढ्न। भर्खरै ब्याचलर पास गरेको बीस/एक्काइसको ठिटोलाई सगरमाथा चढेभन्दा कम्तिको थिएन त्यो पल।
बुढापाकाले भन्थे, ढुंगा चपाउने उमेर। कहिलेकाहीँ त हो कि जस्तै लाग्थ्यो। त्यो तातो रगतको जोश देखेर। बढो अजिवको हुँदो रहेछ। अरुले जे सोचून्, मतलब नहुने। आफ्नो पारै बेग्लै हुने। अरुलाई गन्ने त कुरै नआउने। त्यो दोष मेरो हो कि समयको भने झै। मनमा छुट्टै उत्साह थियो। उमंग थियो। जोश थियो।
संसार नै जिते झैँ लाग्ने। युद्धपछिको फौजी झैँ। मायामा जितेको प्रेमी झैँ। गद्गद् थियो मन। हर्षको सीमा थिएन। उमेर त्यसतै थियो। जे पनि मैले गर्न सक्छु जस्तो लाग्ने। म मात्र बलियो। म मात्र सक्षम। म मात्र आटिलो। आफैलाई राजा जस्तै लाग्ने।
राजा भनेका सबैभन्दा पहलवान हुन्छन्। राजाले जे पनि गर्न सक्छन्। यस्तै छाप छोडिएको थियो सानोमा हाम्रो दिमागमा। मलाई स्मरण छ। सायद चार/पाँच कक्षा पढ्ने समय हो। साथीहरू जम्मा भएर सामूहिक खेल खेल्ने समयमा होस वा अन्य कुनै खेल। जस्ले जित्छ, उहीँ राजा भनेर भनिन्थ्यो।
धेरै जस्तो केटाहरु भेट भएपछि कक फाइट हुन्थ्यो हाम्रो। कहिलेकाहीँ किक फाइट पनि हुन्थ्यो। धेरै पटक सर्टको सबै टाँक खसालेर घर आइन्थो। घरमा आमाले झण्डै दाँत झार्दिनु हुन्थ्यो। आमाको कुटाइबाट बच्न अनेक जुक्ति लगाउनु पर्थ्यो।
जुक्ति पनि कहिले पास त कहिले फेल हुन्थ्यो। साथीहरूले बाजि राख्थे, राजातिर अर्थात जित्नेतिर। त्यसैले जगडिएको थियो राजाबाद दिमागमा हाम्रो। म कसरी अपवाद हुन सक्थेँ र?
त्यही समाजको पात्र थिएँ म पनि। उहीँ परिवेशमा हुर्केको मान्छे। त्यही समाजकै उपज। त्यसैले आफूलाई राजा ठान्नु अस्वभाविक थिएन त्यो समयका लागि। अनेकन सपना बुन्दै थियो मन। काठमाडौँ गएर पढे राम्रो हुन्छ। काठमाडौँ भनेको सपनाको सहर हो। अवसरका ढोकाहरु प्रशस्त हुन्छन्।
नेपालभरिका मान्छेहरु बस्ने ठाउँ। धेरैसँग भेटघाट हुन्छ। चिनजान हुन्छ। काठमाडौँ पढ्नेहरू टाठा हुन्छन्। काठमाडौँ गएर नै कलाकार भइन्छ। नेता भइन्छ। गायक भइन्छ। सबै सम्भावनाको मुहान हो काठमाडौँ। यस्तै सुनेको थिएँ। म पनि अब टाठो हुन्छु। ठूलो मान्छे बन्छु। अरुभन्दा पृथक हुन्छु।
मनमा रहर जाग्दै थियो। यस्तो लाग्दै थियो, काठमाडौँ रहरै रहरको सागर हो। जहाँ म पौडी खेल्न जाँदैछु। जति पौडी खेले नि हुन्छ। माछा मारे पनि हुन्छ। मोति झिके पनि हुन्छ। मात्र कति डुब्न सकिन्छ। सबथोक आफैमा भर पर्ने थियो, कस्तो मान्छे बन्ने भनेर।
अनेकन कुरा बढ्यो। हर्ष बढ्यो मनमा। मनले सपनाका लड्डुहरु खान सुरु गर्यो। सपनाका सुन्दर भाग्य रेखाहरु कोर्दै थियो जीवन। यस्तै यस्तै लाग्थ्यो।
अर्को तर्फ पराइ घर जाँदै गर्दै गरेकी नव बेहुली झैँ थियो मन। धेरै कुरा सोच्दै थियो। खुल्दुली बढ्दै थियो। निद्रा पर्न छाड्दै थियो। यस्तो लाग्दै थियो कि नयाँ जीवनको सुरुआत हुँदैछ छिटै। घर अब माइती बन्दै थियो। गाउँका साथीभाइहरु छुट्दै थिए।
उनीहरु माइती गाउँका दाजुभाइ हुँदै थिए। दिनहूँ भेट हुने उनीहरुलाई अब भेट्न मेला पर्व कुर्न पर्ने भयो। साथीहरू मिलेर घाँस काट्न जाने। ग्वाला जाने ती दिनहरु कथा बन्दै थिए। कटुवा खोलाका माछाहरुले पनि मलाई सम्झन्छन् होला।
अशोक बाजेको बगैँचाका आँप अनि मौवाहरुले पनि मेरो बाटो हेर्नेछन्, खिमु कहिले आउँछ भनेर। बर्साद लाग्दै गर्दा शंख पिपलदेखि चमइका बाँधहरुले पनि मेरो अभाव महसुस गर्छन् होला। असारमा झारा गएको दिन आमाले दिएको दश रुपैयाँ नोट पनि साह्रै मिस हुनेछ।
त्यही दश रुपैयाँ पाउनको निम्ति कति पटक कलेज नगएर कुला झारा जान्थेँ म। कुला जाँदा डबल फाइदा हुन्थ्यो। कलेज जानु नपर्ने, उता पैसा नि आउने।
सबैभन्दा बढी मिस त क्याम्पसको क्यान्टिनको भाउजूले गर्थिन् कि क्या हो। बढी चिया समोसा खाने ग्रुप नै हाम्रो थियो। केही खाने मुडको नभएको दिनमा पनि भाउजूले खाने बनाउथिन्। त्यो भाउजूको कलालाई मान्नै पर्थ्यो। विचरा दाइ मात्र भएको भए जमानामै क्यान्टिन बेचेर जान्थे होला। धन्न भाउजूले टिकाइन्।
साह्रै मायालु अनि काउली पार्न जानेकी भाउजू। नखाने मान्छेलाई पनि खाइदिम् खाइदिम् गराइदिने। तिजको समयमा विभिन्न गाउँमा नाचो हेर्न जाने लहर अनि रहर हुन्थ्यो। गाउँका केटाहरु मिलेर बाइकमा कहिले कुन गाउँ त कहिले कुन बजार। रातभर कुद्नु हाम्रो काम हुन्थ्यो। पुलिसले गस्ती गरे झैँ।
कहिलेकाहीँ गाउँ-गाउँका केटाहरु बीचको लडाइँ पर्थ्यो। अर्काको गाउँमा गएर केटी जिस्काएको प्रमुख कारण हुन्थ्यो लडाइँको। अब ती गाउँका नानीहरु पनि तिज आयो भने पक्कै सम्झन्छन् होला। केटाहरू मध्ये एउटा काले केटा कता गयो होला भनेर। रातभर यगल नाच्दा पनि नथाक्ने हाम्रा साथीहरू थिए।
हामी तिजमा उनीहरुको नाचका पारखी थियौँ। तिज नारीहरुको चाडपर्व भने पनि पुरुषकै हावी हुन थाल्दै थियो। केटाकेटीसँगै नाचे बल्ल तिज आए झैँ हुने। तिजका गित पनि महिलाभन्दा पुरुषले धेरै गाउने। मोडल पनि पुरुष नै धेरै देखिने। बिरहका अनि चेलीहरुले दुख पाएका।
दाइभाइहरु दिदीबहिनी लिन गएका गीतहरु विस्तारै लोप हुँदै थियो। तिज कमर्सियल हुँदै थियो। हुन त हरेक चाडपर्वमा मौलिकता हराउदैछ। कला र संस्कृतीमा हल्का हल्का पश्चिमी पनको झझल्को देखिन थालेको छ। आफ्नोपन पाउन मुस्किल हुँदैछ।
आफ्नो घरमा टन्नै भए पनि अरुको घरको काक्रा, आँप र नासपाती चोरेर खाइन्थ्यो। ती दिनहरु हराउँदै थिए। थाहा थिएन कस्तो हुने हो आगामि दिन चर्या। राम्रो, नराम्रो, खुसी, दुखी? बहकिन्थ्यो मन एक तमास आफ्नै बेहोसीमा। आफ्नै गतिमा।
कस्तो हुने होला बसाइ र नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ साथीहरू? सबै नौलो। विस्तारै दिउँसै सपना देख्न पनि सुरु भयो। आमाले पकाएको जस्तो खान पाउने हो कि नाइ! कहिले घरभन्दा बाहिर नगएको मान्छे म। कहिले आफै पकाएर नखाएको मान्छे। अब एक्लै हुँदै थिएँ।
बढो जोडले बढ्दै थियो मुटुको धड्कन जस्तो कि भर्खरै सय मिटर छोटो दौड सकेर विश्राम गर्दै गरेको धावक जस्तो। आफूभन्दा अग्रज दाइ र दिदीहरु पनि प्रत्येक वर्ष त्यसरी नै काठमाडौँ पढ्न जान्थे। उनीहरु जाँदा त्यस्तो कुनै अनुभूति हुँदैनथ्यो। सामान्य प्रकृया जस्तो लाग्थ्यो। आफू जाँदाको बखत उधुम नै हुँदो रहेछ।
त्यतिकै भनेका होइन रहेछ बुढापाकाले- जसलाई पर्छ, उसलाई मात्र थाहा हुन्छ। त्यो मलाई पर्यो। सकस पर्दै थियो। ऐठन पर्दै थियो। शून्य। गतिहीन। सबथोक पर्यो एकैपटक। सबै कुरामा स्वतन्त्रता पाएर पनि केही गर्न नसके जस्तो। धेरै कुरा गुमाए झैँ हुँदै थियो।
जिम्मेवारी बढ्दै थियो। आफ्नो मालिक आफै बन्दै थिएँ। घर छोड्नु चानचुने कुरा होइन रहेछ जस्तो महसुस हुँदै थियो। कहिलेकाहीँ रिसमा बा र आमालाई घर छोड्छु भन्नु र साँच्चै छोड्न पर्दा आकाश पातलको फरक पर्दो रहेछ। आफैलाई जति अब्बल र बलियो ठाने पनि घर छोड्नु पर्दा कमजोर आभास हुँदो रहेछ।
त्यसैले भनिएको रहेछ उखान- घरमा त स्याल पनि बाघ हुन्छ। झन्-झन् काठमाडौँ जाने दिन नजिकिदै थियो, उति नै उकुसमुकुस हुँदै थियो। पढाइ सढाइ छोडीदियौं कि क्या हो, एक मनले सोच्न पनि भ्यायो। होइन, त्यति साह्रो काँतर पनि हुनु हुन्न। मनले मनलाई सम्झायो। जे हुन्छ राम्रोको लागि हुन्छ।
सबै कुरा सकारात्मक सोचले लिनु पर्छ। केही पाउन केही गुमाउन पर्छ। मन सम्झाउदै थियो निरन्तर। आखिर यथार्थलाई स्वीकार्नुभन्दा अरु विकल्प थिएन मेरो लागि। सपना देख्दादेख्दै काठमाडौँ जाने दिन आयो। २०६२ साल फागुन ४ गते रात्री बसमा ठूलो मान्छे बन्न रहर बोकेर काठमाडौँ हिडियो।