गत वर्ष डालसबाट ह्युस्टन जाँदै थिएँ। आधा बाटोमा पर्ने सुसन दाइको घरमा पुगेर थकान मार्दै गर्दा मोबाइलमा टिकटक डाउनलोड गरें अनि सुरू भयो, जीवनमा मेरो पनि टिकटक यात्रा।
सुसन दाइ काममा गएको मौका पारेर एउटा टिकटक बनाएँ। हाँस्य कलाकार केदार घिमिरे ( माग्ने बुढा ) को स्वरमा लिपसिङ मात्र गरेर बनाएको त्यो टिकटक भिडिओ फेसबुकमा शेयर गर्दै लेखें ‘सुझाव दिनुहोला।’
कमेन्टमा खास्सै सुझाव आउन पाएकै थिएन, तर आधी घन्टा नबित्दै नेपालबाट आमाको फोन आयो।
फोन उठाएँ , हेल्लो भन्न नपाउँदै आमाले भन्नुभयो, ‘को सँग झगडा गरिस् ? किन त्यसरी गाली गरेको ?’
मैले कुरा बुझ्न सकिनँ। आमालाई सोधें, ‘के भन्नुभएको ?’
‘कसलाई गाली गर्दै फेसबुकमा हालेको छस त?’ आमाले अघि अपलोड गरेको टिकटकको कुरा गर्नु भएको रहेछ।
मैले हाँस्दै भनें, ‘छ्या ! त्यो त त्यसै नक्कल गरेको। अरूकै बोलीमा ओठ मिलाको मात्र हो आमा। यसलाई टिकटक भन्छन्।’
आमा छक्क पर्दै भन्नु भो, ‘ओ हो ! मैले त कस्लाई गाली गरेछ भन्दै पिर मानेको। झगडा पर्यो कि भनेर कस्तो आत्तिएँ।’
मेरो पहिलो टिकटक थियो त्यो। पलङमा बसेर भित्तामा अड्याएको मोबाइलले खिचेको थिएँ। रहरै रहरमा टिकटक लत नै बनिसक्यो, बनाउने भन्दा हेर्दै रमाउने लत।
आजभोलि म भिडिओ बनाउनु भन्दा बढी हेर्न लालायित हुन्छु टिकटकमा। मलाई अरूका अभिनय हेर्दा निक्कै आनन्द मिल्छ।
मान्छेहरू अभिनय गर्छन् , गीत गाउँछन् अनि नाच्छन्। कतिले आफ्ना मनका बह पोख्छन् त कतिले रिस। कसै-कसैले आफूले जानेको सीप सिकाउँछन् त कसै-कसैले गाली। टिकटकबाटै विश्व देख्न सकिन्छ भन्ने मेरो मान्यता छ।
त्यसैले पनि होला, मैले टिकटकलाई एउटा मनोरन्जनको माध्यमका रूपमा मात्र लिएको छु। जति भिडिओ हेर्दै जान्छु, उति रमाउँदै। केही सिक्छु त केही जानकारी लिन्छु पनि। आफूसँग अभिनय गर्ने कला छैन, त्यसैले अरूकै कलामा रमाउँछु।
सामाजिक सञ्जालमा टिकटक एउटा सकारात्मक सञ्जाल हुँदाहुँदै पनि कतिले यसलाई नकारात्मक दृष्टिले मलजल गरिदिन्छन्।
अस्ति भर्खरै नेपाली ‘टिकटक स्टार’ निकिशा श्रेष्ठमाथि भएको दुर्व्यवहार यसको ज्वलन्त उदाहरण हो।
आफूसँग भएको खुबीलाई टिकटकमा प्रस्तुत गर्ने निकिशामाथि अपशब्द बोल्दै खिचिएको भिडिओ टिकटकमा अपलोड हुनु टिकटकको नकारात्मक प्रयोग नै मान्नु पर्दछ।
अझ केही अराजक युवाहरू पनि छन् टिकटकमा। जो असभ्य गाली र अश्लिल हर्कतकै कारण भाइरल पनि भएका छन्। केही त्यस्ता प्रयोगकर्ता छन् टिकटकभित्र जो फेक आइडी बनाएर कमेन्टमा आफ्नो हैसियत देखाउँछन्।
सकारात्मक सन्देशलाई मुखै छाडेर गाली गर्दै कमेन्ट लेख्ने, मीठो अभिनयलाई तुच्छ भाषा प्रयोग गरेर कमेन्ट गर्दिने अनि कसैको सुखमा डाहा गरेर कमेन्ट गर्दिनेहरू हरेकका भिडिओभित्र भेटिने कमेन्टहरू हुन्।
अपवादको रूपमा भेटिने केही यस्ता टिकटक युजरहरूबाहेक सकारात्मक सन्देश दिने र सकारात्मक कमेन्ट गर्नेहरूको ठूलै उपस्थिति देखिन्छ टिकटकतिर।
डाहा र घमण्डले भरिएका केही भाइरल टिकटक स्टारहरूलाई छाड्ने हो भने केही यस्ता भद्र युजरहरू पनि भेटिन्छन् टिकटकमा, जसका अभिनय अनि डान्सले समय कटेको पत्तै हुँदैन।
कहिले भातकाण्ड त कहिले तिलहरी काण्ड ल्याएर आपसमा लड्ने केही भाइरल टिकटकरहरूका अभिनयलाई बेवास्ता गरेर अरूका भिडिओ हेर्ने हो भने सहनशिलता पनि सिकाउँछ टिकटकले।
अमेरिकाका सुनचाँदी व्यवसायी भिआर दुलाल टिकटकभित्र सहनशिलताको गतिलै उदाहरण हुन्। उनी मलाई मनपर्ने ‘टिकटकर’ हुन्।
अपाच्य शब्दले गरिएका कमेन्ट हुन् या मुखै छाडेर उनका विषयमा बनाइएका भिडिओहरू हुन्, उनी सकारात्मक तवरले प्रस्तुत हुन्छन् अनि सकारात्मक शैलीमै जवाफ फर्काउँछन्।
यो उनको व्यवहार सामाजिक सञ्जालको सदुपयोग हो, दुरूपयोग गर्नेहरूलाई पनि सकारात्मक सन्देश दिँदै भिडिओ बनाउँछन् उनी।
टिकटक मनभित्रको कुरा पोख्ने र लुकेको प्रतिभा देखाउने ठाउँ हो।
टिकटकमा मैले फलो गरेका धेरै साथीहरूमध्ये एक जना हुनुहुन्छ सारिका भण्डारी पराजुली।
अमेरिकामा बस्ने टिकटक युजर सारिका पनि टिकटकलाई सकारात्मक तरिकाले प्रयोग गर्नु हुन्छ। म उहाँको फ्यान जस्तै भएको छु।
हुन त टिकटकलाई सारिकाले प्रयोग गरेजस्तै सकारात्मक शैलीमा प्रयोग गर्ने धेरै टिकटकरहरू हुनुहुन्छ तर सारिका भण्डारी पराजुली बेग्लै लाग्छ मलाई।
भद्र पहिरनमा सभ्य भाषामा बोल्दै होस् या संस्कार र परम्परालाई मनाउँदै होस्! उहाँ नेपाली मौलिकतालाई छाडनु हुँदैन।
सारिकाको टिकटक भिडिओ हेर्दा लाग्छ, यो एउटा आफैंमा रमाउने सञ्जाल हो! दुनियासँग लड्ने सञ्जाल होइन।
तर कसैको रहरमाथि कुण्ठाग्रस्त भएर आक्रामक बन्नु या कसैको रहरमाथि मजाक उडाउँदै कमेन्ट गर्नु सभ्यता होइन।
टिकटकले अभिनय सिकाउँछ, टिकटकले नेतृत्व सिकाउँछ, टिकटकले अनेक सकारात्मक सन्देश दिलाउँछ। तर पनि यसको दुरूपयोग किन ?
लेखको पहिलो पंक्तिमा मैले लेखेको आमाको कुरा यहाँनिर जोडदैछु । जसरी मैले हाँस्य कलाकार केदार घिमिरे (माग्ने बुढा )को स्वरमा भएको रिसको शब्दमा लिपसिङ गरे। त्यो मेरी आमालाई साँच्चिकै लाग्यो। अनि डराउनु भयो, आत्तिँदै मलाई फोनसम्म गर्नुभयो।
किनकी मेरी आमालाई टिकटकको बारेमा थाहा नै छैन। उहाँले मात्र भिडिओ हेर्नुभयो, भिडिओमा छोरो रिसाएको छ। कसैलाई गाईको अनुहार परेको गोरु भन्दै थर्काएको छ।
उहाँले बुझ्नु भएन, त्यसैले फोन गर्नु भयो। तर टिकटक एकाउन्ट खोलेर दैनिक भिडिओ अपलोड गर्नेहरूले त बुझेका छन् नि, यो एउटा अभिनय मात्र हो भन्ने कुरा।
तर पनि कमेन्टमा आएर एउटा फेकुले लेखिदिन्छ ‘तेरो अनुहार हेरेको छस् ?’ कसैकसैले त सिधै अपाच्य शब्द लेख्दै भन्छन् ‘ .....औकातमा बस मुला, नत्र मर्लास ...!’
अभिनय कसैको रहर हुन्छ, कसैको रहर गायन। कसैभित्र लुकेको कला हुन्छ त कसैको शब्द। यी सबै रहरहरू देखाउने एउटा मात्र प्लेटफर्म बनेको छ टिकटक।
तर यही टिकटकलाई गाली गर्ने थलो बनाउनेहरूको लामै लिष्ट छ हामीसँग। ती गाली गर्नेहरू यति असभ्य भएर प्रस्तुत भैदिन्छन् कि हरेक सकारात्मक सन्देश जाने भिडिओ होस् या अभिनय, सबैमा कमेन्ट आयो कि डराउँदै हेर्नुपर्छ।
मनले सोच्छ ‘मेरो भिडिओमा फलानाले कमेन्ट गर्यो, तर मुख छाडेर लेखेको त छैन कतै?’
घमण्डले भरिएका केही ठूला टिकटक स्टारहरू पनि छन्। जसलाई अधिकांश टिकटक युजरले मन पराउँदैनन्।
केही थान नेपाली भाइरल टिकटकरहरूका भिडिओ मलाई पनि मन पर्दैन। तर मन पर्दैन भन्दैमा उसको कमेन्ट सेक्सनमा गएर अपाच्य शब्द लेख्न सक्दिनँ।
बरु टिकटकमा भिडिओ हेर्दै गर्दा त्यस्ता घमण्डले भरिएकाहरूको भिडिओ आयो भने स्कोरल गर्दै हटाउँछु अनि मनमनै भन्छु ‘ह्या ! यसको त नहेर्ने। मनै पर्दैन।’
अपशब्द लेख्ने या छाडा बोल्नेहरूको कमेन्टमा गएर उस्तै छाडा शब्द लेख्नुको साटो ‘इग्नोर’ गर्न सिक्ने हो। या ब्लक गर्ने अप्सन टिकटकले दिएकै छ तर पनि आफैंलाई असभ्य बनाउने तरिकाले कसैको व्यक्तिगत जीवनीभित्र घुसेर लड्न तम्सिनु सामाजिक सञ्जालको सकारात्मक सदुपयोग पक्कै होइन।
टिकटकलाई प्रतिभा देखाउने थलोको रूपमा प्रयोग गरौं, लड्ने र छाडा बोल्ने थलोको रूपमा होइन।