मंसिरको महिना घरको बैठक कोठाको कुनामा रहेको टेबुल बिहे भोज, न्वारान पास्नी ब्रतबन्ध आदि इत्यादिका निम्तोको कार्डले भरिभराउ थिए।
कतै आमा त कतै बाबा अनि बाबा आमाले नभ्याएको ठाउँमा निम्तो मान्न म जान पर्ने भयो भन्दै बाबा मलाई मिति र समय याद गर्न भन्दै हुनुहुन्थ्यो।
म खासै भोजभतेरमा सामेल हुन रौस नलाग्ने मान्छे, करैले जानुपर्ने हुँदा ‘हस् हस्’ त्यही राख्नु कार्ड भन्दै अफिसतिर लागें।
साँझ खाना खाने बेला ‘नानी भोलि फलानाको फलानो ठाउँमा साँझ भोज छ, तिमी भोलि अलिक छिटो आऊ है कामबाट’ भन्दै आमा खाना पस्कँदै हुन्हुन्थ्यो।
म चाहिँ जसरी भएनि जान नपरे हुन्थ्यो भन्दै ‘बाबा हजुर भ्याउनु हुन्न र’भनी प्रश्न सोध्न नपाउँदै ‘मेरो अन्तै काम छ अनु भोलि तिमी नै जानु पर्छ’ भन्दै बाबा आफ्नो कोठातिर लाग्नुभयो।
चिसो सुरू भइसकेको हुँदा, बिहानपख पहिलोचोटि स्टार्ट हुन स्कुटर निकै गाह्रो मान्थ्यो।
म किक मार्दै त्यसका दुबै कान निमोठ्दै गर्दा आमाले माथि छतबाट के भन्दै हुनुहुन्थ्यो सुनिरहेकी थिइनँ।
आफ्नै सुरमा म उतै अफिस तिरबाट निम्तोमा सामेल भएर आउँछु है साँझ भन्दै निस्किएँ।
सधैंजसो सवा पाँच बजेतिर अफिसबाट निस्कने म त्यो दिन कामको चापले गर्दा पौने छ बजे बल्लतल्ल निस्कन पाएँ।
एक मन सोचे घर गएर कपडा बदलेर जाऊँ तर हैन यसै ढिलो भैसक्यो यतैबाट जान्छु भनी स्कुटर कुदायर आमाले भनेझैं फलानाको फलानो ठाउँमा रहेको भोजमा सामेल हुन पुगें।
हेलमेटले गर्दा बिग्रेको कपाल मिलाउँदै मिलाउँदै भित्र छिर्दै थिएँ, अनेकन रंग मिसिएको बत्ती घरि बल्ने त घरि बन्द हुने गरी बालिएको बत्तीको टकले मेरा आँखालाई एकछिन केही ठम्याउन नसक्ने जस्तो बनायो।
अनि अलकति छेउ लगाएर आँखालाई मिच्दै ठिक ठाउँमा ल्याउने कोशिस गरें र ल्याएँ पनि।
पूरै पार्टी हलभरि आँखा नचाए चिनेजस्तो कोही देखिन अनि भोजका आयोजक अंकल आन्टीसँग भेटघाट गरी एक साइडमा बसी घरि मोबाइल हेर्दै त घरि त्यहाँको माहोल नियाल्दै थिएँ।
यतिकैमा चिनेचिनेजस्तो अंकल आन्टी दिदी दाइहरू सेतो टिस्यु पेपरले गिलास छेकेर लिँदै मेरै नजिकतिर आएर बस्दै हुनहुन्थ्यो।
मसँग ङिच्च दाँत देखाएर हाँस्नुको विकल्प थिएन र त्यही नै गरें। त्यही हुल बीचबाट एक जना दिदी सोधै हुनुहुन्थ्यो - नानीलाई चिनिएन नि।
म आफ्नो परिचय दिने प्रयास गर्दै थिएँ।
मैले आफ्नो परिचय दिन नपाउँदै त्यही हुल बीचबाट एक जना अंकल बोली हाल्नु भो, ‘फलानो दाइको छोरी हैन नानी, कस्तो फोटोकपी गरेजस्तै रहेछ अनुहार’ भन्दै मलाई मैले भन्दा बढी चिनेझैं गरी छुट्टै परिचयपत्र नै बनाइदिनु भो।
म ‘हजुर हजुर’ भन्दै ङिच्च दाँत देखाउँदै पानीको गिलास तान्दै थिएँ।
यतिकैमा त्यही हुल बीचबाट आवाज आयो, ‘अहिलेको जमानामा पनि पानी मात्रै खानी नानी, जाडो बढ्दो छ हल्का फुल्का जिउ तताउने पानी पनि लिँदा हुन्छ नि’!
‘मलाई मन पर्दैन अंकल त्यसको बास्ना। यसैले मैले लिने गरेको छैन, हजुरहरू लिनु न म पानीमै ठिक छु’ भनी आफ्ना कुरा राखी सक्न नपाउँदै सबै जना आ-आफ्नै आधुनिकता र जमानाका परिभाषा दिन होडबाजी नै गरेजस्तो गरी एउटाले अर्काको कुरा काट्दै निकै ठूलो बहस नै भएझैं गरी चर्काचर्की गर्न थाल्नु भो।
त्यहाँको त्यो हुलको बहस नियाल्द नियाल्दै म योसम्म सोच्न बाध्य भएकी समाजमा सोच व्यवहार सबै चिज निकै परिवर्तन भैसकेको रहेछ।
आहा कति बुझकी अंकल आन्टी दिदी दाइहरू, यतिसम्मको आधुनिकताले मेरो समाजलाई घेरी सकेसी त अब परिवर्तनका लागि त्यति कठिन नहोला, यस्तै यस्तै ऊर्जाले भरिएका अनगिन्ती सोचहरू मेरो दिमाखमा एकपछि अर्को गर्दै नाच्दै थिएँ र त्यो खुसी म अनुहारमा नल्याइ कसरी बस्न सक्थें र! मुसुमुसु हाँस्दै खाना खाई म सबैसँग बिदा भै भोजबाट निस्किएर घरतिर लागें।
***
केही दिनको अन्तरालपछि मेरो भागमा परेको अर्को निम्तोको मिति आइहाल्यो त्यो दिन चाहिँ बिदा परेको हुँदा आमाको इच्छा बमोजिम नै मेरो सधैंको साधापनमा अलिकति रंग थपेर पुगें।
त्यहाँ चाहिँ पहिल्यै चिनेका एक दुई साथीहरू भेटिनु भयो र हामी महिनौं देखिका आफ्ना गतिविधि एका अर्कालाई सुनाउँदै हाँस्दै थियौं।
जन्ती आइपुग्ने बेला भो रे भन्दै सबै जन्ती बर्सिनेतिर र स्वागतमा लाग्नु भो, हामी चाहिँ अलिक पछि नै बसी जाडोको घाम ताप्दै रमाउँदै थियौं।
त्यहीनिर दुई चार जना अधबैंसे उमेरका अंकल आन्टी हुल बाधेर बसि गलल हाँस्दै हुनुहुन्थ्यो।
त्यो हुलको हाँसोले हामी सबैको ध्यान त्यतैतिर खिच्यो र यस्सो पुर्लुक्क हेर्दा त्यहाँमध्येको कुनै अनुहार अस्ति साँझ भेटेको अंकल, आन्टी, दिदीको थियो। जन्ती आइसकेको हुँदा बाजाको आवाजले खासै प्रष्ट आवाज सुनिएन तर यति कुरा चाहिँ मजाले सुनिएको थियो कि आज बिहे हुने बेहुली र उसको परिवारबारे कुरा गरिँदै थियो।
भनिँदै थियो, ‘के गरेका हुन् दाइले कान्छी छोरीको बिहे पहिले गर्दे र? जेठीमा केही समस्या रै’छ कि त? फेरि मागी विवाह भन्छन् किन ‘जात’ झरेर क्षेत्रीलाई दिएका हुन्? जमाना फेरियो भन्दैमा जे नि गरेर हुन्छ र चलिआएको चलनको त मर्यादा राख्नु पर्छ नि!, यी दाइलाई अब जेठी छोरी ‘बिकाउन’ गाह्रो हुन्छ क्यार?’
यी कुराले मेरो रगत भित्रैबाट तातेर आइसकेको थियो, त्यही हुलबीच गएर मुख भरिको जवाफ दिँदै ‘अस्तिको हजुरहरूको सोच परिवर्तन र आधुनिकताका कुरा जिउ तताउने पानी पिउन्जेल मात्र हुन्?’ भनी भनुँ जस्तो लाग्यो तर मलाई मेरो नैतिकताले कसैको बिहेमा गएर बहस खडा गर्ने गरी चर्काचर्की गर्न दिएन र म त्यहाँबाट यतिकै मनभरि अनगिन्ती रिसको थुप्रो र समाज प्रतिको मेरो हेराइ सही भएको सावितमा दुखी हुँदै मलिन अनुहारमा घरतिर लागें।
नेपाली समाजमा देखावटी ‘खोक्रो’ आधुनिकता रुलमलिएको छ, जसले खान र लाउनबाहेक अरू सबै कुरामा रोकावट राख्छ।
हिजो साँझ जमाना फेरिएको सोचमा छोरी समानकी केटीलाई चियर्स गरम नानी भन्दा बदलिएको मेरो समाज भोलिपल्ट दिउँसोमा दिदी दाइको भन्दा पहिले आफू खुसी भएको भाइ बहिनीको बिहे पचाउन सक्दैन। जात नहेरी एक मानिसले अर्को मानिससँग जोडेको सम्बन्ध स्वीकार्न सक्दैन।
उमेर भनेको अंकमा सीमित हुन्छ सोचाइ र मन मिल्नु जरुरी छ भनि उमेरले ठूली केटीसँग भएको विवाह स्वीकार्न सक्दैन।आफ्नो स्वतन्त्रताले बिहे नगरी आफूखुसी रहेको मानिसलाई अनेकन लान्छना लाउन छोड्दैन।
परिवारमाथि अनेकन प्रश्नवाचक चिन्ह लगाउन पछि पर्दैन अनि त्यही मेरो समाज भित्रका सामाजिक मान्छेहरू आफू जमाना अनुसार चलेको सोचमा गर्वले छाती फुलाइ दिउँसोको सभा समारोहमा भाषण दिँदै रातिको भोजमा चियर्स गर्दै आधा रातमा निदाएर भोलिपल्ट बिहान चोकको कुनै चिया पसलमा फलानाको घरको कुरा काट्न छोड्दैन!