अचेल गाउँहरु रित्तिदै गएका छन् र सहरहरु साँघुरिदै गएका छन्। गाउँमा प्रशस्त खेतबारी छन् तर खेती गर्ने मान्छे छैनन्। यता सहरमा छत मात्र छन् अनि कौसी खेती र गमला खेती गर्नेहरुको संख्या बाक्लिदै गएको छ।
ती सुनसान र उराठ हुँदै गएका गाउँहरुमा जसोतसो जीवन भर्ने काम उमेरले नेटो कटिसकेका वृद्ध बा-आमा वा हजुरबा हजुरआमाहरुले गरिरहेका छन्।
त्यस्ता गाउँहरुमा वर्षको एकचोटी दसैँ तिहारमा चहल-पहल हुन्छ। सहरमा पेशा व्यवसाय वा अध्ययन गरेर बसेकाहरु पनि दसैँमा एकपटक वृद्ध बा-आमा वा हजुरबा-हजुरआमाको हातबाट टीका थाप्न गाउँमा पुग्ने गर्छन्। फलस्वरुप गाउँमा चहल पहल हुन्छ।
कतिपय भने दसैँ मनाउनकै लागि पनि गाउँ जाने गर्छन् किनकी दसैँमा सहरभन्दा गाउँ रमाइलो हुन्छ। केटाकेटीहरु पनि दसैँ आएपछि गाउँ जान पाउने कुराले उत्साहित हुने गर्छन् र दिन गनेर बसेका हुन्छन्। यसरी वर्षमा एकपटक गाउँमा चहल हुन्छ अनि बाँकी दिनहरु फेरि उही सुनसान।
यद्यपि अचेल कतिपय दूर दराजका गाउँहरुमा त दसैँ तिहारमा पनि चहल पहल हुन छोडिसकेको छ। ती गाउँहरु पूरै निर्जन भइसकेका छन्। घरहरु रित्ता र खण्डहर जस्ता भएका छन् भने खेतबारी कतै बाँझो, जर्जर झाडी वा जंगलमा परिणत भइसकेका छन्।
गाउँको बसाई यसैपनि सजिलो हुँदैन, खेती पाती गर्नै पर्यो, वस्तुभाउ पाल्नै पर्यो अनि घाँस दाउरा, पानी पँधेरो, मेला पात पनि गर्नै पर्यो। यस्ता काम गर्न उमेरले असमर्थ हुँदै गएका वृद्ध वृद्धालाई एकातिर कठिन त हुने नै भयो भने अर्कोतिर स्वास्थ्य, शिक्षा, यातायात जस्ता पूर्वाधारहरुको अभावले पनि गाउँले जीवन आफैमा असहज हुन्छ।
जीवनयापनलाई सहज बनाउने हरप्रकारका उपायहरुको खोजि गर्नु मानवीय स्वभावै हो। तर गाउँमा जीवन यापन सहज बनाउने साधन र सेवा सुविधाको पहुँच नहुने भएकैले मानिस सहर केन्द्रित हुँदै गएका कारण गाउँ रित्तिदै र सहर साँघुरिदै गएको कुरा त जगजाहेरै छ।
अन्य रोजगारीका अवसरहरु प्रायः नगन्य हुने भएका कारण गाउँमा बस्नेहरुको मुख्य पेशा कृषि नै भएपनि परम्परागत रुपमा गरिने कृषिमा कृषकले नाफा त परको कुरा आफ्नो लगानी समेत उठाउन नसक्ने अवस्था विद्यमान छ। काम गर्ने कृषि मजदूरहरुको अभाव त अहिले गाउँघरको लागि पहिलो र जल्दो बल्दो मुख्य समस्या हो।
माथि नै भनिए जस्तै, अधिकांश युवाहरु कि विदेशतिर कि सहरतिर छन्। पछिल्ला दिनहरुमा व्यवसायिक कृषि तथा पशुपालनमा युवाहरुको विस्तारै आकर्षण बढ्दै गएका कारण थोरै आशाका किरणहरु गाउँघरतिर पनि देखिन थालेका छन् जुन एउटा शुभ संकेत हो। देश–विदेश पुगेर गाउँ फर्केका अनि अनुभवले खारिएका, सीपले सिंगारिएका र पढेलेखेका युवाहरु समेत व्यवसायिक कृषिकर्म तर्फ आकर्षित हुँदै जानु अत्यन्तै सह्रानीय पक्ष हो।
विश्वव्यापी कोरोना महामारीले अधिकांश अन्य व्यवासाय धरासायी भएको वर्तमान अवस्थामा त कृषिको महत्व झन् यसैपनि छर्लंग हुन पुगेको छ। स्वतस्फूर्त रुपमा आफै व्यवसायिक कृषिमा लागेका युवाहरुको उत्साहमा राज्यले उर्जा थप्ने काम गरेमा हाल थोरै देखा परेका आशाका किरणहरुले भोलि झल्मलाउँदो र सुन्दर बिहानी ल्याउनेमा शंका नरहला।
नत्र ती उत्साहित युवाहरु पनि कुहिरोको काग झैं अल्मलिन बेर छैन। नव युवाहरुको गाउँ प्रवेश त्यत्तिकै पनि आफैमा एउटा सकारात्मक पक्ष हुँदै हो, त्यसमाथि झन उनीहरु कृषिमा लगानी गर्छन् र व्यवसायिक कृषि कार्य सञ्चालन गर्छन् भने त सुनमा सुगन्ध नै हो भन्नुमा अत्युक्ति हुँदैन।
सर्सर्ती हेर्दा उनीहरुको लगानी र व्यवसाय नितान्त निजी व्यवसाय जस्तो देखिए पनि खासमा उनीहरुको व्यवसाय जोश, जाँगर र सीप भएका अरु थुप्रै युवाहरुको लागि न्यानो र हार्दिक आमन्त्रण पनि हो।
‘गाउँमा घरहरु टाढा हुन्छन् र मान्छेका मनहरु नजिक हुन्छन, सहरमा घरहरु नजिक हुन्छन् मान्छेका मनहरु टाढा हुन्छन्’ महाकवि देवकोटाले भने जस्तै गाउँहरु फेरि पहिला पहिलाका जस्तै हुनेछन्। उस्तै सौहार्दता, उस्तै हार्दिकता, उस्तै आत्मीयता र उस्तै सहभागिता।
हुन त गाउँमा यी कुराहरु अझैपनि बाँकी नभएका होइनन्। गाउँका मान्छेहरु गरिब भएपनि मनका धनी हुन्छन्, गाउँका मानिसहरु हेर्दा दुब्लो पातलो देखिन्छन् तर अर्काको होस्टेमा हैंसे गर्न कहिल्यै पछि पर्दैनन्।
कसैको घरमा बिहे व्रतबन्ध आदिमा पात टिप्न जाने, दूना टपरी बोता गाँस्न महिला दिदी बहिनीहरु आँगनभरी जम्मा हुने, कसार बटार्न जम्मा हुने, सत्यनारायणको पूजा गर्दा गाउँभरीका जम्मा हुने आदि यस्ता कयौं उदाहरणहरु छन् जसले गाउँको पहिचान र मौलिकतालाई जीवन्त राख्ने गर्दछ।
यस्ता मौलिकताहरु भएको गाउँमा विकासका लहरहरु पनि पुग्नु र मानिसहरुको चहल पहल पनि बढ्नु निकै खुसीको कुरा हो। भोलिका दिनमा गाउँ शब्दको उच्चारण गर्दा जाउँ शब्द पनि सँगै मिसिएर आउने हुन सक्छ अर्थात् ‘गाउँ जाउँ।’
गाउँमा उत्पादित वस्तुहरुको बजार त फेरि सहर नै हो। त्यसैले, ती वस्तुहरु सहरमा त पुर्याउनै पर्छ अनि मान्छेहरु भन्न थाल्नेछन् ‘सहर कमाउनका लागि, गाउँ रमाउनका लागि’।