कलेजको पहिलो दिन, मनमा एउटा छुट्टै उर्जा थियो। कलेजको गेटमा पुगेपछि पालेदाइले हाम्रो फ्याकल्टी तिर देखाएपछि म मेरो कक्षामा पुगेको थिएँ। ढिलो पुगेर होला पूरै प्याक भइसकेको कक्षामा अगाडिको एउटा बेन्चका दुई जना केटी थिए।
अरु सबै बेन्च प्याक भएको हुनाले बाध्यताले म त्यही बेन्चमा बस्नु पर्यो। कक्षामा एक दुई जना पहिलै चिनजान भए जसरी कुरा गरेका थिएँ तर अधिकांश मौन थिए। एकैछिनमा कालो कोटमा सजिएर सर आउनु भयो। गुड मर्निङ भनेपछि उठाएर नै एक-एक नाम सोध्न लाग्नु भयो। अनुष्का शर्माको छेउमा म बसेको रहेछु।
अनुष्का शर्मा त्यही केटी हो जो जिल्लास्तरीय वक्तित्वमा प्रथम भएर रेडियोले पटक-पटक नाम फुकेको थियो। पछि म यो कलेजमा पढ्ने थाहा पाएपछि साथीले फोन गरेर अनुष्का पनि त्यही पढ्दै छ रे भनेर खबर गरेको थियो। त्यही दिनपछि उसलाई देख्ने कौतुहल बढेको थियो। उसलाई एकचोटि देख्ने रहर थियो तर संयोगले आज सँगै बस्ने मौका मिलेको रहेछ।
एक दुई नबोलि नबोली दिन कटाउनु पर्यो। केही दिनपछि आफ्ना-आफ्ना ग्रुप बन्न थाले। मेरा ग्रुपमा शिव, विशाल, शुवास, किरण र चन्द्र परे। तर बेस्ट शिव हुन पुग्यो।
शिव र म लास्ट बेन्चर हौँ। शिव र अनुष्का स्कुल लेबल सँगै पढेका रे। अनुष्कालाई खुब मन पराउने तर भन्न सक्थेन रे। पटक पटक यही गुनासो पोख्ने गर्थ्यो। अनुष्कालाई लुकि लुकि हेर्न पाइयोस् तर उसले यो कुरा पत्ता नपाओस् भनेर उसले मलाई लास्टमा बस्न अनुरोध गर्यो। मैले पनि नकार्न सकिनँ।
शिव अलि कमेडियन थियो। सर क्लासमा आउन नपाउदै उसले युनिक नाम जुर्याउथ्यो र मलाई भनेर खित्त हाँस्थ्यो। अनि कपिको पानामा लेखेर विशालहरुको अघिल्लो बेन्चमा फाल्थ्यो। विशाल पनि के कम, उसले झन् चित्र पनि बनाइदिन्थ्यो र क्लासभर चिट रोटेट गराउथ्यो। सबै खित्केर हाँस्थे। सरले 'ह्वाइ आर यू लाफिङ?' भन्थे। अरु केही नभनी आफ्नै सुरमा पढाउन कसिन्थे।
साथी मिल्ने भएपछि दिन काट्न गाह्रो नहुने रहेछ। कलेजको रुटिन आएसी अलि कस्सिएर पढ्ने नत्र कहिले क्यान्टिन, कहिले पार्क गएर अनेक गफ गरेर बसिन्थ्यो। अरु बेला पढ्नेभन्दा पनि रमाइलो कसरी गर्ने भन्ने तिरै हामी फोकस हुन्थ्यौँ। कहिले काहीँ कलेज बंक पनि गर्थेउँ।
पिकनिकको बेला झनै रमाइलो हुन्थ्यो। मन परेको साथीको नाम जोडेर जिस्काउने, सँगै नचाउने, जाँदा सँगै जाने र सँगै फर्किने वातारण मिलाउन साथीहरु कस्सिन्थे। अलि यो दिन सबै जना रोमान्टिक हुने गर्थे। यसैगरी कलेजका दिनहरु कसरी बिते पत्तै भएन।
ओहो! कति छिटो फेयरवेल आइसकेछ।
फेयरवेल भनेपछि केटीहरु सपिङमा कता जाने भन्दै छलफल सरु गर्न थाले। केटाहरु भने सपिङभन्दा नि भोलि कसरी रमाइलो गर्ने भन्ने तिर गफिन थाल्यौँ।
फेयरवेल खास दु:ख र सुखको समिश्रण रहेछ। सुख यसमानेमा रहेछ कि उच्च शिक्षा र भविष्यका नयाँ प्लान सुरु हुँदा रहेछन्। दु:ख यो मानेमा हुँदो रहेछ कि सँगैका साथीसंगी छुट्नु पर्दो रहेछ।
फेयरवेलको दिन नबोल्ने साथीहरुसँग पनि बोल्न मन लाग्दो रहेछ। मन नपर्ने भन्ने त केही नभेटिदो रहेछ। सबैसँग पालो गरी गरी बोलेपछि एउटा ग्रुप फोटो खिचियो। अनि रोमान्टिक गीत बजाउदै खुट्टा दुख्नेगरी नाचियो। मन परेका सरहरुसँग सेल्फी लिएपछि हामी अन्तिम चोटि हाम्रो कक्षा तिर कक्षाको दर्शन गर्न गयौँ।
केटीहरु रुन थालिसकेका थिए, केटाहरु सबै मलिन अनुहारमा थियौँ। वर्षैपिच्छे गेट टुगेदर गर्ने, म्यासेन्जरमा एउटा ग्रुप बनाउने र सधैँ सबै ग्रुपमा बोल्ने, मिलेसम्म फोन गर्ने कोही पनि टाढा नहुने भन्दै हामीले छुटिने निर्णय गर्दा कठोर मन भएको मान्ने मेरो आँखामा समेत आँसु छचल्किएका थिए।
साथीहरु, समय परिवर्तनशील छ। परिस्थिति पनि सधैँ एकैनाशको नहुँदो रहेछ। आखिर जिन्दगी मिलन र विछोडको संयोजन नै त रहेछ। तर जहाँ हुन्छौँ, जस्तो परिस्थितिमा हुन्छौँ, सधैँ सबै खुसी हुनु है, मेरो शुभकामना।
'मिस यु अल अल्वेज।'