नेपालमा लैंगिक हिंसा विरुद्धका कदमहरु अब्बल अभियान, चर्को नारा र फड्को मार्न नसकिने कान्लोको रुपमा रहेका छन्। नाराले स्वर घन्काइरहेको हुन्छ। अभियानले धुम मच्चाइरहेको हुन्छ। ठूलो रकम बग्दै गर्दा उपलब्धी भने जमिनमुनिको तरुल बनिरहेको हुन्छ।
प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अन्तर्राष्ट्रिय अभियानका रुपमा विभिन्न कार्यक्रम गरी लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान विश्वभर मनाउने गरिन्छ। 'लैगिंक हिंसाको अन्त्यको प्रतिवद्धता: व्यक्ति, समाज र सबैको ऐक्यवद्धता' भन्ने राष्ट्रिय नाराका साथ यस वर्ष पनि देशभर विभिन्न कार्यक्रम गरी यो अभियान संचालन भइरहेको छ।
कुनै पनि व्यक्तिलाई उसको लिंगको आधारमा गरिने असमान र असहज व्यवहार नै लैंगिक हिंसा हो। हिंसाको चपेटामा जो कोही पनि पर्न सक्छ। नेपालमा पुरुषमाथि हुने हिंसा तुलनात्मक रुपमा निकै कम देखिन्छन्। पुरुषमाथि हुने हिंसा कम देखिएको र बढी भोगिएको विषय हो भन्ने बहस पनि सुरु भइसकेको छ। यद्यपि हालसम्म पनि नेपालमा लैंगिक हिंसालाई महिलामाथि हुने हिंसाको रुपमा नै बुझ्ने गरिन्छ।
हामीले परिवार, समाज ,राज्य, कानुन धर्म लगायतका पक्षहरुलाई महिला हिंसाका कारणहरुको रुपमा चित्रित गर्दै आएका छौँ। नेपालले लैंगिक हिंसाको विषयमा अन्तर्राष्ट्रिय स्तरमा प्रतिवद्धता जनाएको छ। समयानुकूल कानूनहरु संशोधन पनि भएका छन्। महिला हक हितको लागि काम गर्ने संघ संस्थाहरुको संख्या पनि उल्लेखनीय छ। स्थानीय सरकारहरुले समेत विभिन्न कार्य योजनाहरु बनाएकै छन्।
तथापि महिला हिंसाका घटनाहरु दिनानु दिन बढ्दै गइरहेका छन्। महिलामाथि हुने असमान व्यवहारमा आशातीत सुधार आउन सकेको छैन। अभियानहरु संचालन हुनु न त नौलो कुरा हो न त नराम्रो नै। तर समय-समयमा चलाइने यस्ता अभियानले बिंडमात्र तताउने तर ताप्के तताउन नसकेको देखिन्छ।
रीमा कुमारी (नाम परिवर्तन), उमेर १७ वर्ष।
राष्ट्रिय भिटामिन ए कार्यक्रममा दुई छोरीहरु च्यापेर लाइनमा उभिएकी एक किशोरी। १५ वर्षमै विवाह भयो। १७ वर्षमै दुई छोरीको आमा बनिन्। गुनासो गर्दै भन्छिन् 'छोरी त शत्रुरका पनि नहुन् बरै। आफूले पनि दुख पाइयो, यिनीहरुले पनि दुख पाउने भए।'
छोरा नजन्मदासम्म छोरी जन्माउने काम गरिरहनु पर्ने बाध्यता छ उनलाई। मेरो शरीर, मेरो अधिकार भन्ने कुरो न त उनलाई थाहा छ न थाहा पाउनुको कुनै अर्थ नै छ।
झुमा देवी (नाम परिवर्तन), उमेर २५ वर्ष।
गाउँमा संचालित स्थायी बन्ध्याकरण शिविरको लाभग्राही। घर पुगेर केही दिन आराम गर्छु भन्ने आँट उनमा छैन। उल्टै डर छ। घरमा यो कुरा थाहा हुने हो कि भन्ने। बन्ध्याकरण गरेर कमजोर भइन्छ भन्ने मात्र बुझेको छ उनको परिवारले। सबै जसो काम सम्हाल्ने जिम्मा उनैको हो। अतः स्वास्थ्य स्वयंसेविकाको सल्लाहमा उनले सुटुक्कै यो सेवा लिइन्।
स्वास्थ्यको सामान्य मापदण्ड अनुसार १५ दिन जति अराम चाहिने हो उनलाई। तर एक घन्टामै ज्यान थाक्ने गरी काममा खटिनै पर्छ उनलाई।
यी त केवल प्रतिनिधि पात्र मात्र हुन्। यसका अलावा दाइजोको नाममा कुटिने, छाउगोठमै बलात्कृत हुने, एसिड आक्रमणको शिकार बन्ने लगायतका विभिन्न तवरबाट चरम हिंसामा परेका महिलाहरुलाई यस्ता अभियानको बाछिटोसम्मले पनि छोला त?
पुष्प कुमार (नाम परिवर्तन), उमेर ४७ वर्ष। समाजसेवी।
उहाँ यस्ता अभियानहरु प्रति खासै सकारात्मक देखिनु हुँदैन। 'पहिले नै बोल्न सक्नेहरुलाई अनावश्यक चिच्याउन सक्ने भएका छन्। तर टिम्म परेका मुखहरु कहाँ खुल्न सकेका छन् र?'
तालिम, गोष्ठी, छलफल, अन्तरक्रिया, र्याली आदि नै यस्ता कार्यक्रमका मुख्य अस्त्र हुन्। यी कार्यक्रमहरु प्रायःजसो कर्मकाण्डी नै हुने गर्दछन्। पहिलो चरणमा विभिन्न स्रोतबाट पैसा जुटाउने काम गरिन्छ। गतिलो प्रतिवेदन तयार गरेसँगै अभियान सकिन्छ।
यस्ता अभियान अन्तर्गत संचालन हुने विविध कार्यक्रमहरुका आयोजक र श्रोत व्यक्तिहरु हरेक वर्ष एउटै हुन्छन्। यसलाई केही हदसम्म स्वभाविक मान्न सकिएला। तर अचम्म लाग्दो कुरो के छ भने कार्यक्रमकका सहभागीहरु समेत सधैं उही अनुहारहरु हुने गर्दछन्।
एक वर्गका सहभागी छन्- जो यस्ता अभियानका अम्मली नै बनेका छन्। तर वास्तविक पीडामा परेकाहरुले त्यसको गन्धसम्म पाउँदैनन्। सहभागीहरु चयनमा कुनै कसरत गरिदैंन। न त कुनै विश्लेषण नै।अक्सर पहिले नै केही जानेका बुझेका र अवसर पाएकाहरुलाई नै चयन गरिन्छ। ताकि शून्य अवस्थाबाट त्यो चेतनाको स्तरसम्म पुर्याइयो भनेर प्रचारबाजी गर्न सकियोस। अनि स्तरीय रिपोर्ट तयार गरी आफ्नो संस्था र अभियानको महिमा गाउन पाइयोस्।
ती कार्यक्रममा अतिथिको रुपमा बोल्नेहरु मध्ये अधिकांश जनप्रतिनिधि तिनै हुन्छन्, जसले केही रकममै बलात्कारका घटनाहरु गुपचुप पार्छन्। दाइजो छोरीलाई दिइएको उपहार हो भन्दै त्यसको पक्षमा वकालत गर्छन्। अनि छोरीको विवाहको लागि न्यूनतम उमेर २० वर्ष तोकिएकोमा कानुनको विरोध गर्छन्।
आयोजकहरु पैसा माग्ने अवसर ठान्छन्। स्रोत व्यत्तिहरु पैसो कमाउने फोरम। अनि सहभागीहरु तलतल मेटाउने माध्यम। नेताहरु बुभेर पनि बुझ पचाएर बोल्न पाइने मञ्च। अनि कसरी उपलब्धिमूलक हुन्छन् त अभियानहरु?
बिरुवालाई हुर्काउन जरामै पुग्ने गरी पानी हाल्नु पर्छ। पात र डाँठलाई पानीले पखालेर मात्र कहाँ हुन्छ र? अभियानहरु निरन्तर चलिरहने प्रकृया हुन्। गन्तब्य होइनन्।
अभियान अपिरहार्य छैन भन्ने पनि होइन। तर अभियान बालुवामा खनाएको पानी होइन, आवश्यकता अनुसार बिरुवामा हालिने अर्ग्यानिक मल बन्नुपर्छ। अभियानहरु झांगिदै गर्दा उपलब्धी अंकुरित हुनैपर्छ।