‘एक्सक्यूजमी सर ! यो सिट खाली होला?’
यो एउटा भद्र देखिने युवाको प्रश्न थियो।
‘हुनसक्छ’ चालकका सहयोगीतर्फ इंकित गर्दै उनैलाई सोध्नुस्। मेरो टाउकोले संकेत दिए।
म, मेरो कार्यक्षेत्र सिन्धुपाल्चोकतिर जाँदै थिएँ। बसमा म आफ्नै ध्यानमा बिहानको पत्रिका पढ्दै थिएँ। उही वर्षा सुरू भएसँगै बाढी पहिरो, भूकम्प पीडितका व्यथा, पुनर्निर्माणमा अझै पनि ढिलाइ, गरिबलाई सरकारको उपहार महङ्गी, भ्रष्टाचार र अनियमिततामा अझै उकालो लाग्दै, राजनीतिक दलभित्रको किचलो उस्तै, आन्दोलन चर्किंदै, माफियाहरूको चलखेल, बेरोजगारी र गरिबीले युवाहरू पलायन यस्तैयस्तै। समाचारहरू ऊर्जावान् भन्दा धेरै निराशाका मुखपत्र जस्ता थिए।
एकै छिनमा त्यही युवक मेरो सिटको छेउमा आए।
लामो सुस्केरो सुसाउँदै, दिनभरिको थकानलाई चौतारीमा आतिलो भारी विसाए जस्तै बसें।
सायद उनलाई केही भए पनि आराम मिलेको छ किनकी यति भएपछि आजको यात्रा सहज रूपमा नै अगाडि बढ्ला भन्नेमा।
मेरा केही छड्के नजरहरूले उनलाई नियालिरहेका थिए।
आफ्नो झोलालाई सम्बन्धित ठाउँमा राख्दै मेरा लागि उनले कहाँसम्म पुग्नुहुन्छ भन्ने प्रश्न राखे ?
मैले तुरुन्तै जवाफ फर्काउँदै चौतारासम्म भनें र त्यही प्रश्न उनलाई पनि राखें।
अह् म पनि त्यही प्रभावित जिल्लातिर नै हो।
उनको यो जवाफसँगै मेरो मनमा केही थप कौतुहलताहरूको सिर्जना भए। सोचें सायद यो मानिस कुनै गैरसरकारी संस्थामा जिल्लातिर कार्यरत छ। सोहीअनुरूप मेलै फेरि सोधें। कुनै संस्थामा आवद्ध हुनुहुन्छ? मलाई उसको पेशाका बारेमा जान्ने उत्सुकता जाग्यो।
झ्यालतिर हेर्दै केही समय उ मौन रह्यो बसभरिका यात्रुहरू आआफ्नै ध्यानमा खलबल गरिरहेका थिए।
कन्डक्टर भाइले चौतारा...चौतारा...चौतारा ननस्टप भन्दै जोर जोरले चिच्याएका थिए। म भने उसको आवाजको फर्खाइमा थिएँ।
केही समयको मौनतापछि उनले आफ्नो तीतो यथार्थलाई भावुक हुँदै सुनाउँदै गए। भोटेकोशी बगेजस्तै उनी एकोहोरो बगिरहे तिनै तीता र बगेका आँसुका पलहरूको पीडाका पोको बिसाउँदै। चिरा चिरा भएका मनहरू,आफन्तको वियोग सहनै नसकिने अतितका पलहरू सम्झँदै आँसुका ढिकाहरू पुछेका थिए उनले।
सायद यति धेरै पीडाका कुराहरू मलाई सुनाउनु पर्ने कुनै जरुरी थिएन किनकी म पनि नितान्त त्यस्तो सुनिदिने कुनै निकाय थिइनँ।
एउटा संयोग नै भन्नु पर्छ। परियोजनाका सिलसिलामा चौताराका लागि मेरो पन्ध्रौँ यात्रा थियो। म एक्लै पनि थिए। मलाई पनि एउटा साथी चाहिएको थियो यात्राभरि बोल्दै समय बिताउन तर मलाई यो समय उसका भावुक कुराले नि:शब्द बनायो।
उसको रहस्य खुल्दै जाँदा थाहा भयो कि उसले आफ्नो अध्ययनलाई माथिल्लो तहको डिग्रीसम्म पुर्याएर पनि बाध्यताले घरको आर्थिक अवस्था, भूकम्पको क्षति, पढ्दा लागेको ऋण स्वदेशमा रोजगारको कम अवसरले अरबतिरको भिसाको खोजीमा रहेछ।
मलाई धेरै दु:ख लाग्यो उसको अवस्था देखेर मैले कुनै आश्वासन दिन सकिनँ स्वदेशकै रोजगारीका लागि किनकी यहाँ उनीजस्तै धेरै युवा यस्तै अवस्थामा बाँचिरहेका छन्।
यात्रा रहेछ जिन्दगी, आज यहाँ भोलि कहाँ पुग्ने हो कुनै निश्चित नहुने रहेछ। उनीसँग छुटेपछि मेरो मन राम्रोसँग खुल्न सकेन। मनको स्वाद अमिलो भई नै रह्यो। दुई दिनको काम सकाएर म पुनः काठमाडौं फर्किएँ।
साँझपख म आफ्नो डेरामा आइपुगें। त्यस दिन धेरै थकान लागेको थियो कुनै कुरा सोच्न सकिनँ। मेरा आँखाले पछिल्लो समय देखेका ती दृश्यहरू र सुनेका वेदनाहरू मेरो मानसपटलमा नदीका घुमाउरा छालजस्तै घुमेकाथिए। यतिकैमा निदाएछु।
एकाबिहानै टकटक आवाजले मेरो निद्रा खुल्यो।
बाहिर कसैले दाइ भन्दै बोलाएको सुनें।
अलि आवाज फरक जस्तो लाग्यो र कौतुहलताका साथ ढोका खोल्दा मेरो गाउँकै भाइ पो रहेछ।
वडो आदर्शले दाइ नमस्कार भन्यो।
नमस्कार तुरून्तै फर्काएँ र प्रफुल्ताका साथ भित्र आउन भनें। आफ्नो गाउँले भेट्दा कसलाई पो खुसी लाग्दैन होला र ?
दाइ सुत्नु भएको रहेछ डिस्टर्ब गरें। उसले असहजताका साथ भन्यो।
अहो तिमी आउदा पनि यस्तो हुन्छ त भाइ ? तर सधैं खबर गरेर आउथ्यौ आज अचानक आयौ नि? मेलै प्रश्नको बिटो मार्न नपाउँदै उसले भन्यो।
आज यसै बानेश्वरतिर आएको थिए अनि दाइलाई पनि भटेर जाऊँ न यहाँ आएको बेला भनेर छिरेको नि!
(एकै छिन है भन्दै म बाथरूमतिर छिरे)
म आउँदा, उसले एउटा पत्रिका लिएर आएको रहेछ त्यही पढेर बसेको थियो। मैले कालो चिया पनि बनाएर ल्याएँ। उसलाई दिँदै ल भन के छ तिम्रो खबर? सोधें।
के हुनु र दाइ काठमाडौंको हालत यस्तै त हो नि। दिनको सुरूआती बिहानी भए पनि उसको जीवनमा कुनै सुनौला किरण देखिएका थिएनन् केवल नैराश्यताले उच्चारण गरेको थियो यति शब्द पनि त्यो भाइले।
किन निरास देखिन्छौ नि भाइ ? मैले भने,
कालो मडारिएको अनुहार अलि खोप्टो परेर हातमा चिया समाउँदै उसले भन्न सुरू गर्यो यसरी।
हेर्नुस दाइ दश वर्षदेखि म यो सहरको छायामा निरन्तर दौडिरहेको छु। कुनै सार्थक गन्तव्यबिना दौडिएको घोडाजस्तै।
असफलताका कथाहरू यहाँ कस्ले नै पो लेख्छ र ? एकाबिहानै भाले बासेसँगै सुनौलो सपना बोकेर मेरो यात्रा राजधानीको लागि तय भएको थियो। धेरै लक्ष्यहरूको आतिलो झोला बोकेर आँधिखोला तरेको थिएँ, म पनि त्यही दश वर्ष पहिले।
उकाली ओराली गर्दा बगेका पसिनाहरू पनि राजधानीकै झिलिमिली र सुनौला कल्पनाहरूले ओभानो बनाउँथे।
आमाबुवाले दिनुभएको आशीर्वादलाई दिमाखमा बडो स्थानपूर्वक राखेको थिएँ। डिग्री पढेर फर्कनु। पढेर ठूलो मानिस हुने इच्छा कसलाई हुँदैन होला र ? जब मानिस एउटा संघर्षको पछि उचाइमा पुग्दछ। विभिन्न परिवेशहरूले माकुराको जालोजस्तै बाँधेर राख्दो रहेछ। कतै फुत्किएर सुरक्षित गन्तव्यमा निस्कन गाह्रो हुने गरी।
डिग्री पनि सकियो। रोजगारीको लागि विभिन्न ठाउँमा पुगेको छु। कही प्रतिशतमा कम हुन्छ। कतै भने अनुभव र अदृश्य रूपमा आफ्नो मान्छे विनाको पहुँच।
आफ्नै तस्वीर र नाम भएको जस्तो कागजी एउटा घोस्टो बोकेर धेरै ठाउँमा डिग्रीका गफमात्र दिँदै हिँड्दाका दिनहरू त जेनतेन बितिरहेका हुन्छन्। जब बिहान र बेलुकी पर्दछ नि हात र मुख जोड्ने उपायका लागि भने आफ्नै शिरमा हात राखेर भोलिदेखि बेल्चा पनि लगाउँछु भन्नेसम्म सोच्नु पर्ने रहेछ।
यो सहरको जालोले कही पनि बाँकी राख्दो रहेनछ। यस्ता कथाहरू प्रशस्त छन् कि नितान्त फरक रहर र व्यथा बेग्लै बेग्लै भएको यो रङ्गहीनसहरमा।
पहाडको टुप्पोमा पुग्न धेरै सिँढीहरू चढ्नु पर्छ। तर यी खुट्किलाहरू यति अग्ला छन् कि पटक पटक त्यही मानिसलाई परीक्षा लिइरहेका हुन्छन्।
धेरै ओझिलो भार भोकेर पुगेको थियो सिसिपस पनि पहाडको टुप्पोमा तर उसलाई त्यो क्षण खुसीको सीमा धेरै समय रहन सकेन सँगै अर्को दु:ख पनि सिर्जना भयो।
हो, त्यही सिसिपसजस्तै छन् आजका युवाहरू यो डिग्री पास गरपछि जीवनको व्यवहारीक पक्षमा।
समस्याहरूले पालो कुरेर बस्दैनन् एकै पटक आउँछन् नि एकछाक माड र तिउन जोड्न पनि पहाड नै फोड्नजस्तै गाह्रो भएको पीडा त्यही सिसिपसलाई बाहेक कसलाई थाहा होला र ?
हजारौं युवाहरू छन् यही वाक्य लिएर यो सहरका कुनाकन्तरा डुली हिँड्न। भर्खर विश्वविद्यालयबाट डिग्री सकेको छु मलाई यो तह यति आतिलो भएको छ कि कतै यसलाई यो सहरमा बिसाउन सकेको छैन न त यो पोको बोकेर गाउँ नै फर्किन सकिरहेछु ।
मानिसका आशा र अपेक्षाहरू कहिले पनि साना र कमजोर हुँदा रहेनछन्। कर्म पछिको फल आशा गर्नु हरेक मानिसको प्रकृति हुन्छ।
मानिसको यस्ता प्रकृतिका कारण त हरेक दिनको जाउलोको जोहो गर्नका हरदम लागि पर्दछन्।
भाइले भन्यो – देशको माया मुटुमा राखेर, यहाँबाट म मेरो डिग्री बोकेर त्यही जाउलोको जोहोको लागि परदेशिएको छु।
मन खिन्न भयो। म नि:शव्द भएँ। तिमी जाऊ भन्न पनि सकिन। तिमी नजाऊ भनेर रोक्न पनि सकिनँ।
आफ्नै अगाडिबाट पलायन भएर गएका डिग्रीहरूको पीडा अत्यन्तै असहज थियो। उनीहरूले विदेशी भूमिमा गर्नुपरेको दु:ख अझै ह्दयविदारक थिए। हजार हन्डर खाएका उनीहरू स्वदेशमा समृद्ध नेपाल निर्माणका लागि चाहिएका एक एक इँट्टा थिए। तिनको मूल्य बुझिदिने को हुन सक्छ ?