समय परिवर्तनशील छ। आज भएका यी भौतिक वस्तुहरू भोलि नरहन पनि सक्छन्। आज हामीले देखेको सत्य भोलि झूटो हुन सक्छ। परिवर्तित समयअनुसार ऋतुहरू पनि आफ्नै क्रमले चलेका हुन्छन्। बितेको समय फेरि फिर्ता नआए पनि ऋतुहरू त घुमिफिरी आइरहन्छन् नि।
जमाना पनि फेरिएको छ, हिजो र आजमा अझ भनौं न पहिले र अहिलेमा धेरै फरक छ।
मेरी प्रिय,तिमीसँग मैले गरेको प्रेम सम्बन्ध यो जन्म त के अरु सात जुनिसम्म पनि पर्खिरहनेछु ! तिमी र म मिलेर गरेको पवित्र प्रेमलाई मानिसहरू विवाह नामको सम्झौतामा जबरजस्ती धकेल्ने षड्यन्त्र गरिरहेका छन्।
दिनैपिच्छे आउने ती प्रेमिल लगन अझ भनौं न विवाहको लगनै लगन भएको महिना... मंसिर महिना!
दुई नवल मुटुहरूलाई जबरजस्ती एक बनाउने कोशिस, हाय रे मंसिर महिना! आफैंमा कति निष्ठुर या आफैंमा कत्ति जाति,खै... मंसिर महिना!
ए मंसिर महिना, गुमाउनेहरूले त तिम्रो अस्तित्वलाई नै ब्रहमानालबाट बगाइसकेछन्।
सायद त्यसैले होला आजकाल हरेक प्रेमहरू त्यही बागमती नदीको पानीजस्तै धमिलो बगिरहेछन्!
हिजोआजको यो समयले जताएका यी स्वार्थी प्रेम भन्दा त मलाई तिमीसँग लगाएको त्यो एकतर्फी प्रेम नै मन पर्दछ प्रिय! ए सोच बदल्नुपर्छ भन्दै हिँडेका मान्छेहरू हो तिमीहरूले किन जबरजस्ती प्रेमको परिभाषा फेर्ने कोशिस गरिरहेछौ। अथवा भनौं न प्रेमको अन्त्य नै विवाह नामको सम्झौता हो भन्ने भ्रम फैलाइरहेछौ हो ?
तिमीहरूको भाषामा भन्नुपर्दा त मैले मेरी उनीसँग प्रेम नै गरेको रहेनछु त! खै कसरी बुझाऊँ यो नौटंकी समाजलाई कि हरेक प्रेम सम्बन्ध वैवाहिक जीवनमा परिणत हुनुमात्र पनि साँचो होइन भनेर!
सधैं-सधैं साथमा रहनुलाई मात्र प्रेमको संज्ञा दिने ए समाज मैले मेरी उनीसँगको साथलाई त टाढाबाट भए पनि निभाएको थिएँ ! साथ रहनु या नरहनु अझ भनौं न ५/१० वर्ष साथमा लगाएको माया सम्बन्ध तोडिँदैमा सकियो भन्नु गलत हुँदैन र ?
प्रेमले त सँगै हुने साथमात्र नभएर न्यानो सामीप्य खोज्दछ! १/२ वर्ष टाढा हुँदैमा माया नै थिएन भन्ने पनि त हुँदैन होला नि! प्रेमको त न कुनै आयु हुन्छ न कुनै सुरूआत!
सुरूआत नै नहुने प्रेमको अन्त्य त्यति सजिलै कहाँ हुन्छ र!
मलाई थाहा छ मैले कुनै भ्रममा वा सपनीमा प्रेम गरेको होइन! तिम्रो रूप,चाल-ढाल, नजर, धन-सम्पत्ति आदि-इत्यादि भौतिक वस्तुहरूसँग त मैले कहिल्यै प्रेम नै गरिन्।
प्रेम भयो त केवल तिम्रो मनसँग त्यो पनि पूरा आँखा खोलेर दिनकै विपनीमा।
आजको समयले प्रेमको परिभाषा बदलेर विवाह नामको सम्झौतामा पुर्याएको होला तर मेरो विश्वास र मैले तिमीसँग गरेको प्रेम।
तिमी साथ रहनु या नरहनु त्यो त अर्कै भाग्यको खेल हो तर तिमी मेरो यादमा त सधैं रहिरहन्छ्यौ नि।
मलाई कहिलेकाहीँ डर पनि लाग्दछ कि मैले कतै तिमीसँग प्रेम नै गर्न पो सकिनँ कि!
प्रेम त निस्वार्थ भावमा बहन्छ नि तर मैले तिमीसँगबाट पनि प्रेमकै अपेक्षा गरेँ ! तिमीसँगको सुख दुःखमा साथको लेनदेन खोजें अझ भनौं न तिम्रो अंगालोमा बाँधिएर प्रेमिल चुम्बन गर्दै हरेक सुख दुःख साट्ने न्यानो सामीप्य खोजें।
तिमीसँग बिताएका अविस्मरणीय पलहरू, तिम्रो न्यानो अंगालोको सामिप्य, तिम्रो काखमा राखेको मेरो शिर, तिमीलाई मन पर्ने सबै वस्तुहरू मेरा लागि पनि उत्तिकै महत्वपूर्ण बनें।
तिम्रा आफ्ना इष्टमित्रहरू मेरा लागि पनि आफ्नै बने त तिम्रा शत्रुहरू मेरा पनि दुश्मन नै बनें ! खै किन होला कुन्नी ?
आज म तिमीसँग मेरो प्रेमको हक वा बदला केही माग्ने पक्षमा छैन प्रिय! लाग्दछ कतै मैले नै तिमीसँगको प्रेमलाई जताउन सकिनँ होला ! हरेक पटक मनमा माया लिएर पनि तिम्रो सामु स्वार्थी आशा देखाउन पनि सकिनँ होला !
मेरो तिमीसँग माया बसेको हो भन्ने कुनै प्रमाण त छैन प्रिय यति बेला मसँग। न त कुनै प्रेम-पत्रहरू,न त केही एसएमएस वा त न कुनै राता गुलाबहरू! हिजो आज त मैले आफूले आफैंलाई विश्वास नि दिलाउन सकेको छैन यो प्रेममा।
खै कसरी-कसरी मैले मेरा बाँकी सपना तिमीसँगै पो सजाएको रहेछु!
प्रेमको महानता त यादहरूको साहाराले जिउनु हो। प्रेमिलका विश्वास त समर्पण र त्याग हुन्। एक-आपसका ती चाहना हुन्।
अझै भनौं न प्रेम त हाम्रा मुस्कुराउने मानसिक भावना पो हुन्!
सायद मैले बुझेको प्रेम वास्तविकता भन्दा धेरै टाढा, आफैंसँग हारेर पनि रमाएरै जिउन सक्ने त्यो स्वार्थ भन्दा धेरै पर पो लुकेको छ कि!
प्रेममा विवाह आवश्यक छैन तर विवाहमा प्रेम हुनैपर्छ।
तिमी जहाँ भए पनि खुसी रहनु है...!!!
(दिनैपिच्छे आउने ती प्रेमिल लगन अझ भनौं न विवाहको लगनै लगन भएको महिना। मंसिर महिना। दुई वटा नवल मुटुहरूलाई जबरजस्ती एक बनाउने कोशिस, हाय रे मंसिर महिना! आफैंमा कति निष्ठुर या आफैंमा कत्ति जाति,खै... मंसिर महिना !)