सानी हुँदा आफू छोरी भएर जन्मन पाएकोमा मलाई निकै गर्व थियो। मलाई लाग्थ्यो मैले पहिलो जन्ममा पक्कै पनि ठूलै धर्म गरेकी रहिछु र यो जन्ममा छोरी भएर जन्मने सौभाग्य पाएँ।
दाजु भाइहरूले बुवा आमालाई खुट्टामा ढोग्दा दाजुभाइ मात्र हैन बुवा आमा पनि मेरा पाउमा नतमस्तक हुन बाध्य हुनुहुन्थ्यो।
मेरो सम्पूर्ण परिवार मेरो पाउमा झुक्थ्यो। कति भाग्यमानी म? त्यतिमात्र हैन घरमा या टोलमा कतै पूजा हुन थाल्यो भने पवित्रताको प्रतीक कन्या भनेर मलाई लगिन्थ्यो, टीका लगाएर पैसा दिइन्थ्यो।
हाम्रो समाजले कति इज्जत र सम्मान दिएको रहेछ छोरीलाई भनेर म भित्रभित्र फुरुङ्ग पर्थें।
औंसी, पूर्णिमा, एकादशीहरूमा मैले टीका लगाएर अलि अलि पैसा पाउँथें, दाजुभाइको अगाडि मेरो अर्कै फूर्ति हुन्थ्यो, उनीहरूले मलाई अमिर देख्थे र मेरो इर्ष्या गर्थे।
छोरी हुनुको मजा नै बेग्लै थियो। त्यो बेला भगवानले मलाई अर्को जुनीमा के भएर जन्म चाहन्छौ भनेर सोधेको भए मैले सायद हजार जुनीसम्म पनि छोरी नै बनेर जन्मन चाहन्छु भन्थें होला।
छोरी भएकोले मैले नङ पालिसदेखि अनेक थरीका मेकअप गरेर नाना थरीका लुगा कहिले फ्रक, कहिले स्कर्ट लगाउन पाउँथें।
छोरामा त्यो कहाँ पाउनु? लगाए पनि, नलगाए पनि त्यही सर्ट र पाइन्ट मात्रै त हो।
मलाई छोरी मान्छे भएर दुवै हातमा लड्डु पाएजस्तो लाग्थ्यो।
मेरो बाल्यकाल दाजु र भाइसँग खेलेर बित्यो। उनीहरूसँगै खेल्दा खेल्दा मेरो स्वभाव पनि केटाहरूको जस्तै हुन थालिसकेको थियो।
उनीहरूको नक्कल गर्दै पछिपछि लाग्दै म पनि उनीहरूजस्तै हुन थालेकी थिएँ।
केटाहरूको खेल फरक हुन्थ्यो। अहिले जस्तो मोबाइल पाए केही नचाहिने जमाना थिएन। अझ गाउँघरमा त उफ्रने ठाउँ पनि प्रशस्त भएकोले बाहिर नै खेलेर हामी हुर्कियौं।
तर त्यो क्रम धेरै समयसम्म चल्न सकेन किनकि म छोरी थिएँ। मलाई सम्मान, इज्जत, पैसा दिएको, मेरो पाउमा नतमस्तक भएको त ‘बली’ दिनु भन्दा पहिले बोकालाई देखाएको हरियो घाँसजस्तो मात्र रहेछ।
हो, म पनि समाजको ‘बली’ चढ्नको लागि तयार गरिँदै थिएँ। त्यसैले त्यो खुसी ममा धेरै समयसम्म टिक्न पाएन। जब म ठूली हुँदै गएँ समाजका छोरीप्रति गरिने प्रहारहरू ममाथि पनि गरिन सुरू भए।
‘छोरी मान्छे भएर अब तँलाई दाजु भाइको पछिपछि लखरलखर गरेर हिँड्न सुहाउँदैन।’
‘अब तैंले घरधन्दा सिक्नु पर्छ।’
‘यति ठूली हुँदासम्म पनि केही नगर्दा वरपरकाले के भन्लान्?’
तर पनि त्यस्ता अर्तिउपदेश सुन्दा पनि मलाई खासै फरक परेको थिएन। ‘हजुरहरू भन्दै गर्नु म आफ्नो बाटो हिँड्दै जान्छु जस्तो लागिरहन्थ्यो। एक कानले सुन्थें अर्को कानले उडाइदिन्थें।
मेरो सजिलो प्रश्न थियो ‘दाजु भाइले चाहिँ जे गर्दा पनि हुने तर म चाहिँ?’
तर अलि ठूली भएपछि मेरो शरीरमा आएको परिवर्तनले मलाई पछाडि सर्न बाध्य बनायो।
हो, म फरक रहिछु भन्ने थाहा भयो। लघुताभाष र लाज अनि शारीरिक र मानसिक पीडाले जकड्यो। अरू सबै कुरामा मैले केटाहरूलाई जित्न सक्ने आँट भए पनि मैले प्रकृतिको नियमलाई चाहिँ जित्न सकिनँ।
कसैले अब तँ रजस्वला हुन्छेस्, तेरो बिहे हुन्छ,यो घर छोडेर जान्छेस् भन्दा मलाई त्यही हिर्काइदिऊँ जस्तो हुन्थ्यो। तर त्यो अवस्थाबाट जति भाग्न खोजें त्यो दौडमा मैले हारें।
मैले प्रकृतिसँग आत्मसमर्पण गर्नै पर्यो। म नछुने भएँ। मलाई थाहा थिएन कि रजस्वलाको बेला माहिलाहरू शारीरिक रूपमै कमजोर हुन्छन् भनेर। त्यो कुरा आफैंले भोगेर थाहा पाएँ।
रजस्वलाको शारीरिक पीडा त थियो नै त्यसमाथि समाजले थोपरेको मानसिक पीडा झन् ठूलो थियो।
समाजको नियमले मलाई रजस्वलाको बेला कुनामा रमाउन चाहने बालिका बनाएको थियो।
त्यस्ती फूर्तिली म एकाएक एकान्तमा रमाउने हुन थालेकी थिएँ किनभने बाहिर निस्केर दाजुभाइ र बुवासँग आँखा जुधाउने हिम्मत मसँग थिएन।
मलाई ठूली हुने मन थिएन, मलाई बिहे गर्ने मन थिएन, मलाई आफू जन्मेको घर छोडेर जाने मन थिएन।
म आफ्नै घरमा बसिरहन चाहन्थें, त्यसरी नै परिवारको र समाजको इज्जत सम्मान पाइरहन चाहन्थे।
तर समयले मलाई खुट्टेसो लगायो, भर्खर पखेटा पलाएर बाहिर स्वच्छन्द आकाशमा तैरने बेला समाजका नियमरूपी कैंचीले मेरा पखेटा काट्यो अनि संस्कृतिका डोरीहरूले खुट्टा बाँधेर अँध्यारो कोठामा थुन्यो। तर त्यो त सुरूआत मात्र थियो।
नछुने भैसके पनि मेरो चञ्चलता पूरै गैसकेको थिएन। बुवाआमाको आँखा छलेर म पहिले जस्तै दाजुभाइसँग खेल्न छोडेकी थिइनँ।
एक दिन घर बाहिर हामीहरू खेल्दै थियौं, एक जना काकी पर्नेले मलाई ‘अब ठूली भइस्, यसरी खेल्न सुहाउँदैन’ भनेर मेरो शरीरमा भएको परिवर्तन र स्त्री अङ्गहरूको नामै लिएर उनले भनेको सुनेपछि म लाजले राती पिरी भएँ, उनको त्यो वचन मलाई खिलजस्तै मुटुमा बिझ्यो।
त्यो दिनदेखि म अचानक ‘सुध्रिएँ’ अनि बाहिर खेल्न छोडेर समाजले ‘छोरी मान्छेले गर्ने’ भनेर छाप लगाइदिएका क्रियाकलापहरू गर्न थालें। दाजुभाइ स्कुलबाट फर्केर खेल्न बाहिर निस्कन्थे, म चाहिँ भान्छामा आमालाई सघाउनभित्र पस्थें।
त्यति मात्र हैन, मैले घरका मैला लुगाहरू धुन थालें, पात गाँस्न सिकें, बत्ती काट्न सिकें, रोटी पकाउन सिकें। मलाई गाली गरी गरी आमाले ‘छोरीले गर्ने कामहरू’ सबै सिकाउनु भयो।
कुनै काम बिगारेमा ‘छोरी मान्छे भएर ढंग छैन, पराइको घर जाने बेला भैसक्यो, पराइ घर जाने जातले के गरेर खालेस्’ भनेर हप्काउनु हुन्थ्यो। यस्तो लाग्थ्यो बरू मैले नपढे पनि केही हुँदैन तर ती कामहरू जसरी पनि सिक्नुपर्छ।
जति जति उमेर बढ्दै गयो र समाजको छोरीप्रतिको धारणा बुझ्दै गएँ, मैले त्यतित्यति छोरी हुनुको पीडा थाहा पाउन थालें।
केटी भएकैले म जताततै असुरक्षित थिएँ। टाढा जानुपर्दा एक्लै हिँड्न पाइँदैनथ्यो। एक रात बाहिर बस्न अनुमति थिएन। ती पीडा, भेदभाव र असमानतामा बाँच्नु पर्दा मैले भगवानलाई ‘मलाई किन छोरी बनाएर जन्मायौ?’ भनेर गाली गर्थें।
मेरो हजार जुनीसम्म छोरी भएर जन्मन चाहने इच्छामा पूरै परिवर्तन भयो। त्यो बेला यदि भगवानले मलाई सोधेको भए मैले हजार हैन, लाख जुनी पनि हैन छोरी भएर नजन्मनको लागि वरदान माग्थें होला।
समाज परिवर्तन हुँदै थियो। मैले विभेद भोगें पनि सायद हाम्रो दोस्रो पुस्ताले त्यो विभेद भोग्नुनपर्ला भनेर आशावादी भएर बसें।
त्यतिसम्म पनि ठिकै थियो। मैले छोरी हुनुको सबभन्दा ठूलो पीडा त्यो बेला महशुस गरें जब मेरो बिहे हुने तय भयो। म आफ्नो जन्मघर छोडेर जान बाध्य भएँ।
मेरो सिउँदोमा परेको एक चिम्टी सिन्दुरको रङ्गले मेरो आफ्नो घरसँगको सम्बन्धमा रेखा लगाएर मलाई आफ्नो घर छोड्न बाध्य बनायो, म अर्कैकी भएँ।
आफ्नो घरको लागि म पराइ बनें, म जन्मेको घरमा मेरो अधिकार सकियो। म धेरै दिनसम्म बुवाआमा, मेरो कोठा बैठक र घरको आँगन सम्झेर रोएँ।
बुवा आमा, समाज र भगवानलाई गाली गरें तर सुन्ने कोही थिएन।
मैले भगवानलाई मलाई मात्र हैन कसैलाई पनि छोरी बनेर नजन्माऊ भनेर मनमनै विन्ती त गरें तर म आफैंले दुई छोरीहरूलाई जन्म दिएँ।
आमा बन्ने सौभाग्य पाएकोमा मलाई असिम आनन्द भयो र अहिले छोरीहरू हुर्कंदै गर्दा खुसी पनि छु।
आज सन्तान हुर्केर अलि ठूला हुन लाग्दा विगतलाई फर्केर हेर्छु- समयको चक्रसँगै म छोरी भएँ, श्रीमती भएँ, आमा भएँ। आफ्ना सन्तानलाई धर्तीमा जन्म दिएर मैले प्रकृतिको चक्र चलिरहनमा ठूलो योगदान गरेकी छु।
मलाई आफू सृष्टिकर्ता भएजस्तो भान हुन्छ। त्यसैले मैले त गर्व गर्नुपर्ने हो। तर पनि आफूले भोगेका शारीरिक र मानसिक पीडा, असमानता र भेदभावले मलाई फेरि गर्वित हुन दिँदैन।
समयसँगै समाजमा धेरै परिवर्तनहरू भए तर आज दुई दशकपछि देख्छु समाजमा छोरीप्रतिको दृष्टि अझै परिवर्तन भएको छैन।
नारीहरू झन् पछि झन् असुरक्षित हुँदै गैरहेका छन्। दिनहुँ बलात्कारका घटना घटिरहेका छन्। लैङ्गिक विभेद कम भएको छैन बरु बढेको होला।
अहिले मैले पनि मेरा छोरीहरूलाई त्यो बेला आमाले मलाई सिकाए जस्तै सिकाउँदै छु।
शब्दहरू फेरिएका थिए होलान् तर सन्देश त्यही हो। अनि मलाई अनायास अनुभूति हुन्छ- ओहो! मेरो समाज त अझै त्यही दुई दशक अगाडिकै सोचाइमा पो छ त! कहिले होला मैले देख्न चाहेको परिवर्तन?