ईलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन विषयमा ईन्जिनियरीङ गरेका विवेक जिसी डलर फल्ने रुख चढेर पैसा टिप्न नेपालको इज्जतिलो जागीर छाडेर अमेरिका उडे।
कहिले उबर नामको ट्याक्सी चलाउँदै पैसा टिपे त कहिले ग्यास स्टेसनको स्टोरमा घण्टा हानेर पैसा टिपे। रात दिन मेहनत गरेर प्रसस्त पैसा टिप्न सफल विवेक अमेरिकी जीवनदेखि वाक्क हुँदै भन्छन्, ‘थुक्क! साला जिन्दगी।’
उनी मात्र होईन, अमेरिका बसोबास गर्ने अधिकांश नेपाली अमेरिकी जीवनबाट थकित छन्।
म अमेरिका प्रवेश गर्नुअघि मेरी भाउजु माया अधिकारीले भनेको एउटा भनाई यहाँ राख्छु। ‘बाबु! अमेरिकाको जीवन महमा बसेका माखा जस्तै हो। अनि नेपाली जीवन खानामा बसेको माखा जस्तै हो, त्यसैले लोभ नगर्नुहोस्।’
मैले उहाँको कुरा बुझिनँ, हाँस्दै भनिदिएँ,‘खानामा बस्नु भन्दा महमा बस्नु ठिक हैन र भाउजु?’
उहाँले प्रष्ट्याउँदै भन्नु भयो, ‘महमा बसेको माखा अन्ततः त्यहीँ महमा डुबेर मर्छ, किनकि, ऊ महबाट छुटेर जान सक्दैन। तर खानामा बसेको माखा मन भरिएपछि स्वतन्त्र भएर उड्न सक्छ।’
वास्तवमा भाउजुले भनेजस्तै अमेरिका महको डल्ला थियो, जहाँ टेकेपछि उम्कन नसकिने। त्यसैले पनि कति नेपाली सपना पुरा गरेर फर्कने कसम खान्छन्। तर, एकपछि अर्को सपना देख्दै जान्छन्।
उहाँको कुरा मैले त्यतिबेला पनि बुझेकै थिएँ। तर, मन कहाँ मान्थ्यो र, सपनाको देश अमेरिका टेक्ने आफ्नै सपना थियो।
हिजो आज नेपालबाट साथीहरू फोन गर्छन् ‘के गर्दै छस्?’
मेरो सधैको उत्तर हुन्छ, ‘ड्यूटीमा छु यार?’
दाङ घोराही निवासी मिनराज भाटले एकदिन सोधेऽ‘सधै ड्यूटी भन्छस्, सुत्दैनस्?’
मैले हाँस्दै जवाफ दिएँ, ‘ड्यूटीमै भएको बेला फोन गर्छौ, सुतेको बेला गर न! सुतेको छु भनेर भनिहाल्छु नि।’
यस्तै हालत हो हरेक नेपालीको, जतिबेला पनि ड्यूटी नै ड्यूटी।
अमेरिका एउटा अवसरको खानी भएको देश पक्कै हो। यहाँ मेहनत अनुसारको फल पाईन्छ। वैदेशिक रोजगारीको हिसाबले हेर्ने हो भने अरू देशको तुलनामा अमेरिका सुख पाईने देशमै पर्छ।
तर पनि मनको लोभले प्रत्येक घण्टालाई डलरमा रूपान्तरण गर्न मन लाग्छ अनि मान्छे रातदिन घोटिन्छ। यहाँ स्वतन्त्र रूपमा सुत्न समेत पाईँदैन, घडीको सुईले निर्धारण गरेको आलार्ममा सुत्नुपर्ने आफ्नै बाध्यता हुन्छ।
पैसा केही होईन भन्दै रमाउनेको पनि ठूलै जमात छ अमेरिकामा। दैनिक दुई तीन घन्टा मात्र काम गर्दा पनि मज्जाले जीवन जिउन सकिने देश भएरै होला, हप्तामा चालीस घण्टा काम गरेर प्रसस्त पैसा कमाउने नेपाली भेटिन्छन् यहाँ।
सुखी जीवनको आशामा अमेरिका छिरेका नेपालीलाई एकातिर छाडेर पैसाको निम्ति अमेरिका प्रबेश गरेका युवा जमातको कुरा गर्ने हो भने पैसा सँग-सँगै दुःख पनि छ अमेरिकामा।
दैनिक मोबाईलमा सेट गरेको आलार्म सँगै उठ्नु, काममा कुदनु अनि भरे फर्केर फेरि सुत्नु। अमेरिकामा कमाउन आएकाको वास्तविकता यहिँ हो।
प्रत्येक महिना दुई लाख कमाउने आशामा अमेरिका छिरेकाहरू महिनामा पाँच लाख रूपैया घर पठाउँदा पनि खुशी देखिदैनन्, अनि गुनासो गर्दै सुनाउँछन्, ‘जीवनमा केही गर्न सकिएन यार!’
पैसाको लागि अमेरिका भित्रनेका आ-आफ्नै कथा हुन्छन्। तर नेपालमै प्रसस्त कमाउने पनि अमेरिकामा दैनिक घोटिएकै भेटिन्छन्।
दाङको घोराहीबाट अमेरिका आएर बसोबास गर्ने जनार्दन गौतमको अमेरिकी जीवन मस्तको छ। उनी भन्छन्, ‘जीवनमा कमाउन होईन, रमाउन अमेरिका बसेको छु।’
जीवनमा रमाउन खोज्नेका लागि पनि अमेरिका एउटा सपनाको देश हो। जनार्दन भन्छन्, ‘नेपालमा रमाउन बा को सम्पत्ति दाउमा लगाउनुपर्छ, यहाँ हाँस्दै खेल्दै गरेको कामले पनि रमाउन पुग्छ।’
नेपालमा आफ्नै ब्यावसाय गर्दा गर्दै अमेरिका छिरेका जनार्दन कमाउनुभन्दा रमाउन खोज्ने नेपालीको वर्गमा पर्छन्।
धनी बन्ने सपना देखेर अमेरिका आईपुग्नेलाई दैनिक कामको चटारोले धकेले पनि रमाउन आउनेलाई कामको चटारोले धकेल्दैन। आफू खुशी उठेर काममा हिँड्न पाईने प्रसस्त अवसर भएको ठाउँ हो अमेरिका।
आफ्नै निजी सवारी साधनलाई उबर ट्याक्सी बनाएर चलाउँदा होस्, या रेष्टुराका खाना बोक्ने काम होस्! सबैको मालिक स्वयम् आफू बन्न पाईने देश हो अमेरिका।
मालिक भन्दा मजदुरको महत्व बढी हुने देश भएकै कारणले होला, कामसँग कुनै नेपाली गुनासो गर्दैनन्। तर सबैको एउटै भनाई हुन्छ, ‘अब छिट्टै नेपाल फर्कने हो।’
भाउजुले भनेजस्तै महमा गडेको माखा जस्तै छ अमेरिकी जीवन। चाहेर पनि निस्कन नसकिने।
अमेरिकामा साहुको ब्यापारमा घण्टा हान्ने नेपाली, उबर चलाएर होस या खाना बोकेर आफैं साहु बन्ने नेपाली बाहेक ठूला ब्यवसायी नेपाली पनि छन्।
पेट्रोल पम्प सञ्चालन गरेर बसेका अनगिन्ती नेपाली प्रत्येक राज्यमा भेटिन्छन्। नेपाली परिकारको होटेल ब्यवसाय गरेर बसेका नेपाली प्रत्येक शहरमा भेटिन्छन्। विद्यार्थी भिसामा आएर ब्यवसायी बनेकाको बाक्लै उपस्थिति छ अमेरिकामा।
अझ न्यूयोर्क सिटीमा त कोही कसैसँग ठोकियो भने पनि त्यो नेपाली नै हुन्छ, जता जाउँ उतै नेपाली।
पैसा कमाउने रहरले अमेरिका छिर्ने नेपालीको मुख्य काम गर्ने थलो हो पेट्रोलपम्प। अधिकांशले पेट्रोल-पम्पमा काम गरे पनि केही नेपाली रेष्टुरातिर काम गर्छन्।
कमाईको हिसाबले उस्तै हुने यी दुई पेशा सुखका हिसाबले पम्पको काम नै सजिलो हुन्छ।
तर कुक बन्ने सपनामा होटेलको किचन भित्र तरकारी काट्दै गरेका नेपालीहरू अधिकांश होटेलमा भेटिन्छन्।
‘एक बारको जुनिमा कति दुःख गर्छस्! मरि लानु केही छैन, नेपाल फर्क!’ भन्नेहरुले नेपालबाट दैनिक फेसबुक म्यासेन्जरमा उर्दी जारी गर्छन्। तर उनीहरूलाई के थाहा! धनी बन्ने सपना नहुने हो भने अमेरिकामा जीवन जिउन झन सजिलो छ।
डेरी ब्यवसाय गरेर सफलता पाएका खेमराज घिमिरे अमेरिका आउन लालायित देखिन्छन्। उनी मात्र होईन, नेपालमै ब्यवसायिक सफलता हासिल गरेका कैयौं ब्यवसायी अमेरिका आउन आतुर छन्।
बर्सेनी खुल्ने डिभी चिट्ठाको लामो लाईन हेर्ने हो भने अमेरिकाप्रति नेपालीको रहर बढेकै देखिन्छ।
स्वतन्त्र भएर काम गर्न पाउनु, मालिकको भन्दा कामदारको हैसियत उच्च हुनु अनि मेहनत अनुसारको पैसा कमाउन पाउनु अमेरिकाका विषेशता होलान्। तर फेसबुकको भित्तामा देखिने फोटा जस्तो रंगीन छैन अमेरिका।
हरेक दिन गरिने मेहनतले मात्र पैसा आउँछ, अल्छी गरेर सुत्नेहरू अनि सहरका ठूला बिल्डिङमा गएर फोटो खिच्नेहरू कि रमाउँदै छन् कि, दिन कटाउँदैछन्। तर कमाउँदै छैनन्।
अमेरिकामा डलर रूखमै फल्छ जस्तो सोच्नेहरू नेपालमा प्रसस्तै छन्। केही वर्ष अघिसम्म म पनि यस्तै सोच्थेँ। तर डलर रूखमा होईन, घडीको सुइमा फल्दोरहेछ। जति घुमाउन सकियो, उति झर्ने।
पम्पमा लुटेराको डरलाई एकातिर मिल्काएर घण्टा हान्न थालेपछि डलर प्रत्येक घण्टा बर्सिन्छ, होटेलमा कोठा जत्रा डेक्चीको ह्यान्डिल घुमाउन थालेपछि डलर आफैं बर्सिन्छ। उबर चलाउनेहरू दिसा-पिसाब रोकेर गन्तव्यसम्म पुगे भने डलर भर्भर्ती बर्सिन्छ।
तर न्युयोर्कको लिबर्टीसँग फोटो खिचेर फेसबुकमा पोष्ट्याउनेमाथि डलर बर्सिदैन, उनीहरू अमेरिकालाई डलर बर्साउँछन्।
हलिउड पहाडमा पोज दिँदै फोटो खिचेकाले आजको कमाई खेर गएको सम्झेर निराश भएका हुन्छन्। तर फोटोमा मुस्कुराउन छाड्दैनन्।
अमेरिका मेहनत गर्ने र समयसम्म खट्नेको लागि सपनाको देश हो। यहाँ कामको कुनै सुर्ता हुँदैन। बिहान यहाँ गर्दै गरेको काम दिउँसो मन परेन भने बेलुका गर्ने अर्को काममा घण्टा सुरू भइहाल्छ। काम छैन भनेर निराश हुनु पर्दैन, साहुको किचलो सहेर बस्नु पर्दैन।
ब्यवसायिक दिमाग हुनेको निम्ति ब्यवसायी बन्ने अवसर प्रदान गर्ने देश हो अमेरिका। नेपालमा ब्यवसायी बन्ने सपना देखेका धेरै नेपाली अहिले अमेरिकामा ब्यवसायी बनेका छन्।
अमेरिकामा रूखमा डलर नफले पनि सपना साकार पार्ने देश हो।
एउटा सपना बोकेर अमेरिका छिर्नेको लागि अवसर बन्ने देश हो अमेरिका। सकारात्मक रुपमा लिन सकियो भने अवसर, नकारात्मक रूपले लिईयो भने मानसिक सन्तुलनसम्म गुम्ने देश हो अमेरिका।
पानीभन्दा सस्तो पर्ने वियरको लत, हरेकका गोजीमा भेटिने गाँजाको लत अनि सडकबाटै घरसम्म आईपुग्ने तरूनीको लतमा केटा फस्यो भने जीवन बर्बाद।
त्यसैले डलर टिप्ने सपना बोकेर अमेरिका छिर्नेहरू धनी बन्ने सपना पूरा गरौं। रमाउन अमेरिका छिरेकाहरूलाई चै बेस्ट अफ लक।