शनिबार माइतीघरमा उभिएर लेखक नारायण वाग्लेले भने- हाम्रो सार्वभौमसत्ता संसदमा हुनुपर्ने हो। त्यो त बालुवाटारले प्रयोग गरेको छ। हाम्रो सार्वभौमसत्ता संसदलाई नै फर्काउनुपर्छ भनेर हामी माइतीघर आइपुगेका छौं। यो हाम्रो घरै हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनविरूद्ध उनले यसो भनेका हुन्।
वाग्ले मात्र होइन, यसअघि गुठी विधेयक विरोध गर्ने काठमाडौंका गुठीयार वा स्थानीय हुन्, चाहे उखु बेच्दा ठगिएका तराईका किसान, आफ्नो आवाज लिएर माइतीघरै आइपुग्छन्। र, सिंहदरबारलाई आफ्नो सार्वभौमिकता सम्झाउँछन्। नेतालाई खबरदारी गर्छन्।
शुक्रबार त सर्वसाधारणले सधैं औंला उठाउने शीर्ष नेताहरू नै माइतीघर आइपुगेका थिए। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले माइतीघरकै आँगनमा थचक्क बसेरै भन्नुपर्यो- हामी यहाँ छौं।
प्रधानमन्त्री ओलीद्वारा प्रतिनिधि सभा भंगको विरोध उनीहरूले माइतीघरमै आएर गर्नुपर्यो।
झन्डै दुई वर्षअघि तिनै केपी ओलीले माइतीघरमा प्रदर्शन गर्न रोक लगाउँदै निषेधित क्षेत्र घोषणा गर्दा यी दुई नेता सत्ता साझेदार थिए। माइतीघर आवाज उठाउने ठाउँ होइन भन्ने सरकारको निर्णयमा उनीहरू चुपचाप बसे। आफ्नो दल सत्तामा पुग्दाको रोमान्चमा उनीहरूले माइतीघर किन सम्झिन्थे?
ओली सरकारले माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णय सर्वोच्च अदालतले उल्ट्याएको थियो। र त दाहाल-नेपाललाई शासकबाट रैती 'बनाइएको' दिन यही माइतीघर काम लाग्यो।
जब अस्ति शुक्रबार दाहाल-नेपाल माइतीघरमा उत्रिए, सामाजिक सञ्जालमा धेरैले उनीहरूलाई ओली सरकारको त्यही निर्णय सम्झाए।
विवेकशील साझाकी नेता रञ्जु दर्शनाले ट्विटरमा लेखिन्, ‘त्यही माइतीघर मण्डल आज सहारा बन्यो कमरेड, जुन निषेधित क्षेत्र घोषणा गर्न लाग्नुभाथ्यो। लोकतन्त्रका लागि संघर्ष फेरि फेरि फेरि। सधैं कतिभरि?’
अर्को पार्टीका नेताले मात्र होइन कलाकार र नागरिक समाजका अगुवाले पनि उनीहरूलाई जिस्क्याए।
‘चरम सत्ता स्वार्थले प्रेरित राजनीतिले ढिलोचाँडो सबैलाई पुर्याउने यहीँ हो। तुजुक कसैले नदेखाए हुन्छ,’ कलाकार रवि मिश्रले लेखे।
अर्थविद् रामेश्वर खनालले पनि उनीहरूको फोटो हल्दै व्यङ्ग्य गरेका छन्, ‘पिए र गार्ड बसेनछन्?’
त्यति मात्र होइन टिकटकदेखि फेसबुकसम्म उनीहरूलाई व्यङ्ग्य कसेर तस्बिरहरू भाइरल भइरहेका छन्। ती तस्बिरमा लेखिएका छन्- आखिर आउने ठाउँ त यही रहेछ!
गाउँगाउँबाट निर्वाचन जितेर आएको सरकारले मोसफलका आन्दोलन भने हत्तपत्त सुन्दैन। देशको प्रमुख राजनीतिक तथा प्रशासनिक केन्द्र अगाडि हुने विरोध प्रदर्शन मात्र सरकारको नजरले छिटो देख्छ। देखेर आत्तिन्छ।
त्यसैले त अस्ति उखु किसानहरू न्याय खोज्दै काठमाडौं आए। सिंहदरबार नजिकको माइतीघर मण्डलमा नारा लगाए। सडक लोकतन्त्रको जग मानिन्छ। सडकबाट उत्रिएका जुलुसले व्यवस्था ढाल्ने तागत राख्छन्। त्यो अर्थमा सडक निर्वाचनभन्दा शक्तिशाली मानिन्छ। जनताको आवाज बुलन्द गर्ने यस्ता सार्वजनिक ठाउँ हुनु लोकतन्त्रमा अपरिहार्य हुने शिक्षाविद केदारभक्त माथेमा बताउँछन्।
उनका विचारमा सिंहदरबारबाट नजिकै माइतीघर त्यस्तै एउटा ठाउँ हो।
‘हामीलाई आफ्नो कुरा पुग्नुपर्ने ठाउँसम्म पुर्याउने माध्यम चाहिन्छ। खुला ठाउँको हिसाबमा माइतीघर मण्डल सानो भए पनि राज्यबाट नजिक भएकाले यसको महत्व कालान्तरदेखि रहिआएको छ,’ उनले भने, ‘सत्तामा रहेपछि मान्छेहरू केही पनि चाहिन्न जस्तो ठान्छन्। तर आफूलाई पर्दा सुनिदिने ठाउँ मान्छेलाई जहिले चाहिन्छ।’
सर्वसाधारणका मुद्दाहरू सोझै वा घुमाउरो हिसाबले राजनीतिसँग जोडिएका हुन्छन्। त्यसैले तिनको उठानका लागि भौतिक ठाउँ चाहिने मत राख्छन् विश्लेषक हरि शर्मा।
'ती मुद्दा लिएर हामी कहीँ न कहीँ त उभिनुपर्छ नि। माइतीघर हाम्रो त्यही उभिने ठाउँ हो,' उनले भने।
यस्ता सार्वजनिक स्थलको महत्व बुझाउन शर्मा ग्रीक सभ्यतामा पुर्याउँछन्।
‘त्यतिबेला राजनीति सबै ‘थिएटरिकल’ हुन्थ्यो। जो बोल्न सक्छ, पढेको छ र गणित जान्दछ, उसका कुराहरू मान्छेहरूले 'एम्पिथिएटर' बाहिर बसेर हेर्थे,’ उनले भने।
लकडाउनको समयमा सामाजिक संजालमार्फत विभिन्न वैचारिक छलफलहरू भए। तर सामाजिक संजालमा जति बोले/कराए पनि त्यो भौतिक रूपमा हुने गतिविधिको तुलनामा कमै प्रभावकारी हुने उनी बताउँछन्।
‘घरमा बसेर विरोध गर्न सजिलो हुन्छ। तर ठूला परिवर्तनहरू अँध्यारो कोठामा बसेर नभई भौतिक रूपमा उपस्थित भएरै सफल भएका छन्,’ शर्मा भन्छन्, ‘त्यहाँ नबसेर मन्त्रालयको भित्र बस्यो भने पनि सर्वसाधारणले देख्न पाउँदैनन्। त्यही भएर माइतीघर मण्डल जस्तो ठाउँ सार्वजनिक हुनुपर्छ।’
सत्ताबाट सिधै माइतीघर झर्नुपरेका दाहाल-नेपालको नियतिले पनि दर्शाउँछ माइतीघरको महत्व। अब उनीहरूजस्ता नेताहरूले सत्तामा पुगेपछि माइतीघर नचलाऊन्।