सानो छ खेत, सानो छ बारी, सानै छ जहान
सानो छ देश, ठूलो छ सरकार, अटेन किसान।
यो नारा बोकेर मध्य हिउँदको चिसोमा मधेसबाट काठमाडौंमा आएर सडकमा बसी 'उखुको पैसा' माग्ने मधेसी किसानका तस्वीरले सबैको ध्यान खिचेको छ।
यसले म जस्ता तराई मधेसमा जन्मेर हुर्केर त्यही 'उखुको पैसा' प्राप्त गरेको दिन नयाँ लुगा, मीठो खाना र राम्रो खेलौना पाउने मानिसको मन त अझै छोएको छ। केवल सत्ताभोगीहरू उदासीन छन्।
सानो छँदा बुबाआमाले उखु उमार्न खेतमा ज्यान सुक्ने गरी पसिना चुहाउँदै, हातका नङ्रा खियाएर, ढाड कुप्र्याउँदै हिलो र धूलो माटोमा वर्षभरी शरीरको छाला पट्पटि फुटाएको एकदमै याद छ।
म सम्झन्छु, उखुको पैसा पाएका दिनहरू हामी बालबालिकाका निम्ति राम्रा र खुसीका दिन हुन्थे। उतिबेला पनि ब्याज तिर्ने गरी किसानले कृषि विकास बैंक, साना किसान बैंक वा आफ्नै गाउँबाट ऋण लिएका हुन्थे।
तर उखु किसानले अहिले जस्तो चिसोमा धर्ना बस्नु परेको वा आखाँबाट आँशु नै बगाउनु परेको थिएन। नत्र हाम्रो हालत के हुन्थ्यो होला?
खेतको उखु देख्दा हामी किसानका छोराछोरीको मुख रसाउँथ्यो, मन रमाउँथ्यो। हामी उखुको प्रत्येक बोटहरू पैसाको बोट नै सम्झिन्थ्यौं। किनभने दसैंभन्दा पनि रमाइलो लाग्थ्यो उखु काट्ने बेलामा।
आफ्नो लागि कपी, कलम, सरसामान, लुगाफाटो वा मिठाइका लागि बाबुआमासित पैसौ माग्दा भन्नुहुन्थ्यो, 'ल ठीक छ, उखुको पैसा आउँछ अनि किनिदिउँला।'
हामी उखुको पैसा आउने दिन गनेर बस्थ्यौं। हामी केटाकेटीका सबै माग त्यही उखुको पैसामै अड्किन्थ्यो। आशा र भरोसामा चलेको किसानी जीवन जिउन कति कठीन छ भन्ने कुरा उस्तै संघर्षबाट गुज्रेर यहाँसम्म पुगेका यी सत्ताधारीले किन बिर्सेका?
हाम्रा उखु किसानको आखाँमा आँशु छ। कठै यी किसानका छोराछोरीले आफ्ना बाबुहरूको अनुहारको आँशु र यो दृष्य देख्दा के सोच्दा हुन्? यो सब देखेर मुटुभित्र चस्स पोल्छ मलाई। किनकि म पनि किसानकै छोरी हुँ। किसानको मिहेनत भोगेकी-देखेकी छु।
काठमाडौंमा उखु किसानले समयमा भुक्तानी नपाउँदा चिसोमा भोकै-प्यासै धर्ना दिन बाध्य भएको देख्दा मलाई मेरा बुवाको याद आउँछ।
त्यो बेलामा हाम्रो खेतको सबै उखु वीरगञ्ज चिनी कारखानामा जान्थ्यो। राम्ररी धान नफल्ने, पानीको सुविधा नभएको र बलौटे खेतमा उखु उत्पादन राम्रो हुन्थ्यो।
जब उखु काट्न चिनी मिलले किसानलाई चलान बाँड्थ्यो तब गाउँभरि हल्ला हुन्थ्यो। भोलि त फलानोको उखु काट्ने अरे। घाँसीहरू उखेतो (उखुको टुप्पाको घाँस) काट्न बिहानै सबेरै खेतमा पुगिसकेको हुन्थे। बुवाआमा पनि त्यो दिन घरको काम सकेर झिसमिसमै उठेर खेत पुग्नु हुन्थ्यो। हामी पनि पछिपछि लागेर जान्थ्यौं।
खेतमा गाउँभरिका दाइदिदी, काकाकाकी, फुपू, आमै सबैजना आ-आफ्ना गाईंभैसीका लागि उखेतो काट्न आइपुग्थे। त्यो भिडभाड हल्लाखल्ला रमिता झैं हुन्थ्यो।
ससाना केटाकेटीहरूको काम उखु सियार्नु पर्थ्यो। दस-बाह्रवटा उखु मिलाएर मुठा बनाउन राखिन्थ्यो। ठूला मान्छेले उखुको मुठा पारेर बयलगाडामा हाली काँटामा पुर्याउँथे। काँटामा पनि दिनरात पालो कुरेर आफ्नो उखु जोखी चिनीमिललाई जिम्मा लाएपछि बुवाहरू बल्ल घर फर्किन्थे।
बैंकको ऋण तिरेर केही बचाउन किसानको घरका सबै सदस्यको भोक, प्यास, आशा, मिहेनत, पसिना, दिनरातका रहर र सपना अनि जरूरत अनुसारको कार्य योजना सबै जोडिएको हुन्थ्यो।
एक-डेढ महिनापछि जब वीरगञ्जमा पैसा लिन जाने बेला हुन्थ्यो तब किसान परिवारको रौनक छुट्टै हुन्थ्यो। सम्पूर्ण परिवार यही पैसाको आशमा बाटो कुरेर बसेका हुन्थे। उखु किसानका धेरै समस्या टरेर दैनिक व्यवहार व्यवस्थापन हुन्थ्यो। केटाकेटी पनि दंग परेर रमाउँथे।
बुवाले त्यही उखु बेचेर वर्षभरि खाने धान र गहुँ किन्नु हुन्थ्यो। हामी छोराछोरीको आङमा जाडोका लागि न्यानो लुगा किनेर तराइको मुटु काम्ने जाडो कटाउनु हुन्थ्यो।
किसानको मिहेनतको कदर गरी समयमै चिनीमिलले भुक्तानी दिँदा किसानका समस्या समाधान भएको देखिन्थ्यो। सायद सरकार जिम्मेवार थियो, उद्योगी इमानदार थिए, उनीहरू बीचका सम्झौता पक्कापक्की थिए!
तर अहिले यस्तो छैन। बितेका छ वर्षदेखि उद्योगीले उखु किसानको रकम दिएका छैनन्। पोहोर पुस १८ गते काठमाडौंमा आन्दोलनरत उखु किसानको सबै बक्यौता त्यही वर्ष माघभित्र तिरिसक्ने सम्झौता गरेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उतिबेलाको धर्ना र आन्दोलन रोकेको थियो। फेरि यसपटक किन दोहोरियो त उनै किसानको आन्दोलन?
सरकारसँग भएको उक्त सम्झौतापछि चिनी मिलले कुल ९० करोड रूपैयाँ बक्यौतामध्ये ३५ करोड मात्रै किसानलाई भुक्तान गरेको छ। उता किसानको ऋण बढिरहेको छ। प्रत्येक दिनको ब्याजले किसानको घरखेत उठिबास हुने परिस्थिति आएको छ। सम्झौताअनुसार काम नहुँदा ठूलो मर्कामा परेर सबैतिरबाट निराश भई आन्दोलन र धर्नामा बस्न बाध्य किसानको अवस्थाप्रति किन मौन र निर्लज्ज छ यो सरकार?
तराईका बारा, पर्सा, रौतहट, सर्लाही, नवलपरासी जिल्लाका विभिन्न ठाउँमा नगदेबालीको रूपमा उखु खेती गरिँदै आएको छ। करिब डेढ लाख बिगाहा जमिनमा ३० हजारभन्दा बढी किसानले उखु खेती गरिरहेका छन्। त्यसबाट उत्पादित करिब दुई लाख मेट्रिक टन उखुले देशको ७० प्रतिशत माग पूरा गरेको छ। यहाँका किसानको सम्पूर्ण जीवन आशा र ऊर्जाको स्रोत नै यही उखु बाली हो।
नगदेबालीका रूपमा रहेको उखु खेती र परिश्रमी किसानको यो अवस्था देख्दा त ओहो कस्तो कहाली लाग्दो परिस्थिति आएछ झैं प्रतीत हुन्छ। त्यहाँ चिसो खेपिरहेको एउटा व्यक्ति हैन, सिंगो परिवार महिला, बालबालिका र वृद्धवृद्धाहरूको जीवन कठ्यांग्रिएको छ।
हाम्रो दिनचर्याको पहिलो मिठो स्वाद र सुरूआत नै यही किसानको पौरख हो। अनि हाम्रो भोका पेटमा यिनै किसानको मिहेनत र पौरखले आर्जेको अन्न परेर बाँचेका छौं हामी भन्ने किन बुझ्दैन यो सरकार? किन देख्दैन यो दृष्य? किन सुन्दैन यो आवाज? किन किसान बाटोमा बसेर रूनु परेको छ?