'हिरो' शब्द सुन्ने बित्तिकै सबैको मनमा एउटा सकारात्मक भाव झल्किन्छ। कुनैपनि क्षेत्रको दक्ष एवम् कुशल व्यक्तित्व जसले जुनसुकै समस्याको पनि उचित तवरले समाधान गर्न सक्दछ वा गर्ने हिम्मत राख्दछ। त्यस्तो व्यक्तित्वलाई हिरोको संज्ञा दिने चलन छ।
जस्तै: कुनै दक्ष डाक्टर छन् भने मानिसहरु भन्ने गर्छन्, यी डाक्टर त स्वस्थ्य क्षेत्रका 'हिरो' हुन्। कुनै फुटबल खेलमा राम्रो प्रदर्शन गर्ने खेलाडीलाई, मानिसहरु भन्ने गर्छन्, यो खेलाडी त फुटबलको 'हिरो' हो। यस्तै आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रका विभिन्न पक्षहरुमा धेरै हिरोहरुको नाम सुन्ने गरिन्छ।
यति मात्र होइन, कुनै चलचित्र हेर्दा अन्याय, अत्याचार, शोषण, जबरजस्तीका दृश्यहरु आउँदा सबै दर्शकहरुको मनमा हिरो आइदिए हुन्थ्यो जस्तो हुने गर्दछ। किनकि हिरो आएपछि समस्या समाधान हुन्छ भन्ने विश्वास सबैमा हुन्छ। तर बिडम्बना नै भनूँ, हार्मो मुलुकको शासन संचालनको जिम्मा पाएका कुनै पनि शासकले अहिलेसम्म हिरोको भूमिका निर्वाह गर्न सकेनन्।
विगत लामो समयदेखिको यो अस्थिरता र अनिश्चितताको समयमा सबै नेपालीहरुको मनमा एउटै प्रश्नले जरो गाडेको छ- हिरो कहिले आउँछ?
कोभिड-१९ महामारीको प्रभावले विगत नौ महिनादेखि धेरैजसो दिनहरु फुर्सदमै बित्दै थिए। समय व्यथित गर्नमा सबैभन्दा धेरै टिभि र मोबाइलको नै साथ रह्यो। एक दिन म टेलिभिजनमा फिल्म हेर्दै थिएँ, पछाडिबाट छोरीले एक्कासी चिच्याउदै ठूलो स्वरमा भनिन्, 'बाबा टिभि बन्द गर्नुहोस् न! मलाई डर लाग्यो।'
मैले अचम्म हुँदै सोधेँ, 'किन, के भयो छोरी?'
डराएको स्वरमा उनले भनिन्, 'अब ती अंकलहरुले त्यो दिदीलाई समाउछन्, लडाउछ्न, पिट्छन् अनि मार्छन् बाबा!' यति भन्दै उनी रुन थालिन्।
त्यतिबेला फिल्ममा केही गुण्डाहरुले हिरोइनलाई लखेटी रहेको दृश्य आइरहेको थियो। उनलाई सम्झाउँदै भनेँ- 'नडराउ न! अब हिरो आएर बचाइहाल्छ नि!' नभन्दै फिल्ममा हिरोको इन्ट्री हुन्छ र हिरोइनलाई बचाउँछ।
उनको डर अझै सकिसकेको थिएन। रुन्चे स्वरमा भनिन्- 'यस्तै हिरो भइदिएको भए, हाम्रो निर्मला दिदी पनि बाच्नु हुन्थ्यो होला है!'
म अन्जान हुँदै सोधेँ- 'को निर्मला?'
छोरीले उत्तर फर्काइन्- 'त्यत्ति पनि थाहा छैन र? उहाँको फोटो आइरहन्छ है फेसबुकमा, अहिलेसम्म जस्टिस पाउनु भएको छैन रे! मिसले भन्नु भाको।'
यस्तो जवाफ सुनेर म उनलाई एकोहोरो हेरिरहेँ। दश वर्षे मेरो छोरीको दिमागमा डेरीमिल्क र चोकोपाइ बाहेक अरु केही छैन होला जस्तो लाग्दथ्यो। निर्मला हत्या काण्डको भारी समेत बोकेर हुर्किरहेकी रहिछन् छोरी त। यो कलिलो उमेरमा, त्यो दर्दनाक घटनालाई मन भित्रै राखी रहँदा कति पीडा भएको होला!
म एकछिन केही बोल्न सकिनँ। उता छोरीले टिभि तिर औँला तेर्साउदै भन्दै थिइन्- 'यो त इण्डियन हिरो रहेछ, हिन्दी बोलिराछ। बाबा! हाम्रो हिरो कहिले आउछ? भन्नुहोस् न, कहिले आउँछ?'
उनले खोजेको जस्तो उत्तर मसंFग थिएन, नसुनेझै गरी बस्नु बाहेक अर्को उत्तम विकल्प रहेन।
संक्रमणको जोखिमले घर भित्रै बस्नु पर्ने बाध्यता, त्यसमाथि छोरीका अनगिन्ती जिज्ञासा र त्यसको चित्त बुज्ने उत्तर दिनुपर्ने कम्तिको चुनौति थिएन। कहिलेकाही त यस्ता इच्छाहरु प्रकट गर्थिन् कि, जुन पूरा गर्न लगभग असम्भव नै हुन्थ्यो। एकदिन उनले टिभि तिर देखाउदै भनिन्- 'हेर्नुहोस् न बाबा, कति राम्रो रेल गाडी, मलाई पनि रेल चढ्न मन लाग्यो, कहिले जाने हामी?'
मैले बोल्न मन नलागि-नलागि जवाफ दिएँ, 'रेल छैन के हार्मो देशमा।'
फेरि प्रश्न आयो- 'किन छैन बाबा? अरु देशमा छ, हाम्रो देशमा किन छैन?'
अब के भनूँ, उनले नै बुझ्ने भाषामा भनेँ- 'अहिलेसम्म रेल बनाउने नेशनल हिरो आएको छैन हार्मो देशमा।'
उनी किन रोकिन्थिन्- 'को हो नेशनल हिरो? किन आएन? कहिले आउछ?' प्रश्नै प्रश्न।
मबाट उत्तर नपाउने देखेपछि आफ्नो हजुरबुबा तिर फर्केर सोध्न थालिन्- 'हजुरबुबा, नेशनल हिरो भनेको को हो?'
वकिल पृष्ठभूमि भएका हजुरबुबाको उत्तर आयो- 'नेशनल हिरो भनेका राष्ट्र नायक हुन् छोरी, जसले देशको सम्वृद्धिका निमित्त नेतृत्वदाइ भूमिका खेल्दछन्।’
जवाफ सुनेपछि छोरी हेरको हेर्यै भइन्। मलाई थाहा थियो उनले कुरा बुझिनन्। 'अनि कहिले आउछ त, त्यो नायक?' छोरीले जिज्ञासा राखिन्।
बुबाले निराश हुँदै भन्नु भयो, 'के गर्ने छोरी, हामीले त २०४७ सालदेखि नै राष्ट्र नायक बनाउने भन्दै भोट हाल्दै गर्यौ, तर सबैजसो नालायक निस्किए।' बुबाको यो भनाइपछि भने छोरी चुप्प लागेर बस्न लागिन्, विचरा केही बुझे पो।
पौषको महिना प्रकृतिले मौसम चिसो बनाए पनि राजनैतिक मौसम भने तातेको थियो। कतै बिघटन, कतै गठन। कतै बिरोध, कतै समर्थन। कतै राजीनामा, कतै नियुक्ति। बुझी नसक्नु थियो। देशको अवस्था बारे जानकार त हुनै पर्यो, टिभिमा च्यानल बदलेर समाचार हेर्न लागेँ। ब्रेकिङ न्युज आएको रहेछ। सत्ता पक्षको निर्णय बिरुद्ध, प्रतिपक्ष दलले मशाल जुलुस गरेका रहेछन्।
टिभि स्क्रीनभरि आगोको मुस्लो देखेपछि छोरीले आत्तिदै सोधिन्- 'के हो बाबा, यो आगै आगो?'
मैले मुन्टो हल्लाएर केही होइन भन्ने संकेत गरेँ। फेरि प्रश्न गरिन्- 'उनीहरुले हाम्रो घर त जलौदैनन् नि!'
मैले मुन्टो हल्लाएरै केही हुँदैन भन्ने संकेत दिए। अन्तमा: छोरीले जिस्क्याउँदै भनिन्, 'यो पनि नेशनल हिरो नभएर भएको होला? हगी बाबा! कहिले आउँछ होला हिरो?'
छोरी निकै नै भावुक हुन थालेको देखेर म यो प्रसंगलाई आगाडि बढाउन चाहिनँ र मौन बसिरहेँ।
इतिहास पल्टाएर हेर्दा ४६-४७ सालको आन्दोलनभन्दा पहिले के थियो, त्यता तिर नजाउँ। मानौँ, त्यतिबेला ब्ल्याक एंड ह्वाइट चलचित्र थियो। नायक र खलनायक छुट्याउन गाह्रो भयो होला। तर देशमा बहुदलीय प्रजातन्त्रको उदय भए पश्चात, राष्ट्र नायक चुन्ने आधिकार जनतामा नै थियो नि!
त्यसपछि पनि कहाँ निर हामी चुक्यौँ? कि त हामी असली हिरो छनौट गर्न सकेनौँ, कि त हामीले चुनेका हिरोले हामीलाई धोका दिएको हुनुपर्छ। सबभन्दा अचम्मको कुरा त के भने, तिनै असक्षम र धोकेबाज व्यक्तिहरुलाई नै हामीले बारम्बार यो देशको हिरो बनाउन कोशिश गर्यौँ।
उनीहरुका क्षणिक स्वार्थ, लोभ-लालच, घमण्ड, क्रोध, सनक आदिका कारण आज मुलुक यो अवस्थाबाट गुज्रन बाध्य छ।
मेरा एकजना मित्रले भन्नु हुन्थ्यो, सधैँभरि विसं २०७७ रहदैन, २०७८ पनि आउँछ। हामीले इच्छा शक्ति राख्यौँ भने परिवर्तन गर्ने मौका पनि अवश्य आउनेछ। त्यो मौकाको उचित सदुपयोग गर्नु हाम्रो कर्तव्य हुनेछ। परिवर्तनको नाममा नयाँ बोतलमा उही पुरानै ह्विस्की राख्यौँ भने स्वादमा कुनै परिवर्तन आउँने छैन, चेतना भया।
परिवर्तनपछि आउने शासक यस्तो होस् कि हरेक बालकलाई लागोस्, उ यहाँ सुरक्षित छ। हरेक युवालाई लागोस्, उसको यहाँ सुन्दर भविष्य छ र हरेक वृद्ध-वृद्धालाई लागोस्, उनीहरुको यहाँ उचित हेरचाह हुनेछ। त्यसपछि म निर्धक्क भएर भन्नेछु, हेर छोरी तिमीले खोजेको हिरो आयो। अब तिमी सुरक्षित छौ।