‘अफिस यहीँ नजिक भएको भए नि हुन्थ्यो है!’
कलेज पढ्न बिहान पाँच बजे घरबाट निस्केकी छोरीको अनुहार देख्न मुस्किल भएपछि ममी यसो भन्नुहुन्थ्यो।
म लाडे पल्टिँदै भन्थें- तपाईंलाई त घरमै भएको भए हुन्थ्यो होला नि, हैन?
मेरो घर काभ्रेको बनेपा, सेतोपाटीको अफिस ललितपुरको झम्सिखेल। तीन जिल्ला पार गरेर चौथौं जिल्लामा काम गरेर फेरि त्यसैगरी घर फर्किनु मेरो दैनिकी।
ममीको गुनासो झन् बढ्थ्यो जब उहाँ साझ कहाँ आइपुगिस् भनेर सोध्नुहुन्थ्यो। सात बजेपछि फोन गर्दा पनि म कहिलेकाहीँ कोटेश्वरको जाममै हुन्थें।
फोनमा उहाँ ‘साँगा आएपछि कल गर्, म लिन आउँछु’ मात्र भन्नुहुन्थ्यो।
घर पुगेपछि फेरि त्यही कुरा सुरू हुन्थ्यो, 'यहीँ नजिक भएको भए खाना त सेलाउँदैन थियो।'
आमाको माया न हो। छोरीलाई गाह्रो भयो भन्ने चिन्ता एकतिर, पढाइसँगै केही गर्दैछे भन्ने खुसी अर्कातिर। त्यसैले त्यति टाढा काम गर्न जानु पर्दैन भनेर कहिल्यै भन्नुभएन। चाँडो घर आए हुने भन्ने उहाँको चिन्ता भने यथावत् नै थियो।
दूरीको हिसाबले घरबाट ३० किलोमिटर जति टाढा छ अफिस। बनेपाबाट झम्सिखेल जान-आउन आफ्नै सवारी साधन र जाम नहुने भए पौने घन्टाको बाटो। सार्वजनिक बस र जामले मेरो दिनको तीन घन्टा बाटैमा बित्थ्यो।
काठमाडौंमा डेरा लिएर बस्यौं भने पनि त्यति टाइम त खाना पकाउन र भाँडा माझ्नमै बित्छ भनेर मैले कोठा खोजेकी थिइनँ।
ममीमात्रै होइन, कलेजका साथीभाइ, शिक्षक शिक्षिका र सहकर्मी पनि बेलाबेलामा भन्थे- तिमी त्यति टाढाबाट आउँछौ है!
घर-छिमेकमा पनि 'भर्खर पो हो आउँदै' सुन्ने बानी परिसकेको थियो। आफन्तले म नआएको/नभेटेको गुनासो गरे भने ममीको उही रेडेमड जवाफ- मैले नि राति झुलुक्क मात्रै त देख्ने हो।
गतवर्ष चैत यता भने ममी र र मबीचको दूरी, मेरो घर र अफिसको दूरीभन्दा टाढाबाट आएको भाइरसले घटाइदियो।
चैत ७ गते हुने भनिएको मास्टर्स अन्तिम सेमेस्टरको परीक्षा स्थगित भयो। परीक्षा नहुने भए पनि अफिस बन्द नहुने निश्चित थियो।
कोरोनाको संक्रमण बढेसँगै अब कसरी काम गर्ने भन्ने प्रश्न उठ्यो। चैत ९ गते अफिसमा मिटिङ भयो। आफ्नो सवारी नभएको र अफिसबाट टाढा बस्ने भएकाले मलाई चैत १० गतेदेखि नै घरबाटै काम गर्न भनियो। भीड नहुने गरी थोरै जनाले मात्र अफिसबाट काम गर्ने, अरूले अवस्थाअनुसार घरबाट काम गर्न सकिने निर्णय भयो।
म घर बस्न थालेको अर्को दिन त सरकारले लकडाउन नै घोषणा गर्यो।
कोरोनासँगै भित्रिएका थिए लकडाउन, क्वारेन्टिन, सेल्फ आइसोलेसन, पिसिआर टेस्टजस्ता पहिला खासै नसुनेका शब्द। कोरोनासँगै आएको अर्को शब्द थियो-वर्क फ्रम होम।
जीवनमा एकदिन पनि 'वर्क फ्रम होम'को अनुभव नभएकी मलाई सुरूमा त के गर्ने के गर्ने भयो। अनलाइनको काम भएकाले सहकर्मीसँग कोर्डिनेसन गर्दै बिस्तारै डेस्कको काम गर्न थालें। त्यतिबेला कोरोनाको त्रास सगरमाथाभन्दा अग्लो थियो। कुनै ठाउँमा संक्रमित भेटिँदा हामी संक्रमितको विस्तृत विवरण पत्ता लगाउन खोज्थ्यौं। भेट्न सम्भव हुने कुरै हुन्थेन, स्थानीय जनप्रतिनिधिसँग फोनबाटै कुरा गर्थ्यौं।
सरकारले सुरूमा एक हप्ताका लागि लगाएको लकडाउन बढ्दै गयो। कोरोना संक्रमण घट्ला र अफिस जाउँला भन्दाभन्दै तीज, दसैं, तिहारजस्ता चाडवाड आए-गए।
असोज ५ गतेदेखि सरकारले सार्वजनिक सवारी चलाउने दिने निर्णय गर्यो। ६ महिना बढी गाडी थन्काउनु पर्दा व्यवसायी मारमा थिए। व्यवसायीभन्दा बढी मारमा थिए- यातायात क्षेत्रका श्रमिक। उनीहरू गाडी चलाउन आतुर थिए तर कोरोनाको डर घटिसकेको थिएन।
गाडी चढे अफिस गइहाल्नु आफू र सहकर्मीका लागि जोखिमै थियो। यो बीचमा केही सहकर्मीले आफ्नै सवारी किन्नुभयो, चलाउन नजानेकाले सिक्नुभयो। हाम्रो अफिसमा मात्र होइन देशभरि नै निजी सवारीको आवश्यकता ह्वात्तै बढ्यो।
सबै सहकर्मीहरू नियमित अफिस जान सुरू गरे पनि मेरो 'वर्क फ्रम होम' चलिरह्यो।
'वर्क फ्रम होम'ले शरिरलाई पो घरभित्रै थुन्थ्यो, मनलाई त अड्याएर राख्न सक्दैनथ्यो। गफगाफ, ठट्टामजाक, छलफल गर्दै काम गर्नुको जस्तो मजा एक्लै धुम्धुम्ती बसेर गर्नुमा कहाँबाट हुनु!
कोठाभित्र थुनिएको जस्तो महशुस हुने। यसरी बस्दा अफिसका स-साना कुरा बढी मिस हुने रहेछ। कहिले हतार-हतार त कहिले आरामले काम गरेको बानी, घरमा एकनासले काम गर्दा कता कता के छुटेजस्तो लाग्ने। चिया र लञ्च खानेबेलाका गफगाफ, सेतोपाटीमा बेलाबेलामा हुने जेरी पार्टी मैले धेरै नै 'मिस' गरें।
घर न हो, बेलाबेलामा कोही न कोही आएर गफ गर्न थालिहाल्थे। अरूलाई त डिस्टर्ब नगर्न भनेपछि कोठाबाट जानुहुन्थ्यो तर तीन वर्षको बाबु (दिदीको छोरा) त ल्यापटप देख्नेबित्तिकै 'सानी म एबिसिडी लेख्ने' भनेर काखमा बसिहाल्थ्यो।
ऊ अहिले पनि मेरो कोठालाई नै अफिस ठान्छ। मेरो अफिसको कुरा भयो भने म पनि अफिस जाने हो भन्दै बन्द ल्यापटप खोल्न थाल्छ।
घरमा बस्दा मलाई स्कुटर चलाउन पहिल्यै नसिकेकोमा धेरै पश्चताप भयो। घरमा अरूले पहिल्यै सिक् किन नभनेको होला भनेर पनि रिस उठ्यो। त्योभन्दा बढी आफैसँग रिस उठ्यो। सिक्न जान्छु भनेको भए पनि कसले रोक्थ्यो होला र!
स्कुटर चलाउन सक्ने भए कहीँ नगए पनि अफिससम्म त जान सक्थें नि भन्ने लाग्यो। त्यसैले कोरोना कहरका बीच नै डर लागि लागि पनि १५ दिने कोर्स लिएँ। कोर्स त लिएँ तर न घरमा स्कुटर थियो न आफूसँग लाइसेन्स नै।
'ममी, मेरो अफिस कस्तो लागिरहेको छ त तपाईंलाई?' म बेलाबेलामा ममीलाई जिस्काउँथे।
ममीलाई मेरो 'अफिस' त होइन कोरोनासँग चाहिँ झ्याउ लागिसक्यो रे!
त्रिभुवन विश्वविद्यालयले स्थगित परीक्षाको सूचना निकाल्यो। मंसिर २८ देखि पुस ५ सम्म परीक्षा हुने भयो। सार्वजनिक सवारी नचढे परीक्षा नदिनुबाहेक विकल्प थिएन।
लकडाउन सुरू भए यता पहिलो पटक मंसिर २८ गते गाडी चढें।
जीवनमा पहिलो पटक गाडी चढ्दा कस्तो अनुभव गरें, त्यो याद छैन। तर कोरोना महामारी फैलिएपछिको पहिलो अनुभव भने नौलो र डर मिसिएको थियो।
त्यो डर त्यतिबेला झन् बढ्यो जब बसमा मानिसहरू सिटमा मात्रै नभएर खचाखच उभिएका थिए। कसैले ख्वाक्क खोक्दा कोरोना भाइरस सिधा मेरो फोक्सोमा छिर्छ जस्तो लाग्ने!
बसमा जोर-बिजोर प्रणाली थियो। भीड हुनु सामान्य नै थियो तर त्यही भीडमा यस्ता एक-दुई 'बहादुर'हरू पनि चढ्थे जसले कि त मास्क चिउडोमा लगाएका हुन्थे वा खल्तीमा राखेका हुन्थे। अरू यात्रु कराएपछि 'मलाई सास फेर्न गाह्रो हुन्छ के मास्क लगाउँदा' लगाएजस्तो गर्थे।
आफूलाई यिनीहरूमध्ये कसैसँग कोरोना छ किजस्तो लाग्थ्यो उता सहचालकसँग भने कोरोनासँग केही लिनुदिनु थिएन सिर्फ मैलो भइसकेको एउटा मास्कबाहेक।
गाडी चढेदेखि 'साँगा, सूर्यविनायक, रत्नपार्क भन्नदेखि अलि पर सर्नु है, सिट खाली छ कहाँ जाने हो?' भन्दै भट्ट्याउँथे जसरी कोरोना आउनुभन्दा पहिला भट्टाइरहन्थे।
चैतमा लकडाउन हुनुअघि गाडी चढ्दा मानिसहरू कोरोनाबारे निकै चिन्तित हुन्थे। भीड गर्न नहुने, र अरू यात्रुलाई पनि मास्क लगाउनु पर्छ भन्दै सुझाव दिन्थे। अचेल त बसमा कोरोना छ कि छैन कसैलाई मतलब हुँदैन।
सरकारले जोर-बिजोर प्रणाली हटायो। पुस ५ गते परीक्षा पनि सकियो। केही दिनम घरमै बसेर काम गरें। त्यसपछि नि घरमै बसे धेरै कुराहरू छुट्ने लाग्यो। यतिका महिनामा अफिसमा आएर सिक्न सक्ने धेरै मौका गुमाएको कुरा लकडाउन पछिको केही दिनमै महशुस भइसकेको थियो।
गाडीहरू पनि पहिलाझैं चल्न सुरू गरेपछि बसमा त्यति भीड हुँदैन भन्ने अनुमान थियो। त्यसैले यही पुस १२ गतेबाट अफिस जाने भइयो। केही डर र संकोचसहित अफिसका लागि निस्कें।
पहिलो चुनौती गाडीमा यात्रा गर्नु नै थियो। त्यो चुनौती छिचोल्दै घर बसेको १० औं महिनामा अफिसमा पुगें। अफिस नपुगुन्जेल भर्खर बिहे गरेकी छोरीको जस्तै अनुभव भइरहेको थियो। बिहेपछिको १६ दिनको कार्य गर्न माइती जाँदाझैं लाग्ने थोरै लाज र धेरै उत्सुकतासहित अफिस पुगेकी थिएँ।
सबै जनाले स्वागत गर्नुभयो। साँच्चै अफिस पुगेपछि फेरि आफ्नै घरमै पुगेजस्तो महशुस भयो। जहाँ फेरि म पहिलेजस्तै म हुन सकें।