'आई विल मिस यु अ लट' यही वाक्य हो उनले एयरपोर्टको टर्मिनलमा छुट्टिनुअघि मलाई भनेका। जस्का शब्द शब्दले पनि न्यानो स्नेह फ्याँक्ने गर्थे।
अस्ट्रेलिया उड्नुअघि हाम्रो अन्तिम भेट त्यही एयरपोर्टको कफी हाउसमा भएको थियो।
'तिमी जानै पर्छ र?यही बसे पनि हुन्छ नि!'मैले गाह्रो गरी आफ्ना पीडा पोखेको थिएँ।
'जाने बेलामा तिमी मलाई धेरै इमोस्नल नबनाऊ न' भन्दै ऊ मेरा पीडालाई बेवास्ता गर्दै थिई।
घडीतिर हेर्दै भित्र छिर्न ढिला हुने तर्फ ऊ संकेत गर्दै थिई। म भने एकैछिन पनि ऊ आफ्नो नजरबाट ओझेल नहोस् भन्ने चाहिरहेको थिएँ।
'म जान्छु ल' भन्दै आफ्ना सामान उठाएर ऊ आफू बसेको ठाउँबाट हिँड्न खोजी।
मैले चाहँदाचाहँदै पनि रोक्न सकिनँ।
आफ्ना बुवा,आमा, बहिनी र भाइसँग समेत बिदा माग्दै ऊ विस्तारै बिलाउँदै गई।
उड्ने जहाजतर्फ आँखा उघारिरहें। कतै माथि पुगेपछि पनि उसले मलाई हेर्दै होली कि? भन्ने आशाहरूमा।
भोलिपल्ट मेरो नेपालगञ्जका लागि फ्लाइट थियो। नेपालगञ्जबाट त्यही दिन बाजुरा कोल्टीका लागि पनि उड्नुपर्ने थियो।
दुर्गम जिल्लामा चिकित्सक भएर जाने रहरका कारण पनि काठमाडौंलाई विदाई गर्ने अन्तिम तरखरमा म थिएँ।
धेरैले सुगममा काम पाइयोस् भनेर फोर्स लाउँदा रैछन् म भने दुर्गममा जान पाइयोस् भनेर कामना गरिरहेको थिएँ।
सौभाग्यले पाएँ।
छात्रवृत्तिमा पढेको हुनाले केही योगदान समाज र राष्ट्रलाई समेत गर्नु पर्नेमा म प्रयासरत थिएँ।
भोलिपल्ट त्यति टाढा र बिरानो ठाउँमा जानुपर्ने हुनाले राति खासै निद्रा लागेन। निद्रा नलाग्नु पछाडिको अर्को कारण सधैं सँगै बस्ने वाचा गरेकी निशा (नाम परिवर्तन) अर्थात मेरी प्रेमिका पनि मबाट टाढा भएकी थिई।
निशा र मेरो पहिलो भेट त्रिचन्द्र क्याम्पसको पुस्तकालयमा भएको थियो।
चिकित्सा शास्त्र पढ्ने हुटहुटीले नछोडेपछि म एक वर्ष ग्याप पनि नहुने र इन्ट्रान्सको तयारी पनि हुनेहुनाले त्रि-चन्द्रमा बिएस्सीमा बायो लिएर भर्ना भएको थिएँ र नेममा मेडिकल इन्ट्रान्सको क्लास लिन्थें।
निशा पनि त्रि-चन्द्रमा नै बायो नै लिएर अर्कै सेक्सनमा पढ्दै गरेकी रैछे।
पुस्तकालयमा पत्रिका पढिरहेको बखतमा नजिकै आएर 'म मेरो राशीफल हेर्छु नि' भन्दै पत्रिकातर्फ आँखा फिजारेकी थिई।
ऊसँगै अरू केटी साथीहरू पनि आएको हुनाले लजालु भावमा मैले पत्रिका नै सुम्पिदिएको थिएँ।
दोस्रो भेट हाम्रो बास्केटबल कोर्टमा भएको थियो।
सरस्वती पूजाको दिन उनले मीठो कविता वाचन गरेकी थिईन्। मैले लाज नै पचाएर उनको फेसबुक नाम सोध्ने दृष्टता गरेको थिएँ।
नाम भन्नु त कहाँ हो कहाँ मुसुक्क पनि नहाँसेरै उनले ‘बाल’ नदिएरै गइन् त्यो दिन।
मैले पनि यो खेललाई अलि संघर्ष कै खेल सम्झिएर केटाहरूमार्फत् नाम पत्ता लगाई छाडें।
तर फेसबुकमा रिक्वेष्ट एसेप्ट भएन। ल अब म सक्दिनँ भनेर हार पनि मानिसकेको थिएँ। तर तेस्रो भेट दशैंमा लमजुङ जाने बेलामा भयो। जब नजर जुध्यो तब दुवै जना अवाक् भयौं।
उनले आँबु खैरेनी झरेर गोरखाको बस नसमाउँदासम्म हामीबीच कुराकानी बाक्लै भए। हाँसी मजाक र जिन्दगीका ध्वनिहरू समेत प्रफुल्ल हुने गरी वार्तालाप भए।
कतिखेर मुग्लिनको पुल तरियो पत्तै पाइएन। उनी झर्ने ठाउँ पनि आयो अनि जब मुसुक्क मुस्काएर उनले बिदा दिइन् तन नै झिरिंग भएर आयो।
मुटुबाट ताता सिर्काहरू छुटे झैं भयो।
अल्लारे भनौं कि अपरिपक्व भनौं एकतर्फी माया बसेको अनुभूति पहिलोचोटि भयो।
बेलुकी घर पुगेपछि फेसबुक खोल्दा बित्तिकै उनले रिक्वेष्ट एसेप्ट गरेको नोटिफिकेसन आयो।
भर्खरै छुट्टिएर आएको भएता पनि फेरि भेट्ने चाहनाले मन त्यसै निसास्सियो। तर मनलाई काबुमा राखें।
प्रेम र समयको प्राप्तिमा फुर्फुरिएका मनहरू थिए हामी दुवैका। दशैंभरि एकतमासले कुराकानी भए। दिव्य कला, मधुर संकेत र नियमका परिधिभित्र रहेर हृदयभित्र गुम्सिएका अनेकौं शब्दहरू च्याटमा छरपस्ट भए।
दशैंमा निशाले जमरा र टीका लगाएको फोटो राखिन्। मैले लभ रियाक्ट गरें। कमेन्टमा 'कति सुहाएको है?'भन्दै प्रश्नहरू छोडें। तिनै प्रश्न र उत्तरहरूमा निर्भर थिए प्रेमका गाथा।
काठमाडौं फर्किएपछि मेडिकल इन्ट्रान्स भयो र आइओएममा मैले नाम पनि निकालें।
उनले बधाई दिनलाई फोन गरिन्। घण्टौं लामो गफमा सत्य बाहेकका भाव केही पनि झल्किएनन्।
तिनै गफ कालान्तरमा भावनाहरूसँगै फैलिएर प्रेरणाको क्रियामा रूपान्तरण हुने चाहा राख्दथे। खुसी हुम् भने सधैं भेट हुने निशालाई भेट्न अब त्रि-चन्द्र धाउनुपर्ने भयो।
दुखी हुम् भने बुवाआमा र स्वयं मेरो आफ्नो चिकित्सक बन्ने सपना पनि साकार हुँदै थियो। जे होस् जसो होस् फाइदा र घाटामा जोड घटाउ गर्दा गर्दै नै प्रेम थप सूत्रबद्ध हुँदै जानेमा म विश्वस्त थिएँ।
ती साढे चार वर्ष कसरी बिते पत्तै पाइएन। उनले पनि बिएस्सी भ्याइन्। मैले पनि परीक्षा सबै सकेर इन्टर्न जोइन गरें। काठमाडौं वरपरका डाँडाकाँडा सबै पैदल यात्रा सहितको भ्रमणमा सकिए।
बाहिर जानलाई ड्युटीले नमिल्ने र नाइट स्टे गरेर बिहेअघि नै केही रोमान्स गरिहाल्ने मुडमा समेत हामी दुवै नभएको हुनाले दरबार स्क्वायरका कफी सपहरूले नै हाम्रो प्रेमलाई जीवन्त राख्न मद्दत गरे।
ईन्टर्न सकिन दुई चार महिना बाँकी हुँदा उनले आफू अस्ट्रेलिया जाने प्रस्ताव मसामु राखिन्।
मैले पहिलो लवजमा नै हुँदैन भनिदिएँ। ऊ रुष्ट भई। कति दिन मसँग बोल्न समेत खोजिन।
भेट्नुको त परै जाओस्। मैले बुझें लामै तयारीका साथ उसले विदेशिने योजना बनाएकी रैछे।
बल्लतल्ल एकदिन त्रि-चन्द्रमा भेट्ने निधो भयो। ऊ सरासर आई र चुपचाप मेरो सामुन्ने बसिराखी।
मानौं प्रेमका भाव मनभित्र हानथाप गरिरहँदा पनि को पहिला बोल्ने भन्ने इगोको कारण हामी चुपचाप रह्यौं होला।
मैले नै मलिनो स्वरमा प्रश्न सुरू गरें।
'किन जानुपर्यो तिमीलाई विदेश? के छैन नेपालमा? यतै केही गरे हुँदैन?' सायद ऋषि धमलाका प्रश्न जस्तै थिए मेरा प्रश्नहरू। त्यसैले त जटिल बने र उत्तरविहीन पनि। निशा चुपचाप नै बसिराखी।
घण्टाघरले साँझ पाँच बजेको घण्टी हानेपछि घर जान ढिला हुने संकेत गर्दै ऊ फटाफट बोल्न थाली।
'यो देशमा के छ? नातागोता,पहुँच र राजनीतिबिना जागिर पनि पाइँदैन। न योग्यताको कदर छ न परिश्रम को। तिमी पो डाक्टर भई जान्छौ धेरथोर इज्जत र पैसा कमाउलाऊ। हामी के गरेर बाँच्नु। घरमा भाइ बहिनीहरू छन्, उनीहरूको रेखदेख र आमाबुवाको हेरचाह पनि गर्न छ। यो देशमा पैसा भएन भने पानी बिनाको माछो जस्तै छट्पटिन पर्छ।'
ऊ बोलेर सिध्याएपछि चुपचाप बसिरही। म आफूलाई खुबै देशभक्त भन्ठान्थें तर उनका लवजहरू सुन्दा भावुक भएँ।
देशमा नै केही गर्नुपर्ने सन्देश बोक्ने मान्छे म उनको अगाडि अवाक भएँ। पानीविहीन फिक्का रानीपोखरीजस्तै मन मरूभूमि भयो।
उनले अब म जान्छु भनेर बाटो लागिन्। रोक्नका लागि कुनै प्रयास र प्रयोग भएनन्।
त्यसपछि सरासर म त्रि-चन्द्र क्याम्पसबाट निस्किएँ र रत्नपार्कतर्फ लागें। अँध्यारोले काठमाडौं घेरिसकेको थियो। रत्नपार्कको आकासेपुलमा हात समातेर हिँडेका जोडी देख्दा पनि असहज भयो।
आँसुका स्पर्शले सर्सराउँदै वेदनाका ज्वार उठे। त्यो दृश्य देख्नकै लागि आज बाँचिरहेछु जस्तो लाग्यो।
प्रेममा बिछोड अपरिहार्य छ भन्दै पिल्पिलाउन मन लाग्यो। रुन्चे हुन मन लाग्यो। आमाले देख्नुभएको भए 'मर्द छोरा मान्छे भएर पनि रून्छन् त लाटा' भन्दै हकार्नुहुन्थ्यो होला। तर त्यो अन्धकार फुटपाथमा कसले देख्ने? कसले सहानुभूति जगाउने? एक्लै-एक्लै आफू भित्रका अदृश्य शक्तिहरूसँग लडाइँ गर्न मन लाग्यो।
प्रेम व्यर्थ छ! निस्सार छ! भन्दै चिच्याउन मन लाग्यो। बिलौनाले छरिएका मुटुहरू संगालेरै जसोतसो कोठा आइपुगें।
छुट्नुअघि निशाले भनेका कुराहरू फेरि सम्झिएँ, 'अब हाम्रो भेट हुँदैन होला! जे जसो छ आफ्नो इच्छा अनुसार जिन्दगी बाँच्नु। कहिलेकाहीँ भेट्दा बोल्नु बोलाउनु।'
रातभर निदाउन सकिनँ। सम्झिएर ती पल,सजाएका सपना अनि एकैछिनमा भत्किएका प्रेमका घरहरू। हाम्रो प्रेम वर्णन गर्ने भाषा नै अपूर्ण छ भन्दै म पुलकित हुने गर्थें तर आज आफैंभित्र पो सीमित रहेछ हाम्रो प्रेम।
देशको बेरोजगारी समस्या बाधक बनेर आयो हामी दुईको मायामा। सोध्न त मैले निशालाई सोधेको थिएँ' के हामी लङ डिस्ट्यान्स रिलेसनसिपमा रहन सक्दैनौं र?'उसले मलिनो स्वरमा हेरौंला भन्दै उत्तर फर्काएकी थिई।
'म अब नेपाल फर्किन चाहन्नँ अनि तिमी नेपाल छाडेर बाहिर जान सक्दैनौं। किनकि तिमी देशभक्त छौं। पैसा तिम्रो लागि केही पनि होइन। तर मेरो लागि सबथोक हो।' उसले लामै गरी उत्तर फर्काएकी थिई।
मैले रातभर सोचिरहें। विचरा म। देशभक्त हुँदाको परिणाम आफ्नो प्रेमिका गुमाइरहेको छु। मुटु नै टुक्रा पारिरहेको छु। के देशले मेरो योगदानको सही मूल्यांकन गर्न सक्छ त?उत्तरहरू खोज्न भित्ताका बीपी र पुष्पलालका फोटोहरू निहालिरहें तर अहँ उत्तर आएन।
त्यसपछिका दिन न कुनै फोन न कुनै म्यासेज न भेट्ने बहाना बस् यस्सै मेरो चिकित्सा शास्त्रको पढाइ सकियो। इन्टर्न सकिएपछि काउन्सिलको प्रमाणपत्र लिने हतारोमा नै थिएँ म।
एकदिन अचानक उनको फोन आयो र भोलि अस्ट्रेलिया उड्न लागेको जनाउ दिँदै अन्तिमचोटि भेट्न चाहेको कुरा राखिन्।
मुटु उफ्रिए झैं भयो तर फेरि कहिल्यै भेट नहुने गाथा सम्झिएर थुचुक्क बस्यो। म जाऊँ कि नजाऊँ? आकाशतिर हेरेर मैले जवाफ मागें।
दुवै हात फैलाएर हिक्का छोड्दै रोएँ र निशालाई नेपाल छोडेर नजाने वातावरण बनाउन भगवानसँग प्रार्थना पनि गरें। तर भगवानले मलाई लाचार बनाएर बिछोडको नियममा बाध्न खोजे।
आज म धेरै टाढा छु उनीभन्दा। गरिब जनताहरूको सेवामा आफूलाई नै समर्पित गर्न पाउँदा निशालाई कताकता भुल्ने अवसर पाउँछु। वियोगको मोहनीमा रोगीको मुस्कान बटुल्दछु। सायद फकिर प्रेमीहरू चिकित्सक भए भने यस्तै हुन्छन् होला।
अझ पागलप्रेमीहरू देशभक्त भए भने त मजस्तै हुन्छन् होला। कतै उदाहरण भएर पो पेश हुन्छु कि जस्तो पनि लाग्छ आजकल।
पुस ५ गतेको दिन प्रधानमन्त्रीले संसद विघटन गर्न राष्ट्रपति समक्ष प्रस्ताव गरेसँगै राष्ट्रपतिले सार्वभौम संसदको विघटन गरिन्। मन त्यसै अमिलो थियो। सर्वोच्चमा यो मुद्दा विचाराधीन रहेता पनि आशाहरू मलिन भएर कतै यही देशमा केही गरेर देखाउने मेरो प्रतिबद्धतामा ठेस पुगेझैं भएको थियो।
निशाले देखेका देशका भविष्यवाणीहरू सही हुँदै थिए। त्यही दिन बेलुका निशाले एकजना केटासँग अंकमाल गरेको फोटो राख्दै 'ह्यापिली इंगेज्ड' लेखेकी थिई।
मेरो मुटुमा अतितले झ्वाँस्स पोल्यो र निशाका हाँसोहरू झिल्का बनेर आँखामा टाँसिन खोजे।
अनि कसैको पनि सिफारिस र घोषणा बिनै, मेरो मुटु पनि त्यो दिन विघटन भयो नेकपाजस्तै मुटु दुई टुक्रा भएर फुट्यो।
अफसोच्!देशको भाग्य जस्तै मेरो भाग्य पनि टुट्यो।
रेडियोमा स्वरूपराजको आवाजमा हृदयविदारक गीत बज्दै थियो 'धेरै माया दिँदा रैछन् मुटु जोडेर जानेहरू,यादमा डुबी बाँच्दा रैछन् मुटु जोडेर बस्नेहरू…'।