संस्मरण :
एक हप्ता पहिलादेखि नै राजा वीरेन्द्र आउने कुरो गाउँमा हल्ला फैलिएको थियो। मानिसहरू राजाको दर्शन गर्नु पर्छ भन्दै थिए। म त्यतिबेला कक्षा ६ मा पढ्दै थिएँ। उमेरले चौध वर्षको थिएँ।
राजा आउने भनेपछि मलाई पनि राजा देख्न ठूलो इच्छा थियो। त्यो समयमा अहिले जस्तो कपडा जुत्ताचप्पल कहाँ थिए र? राजा आउने ठाउँ मेरो घरबाट आठ किलोमिटर थियो। त्यो पनि कच्चि बाटो।
पढाइमा अलि अल्छी भएकोले मलाई खासै स्कुल जान मन लाग्दैन थियो। आमा-बाबाको रहर थियो। एउटा त परिवारमा पढ्न लेख्न जाने होस्। हुन पनि छ जनाको दाजुभाइ, दिदी बहिनीमा कान्छो छोरा म।
आमाबाबाले कान्छो छोरो स्कुल जान्छ भनी मलाई त्यसबेलाको राम्रो कपडा छानी घुँडासम्मको कट्टु बनाइ सिलाइदिनु भएको थियो। त्यही कट्टु र पाउरोटी चपल लगाएर राजा वीरेन्द्रलाई हेर्न जाने विचारमा थिएँ।
हाम्रो स्कुलबाट पनि झाँकी लाने कुरो थियो। म अलि सानो कक्षाको हुँदा स्कुलबाट जान नपाउने भएँ। मनमा भने सरसँग रिस उठिरहेको थियो। जसरी पनि राजा हेर्ने मन थियो। स्कुलबाट नलाने भएपछि म रुदै घर आएँ। कान्छो छोरो रुदै आएको देखी आमालाई पनि पिर पर्ने नै भयो।
'के भो कान्छा, किन रोएको?' गोबर लागेको हात धारामा धुदै भन्नुभयो आमाले।
'के हुनु नि, आफूले राजा वीरेन्द्र हेर्न नपाइने भयो' मैले घुक्क, घुक्क गर्दै भनेँ।
'यति सानो कुरामा पनि रुनु पर्छ त? स्कुलबाट न लादैमा राजा हेर्न पाइन्न र? त्यस्ता राजा फेरि पनि आउँछन्।' यति कुरा गर्दा गर्दै आमालाई बाबाले गाली गर्नु भयो।
'के भन्छि यो राजालाई, जे पायो त्यही नबोल राजा देउता समान हुन्' बाबाले देउता समान भनेपछि राजा वीरेन्द्र हेर्ने मेरो इच्छा झन् बढी भयो। मनमा कति बेला राजालाई हरौँ जस्तो भयो।
राजा हेर्न जनालाई नयाँ चप्पल किन्दिन आमालाई भनी रहेको थिएँ। आमा ल ल भनि टार्नु भएको थियो। म भने जिद्दी कसिरहेको थिएँ। मेरो जिद्दीलाई आमाले जसरी पनि पूरा गर्नु हुन्थ्यो। मसँग नयाँ कट्टु र खाधिक्को कमिज त पहिला नै थियो। अब राजा हेर्न जान पाइन्छ भनी ढुक्क थिएँ।
मेरो प्रतिक्षा पनि समाप्त हुनेवाला थियो।
भोलि दिउँसो राजा वीरेन्द्र आउने रे। हेलिकप्टरमा उडेर। हेलिकप्टर पनि हेर्न पाइने भयो भनी अरू खुसी पनि थपियो। आफूले लगाउने लुगा दिदीसँग खोलामा गएर धोएर ल्याएको थिए। दिदी पनि अचम्म मान्नुभयो, म खोलामा कपडा धुनसँगै गएको देखेर। अनि हाँस्दै भन्नु भयो, 'यसलाई काम गराउन त राजा जो आउन पर्ने रहेछ।' म फिस्स हाँसी मात्र रहें।
आजको दिन त मेरो तयारीमा कटेको थियो। रात भने अति लामो हुने जस्तो लागेको थियो।
सबैजना कोदोको रोटी र दुध खाएर सुत्ने तयारीमा थियौँ। आजभोलि जस्तो कोठा भएका घर पनि थिएनन्। सबैजना लाइन लागेर सुतिन्थ्यो। सबैजना निदमा मस्त हुनुहुन्थ्यो।
म भने राजा देख्न सपनामा हराइ रहेको थिएँ।
कस्ता होलान् हाम्रा राजा? रानी पनि आउँछिन् कि साथमा! कति मान्छे होलान् अगाडि पछाडि। राजाको अनुहार पनि हाम्रो जस्तै हुने होला कि, फरक? कल्पना गर्दा गर्दै म के बोलेछु कुन्नि? आमाले अर्ध निदमा मलाई सुत भन्दै गाली गर्नुभयो। म सुत्ने प्रयास गरेँ। नेदाउछु भन्छु फेरि राजा सम्झन्छु।
रात छर्लंग बिती सकेछ। आमा कुढो पकाउन सुरु गर्दै हुनुहुन्थ्यो। म नजिक गएर आमालाई सोधेँ, 'कतिखेर आउने गरे राजा आमा?'
'नकरा धेरै, खाली राजा/राजा भन्छन्। बेला भएसी आउलान् त नि। हेर नसुतेर आँखा नि राता भाछन्।'
'नकराउन बुढी, केटाकेटी हो रहर गरेको छ राजा हेर्न' बाबाले गोठमा घाँस राख्दै भन्नु भयो।
'तपाईंको यही बानीले त यो बिग्रिएको हो नि,' आमाले थप्नु भयो।
बाबाले समय छ, विस्तारै जाउँला भन्दा नि म भने जिद्दी गरिरहेको थिएँ। मेरो जितको अगाडी बाबा पनि नाइ भन्न सक्नु भएन। बाबाले भोटो लगाउनु भयो। म पनि खाधिको कमिज घुँडासम्मको कट्टु अनि बाक्लो नयाँ भवभु चप्पल लगाएर राजा वीरेन्द्र हेर्न जान तयार भएँ।
सधैं बाबालाई हिड्दा भेटाउन गाह्रो हुने म, आज भने बाबाले मलाई भेटाउन गाह्रो भएको थियो। 'ए! पख्न, राजा आउने हेलिकप्टरमा हो, टाढाबाट आवाज सुनिन्छ।'
'त्यही हेलिकप्टर रोकिएर राजा झरेको हेर्नुछ' भन्दै झन् दौडिएँ। बुवा पनि सकि नसकी मसँग दौडनु भयो।
हामी राजा आउने हाम्रो क्षेत्रको टुँडिखेल निर पुग्दा मानिसहरूको भीडले टुँडिखेल भरिएको थियो। मानिसहरू अझै आउँदै थिए। बाबालाई हातमा समाउँदै अगाडि तिर लागेँ म।
अगाडि तिर साना केटाकेटी अनि पछाडि ठूला मान्छे बस्ने व्यवस्था रहेछ। बाबा मलाई हराउछ कि भनी अघि जान दिनु खोज्नु भएको थिएन। म हराउदिनँ भन्दै अगाडि दौडिएँ। हाम्रो स्कुलको झाँकी पनि अगाडि राजा आउने पर्खाइमा थियो।
आकाश तिर 'भेट्यटेट्टे' आवाज आयो। सबैजना हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, भन्न थाले। त्यो आवाज राजा आउने हेलिकप्टरको रहेछ। सबैजना जय जयकार गर्न थाले। हेलिकप्टर आएर टुँडिखेलको एक छेउ तिर बस्यो। म घाँटी तानी/तानि हेर्दै थिएँ।
म सोचेको थिएँ, आजभोलि जस्तो अगाडि पछाडि लावा लस्कर लगाएर आउँछन् राजा। त्यस्तो केही पनि देखिएन। हेलिकप्टरबाट दौरा-सुरुवाल कोटामा फुत्त ओर्लिए। साथमा आएकी रानी रहेछन्। उनी पनि गोलो कपाल अनि नर्मल पोसाकमा देखेँ।
राजालाई फूल गुच्छा दिदै थिए, कुवारी नानीहरूले। राजाको मुस्कानले मलाई लोभ्याएको थियो। म पनि हाम्रो राजा हाम्रो देश भन्दै चिच्याए। राजा विस्तारै अगाडि बढ्नु भयो। सबैलाई नमस्कार गर्दै। आहा! कस्तो संस्कार भन्न मन लाग्यो। देख्दै माया पनि लाग्ने राजा रहेछन्।
एकछिनको जय जयकारपछि राजा अगाडि आएर एउटा भवनको उद्घाटन गर्नु भयो। न कुनै ठूलो भाषण, नर्मल रूपमा सबैसँग मिलिजुली कार्यक्रम सकियो। यसै कारण उहाँलाई राजा भनिदो रहेछ।
केही समयपछि राजा पुनः हेलिकप्टर तिर हात लाग्नु भयो। हामी राजालाई हात हल्लाउदै बिदा गर्यौं। राजारानी पनि हामीलाई हात हल्लाउदै हेलिकप्टर भित्र पस्नु भयो। हेलिकप्टर आकाशतिर आकाशियो। डाँडाले नछेकुन्जे म उहाँहरूको हेलिकप्टर हेरिरहेँ। बाबा आएर मेरो हात समाइ रहनु भएको थियो।
राजा वीरेन्द्रलाई नजिकबाट हेर्न पाएकोमा म अति खुसी थिएँ। बाबाले मलाई पिपल गेडी मिठाइ र बर्फी किन्दिनु भयो। त्यही खाँदै बाबा र म घर तिर दौडियौँ।