आजको यस विषम् परिस्थितिमा तपाईं, म लगायत सारा विश्व नै आर्थिक संकटमा परेको अवस्था छ। यस कठिन घडीले सानादेखि ठूला सबै वर्गलाई आर्थिक तथा मानसिक रुपमा अस्तव्यस्त बनाएको छ।
हिजोको दिनमा ठूला-ठूला व्यापार व्यवसाय गर्नेदेखि लिएर स-साना ज्याला मजदुरी गर्नेहरूसम्म सबैलाई कोरोना र विश्वमा भइरहेको लकडाउन तथा बेरोजगारीले ठूलो मर्का परिरहेको छ।
हरेक मानिसका आ-आफ्नै समस्याहरु हुन्छन्। तपाईं हामी जो-कसैलाई पनि आज एकदमै ठूलो लागेको समस्या भोलीका दिनहरुमा हल हुन पनि सक्छन्। संसारमा सायदै यस्ता कुनै समस्या होलान् जस्को कुनै हल गर्ने उपाय नै नहोस्।
कुनै पनि समस्या आफूमाथि आइपर्दा आकाश नै झरेको वा पृथ्वी नै भासिएको भान हुनु स्वाभाविकै हो। अझ भनौं न, ती समस्याहरुसँग विश्व ब्रह्माण्ड मै आफूमात्रै एक्लै लड्नु परेको भान हुन्छ।
मानिसलाई आइपर्ने समस्या अनुसार समाधान गर्ने बाटाहरू पनि अवश्य नै हुन्छन्। फरक यत्ति हो कि कसैले ती समस्यालाई समाधान गर्ने उपायहरू छिट्टै नै भेटाउछन् त कसैलाई अलिकति बढी समय पनि लाग्न सक्छ भने कसैले त्यो समस्यालाई नै आफ्नो अन्तिम समस्या ठान्दछन्। जसले गर्दा कोही-कोही असामान्य निर्णय गर्नतर्फ प्रेरित हुन्छन्।
कुनै पनि व्यक्तिको जीवनमा समस्या आयो भन्दैमा त्यो समस्याको समाधान नै नहुने भन्ने पनि होइन। कुनै-कुनै बेलामा धैर्यताको अभावले गर्दा पनि मानिसहरुले असामान्य निर्णय गरेको पाइन्छ। असामान्य निर्णय अन्तर्गत आत्महत्या पनि प्रमुख एक हो।
(पछिल्लो समयमा प्रत्येक वर्ष आत्महत्या गर्नेहरुको संख्या १३% का दरले वृद्धि भइरहेको छ भने प्रहरीका विभिन्न रिपोर्टहरुलाई आधार मान्दा १ वर्षमा करिब ५ हजारभन्दा बढी नेपालीहरुले आत्महत्या गर्ने गरेका छन्। त्यस्तै विश्वभरको तथ्यांङ्क हेर्ने हो भने वार्षिक ८ लाख मानिसले आत्महत्या गर्ने गरेको अर्थात् प्रति ४० सेकेन्डमा १ जनाले आत्महत्या गर्दछन्।
त्यस्तै, प्रत्येक ३ सेकेन्डमा १ जनाले आत्महत्याको प्रयास गर्ने तथा १ जनाले आत्महत्या गर्दा अरु २५ जनाले आत्महत्याको प्रयास गर्ने गरेको पनि तथ्यांकहरूमा उल्लेख छ। नेपालमा पनि दैनिक १२ देखि १६ जनासम्मले अर्थात् हरेक २ घण्टामा १ जनाले आत्महत्या गर्ने गरेको देखिन्छ।)
पछिल्लो समयमा दिनानुदिन बढिरहेको आत्महत्या के सबैका लागि रोजाइ नै हो त? के आत्महत्या गर्नेहरु सबैले आफ्नो इच्छाले नै आत्महत्या गरिरहेका छन् त? आत्महत्या गर्नेहरुको संख्या दिनानु दिन किन बढीरहेको छ त?
सामान्यतया मानसिक सोच-विचार, पारिवारिक कलह, आर्थिक अवस्था, प्रेम सम्बन्धमा धोका तथा शारीरिक सम्बन्ध, कुनै काममा असफल हुनु आदि कारणले मानिसहरुले आत्महत्या गरिरहेको देख्न सकिन्छ।
कुनै पनि व्यक्तिले आफ्नो संयमित हुने धैर्यता गुमाउँदा पनि आफूले आफैलाई नाश गर्ने जस्तो दुष्टताको प्रयास गर्दछन्। कुनै पनि व्यक्तिले आत्महत्याको प्रयास गर्यो भने हाम्रै समाजले उसलाई कायर, नालायक, नामर्द जस्ता शब्दहरुले परिभाषित गर्ने गरेको पाइन्छ।
हाम्रै गाउँ-सहरमा आत्महत्या गरेको मानिसलाई खुदखुसी गर्यो अर्थात् उनीहरुले आफ्नै इच्छाले नै आत्महत्या गरेका हुन् भन्दछन्। के सबैले रहरले नै आत्महत्याको बाटो रोजेका हुन्छन् त? या उनीहरुका पनि केही बाध्यता हुन्छन्?
जीवनको कुनै न कुनै समय-खण्डमा तपाईं हामी सबैमा आत्महत्या गर्ने जस्तो मानसिक समस्या आउन सक्छ नि। किन कुनै पनि कार्यक्षेत्रमा असफल भएको मानिसलाई हामी सहयोग बाँड्न सक्दैनौँ! उसमा असफलताको हिनताबोधले थिचिरहेको बेलामा समाजमा रहेका केही त्यस्ता बुद्धिजिवी भनाउँदाहरुले नै उस्को मानसिक स्वास्थ्यमा विभिन्न दबाब सिर्जना गर्ने कोसिस गर्दछन्।
कुनै व्यक्ति प्रेममा असफल हुँदा उसले उसको पीडा वा उसका मनका बहहरु खुलाउन चाहान्छ तर समाजले उसलाई पहिले नै पागलको दर्जा दिइसक्छ। उसको मनमा गुम्सिएर रहेका विभिन्न दु:ख-वेदनाहरु सुनेर समस्या समाधान गर्न सहयोग गर्नुको सट्टा उस्लाई थप हिनताबोध सिर्जना गराउँदछ।
व्यक्तिले आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्दा होस् वा अन्य कारणले उस्को आर्थिक धरातल डग्मगाउँन् सक्छ। समाजमा रहेका तपाईं हामी जो कसैले पनि व्यक्तिलाई परेको ऋण-धनलाई तिरेर कम गराउन त सक्दैनौँ तर उस्लाई ऊर्जा अनि आत्मविश्वास दिन त सक्छौँ नि।
आर्थिक अवस्था बिग्रदै गएको मानिसलाई समाजले पनि हेला गर्ने, समाजबाट बाहक बनाउने वा उस्को गरिबीलाई कारण देखाउँदै बोक्सी जस्ता परम्परागत अन्धविश्वासमा लागेर उस्लाई आत्महत्या गर्ने तर्फको बाटोमा डोर्याइरहेका हुन्छौं, तपाईं हामीले नै।
(नेपालमा मात्रै हरेक १०० जनामा करिब २५ जनाले आवेशमा आएर आत्महत्या गरेको प्रहरीका तथ्यांकमा उल्लेख छ। त्यस्तै १५ जनाले पारिवारिक कलहको कारणले र अर्को १५ जनाले मानसिक तथा दीर्घ-रोगको कारणले आत्महत्या गरेको पनि तथ्यांकहरुमा उल्लेख छ।
त्यस्तै गरिबीको कारणले ८ जना, प्रेममा धोका पाएको कारण ५ जना, असफलताको कारणले ३ जना त आर्थिक लेनदेन र व्यवसायिक तनाव तथा अन्य कारणले करिब २९ जनाले आत्महत्या गर्ने गरेको तथ्यांकहरुमा उल्लेख छ।)
हरेक घरहरुमा देख्न वा सुन्न सकिने आत्महत्याको अर्को कारण पारिवारिक कलह पनि हो। फलानोको छोरीले यति पढि, फलानोको छोराले त्यति कमायो, तैँले जीवनमा केही पनि गर्न सक्दैनस्, तेरो केही कमाइ नै छैन, त खाली डुल्ने-हल्लने, नालायक, तँ कहिलै जिम्मेवार बन्न सकिनस्, अथवा तपाईंले मेरो लागि केही गर्नु भएन, मेरो लागि केही कमाइदिनु भएन, वा तपाईं हामी सबैको बोझ मात्र हो।'
यी र यस्ता केही अरु शब्दहरू हामीहरुले पारिवारिक कलहमा सुन्दै आएका शब्दहरू हुन्।
कुनै पनि व्यक्तिले आफ्नो घरलाई मानसिक तथा शारीरिक रूपमा पूर्णरुपले सुरक्षित ठान्दछन्। तर हरेक दिन घरभित्र हुने यस्ता झै-झगडाले के उनीहरुले पूर्ण रुपमा मानसिक शान्ति प्राप्त गर्दछन् त?
कुनै पनि व्यक्तिले आफ्नो जीवनकालमा कसैसँग प्रेम गरेर धोका खाने कोसिस गर्दैन। कुनै पनि व्यक्तिलाई व्यापार व्यवसाय वा कुनै पेशामा लागेर नोक्सानी गर्ने तथा ऋणमा डुब्ने रहर हुँदैन। उसले हर-तरहबाट आफ्नो नोक्सानी कम गरी नाफामा वृद्धि ल्याउने कोसिस गरिरहन्छ।
हरेक मानिस धनी हुँदैमा ऊ सफल नहुन पनि सक्छ अनि हरेक सफल व्यक्ति धनी नै हुनुपर्छ भन्ने पनि त छैन नि। मानिसहरुको पक्ष नै अलग अलग क्षमता रहेको हुन्छ। आफूसँग भएको क्षमतालाई कसैले प्रस्फुटन गर्ने ठाउँ पाउँछन् र सोही काममा निरन्तर संघर्ष गर्दछन् भने कोही-कसैले आफूसँग भएको फरक क्षमतालाई बाहिर ल्याउनै सक्दैनन् अनि आफैभित्र दबाएर राख्ने गर्दछन्।
सफलता के हो त?
एउटा युवाले धेरै धन-सम्पत्ती वा घर घडेरी र गर-गहना जस्ता भौतिक वस्तुहरु प्राप्त गर्नुमात्र उसको सफलता हो र?
एकजना घर गृहणीले घरभित्रको काम-धन्दा गरेर बस्नु मात्रै उनको पूरा दायित्व हो र?
या कुनै किशोर-किशोरी वा भनौं न, एकजना विद्यार्थीलाई शिक्षकले सोधेको प्रश्नको जवाफ दिन नसक्नु अथवा परिक्षामा अनुत्तीर्ण हुनु नै उनीहरुको असफलता नै हो र?
हरेक मानिसहरू पिच्छे इच्छा आवश्यकता तथा रुचिहरू पनि फरक फरक हुन्छन्। युवा तथा वयस्क जोश भएको मानिसलाई छोटो समयमा अथवा उमेर तन्नेरी हुँदै धेरै धन कमाउने चाहाना हुनु स्वाभाविक हो।
व्यापार-व्यवसायबाट धेरै आर्थिक उपलब्धि हासिल गर्दैमा, धन-दौलतले भरिपूर्ण हुँदैमा वा लोकसेवामा नाम निकाल्दैमा र जागिर खाँदैमा पनि त मानिस आफूलाई असफल नै ठान्दछन्।
घर-गृहस्थी गर्नुपर्ने महिलाले घरको काम सकिएपछि बाँकी समयमा विभिन्न सीप सिकेर अलिकति भए पनि आम्दानी गर्न सक्दछन् जस्ले गर्दा उनीहरु स्वाबलम्बी हुन्छन् र उनीहरुमा आत्मविश्वासको वृद्धि हुन्छ।
त्यस्तै एउटा विद्यार्थीको सम्पूर्ण भविष्य शिक्षकले मात्रै देखेको हुन्छ भन्ने सोच्नु तपाईं हाम्रो कम्जोरी पनि हो। शिक्षकहरु त केवल किताबभित्रको कुरामा मात्र दक्ष हुन्छन्। उनीहरुलाई पनि त थाहा नहुन सक्छ, तपाईं भित्र भएको अर्को नयाँ प्रतिभा।
समय सधैँ एकैनास रहने पनि त होइन। आज धेरै नकमाएकाहरुले भोलि कमाउन पनि सक्छन्। आज नपढेकाहरु भोलि शिक्षित हुन पनि त सक्छन्। आज स्वीकार नगरेको प्रेम सम्बन्धलाई समाजले भोलि स्वीकार गर्न पनि त सक्छन्। हरेक मानिस आफ्नो जीवनकालमा हरतरहबाट सफल हुने संघर्ष गरिरहेकै हुन्छन्।
जीवनका अनेकौं मोडहरुमा हिँड्दा कहिले काँही जिन्दगी आफूले सोचेको जस्तो नहुन पनि सक्छ। यसको अर्थ यो होइन कि मेरो मात्र जीवनमा पीडा छ, मेरो जीवनमा सधैं-सधैं बाधाहरू मात्र आइरहन्छन्।
जीवनमा आएका यस्ता-त्यस्ता चोटहरुले तपाईं-हामीलाई स्वाबलम्बी बनाउन पो खोजीरहेका छन् वा अझ आत्मविश्वासी बनाउन पो कोसिस गरिरहेका छन्। त्यसैले आत्महत्या कुनै पनि समस्याको समाधान होइन। आफूलाई आइपरेको समस्यासँग एकपटक जुधौँ, अर्को पटक जुधौँ, अनि पटक-पटक जुधौँ। ढिलो-चाँडो समस्याको समाधान अवश्य नै हुन्छ।