म हरेक दिन आफूभन्दा सिनियर, उही लेवल वा जुनियर व्यक्तिहरूको कुरा सुन्दा यही सुनिरहेको हुन्छु-नेताहरूले देश बिगारे।
मैलेमात्रै होइन, तपाईंले पनि यस्तै सुन्दै र भन्दै आउनुभएको होला।
होटल, चोक, गल्ली, स्टेसन जताततै यस्तै खालका कुरा सुन्न पाइन्छ। अझ सामाजिक सञ्जालमा त कुरै नगरौं बोल्नै नमिल्ने शब्दहरूको प्रयोग गरेर उनीहरूको तस्बिरलाई कुकुर, बिरालो, गाई, गोरु लगायतका पन्छीहरूसँग समेत जोडेर आलोचना गरिरहेका हुन्छन्।
जनताले लामो समयको त्याग, बलिदान र विद्रोह गरेर ल्याएको व्यवस्थाबाट पनि खासै परिवर्तन र समृद्धिको आशा नदेखिएपछि सडक, समाजिक सञ्जाल वा अन्य माध्यमबाट त्यो खालको आक्रोश आउनु, राजनीतिज्ञमाथि आक्रोश पोखिनु सामान्य नै मान्नुपर्छ।
तर, माथि उल्लेख गरिएजस्तै देश बिग्रनुको पछाडिको सम्पूर्ण दोष नेतालाई मात्रै हो ? कि त्यसमा कार्यकर्ता, उनीहरूका आसेपासे, सहयोगी र जनताको पनि दोष छ ?
अब सुरूआत गरौं राजनीतिबाटै।
राजनीति अर्थात् नीतिहरूकै राजा, सर्वोत्कृष्ट नियम, राज्यले बनाउने नीति। अझ भनौं एउटा मुलुक सञ्चालन राजनीतिकै माध्यमबाट हुने गर्दछ। जसको सञ्चालन राजनीतिज्ञ अर्थात् नेताहरूले गरिरहेका हुन्छन्।
नीतिमध्येकै उत्कृष्ट नीति बनाउने स्थानमा पुगेका नेपालका राजनीतिज्ञहरूकै लुछाचुँडी, पदीय र गुटगत स्वार्थका कारण लामो प्रयासपछि पनि नेपाली समाज परिवर्तन हुनै सकेको छैन।
हरेक १०/१० वर्षको अवधिमा व्यवस्था र पात्र फेरिए पनि प्रवृत्ति परिवर्तन नहुँदा न देश बन्न सकेको छ, न जीवनस्तर सुधार नै।
जसले गर्दा पछिल्लो समय नेताहरूप्रति जनमत भड्किन थालेको छ। देश बिगार्ने नेता हुन् यिनलाई देशनिकाला गर्नुपर्छ भन्ने आक्रोश पनि यदाकदा सुनिन थालेका छन्। जनआक्रोश चुलिएजस्तै देश बिग्रनुमा धेरै दोष भने नेताहरूकै छ।
हरेक चुनावमा जनतालाई विभिन्न आशा देखाउने, जनमत तान्न लामा लामा घोषणापत्र बनाउने, चुनाव जितेर आएपछि गाउँ नजाने अनि काठमाडौं बसेर विभिन्न सेटिङ मिलाउँदै कमिसन खाने प्रवृत्तिकै कारण नेताहरूप्रतिको वितृष्णा चुलिएको हो । हुन पनि नीति, नियम र देश बनाउनका लागि पठाइएका व्यक्तिहरूबाट अपेक्षाकृत काम नहुँदा उनीहरूलाई दोषी करार गरिनु पनि ठीकै हो भन्ने लाग्छ।
तर, त्यसभित्रको अन्तर्य केलाउँदा के नेताहरूमात्रै दोषी हुन् त देश बिगार्न कि उनका आसेपासे सहयोगीको पनि देश नबन्नमा उत्तिकै भूमिका छ ?
एउटा कथन छ, एउटा नेता सफल हुन वा असफल हुन उसको नजिक रहने सहयोगीको ठूलो भूमिका रहन्छ। हो, उक्त कथनजस्तै नेता वा मन्त्रीका सहयोगीको रूपमा रहनेको पनि नेता बनाउन वा बिगार्न महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ।
तर, नेपालको सन्दर्भमा ती सहयोगीको भूमिका भनेको आफन्तको काम मिलाइदिने, आफ्ना मान्छे विभिन्न पदमा नियुक्त गर्ने, उचित सल्लाहभन्दा पनि अनुचित सल्लाह दिने अनि १/२ वटा विकास निर्माणका क्षेत्रमा भएका कामको फोटो देखाएर देश नै स्विजरल्याण्ड बन्यो भनेर देखाउने बाहेकका उचित सल्लाह दिने भूमिकामा उनीहरू देखिँदैनन्।
बरू जनमत भड्किरहँदा पनि नेता वा मन्त्रीलाई तिम्रो समर्थनमा जनता छन्, तिमीले गरेको काम राम्रो छ भन्दै अनावश्यक चाकडीमात्रै गर्छन्।
खासमा नेता वा मन्त्रीले सल्लाहकार नियुक्त गर्नु भनेको समर्थनभन्दा पनि आलोचनाको लागि हो, बाटो बिराएमा यस्तो गल्ती भयो भनेर देखाउन हो तर हाम्रा देशका सल्लाहकार र आसेपासे त झनै गल्ती गर्न उत्प्रेरित गर्छन्।
जनभावनाको कदर गर्दैनन् अनि नेताको छवि यति गिर्दै जान्छ कि जनताले सडकमा फालेपछि बल्ल झल्यास्स हुन्छन्।
यही सन्दर्भ जोडिरहँदा इरानका अन्तिम राजा मोहम्मद रेजा पहल्वीले भनेको वाक्य पनि जोड्न उचित लाग्यो, उनले भनेका थिए ‘मेरा सल्लाहकारले म र जनताबीच पर्खाल खडा गरेका थिए। के हुँदैछ भन्ने मैले थाहै पाइनँ,जतिबेला म ब्युँझिएँ त्यतिखेर मैले जनता गुमाइसकेको थिएँ।’ अर्थात् यसले पनि प्रष्ट बनाउँछ कि नेताको आसेपासेले पनि देशमात्रै होइन, जनताबीचको दूरी बढाउन पनि उत्तिकै मद्दत पुर्याउँछन्।
एक जना मेरा नजिककैका मित्र मन्त्रिमण्डल गठन हुनेबित्तिकै महत्वपूर्ण मन्त्रालयमा नियुक्त भए स्वकीय सचिवका रूपमा। जसको भूमिका नेता बनाउन, नेता बिगार्न, सेटिङ मिलाउन र आफन्तको भर्ती गराउन महत्वपूर्ण मानिन्छ।
नभन्दै उनको भूमिका पनि त्यस्तै देखियो। मन्त्रालयमा नहुँदासम्म आदर्शको गफ गर्ने उनले पहिलो नियुक्ति आफ्नो श्रीमतीलाई दिलाए। शक्तिशाली मन्त्रालयमा रहेका उनलाई त्यत्तिले मात्रै के पुग्थ्यो, आफ्ना अनि श्रीमतीका आफन्तहरूलाई मिल्ने जति स्थानमा भर्ती गरे। बाइकमा हिँड्ने उनी २ महिनापछि आफैं गाडी चलाएर हिँड्न थाले। म अचम्मित भएँ। कतिपय उनको कुरा पनि काट्थें कहिलेकाहीँ चिया गफमा भेट हुँदा साथीहरू, उनलाई व्यंग्य पनि गर्थे।
उनी त्यसलाई सहजै पचाउँदै भन्थे, ‘सेटिङ हो साथी सेटिङ, देश नै सेटिङमा चलेको छ!’
हामी किन पछि पर्ने, आफ्नो हातमा आएको शिकार किन उम्काउने, छक्क पर्थ्यौ हामी उनले सानका साथ त्यसो भनेको सुन्दा।
हुन पनि उनीमात्रै होइन ९० प्रतिशत बढी नेताका आसेपासे र नेता स्वयं नै यस्तै कमिसनको चक्करमा फसेका छन्।
विकास निर्माणका लागि छुट्टयाएको पैसा र योग्य व्यक्तिका लागि तोकिएको पद आफन्तको पोल्टामा गएपछि मुलुक होइन व्यक्ति समृद्ध भने अवश्य बनिरहेका छन्।
हामीले देश बिगार्ने दोष नेता, मन्त्री, पिए वा अन्य सहयोगीहरूलाई दिइरहँदा जनता चाहिँ यसमा दोषी नभएकै हुन् त ?
मलाई लाग्छ, अवश्य होइनन्, नेपाल यो अवस्थामा आइपुग्नुमा नेपालीको पनि उत्तिकै दोष छ।
नेता वा तिनका सहयोगीले कमिसनबाट देश लुटे भने जनताले तिनका विरूद्धमा आवाज नउठाउने बरु मिलेसम्म तिनकै सेवा गरेर फाइदा लिने प्रयत्न गर्दा देशको अवस्था झनै दयनीय बन्न पुगेको हो।
माथि उल्लेखित विषय उठाइरहँदा मैले अनुभव गरेको घटना पनि जोड्न मनलाग्यो, करिब २ वर्षअघि जस्तो लाग्छ म बस्ने घर नजिकै रहेको एउटा खाली घरको फ्ल्याटमा बस्न एउटा अधवैंशे व्यक्ति आए।
घर स्याङ्जा हो भन्थे, ३ छोराछोरी उनी र श्रीमतीसहित ५ जना बस्थे। उनको मुख्य काम भनेको जतिबेला फुर्सद हुन्छ आफूजस्तै उमेरका व्यक्तिहरू जम्मा गर्ने र विश्लेषकले जस्तो हरेक दल, नेता, कार्यकर्ता र त्यत्तिले नपुगेर अन्तर्राष्ट्रिय नेता र चर्चित व्यक्तिहरूको आलोचना गर्ने, अरूले उनको गफ मन नलागेपनि जर्बजस्ती सुनेर हो मा हो मिलाउनुपर्ने।
उनी सधैं आफू कुनै पार्टीको नभएको स्वतन्त्र नागरिक हुँ भन्थे।
चुनावमा उनले भोट हालेनन् रे कोही नेता मन नपरेर, चिया पसलमा बसेर नेता र भ्रष्टाचारीको कटु आलोचना गर्थे। मलाई पनि उनका धेरै कुरा मनपर्थ्यो।
तर, भ्रष्टाचारीको घण्टौ विरोध गर्ने उनी स्वयंले छोरालाई छात्रवृत्तिमा पढाउन घुस खुवाए र छोरीको जागिरको लागि घण्टौसम्म नेताको घरमा धाए।
ती व्यक्ति त प्रतिनिधि पात्र मात्र हुन्। अवसर पाएसम्म आफू नछोड्ने अनि आफूले केही नपाउँदा चिया पसलमा बसेर अरुको घण्टौं आलोचना गर्ने नागरिकहरू पनि प्रशस्तै भेटिन्छन्।
अझ कतिपय त १ छाक मासुभात र केही पैसाको प्रलोभनमा परेर जे भन्यो त्यही काम पनि गरिरहेका हुन्छन्।
हामीले कल्पना गरेको समृद्ध नेपालको सपना पूरा गर्न बाधक त हामी सबै रहेछौं।
सबै अवसर र मौका पाउने हो भने सेटिङ मिलाउनतर्फ केन्द्रित भइहाल्छौं। जसमा कोही बढी र कोही कम जिम्मेवार होला तर दूधले नुहाएजस्तो पवित्र भने कोही छैन। नागरिक धनी र देश गरिब बन्दै जानुमा यो पनि प्रमुख कारण हो।
देश बनेन भन्ने अनि पाएका अवसर पनि लिन नछोड्ने नेतालाई खबरदारी गर्नुको सट्टा नेताको दैलोमा पुगेर हजुर, हजुर गर्ने परिपाटीकै कारण भ्रष्टाचारी र अयोग्य नेताहरूलाई सेटिङ मिलाउन सहज भएको छ।
त्यतिमात्रै होइन, देशलाई नै दाउमा राखेर आफू अनुकूलमा निर्णय गराउनेहरू पनि प्रशस्तै भेटिन्छन्।
सधैं देश बनेन भनेर एकअर्काको आरोप प्रत्यारोपमा उत्रिनुपूर्व आफूलाई पनि हेर्ने कि? तैंले पाए तैंले मैले पाए मैले लुट्ने प्रवृत्ति यथावतै रहने हो भने नेपाल र नेपालीकै अस्तित्व समेत संकटमा पर्ने निश्चित छ।
तसर्थ आफूबाट सुरू गरेर हामी बदलियौं भने मात्रै मुलुक बदलिन्छ नभए समृद्धिको सपना सधैं सपना नै रहने निश्चितप्राय: छ ।