हरेकचोटि हरेक वर्ष हामी कतिचोटि सडकमा जाने गरेका छौँ? गलत कुरालाई सही बनाउन या त अन्यायमा परेकाहरूको समर्थनमा न्याय होस् भनेर सदनसम्म आवाज उठाउन सडकमा आउनु गलत हैन। त्यो हाम्रो कर्तव्य हो।
तर सबै चिजमा सबै विषयमा कुनै न कुनै पार्टीको झन्डा बोकेरै सडक जानुपर्छ र? हामी युवा त्यति कमजोर छौँ? हाम्रो आवाज त्यति सानो छ, जुन कुनै न कुनै पार्टीको झन्डा नबोकी सुनिँदैन?
हामी आखिर किन सडकमा जान्छौँ, किन पार्टीको झन्डा बोक्छौँ? यसैले किनकि मेरा बाले वर्षौंदेखि सूर्य चिन्हमा भोट खसालेका छन्। त्यसैले किनकि मेरो अंकल रुख चिन्ह लिएर हरेक चोटि भोट माग्ने गर्छन्। किनकि मेरो आमा राजतन्त्रको समर्थन गर्छिन्। त्यसैले?
आफ्नो मनमा हात राखेर मनदेखि भन्नुस्, हामी विशेषगरी युवा भनिने मान्छेहरूले चुनाव आउँदा आफ्नो बाबुको पार्टी नहेरी, झन्डा नहेरी, सानो-ठूलो पार्टी नहेरी केवल उसको एजेन्डा, विकास योजनाहरू र विगतका कामहरू हेरेर कति चोटि भोट दिएका छौँ?
आफ्नो नबुझेका बा-आमालाई, यो पार्टी यस्तो हो, यसले यस्ता-यस्ता काम गर्छु भनेको छ। तपाईंलाई कसको कुरा अलि राम्रो लग्यो भनेर कति चोटि सम्झाएका छौँ? हामीहरू सबैलाई थाहा छ, हरेक गाउँमा कुनै एउटा पार्टीको ठूलो समर्थक हुन्छन्।
वर्षौदेखि त्यो क्षत्र त्यही पार्टीले जित्दै आएको हुन्छ। के लाग्छ त्यो पार्टीले त्यो गाउँमा ठूलो सेवा पुर्याएर भोट पाएको हुन्छ? म मेरो नै घरको उदाहरण दिन्छु जहाँ चुनाव आउँदा मेरा हजुरआमाहरू लौरो टेकेर भोट खसाल्न जानु हुन्छ। मेरो बाले जुन पार्टीमा भोट हाल्नु भन्नुहुन्थ्यो, हजुरआमा त्यसैमा भोट हाल्नु हुन्थ्यो।
यदि मेरो हजुरआमाहरूलाई एकचोटि सबै पार्टीको योजना र पार्टीको बारेमा सरर बुझाएको भए मेरो बा र उनीहरूको मन मिल्थ्यो होला? मेरो बाले यसमा भोट हाल्नु नभनेर एकचोटि सबै कुरा भनेर तपाईंलाई जसको कुरा मन पर्यो त्यसमै भोट हाल्नु भनेको भए, उनीहरूले त्यही पार्टीमा भोट हाल्थे होला?
हाम्रो देशमा ठूलो संख्या मानिसहरूलाई भोट दिनुको अर्थ पनि थाहा छैन। भोट दिन त दिन्छन् तर नजिकको मान्छेले जेमा हाल्नु भन्यो उसैमा हाल्दिन्छन्। अनि जनताबाट चुनिएर, भोट पाएर आएको भनेर हामीले भोटकै भरमा कुनै नेतालाई कसरी विश्वास गर्ने?
अनि यस्ता कुराहरू बुझाउन सक्ने युवाहरू नै आफ्नो आफ्नो पार्टी अन्धाधुन पक्डिएर हिडेसी उचित पार्टी यो हो भनेर नबुझेकाहरुलाई कसले बुझाउने? आखिर कहिलेसम्म पार्टीकै झन्डा बोकेर हिँड्ने।
यसो सामाजिक सञ्जाल हेर्यौँ भने एउटा पार्टीको समर्थनमा एउटाले पोस्ट गर्छ। अनि कमेन्टमा हजारौँको लडाई पर्छ। म कहिलेकाहीँ त्यस्ता कमेन्टहरू पढ्ने गर्छु अनि म आफैलाई खल्लो लागेर आउँछ। मलाई मरमरी हाँस्न मन लाग्छ ती कमेन्टहरू पढेर।
अनि म त्यो पोस्ट गर्नेको प्रोफाइल खोलेर हेर्छु। उमेर हुन्छ १६-१७ वर्ष। फेरि ती लडिरहेका मान्छेहरूको प्रोफाइल खोलेर हेर्छु। उनीहरूको उमेर २७, २८, ३०, ३५ वर्ष हुन्छ अनि म मज्जाले हाँस्छु, एकछिनमा निराश हुन्छु।
एउटा साधारण सामाजिक सञ्जालमा एउटा राजनीतिको 'र' पनि नबुझेको मान्छेले पोस्ट गरेको भरमा त युवाहरू लडिरहेका छन्, झन् पार्टीकै ठूला मान्छेहरूको कुराले किन लड्दैनथे? हो यस्ता विषयदेखि नै हामीमा बदलाव आउन जरुरी छ।
हामीले देखिरहेको कुरा हो कि एउटा पार्टीले 'भोलि सडकमा आउन आफ्ना सबै कार्यकर्ताहरू र जनतालाई आह्वान गर्दछौँ' भनेर घोषणा गर्छ। भोलिपल्ट ठूलो जनसागर सडकमा आउँछ। त्यो सडकमा एक-एकको टाउको गन्दा कति जना युवाहरू गनिन्छन् होला?
गनिएका टाउकोहरूको टाउको भित्र त्यो आन्दोलन वा भेलाको उद्देश्य कति जनाले बुझेका हुन्छन् होला? कति जनाले पार्टीको लागि नभएर देशको लागि आफ्नो घोक्रो सुकाइरहेका हुन्छन् होला? कति जनाले आफ्नो पढाई छोडेर आएका होलान्, कतिले आफ्नो काम छोडेर आएका होलान्?
एउटा पक्षको ठूलो भीड र अर्को पक्षको ठूलो भीड आमने सामने हुन्छन्। अनि अघिसम्म विकासको नारा लगाइरहेका युवाहरू एकअर्काको विनाश गर्न हानाहान गर्छन्। अनि त्यसको परिणाम, त्यहाँ ढुंगा मुडा हानाहान हुन्छ। ढुंगाले लागेर कसैको भाग्य फुट्छ।
घाँस दाउरा गरेर सहर पढ्न पठाएको छोरो आन्दोलनमा लड्न जान्छ। बुक पढ्न छोडेर प्लेकार्ड पढ्न थाल्छ। एकदिन टाउको फुट्छ अर्को दिन हात भाँचिन्छ। भाँचिएको हातखुट्टा र फुटेको टाउकोमा हात राखेर उसले किन कहिल्यै नसोचेको होला कि जसले आन्दोलनमा बोलाएको छ, उसको टाउको किन कहिल्यै फुट्दैन?
फुट्नु पर्ने त उसको हो, सडकमा आएर अगाडि बसेर आवाज उठाउनु पर्ने त, उसले हो। किन कहिल्यै पनि हामीले नसोचेको कि हामी सिर्फ प्रयोग भएका छौँ। हामी जो देशलाई ठूलो योगदान दिन सक्छौँ, के सधैँ कुनै न कुनै पार्टीको झन्डा बोकेरै जीवन टार्ने हो?
के हामी परिवर्तित हुन सक्दैनौँ र? सधैँ पार्टीकै पछि लाग्नु पर्छ र? हामीले आफूलाई मन परेको पार्टीलाई समर्थन गर्नु हुन्न भन्ने हैन । देश चलाउने कुनै पार्टीले नै हो तर हामी युवा एउटा पार्टीको पछि लागेर उसको हरेक कुरा गलत र सही नछुट्टाइ पूर्ण रूपमा समर्थन गर्नु गलत हो।
पार्टीको झन्डा बोकेर नारा लाउँदै हिँड्नु गलत हो। आफ्नो पार्टीको गलत निर्णय वा गलत पक्षको विरोध गर्न नसक्नु हाम्रो गल्ती हो। जुन दिन हामीले आफ्नो मनपर्ने पार्टीको गलत कुरामा चर्को आवाज उठाउन सक्छौँ तब हामी सक्षम युवा हुनेछौँ।
समर्थन गरेको पार्टीको झन्डा जसरी सजिलै उचाल्छौँ, त्यसरी नै त्यही पार्टीको गलत कार्यको विरोध गर्न कालो झन्डा उठाउन सक्नुपर्छ।