बाटोबारे सुनिएका धेरै प्रकारका हल्लाले नछुने कुरा नै भएन। महेन्द्रनगरबाट भारतीय भूमि प्रयोग गर्दै जीपमा दार्चुलासम्मको यात्रामा अधिकांश नेपाली नै थिए। भाषा भने केही बुझेजस्तो, केही नबुझेजस्तो।
सँगै बसेका व्यक्तिले सोधे, 'कहाँ झानु हौ?'
'दार्चुला' मैले छोटो जवाफ दिएँ।
'घर कहाँ पड्यो तम्रो?' उनले थप सोधे।
'घर त मेरो काठमाडौं।'
'ए! मैले त अछामतिर जस्तो लाग्यो अनुहार हेर्दा,' उनले हाँस्दै भने।
के कारणले अछामजस्तो लाग्यो, उनले खुलाएनन्। मलाई चाहिँ रमाइलो लाग्यो। हाम्रा पूर्खाहरू अछामबाट काठमाडौं गएको भन्ने सुनेकाले।
त्यसपछिका प्रसंगमा घर, परिवार, काम, अध्ययन, घुमाइजस्ता धेरै विषय जोडिए।
धामीजीले भने, 'काठमाडौंका मान्छे के हिसाबले दार्चुलासम्म जागिर खान आइपुग्नुभयो त?'
'त्यसो नभन्नुस् धामी सर, मेरो परिवारमा म दोश्रो पुस्ता हो जागिर खानै भनेर दार्चुला आइपुग्ने,' मैले पनि दार्चुलासँग आत्मीयता प्रष्ट्याउन खोजेँ।
यसैबीचमा कसैले भन्यो, 'तब त इनलाई पूर्वेली भँड्नु नाइँ मिल्यो।'
सबै जना हाँसे। मैले खासै बुझिनँ। तै पनि आफूलाई पूर्वेली भने कि जस्तो अनुमानसम्म गरेँ।
त्यसपछिका केही दिनमा भेटिएका सुदूरपश्चिमबाहेकका जागिरेको मत लगभग मिल्दोजुल्दो थियो- सामान्यतया कर्णाली नदीपारिका मानिसलाई यतातिर पूर्वेली भनिन्छ रे। नजिकको ठान्दैनन् रे। बाध्यताबाहेक समाजले स्वीकार्दैन रे। सरकारी जागिरे भए त झन् दूर्गमको अंक पकाउन आएको भन्छन् रे। काम लिन गाह्रो छ रे।
यस्तै सुनियो दिन बित्दै जाँदा। जुन धेरै हदसम्म मेल खाएन मेरा लागि।
कहिलेकाहीँ त सुदूरपश्चिमकै साथीहरू पनि हाँसेर सोध्थे, 'कसैले पूर्वेली भनिसकेको त छैन?'
म पनि हाँसेर जवाफ दिन्थेँ, 'नाइँ नाइँ, यो त मेरो दोश्रो घर हो।'
भनिरहनुपर्ने कुरा नै होइन, मलाई भाषा एवं भाषिकामा असाध्यै धेरै लगाव छ। छोटो समयमै मैले त्यहाँको भाषा टुटेफुटे रूपमा बोल्न सुरू गरिसकेको थिएँ। एकदिन एकजना नेताजीलाई मैले भनेँ, 'जे भ्या पन तमले पूर्वेली भड्ने होला।'
उनले जवाफ दिए, 'नाइँ सर, तम त ईथैका भया।'
व्यक्तिगत रूपमा मलाई त्यतैको जस्तो लाग्नु र नलाग्नु महत्वपूर्ण होइन भन्ने मलाई लाग्यो।
धेरै विचारहरू उब्जिए मनभरि। लाग्यो, मैले अनुभव गर्नु वा नगर्नुको कुनै अर्थ होला र?
हो, सुदूरपश्चिमलाई कर्णाली नदीले छुट्याएको छ। त्यो कर्णाली नदीपारिको भूभागमा बसोबास गर्नेमध्ये धेरैको थर केही फरक छ। भाषा केही फरक छ। विकासको अवस्था केही फरक छ। रहनसहन फरक छ। राष्ट्रिय राजनीतिमा प्रतिनिधित्व नै नभएको होइन तर पनि केही कुरा फरक छ। जीवन जीउने शैली फरक छ। महिलाको अवस्था फरक छ। दलितका मुद्दा चर्का छन्। पूर्वाधार अवस्था फरक छ। त्यो भूमि फरक नै छ। अनि जुन भिन्न छ, त्यसले भिन्न देखिँदा के दोष भयो र?
किताबका पन्नाहरूमा पृथ्वीनारायण शाहको महावाणी भन्दै उल्लेख गरिएको पाइन्छ, 'नेपाल चार जात छत्तीस वर्णको फूलबारी हो।'
तथ्यांकमा खोज्दा भेटिन्छ, एक सय पच्चीसभन्दा बढी जातजाति र भाषाको कुरा। धार्मिक समूहको कुरा। प्रजातिको कुरा। भौगोलिक विशेषताको कुरा। छालाको रङको कुरा। नाकको आकारको कुरा। फेरि पनि भाषाकै कुरा, रहनसहन, जीवनशैलीको कुरा। पहिचानको कुरा। प्रतिनिधित्वको कुरा। धनीको कुरा। गरिबको कुरा। दलितको कुरा। महिलाको कुरा।
लाग्यो, भिन्नताले पहिचान बनाएको छ। नेपालको स्वरुप वनाएको छ। त्यही बहुलताको विशेषतालाई नेपालको मौलिक पहिचानका रूपमा समाजले स्वीकारेको छ। कानुनले स्वीकारेको छ। भिन्नता पक्कै छ नि।
मलाई लाग्यो, त्यही स्वीकृत भिन्नताको कुरा गर्नु के नै नजाति भयो र?
मेरा एकजना मित्रलाई साथीहरूले प्राय: भन्छन्, 'यो त कोशीको पानी खाएको मान्छे।'
अर्का एकजना मित्रले अर्कोलाई लक्षित गर्दै बेलाबेलामा भन्छन्, 'आँधिखोलाको गीत गाएपछि मात्र यो लाइनमा आउँछ।'
म आफैंले सुन्ने गरेको छु, 'काँठेको कुरा गरेर हुन्छ?'
मधेसीबारे त एउटा उखान जस्तै बनेको छ, कुनै नेवारले भनेछन्, 'मनु मखु मर्स्या ख।'
कर्णालीका मान्छेलाई 'खोलालाई मुद्दा हाल्ने मान्ठ' भनेको पनि सुनिएको नै छ।
सबै घटना जोड्दा वर्गीय, क्षेत्रीय, जातीय, लिङ्गीय, भाषिक भिन्नताको कुरा जीवित छ भने जीवित कुराले अस्तित्व प्रदर्शन गर्नु के नै अन्यथा भयो र?
जननिर्मित नेपालको संविधानले राष्ट्रको परिभाषा गर्दै भन्छ, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो।
जब संविधानले नै हाम्रो भिन्नता स्वीकार गरेको छ भने तपाईंले मलाई पूर्वेली भन्न किन नमिल्ने? जब हामी सबैमा खास पहिचानको हुनुमा गर्वबोध छ भने तपाईं यो पहिचानको मान्छे भन्न किन नमिल्ने? विविधताभित्र समान आकांक्षा, आस्था र एकताको खोजी गरिएको छ भने भन्न, सोच्न र गर्न नमिल्ने कुरा अरू नै होलान्। भन्न, गर्न र सोच्न नमिल्ने अवस्थाको सिर्जना गर्न राज्यसंयन्त्रले सक्यो वा सकेन भन्ने कुरामा पनि टन्नै बहस गर्न सकिएला।
भिन्नताको कुरो शाश्वत हो। राज्यले स्वीकार गरेको पनि हो। अनुभूति हुनु पनि ठीक हो। तर गर्वबोध होइन, विकासको दृष्टिले असमान महशुस गर्नु कसरी राम्रो होला र! खास भूगोलमा जन्मिनु वा बसोबास गर्नुले होइन, त्यो भूगोलमा बसेकै कारणले वञ्चित हुनु खुसीको कुरा कहाँ रहला र! धेरै कुराहरु मनभरि खेल्न थाले।
मैले सुविधासम्पन्न अस्पतालमा उपचार गराइरहँदा तिम्रा चेलीहरू सुत्केरी हुन नसकेर ज्यान गुमाउनुपर्दाको पीडा मलाई हुन्छ कि हुँदैन? छाउगोठमा चिसोले कठ्याङ्ग्रिएकी चेली, पाटनमा यार्सा टिप्न आमाबाबुसँगै स्कुल छाडेर गएको केटो, मन्दिरमा बलात्कार परेकी नानी सम्झिँदा साझा रूपमा मुटु धड्किन्छ कि धड्किँदैन होला?
आफ्नै भूमिमा भारतीय मार्ग हुँदै ओहोरदोहोर गर्नुपर्ने व्यासीको कथा सुन्दा तपाईंलाई केही लाग्दैन र? एसइईको परीक्षा तिघ्रामा कापी राखेर लेखिरहेको विद्यार्थी देख्दा मन कताकता अमिलो हुँदैन र? वर्षौंसम्म माइतीको आँगनमा फेरि टेक्न नपाएकी दिदीको कथाले तपाईंलाई छुँदैन र? महाकालीमा ट्यूबबाट तर्दै गर्दा ट्यूब घोप्टिएर मरेको घटना र उसको विद्यालय नगएर बरालिएको छोरो देख्दा केही हुँदैन? केदारनाथमा रोजगारीका लागि पुगेको मान्छे पहिरोमा किचिमिचि भएको कुरा सामान्य हो र?
तुइनमा घाँसको भारी बोकेकी महिला, भिरमा गाजियो (घाँस) टिप्न गएकी महिलाको फोटो सामाजिक सञ्जालमा भाइरल भइरहँदा पनि तपाईंलाई केही लाग्दैन र? काँठो (भिर) बाट सैयौं मिटर तल झरेर क्षतविक्षत भएको जीपमा अड्किएका शवहरू हेर्दा केही हुन्न र? कि त्यहीँ बनेका स्मृति संरचना देखेर मन झसंग हुँदैन?
निश्चित नै केही फरक अनुभूति हुन्छ होला। भिन्नता महशुस हुन्छ होला। देखिएको भिन्नताबीच साझापनमा बाँधिने अन्तरमनको इच्छा बलियो छ भने ठीकै छ। अन्यथा देखिएका कमजोरी स्वीकार्नुपर्छ। भिन्नता स्वीकार्नुपर्छ। स्वीकृत भिन्नतालाई सम्बोधनको प्रयास कति भयो होला, भन्ने अनुभूति हुनुपर्छ।
त्यसले प्रतिफल किन दिएन भन्ने पनि हेर्नुपर्ला। यतै कतै कर्नाली दु:खेको कुरा पनि भन्नुपर्ला कि! अन्यथा नमानी स्वीकार्नुपर्ला कि! एक यथार्थ 'तमी पूर्वेली'।