माघको पहिलो साता। बिहानीपख सिमसिम पानी परिरहेको थियो। अत्याधिक चिसो थियो। अफिस टाइम भर्खर सुरु हुँदै थियो।
जति नै चिसो भएपनि काठमाडौँका सडकहरु खचाखच थिए। प्राय: सबै हतारमा देखिन्थे। सबैलाई जति सक्दो छिटो आफ्नो गन्तव्यमा पुग्नु थियो। हामी (सुस्मिता, माधव र म) पनि पूर्व निर्धारित समय अनुसार बिहानको नौ बजे नै कोटेश्वरको चोकमा जम्मा भइसकेका थियौँ।
झोलामा हाजिरी चिठी र थोरै सामान, मनमा कौतुहलता, उत्सुकता, रहर अनि दृढ संकल्प, आँखामा सपना, र शरीरमा जोस र हिम्मत बोकेर यात्रा सुरु गर्दै थियौँ। हामीले कहिले काहीँ फेसबुकका भित्ताहरुमा देख्ने फोटाहरु अनि युट्युबमा देख्ने भिडिओहरु प्रत्यक्ष देख्न पाउने हुँदा मनमा छुटै उत्साह पनि जागेको थियो।
सुमोका सिटहरु सबै भरिएका थिए। झ्याल-ढोकाहरु टपक्कै लगाइएको थियो। सिमसिम पानीका थोपाहरुले झ्यालका सिसाहरुमा चुम्बन गरिरहेका थिए। विस्तारै विस्तारै सुमो अघि बढ्न थाल्यो।
धुलिखेलबाट अघि बढेपछि हामीले विपी राजमार्ग समात्यौँ। धेरै रहर थियो यो राजमार्गमा सफर गर्ने, जेहोस् मौकाले जुरायो पनि। चिसो उस्तै थियो। सिमसिम पानी परि नै रहेको थियो। घाम लाग्ने छाँटकाँट कतै पनि देखिएको थिएन।
बाहिरको दुनियाँ लगभग केही पनि देखिएको थिएन। उस्तै मौसम उस्तै परिस्थिति बोकेर करिब चार घण्टाको यात्रा पूरा गर्दै हामी मन्थली पुग्यौँ।
झन्डै एक वर्ष बढी भएछ इन्टर्नका दिन सुरु भएको पनि। कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको विद्यार्थीहरुलाई आफ्नो स्नातक पढाइको अन्तिम शत्रान्तमा प्रत्यक्ष किसानको बारीमा गएर सिक्ने हेतुले देशका विभिन्न जिल्लामा रहेका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतका कार्यालय र कृषि ज्ञान केन्द्रमा बसेर काम गर्नु पर्नेमा सुस्मिता, माधव र मलाई रामेछाप जिल्ला परेको हुँदा हामी त्यता लागेका थियौँ।
होस्टेलदेखि क्लासरुमसम्म, लिच्चीका बगैंचा र डीन अफिस, बागबानी र बाली विज्ञान फार्म हुँदै माछा र पशु फार्मसम्म डुलेको पनि चार वर्ष पुगिसकेछ। हाम्रो छुट्टै र फरक दुनियाँ थियो। सबै माया, सम्झना, र यादहरु बोकेर जानु थियो अबको छ महिनाको लागि।
तर छ महिनाको लागि पनि के भनि राख्नु, त्यसपछि त स्नातकको पढाइ नै सकिन्छ पनि अनि पूरै विश्वविद्यालय नै छोडेर जानु थियो।
तामाकोशीसँगैको सानो तर निकै नै सुन्दर मन्थली बजार पुग्ने बित्तिकै हामीलाई खुब मन परेको थियो। काठमाडौँ हुँदा जस्तो थियो मौसम, मन्थली पुग्दा पनि त्यस्तै थियो। सायद हल्का पानी परेको र चिसो बढेको कारण हुनु पर्दछ, बजारमा खासै चहलपहल भने थिएन।
बजार हेर्दा शान्त अनि एकदमै रमणीय देखिन्थ्यो। हामीलाई कृषि ज्ञान केन्द्र पुग्नु थियो। कृषि ज्ञान केन्द्रको अफिस बजार नजिकै भएको कारण हामीलाई अफिस पत्ता लगाउन त्यती गाह्रो पनि भएन।
दिनहरु निकै आनन्दित र रोमान्चित तरिकाले बित्न थाले। हामी तामाकोशीका किनारदेखि पाँचपोखरीका फेदसम्म पाइला चाल्न सफल भएका थियौँ। आँखामा नअटाउने जुनारका बगैंचामा घुम्न पाउँदा मन खुब रमाएको थियो।
जिन्दगीमा पहिलो पटक जुनार र मुन्तला चाख्न पाँउदा स्वाद अझै पनि जिब्रोमै बसेको छ। बयान नै गरेर नसकिने ठाउँहरु एकपछि अर्को गर्दै घुम्न पाउँदा निकै खुसी भएको थिएँ म।
रामेछापका मध्यपहाडदेखि उच्चपहाडसम्मका डाँडा नै ढाक्ने आलु बारीहरु अनि सँगैका स्थापित हुँदै गरेका किवीका बगैंचाहरुले सुनमा सुगन्ध थपेको प्रष्ट देखिन्थ्यो। पहाड नै पहाडको बीचमा गर्जंग भ्याली सानो तर अति सुन्दर छ। मन खोलेर प्रसंशा गर्न योग्य।
रस्नालुबाट उत्तर फर्केर हेर्दा फिक्का फिक्का देखिने जिरी पनि यही हो भनेर छुट्टयाउन भने सकिन्थ्यो। सँगैको खिम्ती खोला हिमालबाट तराई झरी तामाकोशीमा मिसिदो रहेछ। दोरम्बाका सल्लाघारीबाट देखिने सैलुङका थुम्काहरु अनि डढुवाका गुँरासका जंगलहरु निकै मनमोहक देखिन्थे।
समय राम्रो चल्दै थियो। एकाएक कोरोनाले इन्ट्री मार्यो। भाइरसले उत्पतिसँगै विश्वभरि नै आक्रान्त मच्चाउदै थियो। यसबाट नेपाल पनि अछुतो भने रहन सकेन। फाट्ट-फुट्ट मानिसमा भाइरस देखिन थालेपछि नेपाल पनि त्यति बेलाको सबैभन्दा सजिलो र सर्वसुलभ उपचारको बिधि लकडाउन गर्न बाध्य भयो।
यसको असर एकाएक हामीलाई पनि पर्न थाल्यो। गरिरहेका कामहरु बन्द गर्न बाध्य भयौँ। नयाँ ठाउँ र नयाँ परिस्तिथिमा हामीलाई बस्न केही गाह्रो हुनेमा डर थियो। अरुलाई जस्तै हामीलाई पनि के हुने हो र कस्तो हुने हो भन्ने द्विविधा थियो।
सबै भकाभक घर तिर लाग्न थाले तर हामी भने घर फर्कने अवस्थामा थिएनौँ। एकपछि अर्को गर्दै संक्रमितको संख्या थपिएसँगै सरकारले पनि लकडाउन थप्न थाल्यो। केही समयको त्रास र द्विविधापछि हामी पनि अब यसरी बस्नु हुँदैन भन्ने निर्क्योलमा पुग्यौँ।
लकडाउनमा घर बाहिर ननिस्क, घर भित्रै सुरक्षित बस मात्र भनेको थियो। केही नगर भनेको थिएन। त्यसैले हामी पनि कोठामै बसी गफ सुन्ने, सुनाउने र सिक्ने अभियानमा लागेउँ।
हामी विश्वमा आउन सक्ने आर्थिक मन्दी, रोग र भोकको चपेटामा परेका जनता, टुक्रा-टुक्रा बनेको स्वास्थ्य क्षेत्र, रोकिएको पर्यटन व्यवसाय, बजार नपाएका कृषि उपज, र बीउ नपाएको माटोको बारेमा खुब कुरा गर्थेउँ र यसका विकल्पका बाटाहरु पहिल्याउने प्रयास पनि गर्थेउँ।
हाकिम (दिनेश आचार्य) सरका भोगाइ, अनुभव र चोटिला विचार सुन्न हामी इन्टर्नका साथीहरु उत्सुक हुन्थ्यौँ। उहाँसँग मनाङका स्याउ फार्मदेखि बर्दियाका धान खेत र रामेछापका गाँउदेखि जापान टोकियो सहरसम्मका अनुभव छन्।
जापानको विकासको कारण इज्रायलले कृषिमा मारेको फड्को, चीनको आर्थिक विकास, र नेपालले त्यसबाट सिक्नु पर्ने पाठ उहाँले सुनाउनु हुन्थ्यो। हामीले अफिस वरिपरिको सानो फार्म सजाउन प्रशस्त समय पाएका थियौँ।
सिमी, स्कुस र मकैका नयाँ बोट रोप्न, प्याज, लसुन, र धनियाँका बारी गोडमेल गर्न, अम्बाका बोट काँटछाँट गर्न, गमलामा फूल सजाउन र त्यसमा सिंचाई गर्न राम्रो समय जुरेको थियो। गड्यौलाको मल र पात-पतिङ्गर बटुलेर कम्पोस्ट बनाएका थियौँ।
कृषिमा समस्या पनि अनेकौ आउने। जुनारको औंसा कीरा, मकैको फौजी कीरा, अनि आलुमा लागेको डढुवा, रातो कमिला र भाइरस पनि किसानलाई टाउको दुखाइको विषय बनेको थियो। अझ त्यसमाथि लकडाउनले झन् समस्या थपेको थियो।
यस्तो बेलामा कुनै कार्यक्रम गर्न नसकेपनि रेडियो, टिभी र सामाजिक संजालका माध्यमबाट किसानलाई सु-सूचित गरी व्यवस्थापनका विधि सिकाउने काम गरेका थियौँ।
पछि लकडाउन केही खुकुलो र जनजीवन केही सहज हुन थालेपछि भने किसानका बारीसम्मै पुगी सिकाउन थाल्यौँ। केही समयको लागि भएपनि यसरी किसानसँग प्रत्यक्ष साक्षात्कार गरी केही कुरा सिक्न र सिकाउन पाउँदा राम्रै उपलब्धि भएको थियो।
कता कता सम्झनामा थुप्रै कुरा बसेका छन्। पाँच दिनको जोन-टुर निकै रमाइलो र ज्ञानवर्द्धक भएको थियो। सिन्धुलीमा जुनार बगैँचा हेरेर फर्कँदाको उकालो होस् वा काभ्रेमा पानीमा भिज्दै आलु बारीमा डुलेको क्षण, चाहेर पनि बिर्सन कहाँ सकिन्छ? मुग्लिनको बसाइ, हाकिम सरको नाच पनि बिर्सनै नसकिने क्षण हुन्।
लामो समय कृषि क्षेत्रमा बिताउनु भएका हाकिम सरहरु (दिनेश आचार्य र होमनाथ लम्साल) का अनुभव र भोगाइ सुन्न पाँउदा म आफूलाई निकै भाग्यमानी भएको महशुस गर्दथे। साथै यस्तो विषम् परिस्तिथिमा पनि आफ्नो अनुसन्धान तथा अफिसियल काम गर्दै गर्दा अरु कर्मचारीबाट पाएको साथ, सहयोगर माया प्रति निकै आभारी पनि छु।
सुन्दर तिवारी सरले देखाउनु भएको बाटो, उहाँबाट पाएको सल्लाह र मायाले अनुसन्धानको काम गर्नमा निकै सहजता भएको थियो। सर्मिला दिदीले सिकाएका अफिसियल काम, बिबेक दाइले सिकाएका अनुसन्धानका पाटाहरु र प्रमोद दाइले सिकाएका जीवन उपयोगी ज्ञानहरु जिन्दगीभरि याद आइरहन्छन् होला।
तीन दिनको दोरम्बा बसाइ पनि निकै यादगार भएको थियो। सल्लाघारीबाट आउने चिसो हावाको प्रवाह नगरी चिसो माटोमा आलुको बीउ रोप्न व्यस्त किसान देख्दा ममा निकै उर्जा आएको महशुस भएको थियो। जेठको महिना दिनभरि पानीमा भिच्दै बारी बारी डुली आलु खन्दाको दु:ख पनि सजिलै बिर्सन कहाँ सकिन्छ र!
हाकिम सरका किचेनका खानाका स्वादहरू अझै जिब्रोमा बसेका छन्। अफिसको सानो फार्ममा फलेको बेल टिपी जुस बनाएर कति खाइयो कति, त्यसमाथि हाकिम सरको जुस बनाउने तरिका पनि निकै काइदाको थियो।
फिल्ड जाँदा खाइने ऐंसेलु, काफल र खुर्पानीका फलहरु पनि निकै मिठा हुने गर्दथे। फागुनको दोश्रो साता लागेको रामेछाप महोत्सवले केही दिन भएपनि मनोरञ्जन दिएको थियो।
बसाइ छोटो भयो तर पनि यो समयमै बिताएका क्षण मध्ये कति दिमागमा बसे त कति मनमा बसे। कति व्यक्ति र देखिएका दृष्य फोटो बनी मोबाइलको ग्यालरी सुरक्षित छन् त कति आँखामा।
किताबी ज्ञान प्रत्यक्ष जीवनमा उतार्छु भन्ने अभिलाषा बोकेर गएको म कति पूरा भए त कति भएनन् पनि। तर जे जस्तो भए पनि लगभग पढाइ जीवनभन्दा फरक अनुभव बटुल्ने सुवर्ण अवसर भने जुर्यो।
यो लेखिरहँदा हृदयको एक कुनाले फेरि फर्केर त्यही दिनहरु आए हुने भनेर प्राथना गरिरहेको छ। सायद दिन, समय र परिवेश फरक हुन सक्छन् तर मनले चाहेको त्यस्तै अवस्था महशुस गर्न पाए पक्कै जीवन अझ सुखी र खुसी हुने थियो।