साथीहरुको जमघट थियो। वर्षौंपछिको भेट, एकले अर्कालाई निकै लामो समयपछि यसरी आमने सामने देख्ने मौका थियो। करिब १०/१२ जना कलेज अनि सँगै काम गरेका साथीहरु जो परदेशको जीवनीसँगै झुमीरहेका थिए।
एक्कासी सबैजना सँगै भेट्ने सल्लाह भयो। अनि यो संयोगले मेल खायो। भिन्दै माहोल थियो, सबैजना उत्साहित थिए। भन्नु पर्ने र सोध्नुपर्ने निकै प्रश्न र उत्तरहरु थिए। त्यसैबीच एउटा विषयमा बहस र अनुसन्धान चल्दै थियो।
एउटा साथीले भन्यो, 'जीवनमा तिमीहरुलाई सबैभन्दा गाह्रो चिज के थियो?'
सबैजना एकछिन अलमल्ल परे। सोचमा परे। सबैले आ-आफ्नै तरिकाले भन्न लागे।
त्याहाँ धेरै कुराहरु छन् जो गर्न गाह्रो छ, कठिन छन्। जस्तै- समयतालिका बनाउने र यसलाई पछ्याउनु, काम गर्नुभन्दा पहिला के-के गर्ने भनेर सोच्ने, समयको सही सदुपयोग गर्ने जस्ता इत्यादि कुरा भइरहँदा अचानक एउटा साथीले भन्यो, 'अब म बोल्छु।'
सबैजना चुपचाप थिए। उसैकै कुरामा केन्द्रित भइ सुन्न थाले। म पनि सुन्दै थिएँ। मेरो मनलाई पनि चित्त बुझ्यो।
उसले भन्यो 'मलाई सबैभन्दा गाह्रो कुरा स्वीकार गर्नु हो। स्वीकार कुनै पनि प्रकारको हुन सक्छ। जस्तै- कसैप्रति आफ्नो प्रेमको स्वीकार गर्नु, आफ्नो गल्तीको स्वीकार गर्नु वा धेरै नजिकको कसैसँग तपाईंको रहस्य स्वीकार गरेको, जे पनि हुन सक्दछ।
त्यसो भए अब प्रश्न आउँन सक्छ कि 'हामीले किन स्वीकार गर्ने त? र हामी यसलाई किन सामान्यरुपमा नै स्वीकार गर्दैनौ?' त्यहाँ विभिन्न प्रकारका स्वीकारोक्तिहरु हुन सक्छन्। त्यसैले पहिले म कसैलाई तपाईंको प्रेम कबुल गर्ने बारेमा कुरा गर्न चाहान्छु।'
उसले भन्यो- जब ऊ १७-१८ वर्षको थियो, यस्ता कुराहरुले उसको मन साह्रै गाह्रो भयो। उसलाई बुझाउने कोही पनि थिएनन्। तरै पनि जीवन जसोतसो जिइरहेको थियो। उसले भन्यो, 'लाग्छ, यस्ता कुराहरु एउटा निश्चित उमेर समूहका समस्याका विषयवस्तुहरु हुन सक्दछन्। जसलाई हामीले सही दिशा निर्देश दिन सक्छौँ।'
यसो भनिरहँदा म अलिकति एकोहोरो भएर उसलाई सुन्न बाध्य भएँ।
यो विषयमा कसैप्रतिको प्रेमको कुरा मात्रै आउँदैन, अन्य केही पनि र कुनै पनि घटना हुनसक्दछ, जो अहिलेको परिवेशमा नितान्त आवश्क छ, जसलाई हामी सही तरिकामा कसरी समाधान गर्न सक्छौँ त? उनीहरुको कुरा सुनिदिेएर।
अब हामी अघिकै कुरामा जाऔं।
हामीले किन हाम्रो प्रेम स्वीकार्नु पर्दछ वा अर्को जसलाई प्रेम गर्नु हुन्छ उसलाई किन भन्न जरुरी छ त? उसले प्रश्न गर्दैगर्दा स्वयमले अनुभव गरेका कुराहरु शब्दमा भन्दै गयो, सबैजना मौन भएर सुन्दै गए। मानौं कुनै रहस्यमय चलचित्र आँखा अगाडि चलिरहेको थियो।
उसले भन्यो, हामीले आफ्ना मनका भावनाहरु व्यक्त गर्न सक्नु पर्दछ जसलाई प्रेम गर्छौं। किनकि यसले तपाईंलाई आशाको किरण दिन्छ। हुनसक्छ एउटा व्यक्ति जसप्रति तपाईंका भावनाहरु छन्,त्यस्तै भावनाहरु तपाईंप्रति पनि हुन सक्छन्।
तर तिनीहरुको भावनाहरु पनि केवल चुपचाप मानै सीमित हुन सक्छ, जसलाई कुनै पनि तरिकाले सहयोग पुर्याउँदैन।
उनीहरुलाई आफ्नो भावना व्यक्त गर्नुहोस्, जसबाट तपाईंको जीवन परिवर्तित हुनसक्ने प्रशस्त मोडहरु हुन सक्छन्। उसलाई बताउनुहोस्, बताउनुहोस् कि ऊप्रति तपाईंको भावनाहरु के र कस्ता छन् भनेर!
नत्र भए तपाईंलाई जीवनभरि नै त्यही कुराले पिरोली रहने सम्भावना धेरै हुन सक्छन्। यदि तपाईंका भावनाहरुमा उसको भावना मेल खाँदैन भने पनि त्यसका लागि तपाईं दह्रो बन्नु पर्ने हुन्छ।
जसरी तपाईंले आफ्ना भावना उसको अगाडि व्यक्त गर्नुभयो र उसले सुनिदियो, त्यस्तैगरी उसका भावनाहरुलाई पनि तपाईंले कदर गर्ने हिम्मत राख्नु जरुरी देखिन्छ। तर यति कुरा हो कि कमसेकम तपाईंहरुले एकअर्काको विचार आदानप्रदान गर्नुभयो।
अब उसले यसप्रति कस्तो भावना व्यक्त गर्न चाहान्छ, उसको कुरा हो। अब तपाईं खुला र स्वतन्त्र हुनुभयो। अब तपाईंलाई यी व्यक्त गरिएका कुराहरुले कुनै हानी गर्दैन।
सबैले सुनिरहेकै थिए, सबैजना भावुक मुडमा थिए। सायद सबैले आ-आफैलाई नियालीरहेका थिए। यसैबीच एक मित्रले ल अब चियाको चुस्किसँगै यसको कुरा सुनौँ भन्दै सबैलाई ब्युझाँइदियो। मानौँ अब एकैछिन विश्रामको पालो भने झैँ...
फेरि उसले आफ्नो कुरामा निरन्तरता दिँदै भन्यो- हामी किन प्राय: आफ्नो भावनालाई प्रकट गर्दैनौ त?
सबैले आफ्नो प्रकारले भन्दै गए। सबैको विचार झण्डै मेल खाँदै गए।
कसैले भने, कारण डर। असफलताको डर, मित्रता गुमाउने डर। कसैले भने 'नो' भन्ने उत्तरलाई स्वीकार गर्न नसकिने डर।
उसले सकारात्मक हुँदै भन्यो, हामी किन सकारात्मक भएर सोच्न सक्दैनौं! उसको अस्वीकार पनि मेरो लागि पथप्रदर्शक हो, किन यो प्रकारले लिंदैनौं? यदि हामी प्रारम्भिक चरणमा नै यो गर्छौं भने अगाडि बढ्न हामीलाई सहज हुन्छ। एकैछिनको मनमा दुखाइ हुन्छ तर जीवनलाई गतिशील बनाउन मद्धत पुग्दछ।
फेरि उसले भन्यो, किन आफ्ना गल्तीहरुलाई हामीले स्वीकार गर्नु पर्दछ?
यदि हामीले हाम्रो गल्तीलाई स्वीकार गर्दैनौ भने त्यो साँचो पश्चताप हुँदैन। स्वीकारले माफी निम्त्याउँछ। तर प्रश्न यति हो कि तपाईंलाई भित्रैदेखि लाग्छ गल्ती गरेको छु, तबमात्र स्वीकार गरौं।
यदि प्रस्ताव व्यक्तिले तपाईंलाई माया गर्छ भने निश्चितरुपमा क्षमा दिनेछ र क्षमा प्राप्त गर्नु उत्तम कुरो हो। स्वीकारले हामीलाई हाम्रा गल्तीहरु महशुस गर्न सिकाउँछ।
उसले फेरि आफ्ना कुराहरु थप्दै गयो- हामी किन प्रायः आफ्ना गल्तीहरु स्वीकार गर्दैनौ त?
एकजना साथी (रिजेशले) झट्टै भनिहाल्यो- मानिसहरुले मेरो बारेमा के सोच्छन् भनेर हो।
यो उत्तरलाई उसले स्पष्ट पार्दै भन्यो, ठिक भन्यौ तिमीले। तर यो विषयमा हामी आफै कसरी स्वतन्त्र हुनु हो भनेर सोच्नु बढी महत्वपूर्ण हुन्छ न कि अरुले के सोच्छन् भनेर हो। अरुको सोच के छ भन्ने कुराले तपाईंलाई कुनै फरक पार्दैन। तपाईं जे गर्नुहुन्छ त्यो तपाईंको लागि गर्नुहुन्छ।
यदि तपाईं केही गर्नबाट खुसी प्राप्त गर्दै हुनुहुन्छ भने अरुले के भन्दैछन् भनेर सोच्नु जरुरी छैन। तपाईंले जेसुकै गरेपनि मानिसहरुले त गल्ती देखाउँदै जान्छन्।
यो स्पष्ट गर्न चाहान्छु कि गल्ती गर्नु कुनै गल्ती होइन। किनकि सबै मानिस हौं, गल्ती गर्नु सामान्य कुरो हो तर यो हो कि महशुस नगरी आफूले गरेको गल्ती स्वीकार नगर्नु गल्ती हो। त्यसैले तपाईं जे गर्नु हुन्छ, त्यो सोच्नु जरुरी छ किनकि त्यो आफ्नै स्वतन्त्रता र जीवनमा अघि बढ्नलाई बाधक नबनोस् भनेर हो।
उसले यत्तिका कुराहरु भनिरहँदा कोही एकैछिन पनि हतोत्साहित नभइ एकाग्र भएर सुनिरहे, मानौँ उसको आवाजमा कुनै जादू थियो र उसले भन्न खोजेको कुरामा गहिराइ थियो। म पनि दंगै परेँ। उसले बाँडेका कुराहरुबाट प्रभावित बनेँ अनि यो कुरालाई आजको युवापुस्ता सामु ल्याउन उपयुक्त ठानेँ।
त्यसपछि हामी सबैजना खानपिन गर्दै रमाइलो गर्यौं। त्यो दिन र समय मेरो मानसपाटलमा सधैँ रहनेछ, यादगार बनी।